आफ्नो मधुर श्वरले स्रोतालाई मन्त्रमुग्ध पार्ने भारतीय गायिका लता मंगेशकरलाई कुनै समय मन्दबिष दिएर मार्ने कोशिस भएको थियो ।
लता मंगेशकरको निकट सम्पर्कमा रहेकी कवयित्री तथा साहित्यकार पद्मा सचदेवको संस्मरणात्मक पुस्तक ‘ऐसा कहाँ से लाऊँ’ मा यस घटनाको दावी गरिएको छ ।
- लता गायनलाई पूजा मान्छिन्, त्यसैले प्रायः गाउने बेला खाली गोडा नै हुन्छिन् ।
पुस्तकमा मंगेशकरले बताएको उल्लेख गर्दै सन् १९६२ को सो घटनाको वर्णन गरिएको छ । त्यस बेला उनी ३३ बर्षकी थिइन् ।
एक दिन बिहान उठ्दा उनलाई पेटमा अफ्ठ्यारो महसुस भयो । त्यसपछि दुई/तीन चोटी उल्टी भयो । बिस्तारै उनी पेट दुखाइले हलचल पनि गर्न नसक्ने भइन् । त्यसपछि डाक्टरलाई बोलाइयो ।
दुखाइ सहनै नसकेपछि उनलाई बेहोसीको सुइ दिइयो । तीन दिनसम्म उनी जीवनमरणको दोसाँधमा रहिन् ।
- लताले चलचित्रमा संगीत पनि दिएकी छिन् । उनले ‘आन्दघन’ नाममा मराठी चलचित्रमा संगीत गरेकी थिइन् ।लता चलचित्र निर्माता पनि बनिन् । ‘लेकिन’, ‘बादल’ र ‘कञ्चनजंगा’ उनले बनाएका चलचित्र हुन् ।
त्यसपछि पनि तीन महिनासम्म ओछ्यान नै परिन् । उनलाई केवल चिसो सुप पिउन अनुमति थियो । तर पनि पेट सफा हुँदैनथ्यो र पोलिरहन्थ्यो । दस दिनसम्म उनको हालत खराब नै रह्यो । त्यसपछि विस्तारै सुधार भयो । त्यसैबेला डाक्टरले बताए कि उनलाई मन्दबिष दिइएको थियो ।
यस घटनापछि उनको घरमा खाना बनाउने भान्छे कसैलाई केही नभनी र तलब पनि नलिइ भाग्यो । पछि लतालाई थाहा भयो – त्यो भान्छेले चलचित्र उद्योगमा पनि काम गरेका थियो । यो घटनापछि घरमा भान्छेका काम उनकी सानी बहिनी उषा मंगेशकरले सम्हालिन् ।
- फोटोग्राफी लताको शोख हो, उनले खिचेका तस्वीर विभिन्न देशमा प्रदर्शनीसमेत भइसकेको छ l
पुस्तकका अनुसार बिरामी भएको बेला गीतकार मजरुह सुल्तानपुरीले गरेको स्नेह भुल्न सक्दिनन् लता । सुल्तानपुरी पूरै तीन महिना हरेक दिन बेलुका छ बजे आएर छेउमा बस्दथे र उनी जे खान्थिन्, त्यही खान्थे । कविता र कथा सुनाउँथे ।
पुस्तकमा उल्लेख अर्को घटना पनि उल्लेख्य छ –उषा मंगेशकरले देखेको सपना ।
उषा मंगेशकरले लेखिकालाई बताएअनुसार लतालाई बिरामी भएको बेला भारतीय गीतकार शैलेन्द्रको मृत्यु भइसकेको थियो । उनी उषाको सपनामा आए र भने, ‘उषा मलाई माफ गर । यो मैले गरेको होइन । मैले आफ्नै आँखाले कसैले दिदीलाई बिष दिएको देखेँ ।’
- क्रिकेट लताको मन पर्ने खेल हो । भारतको कुनै पनि ठूलो म्याच भएको दिनसारा काम छोडेर म्याच हेर्छिन् ।
कलायात्रा अभिनयबाट
लताको जन्म २८ सेप्टेम्बर, १९२९ मा भारतको इन्दौरमा भयो । इन्दौर उनको मामाघर थियो । उनको जन्मपछि परिवार कोल्हापुर बस्न थाल्यो ।
उनका बुबा दीननाथ मंगेशकर नाटक कम्पनी चलाउँथे । त्यसमा उनले बच्चाको भूमिकामा अभिनयको मौका पाइन् । दिनानाथले नाटक कम्पनी बन्द गरेर चलचित्र कम्पनी चलाए । तर लतालाई मनैदेखि अभिनयमा भने रुचि थिएन ।
सन् १९४२ मा बुबाको मृत्युपछि भने लताले परिवारको जिम्मेवारी आफैंले लिनुप¥यो । त्यसबखत उनलाई पैसाको ठूलो समस्या प-यो । समस्या टार्न निकै संघर्ष गर्नुप-यो ।
- लता कुनै पनि कुरा लेख्नुपहिले ‘श्रीकृष्ण’ लेख्छिन् ।
संघर्षको क्रममा उनले उति मन नलागे पनि हिन्दी र मराठी चलचित्रमा काम गरिन् । उनको चलचित्र अभिनय–यात्रा ‘पाहिली मंगलागौर (१९४२)’बाट भयो । जसमा स्नेहप्रभा प्रधानको सानी बहिनीको भूमिका उनले पाएकी थिइन् । त्यसपछि उनले माझे बाल, चिमुकला संसार (१९४३), गजभाऊ (१९४४), बडी माँ (१९४५), जीवन यात्रा (१९४६), माँद (१९४८), छत्रपति शिवाजी (१९५२) शामिललगायतका चलचित्रमा काम गरिन् ।
सानैदेखिको सपना गायन
लताका बुबाले छोरीलाई ५/६ बर्षकै उमेरमा गीत सिकाउन थालेका थिए ।
- एन्टोन चेखब, लियो तोल्सतोय र खलिल जिब्रान लतालाई मन पर्ने लेखक हुन् ।
लताको पनि अभिनय भन्दा गायनमै दिलचश्पी थियो । उनले पहिलो पटक वसन्त जोगलेकरले निर्देशन गरेको चलचित्रमा गाउने मौका पाएकी थिइन् । तर लताका बुबा चाहन्थे– छोरीले फिल्ममा चाहिं नगाए हुन्थ्यो ।
त्यही कारणले फिल्मबाट गीत निकालियो । तर उनको गायन–प्रतिभाबाट वसन्त निकै प्रभावित भइसकेका थिए ।
जोगलेकरले सन् १९४७ मा आफ्नो चलचित्र ‘आपकी सेवा में’मा उनलाई गाउने मौका दिए । त्यस फिल्मको गितले लतालाई निकै चर्चामा ल्यायो । त्यस पछि मजबूर फिल्मको गीत ‘अंग्रेजी छोरा चला गया’ र ‘दिल मेरा तोडा, हाय मुझे कहीं का न छोडा तेरे प्यार ने’ जस्तो गीतबाट उनको अझ चर्चा बढ्यो ।
- कुन्दनलाल सहगल र नूरजहाँ उनको मन पर्ने गायक–गायिका हुन् । लतालाई मनपर्ने शाश्त्रीय संगीतकार पण्डित रविशंकर, जसराज, भीमसेन, ठूला गुलाम अली खान र अली अकबर हुन् ।
त्यसो त चलचित्रमा अभिनय गर्ने क्रममै उनले फिल्मका लागि गीत गाइसकेकी थिइन् । उनले नूरजहाँका साथ अभिनय गरेको चलचित्र ‘बडी माँ’माका लागि गीत पनि गाएकी थिईन । त्यसमा बहिनी आशा भोस्लेको भूमिकाका लागि पाश्र्वगायनसमेत गरेकी थिइन् ।
सन् १९४९ मा बनेको ‘महल’ चलचित्रको गीत ‘आयेगा आनेवाला’ गीतबाट भने उनको चर्चा चुलियो, जसमा त्यस समयकी चर्चित र सुन्दरी अभिनेत्री मधुबालाले अभिनय गरेकी थिइन् । त्यसपछि लताले पछाडि हेर्नुपरेन ।
- गुरुदत्त, सत्यजित रे, यश चोपडा र बिमल रायका चलचित्र लतालाई मन पर्छ ।
उनले एक हजार भन्दा बढी बलिउडका चलचित्रमा गीत गाइसकिन् । ३६ भाषाका शब्दमा उनले श्वर दिएकी छिन् । भारतको सबैभन्दा ठूलो गैर–सैनिक पदक मानिने ‘भारत रत्न’ पाउने उनी दोस्री गायिका पनि हुन् ।
सन् १९७४ देखि १९९१ सम्म लताको नाम गिनिज बुकमा सबैभन्दा बढी गितहरू रेकर्ड गराउने गायिका भनेर दर्ज थियो ।
- दिपावली लताको मन पर्ने चाड हो ।
नेपाली गीतमा लताको स्वर
फूल भन्छ फुलिरहूँ
जून भन्छ चम्किरहूँ
मन त भन्छ सबैसँग
मायामोह राखिरहूँ
बाँचुन्जेलीलाई, बाँचुन्जेलीलाई…
दिनेश अधिकारीका यी शब्दले प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको श्वर पायो । गीत निकै चर्चामा आयो । सँगै चर्चामा आए लतासँग युगल गायन गर्ने गायक रामकृष्ण ढकाल र संगीतकार शिखर सन्तोष । रामकृष्ण ढकालले पछिल्लो एल्बममा यो गीत समेटे र नाम नै ‘बाँचुञ्जेल’ राखे ।
- पडोसन, गन विद द वाइन्ड र टाइटानिक लतालाई मन परेका चलचित्र हुन् ।
बजारमा यो गीतको चर्चा हुनु स्वाभाविक थियो । किनकि केही वर्षदेखि हिन्दी गीत पनि छानेरमात्रै गाउन थालेकी लताले नेपाली भाषामा गीत गाउनु सुखद त छँदै थियो । लताका कालजयी हिन्दी गीत सुन्ने नेपाली स्रोताले आफ्नै भाषामा उनको श्वर पाउनु थप आनन्ददायक छ ।
त्यसो त लताले गाएको यो नै पहिलो नेपाली गीत भने होइन । उनले ‘तिमीलाई शुभकामना, तिमीलाई लाखलाख वन्दना…’ र ‘आकाशैका नौलाख तारा म गन्न सक्दिनँ’ बोलका दुई गीत बीसको दशकमै गाएकी थिइन् । मवीवि शाहले लेखेका ती गीतमा भारतीय संगीतकार जयदेव र हेमन्त कुमारले संगीत गरेका थिए ।
- स्टेजमा गाएबापत पहिलो चोटी लतालाई २५ रुपैयाँ इनाम मिलेको थियो । त्यसलाई उनी आफ्नो पहिलो कमाई मान्छिन् । अभिनेत्रीको रुपमा उनले पहिलो पटक तीन सय रुपैंया पाएकी थिइन् ।
अन्य भारतीय गायक–गायिकाले पनि नेपाली गीत नगाएका भने होइनन् । तर तीमध्ये लताको उचाई र प्रसिद्धि बढी नै मानिन्छ ।
भारतमात्रै होइन, विश्वका धेरै देशमा सुनिने मंगेशकरको श्वरलाई ‘मखमली’ मानिन्छ । उनको गायकीको प्रशंसामात्रै होइन, उत्तिकै सम्मान पनि गरिन्छ । भारतीय संगीत क्षेत्रमा त उनी जिवीत किंवदन्ती नै बनिसकेकी छिन् ।
भारतमा भनिन्छ, ‘लताले भगवानको वरदानस्वरुप सुन्दर आवाज पाएकी हुन् । त्यसलाई उनले मानव कल्याणको लागि गरिन् । त्यसैले जबसम्म धर्तीमा सूर्य–चन्द्रमा रहन्छ, लताको आवाज हाम्रो वरिपरी गुञ्जिरहन्छ ।’
०००