Logo

१६ बैशाख २०८१, आइतबार

एनआरएनहरू लगानी साझेदारको रूपमा आउनोस्, हामी तयार छौँ

कृष्ण आचार्य, निवर्तमान अध्यक्ष, स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)

विकासको बाटोमा नेपाल कछुवा गतिमा हिँडिरहेको छ । राष्ट्रिय ढुकुटीले चाहेर पनि धेरै ठुल्ठुला विकास कार्य सम्भव छैन । कुनै बेला निर्यातको राम्रो इतिहास बोकेको देश आज आयातको ठूलो भारले किचिएर थला परिसकेको छ । राष्ट्रिय उद्योग धमाधम बन्द हुँदैछन् । यस्तो दुरावस्थाका कारण देश असफल हुनबाट बचाउनु र विकासको उकालो दिनु आजको प्राथमिक आवश्यकता हो ।

अवसरको सम्मेलन

यसैबेला विभिन्न देशमा अनेक पेशा र व्यवसाय गरिरहेका गैरआवासीय नेपालीहरूको संस्था ‘गैरआवासीय नेपाली संघ’को ११ औं सम्मेलन हुँदैछ । यो यस अर्थमा पनि महत्वपूर्ण छ कि धरासायी अर्थतन्त्रको बलियो टेवा गैरआवासीय नेपाली र यो संस्था बन्न सक्छन् । सम्मेलनको सन्दर्भमा एनआरएनहरूले देशबाहिर रहेर सिकेको ज्ञान, सीप र स्रोतलाईे कसरी अधिकतम रूपमा नेपाल भित्र्याउन सकिन्छ भनेर राज्यले सोच्न ढिला गर्नु हुँदैन ।

नेपालजस्तै विकासमा पछि परेका धेरै देश विश्वमा अरू पनि थिए र छन् । कति देश हाम्रो भन्दा पनि कछुवा गतिमा होलान्, तिनको हिसाब अहिले छोडौं । तर सिंगापुर, दक्षिण कोरिया, फिलिपिन्सलगायत देशले छोटै समयमा विकासको माथिल्लो फड्को मारे । यी देशको तुलनामा नेपालमा चाहिँ जति हुनु पर्ने हो, त्यो हुन सकेको छैन । यस सन्दर्भमा पनि एनआरएनहरूको भूमिका यहाँ आवश्यक छ ।

एनआरएनएका नेताहरूले जसरी कुरा गर्नु भएको छ, त्यो तुलनामा यहाँ काम भएको जस्तो लाग्दैन ।

अहिले एनआरएनहरूले भनिरहेका छन् कि उनीहरूसँग भएको सीप, ज्ञान र स्रोत छ, जसलाई मुलुकमा लगाउन पर्‍यो । गैर आवासीय नेपालीहरूले नेपालमा केही लगानी भने गर्न थालेका छन् । होटल, अस्पताल, जलविद्युत्मा लगानी गरेको देखिन्छ । तर एनआरएनहरूको जति क्षमता छ, सोही अनुसार भने लगानी भित्रिएको देखिँदैन । एनआरएनएका नेताहरूले जसरी कुरा गर्नु भएको छ, त्यो तुलनामा यहाँ काम भएको जस्तो लाग्दैन ।

फुटको बाछिटा

त्यसो हुन नसक्नुको कारण के पनि हो भने उहाँहरू विभाजित हुनु भो । हामी नेपालीहरू जहाँ गए पनि गुट र फुटको संस्कृति सँगै जाने भो । विभिन्न किसिमबाट विभाजित हुने संस्कृति एनआरएनमा पनि हाबी भएको छ, जुन संस्थाका निम्ति घातक हो ।

विभाजित हुँदै जाँदा के हुन्छ भन्ने उदाहरण हेर्न टाढा जानु पर्दैन, हाम्रै देश हेरे पुग्छ । एउटा गुटले अघि बढाएको राम्रै काम भएपनि अर्कोले त्यसलाई वेवास्ता वा नमान्नु पर्ने जुन राजनीतिक संस्कृति उहाँहरूमा पनि परेको हुनु पर्छ । त्यसैले एउटा गुटले गरेको काम अर्को गुटले नमान्ने होला । यस्तो प्रवृत्तिले भएपछि भरपूर क्षमता उपयोग गर्ने वातावरण नै बन्दैन । त्यसको प्रभाव एनआरएनहरूको लगानी क्षमतामा पनि स्वतः परेको छ जस्तो मलाई लाग्छ ।

श्रम बजारमा गएकाहरूले पठाएको तुलनामा अमेरिका, बेलायत, रुस, युरोपेली देश वा अष्ट्रेलिया जस्ता विकसित मुलुकमा बसेर धेरै आय आर्जन गर्नेहरूले पठाएको रेमिट्यान्स त्यति उत्साहजनक छैन ।

अर्को कुरा, रेमिट्यान्सका रूपमा ठूलो हिस्सा रकम एनआरएनले पनि देश पठाउन सक्ने कुरा उहाँहरूले भन्नु भएको छ, जुन सराहनीय छ । तर रेमिट्यान्सको मात्रा कति हो त ? नेपालबाट मलेशिया वा अन्य खाडी राष्ट्र गएका मजदुरहरूको आम्दानीको तुलनामा उनीहरूले कति भित्र्याएका छन् ? यी श्रम बजारमा गएकाहरूले पठाएको तुलनामा अमेरिका, बेलायत, रुस, युरोपेली देश वा अष्ट्रेलिया जस्ता विकसित मुलुकमा बसेर धेरै आय आर्जन गर्नेहरूले पठाएको रेमिट्यान्स त्यति उत्साहजनक छैन ।

गालीको बाली

मलाई चित्त नबुझेको अर्को कुरा के छ भने बाहिर बसेकाहरू ती श्रम बजारमा गएका हुन् वा एनआरएन नै भएकाहरू हुन्, नेपालमा बारेमा साह्रै नकारात्मक टिप्पणी गर्नुहुन्छ । आफू उता बस्ने अनि सधैँ देशलाई गाली गर्न त भएन नि ।

कतिपय मैले चिनेका एनआरएन पनि छन्, जसले नेपालमा भएका जायजेथा, गोठसम्म पनि बेचेर गएका छन् । उहाँहरूको सामाजिक सञ्जालको पोष्ट हेर्‍यो भने सधैँ देशको धतुरो झार्ने गरेको देखिन्छ । हो, प्रणालीका देखिएका कमजोरी, गल्ती सच्याउन खबरदारी गर्ने हो । तर यसको मतलब सधैँ गालीको हदमा उत्रिने कुराले देशप्रतिको प्रेम त के, सदाशयता पनि झल्काउँदैन ।

आफ्नो गाउँठाउँ फर्केर त्यहाँको समुदायका लागि केही अवसर सिर्जना गर्न सके राम्रो होला ।

यदि साँच्चै देशप्रेम भए गाली गरेर हैन, देशलाई कसरी समृद्ध बनाउने ? उता सिकेको ज्ञानलाई कसरी बाँड्ने ? भन्ने सवाललाई लिएर ठोस काम गर्न पहल गर्ने होला नि ! कमसे कम आफ्नो गाउँठाउँ फर्केर त्यहाँको समुदायका लागि केही अवसर सिर्जना गर्न सके राम्रो होला ।

रेड कार्पेटबिनाको कदम

अब एकछिन आफ्नै देशतिरै फर्कौं । के एनआरएन र एनआरएनएको मात्रै उद्देश्य र भावना विशुद्ध भएर देशमा लगानी भित्र्याउन सहज होला त ? के लगानीको उचित वातावरण तयार गर्ने दायित्वबाट मुलुकचाहिँ उम्किन मिल्छ त ? के हाम्रो प्रणाली लगानीको वातावरणको फूलैफूल ओछ्याएर बसेको छ ? यतातिर छलफल गर्न बाँकी छ ।

वास्तवमा हाम्रो प्रशासनिक संयन्त्र असाध्यै असहयोगी छ । अन्यत्र लगानीकर्तालाई रातो कार्पेट ओछ्याएर स्वागत गर्छन् भने हामी कहाँ अनेक दुःख दिने, झमेला लगाइदिने गरेर उल्टै तर्साएर पठाइन्छ । कानूनी रूपमा अनेक व्यवधानहरू छन् । कर्मचारीको असहयोगीपनले त्यतिकै निराश बनाउँछ । राज्यले आफ्ना संयन्त्र, शिष्टाचार, व्यवहारमा पुनः विचार गर्नु अत्यावश्यक छ ।

नेपालमा के गर्न सकिन्छ वा सकिँदैन, के–के अप्ठ्याराहरू छन्, यसलाई समेत मध्यनजर गर्दै सोही किसिमको समन्वय गर्न उहाँहरूको तर्फबाट पहल हुनुपर्छ ।

यद्यपि, उहाँहरू नेपालबाटै जानुभएको हुँदा उहाँहरू आफ्नो देशको प्रणालीबारे त पूर्ण अवगत हुनुहुन्छ । नेपालमा के गर्न सकिन्छ वा सकिँदैन, के–के अप्ठ्याराहरू छन्, यसलाई समेत मध्यनजर गर्दै सोही किसिमको समन्वय गर्न उहाँहरूको तर्फबाट पहल हुनुपर्छ ।

हामी छौं नि

नेपालमा प्रगतिको अथाह सम्भावना छ । हामीलाई प्रकृतिले धेरै राम्रो साथ दिएको छ । यहाँ अन्तरराष्ट्रिय तहको अस्पताल, होटल, स्कुल–कलेज खोल्ने, पर्यटन उद्योगमा पनि यसरी नै काम गर्न सक्ने सम्भावना छ । यसरी प्रत्यक्ष देखिने खालका काम एनआरएनले ल्याएको भनेपछि मेरो विचारमा सरकार पनि बाध्य हुन्छन् ।

त्यति गर्दा पनि सरकारको भूमिका सहयोगी भएन भने हामी पनि उहाँहरूलाई सहयोग गर्नेछौं । यदि उहाँहरूले राष्ट्रको हितमा हुने ठुल्ठुला परियोजना लिएर आउने हो भने, त्यहाँको सीप र स्रोत लिएर आउने हो र हामीलाई तपाईंहरूको साथ सहयोग चाहियो भन्नु हुन्छ भने हामी तयार छौँ । नेपाल उद्योग वाणिज्य संघ, नेपाल उद्योग व्यापार संगठन, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघलगायतका व्यवसायिक संस्थाले पनि उहाँहरूलाई यहाँ आएर लगानी गर्ने वातावरण बनाइदिन तयार हुनुपर्छ ।

सकारात्मक सरकार

नेपाल सरकारले पनि जसरी विदेशी लगानीकर्तालाई स्वागत गर्ने भनेको छ, यसको लागि एउटा पहलकदमी एनआरएनका लागि जारी गरेको नागरिकता विधेयक हो । जसरी दोहोरो नागरिकता लिन मिल्ने व्यवस्था भएको छ, त्यसले पनि एनआरएनलाई नेपालमा काम गर्ने लगानीको क्षितिज खोल्छ जस्तो मलाई लाग्छ ।

बाहिर बसेकाहरू धेरैलाई लागेको छ कि लगानी गरेर के गर्ने ? नेपालमा कमाएको सम्पत्ति सम्बन्धित बसिरहेको देशमा लान पाइँदैन, भन्ने किसिमको अप्ठ्यारो अब खुल्ला भएको छ ।

धार्मिक, स्वास्थ्य र शिक्षा पर्यटनमा उस्तै राम्रो सम्भावना छ । अन्तरराष्ट्रिय स्तरका मेडिकल कलेजहरू खोल्ने लगायत शैक्षिक पर्यटनको गन्तव्यका रूपमा काम गर्न सकिन्छ ।

अब चाहिँ नेपालले के गर्नुपर्छ भने लगानीकर्ताहरूलाई दशवटा झन्झट नदिइकन एकद्वार प्रणाली लागू गरिदिनु पर्छ । यसो त सेवामा एकद्वार प्रणाली सकेसम्म त हामी सबैका लागि गरिदिनु हितकर छ । अहिलेलाई केही नलागे एनआरएनका लागि भएपनि व्यवस्था गर्न सके राम्रो हुन्थ्यो ।

लगानी सम्भाव्यता

अहिलेसम्म वैदेशिक लगानीबाट चलेका जलविद्युत् आयोजनाहरू राम्रोसँग चलिरहेका छन् । त्यसकारण यो क्षेत्रमा अझै धेरै सम्भावना छ । अहिले बनेका करीब १०० मेगावाटसम्मका आयोजना मात्रै बनेका छन् । यसभन्दा ठूला जलाशययुक्त आयोजनामा एनआरएनले लगानी गर्न सक्छ । सिभिल एभिएसन अर्को सम्भावित क्षेत्र हो । अहिलेसम्म अन्य देशका उड्ययन कम्पनीहरूले ठुलो भूमिका खेलेका छन् । यसमा लगानी गर्दा पनि हुन्छ ।

म त भन्छु धार्मिक, स्वास्थ्य र शिक्षा पर्यटनमा उस्तै राम्रो सम्भावना छ । अन्तरराष्ट्रिय स्तरका मेडिकल कलेजहरू खोल्ने लगायत शैक्षिक पर्यटनको गन्तव्यका रूपमा काम गर्न सकिन्छ । विश्वका हिन्दु–बौद्धमार्गीहरूलाई नेपाल ल्याउन शानदार आयोजनाहरूमा काम गर्न सकिन्छ । यसरी यस्ता धेरै क्षेत्र छन्, जसमा एनआरएनहरूले हस्तक्षेपकारी ढंगले लगानी गर्न सक्छन् ।

एकताको कामना

हाम्रो राजनीति विकासविरोधी छ भन्दा अत्युक्ति नहोला । कहिले हामी विकास विरोधी भयौं ? भन्ने प्रश्न आउला । यसको जवाफ राजनीतिक दलसँगै छ । कुनै एउटा पार्टीले विकासका योजना ल्यायो, अर्कोले विरोध गर्नुपर्ने, कुनै एउटा सरकारले ल्याएको योजना अर्को सरकार आउनेबित्तिकै त्यसलाई बेवास्ता गर्नुपर्ने संस्कृति विकासविरोधी नै हो । यो संस्कृति वा प्रवृत्ति एनआरएनएभित्र पनि देखिएको हुनुपर्छ । त्यसो हुँदा त्यहाँ पनि गुट–उपगुट बन्ने गर्दा फुटसम्म पुगेको हुनसक्छ ।

देशमा विविध क्षेत्रमा लगानी भित्र्याएर नयाँ सम्भावनाका क्षेत्रमा अवसर सिर्जना गर्ने एकीकृत पहल गैरआवासीय नेपाली संघले गर्न सक्छ । संस्थामा सामूहिक सामथ्र्य हुन्छ । त्यो सामथ्र्य कायम गर्न संस्थामा गुट र फुट दुवै हुनु राम्रो होइन । यसर्थ हिजो एउटा छातामा सबैलाई समेटेर हिँड्दै गरेको यो संस्था फुटेर दुइटा भएको छ ।

विभाजनले शक्तिलाई कमजोर बनाउँछ । त्यही फाटो मिलाउँदैमा नेतृत्वको समय र उर्जा खेर जान्छ । त्यसकारण यथासक्य छिटो उहाँहरूबीच एकता कायम होस् । नकारात्मक टिप्पणी र फाटो मिलाउनु पर्ने झन्झटबाट मुक्त भइ उहाँहरू देशप्रतिको योगदानमा केन्द्रित हुन समय मिलोस् भन्ने मेरो कामना छ ।

‘मलाई नै मान्नुपर्छ’ भन्ने व्यक्तिवादी चरित्र हाबी हुँदा पनि संस्थाहरूमा समस्या देखा पर्छ । साथै संस्थाभित्र स–साना प्राविधिक कुराहरूले पनि कहिले काही ठूला समस्या निम्त्याइदिन सक्छ ।

विभाजन न हाम्रो देशको निम्ति फाइदाजनक छ, न त उहाँहरूकै निम्ति । बरु स्वच्छ प्रतिस्पर्धा गर्दा निकै राम्रो हुुन्थ्यो । यदि यो विशुद्ध सामाजिक संस्था हो, जसले विदेशमा छरिएर रहेका नेपालीलाई त्यहाँ र देशसँग जोड्ने पवित्र उद्देश्य लिएको संस्था हो भने यो पार्टीगत र गुटगत राजनीतिबाट माथि उठ्दा राम्रो हुने भन्ने लाग्छ ।

अर्को ‘मलाई नै मान्नुपर्छ’ भन्ने व्यक्तिवादी चरित्र हाबी हुँदा पनि संस्थाहरूमा समस्या देखा पर्छ । साथै संस्थाभित्र स–साना प्राविधिक कुराहरूले पनि कहिले काही ठूला समस्या निम्त्याइदिन सक्छ । जे होस् भावनात्मक मातृभूमिप्रति जोडिन बनेको सामाजिक उद्देश्यको अन्तरराष्ट्रिय हैसियतका यस्ता संस्था पनि फुटमा पुग्नु पक्कै दुःखद हो । उहाँहरूले सबैले आत्मसमीक्षा गर्दै पुनः एकताको बाटोमा जानुपर्छ । यो सम्मेलनले उहाँहरूमा त्यो उर्जा मिलोस् भन्ने कामना गर्छु ।
***

(स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का निवर्तमान अध्यक्ष कृष्ण आचार्यसँग सम्पादक शकुन्तला जोशीसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति: २८ आश्विन २०८०, आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *