Logo

१६ बैशाख २०८१, आइतबार

भूकम्पको क्षति विवरण आउँदै, घाइते उपचारका लागि नेपालगन्जको भेरी अस्पताल ‘डेडिकेटेड’

घाइतेका आफन्तजनको सहजताका लागि नरेश श्रेष्ठ, मोबाइल नं. ९८५११४३६६६ (अन्य नम्बरसहित)

१८ कात्तिक, काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ ।

त्यसैगरि ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिनुभएको छ ।

भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सुर्खेतबाट पनि राति ४ बजे उद्धार टोली खटिएको छ, मेडिकल टोली र विपद् व्यवस्थापनको टोली समेत तयारी अवस्थामा बसेको छ ।’

भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताउनुभयो । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् ।

रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् ।

सानीभेरी र चौरजहारी नगरपालिकाको बीचमा पर्ने बाटो अवरुद्ध भएकाले डोजरको सहायताले खुलाउने प्रयास भइरहेको छ ।

मध्यपहाडी लोकमार्गमा सुक्खा पहिरो खसेर बाटो अवरुद्ध र त्यसलाई पन्छाउने काम जारी छ । पालिकाभित्रका अन्य सहायक सडकहरुमा पनि सुक्खा पहिरो गएको छ ।

चौरजहारी नगरपालिकाकी उपप्रमुख ईश्वरी शर्माका अनुसार चौरजहारीस्थित मिसन अस्पताल र खोलागाउँस्थित शहीद स्मृति अस्पतालमा गरी करिब दुई दर्जन घाइतेहरु उपचाररत छन् । धेरै घाइतेहरु मिसन अस्पतालमा छन् ।

गम्भीर घाइतेहरुलाई थप उपचारका लागि एम्बुलेन्स मार्फत सुर्खेत, नेपालगन्ज लगायतका स्थानमा रिफर गरिएको छ ।

भूकम्प प्रभावित क्षेत्रबाट घाइतेहरुलाई अस्पतालमा ल्याउने र उपचार गराउने काममा नगरप्रहरी, स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिहरु खटिएका छन् ।

चौरजहारी नगरपालिका–७ खत्रीगाउँमा भूकम्पले घर भत्किँदा घाइते भएका ८ जनालाई चौरजहारी नगर प्रहरीले उद्धार गरी एम्बुलेन्समार्फत् चौरजहारी अस्पतालमा ल्याएको छ ।

भूकम्पमा परी घाइते भएकी चौरजहारी–८ की मनिसा घर्तीमगरलाई नगर प्रहरी जवान रोशन केसीले रक्तदान गरी सहयोग गरेका छन् । मनिसालाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ ।

भूकम्पबाट बालबालिका, बुढाबुढीहरु बढी प्रभावित भएका छन् । गोठ भत्किएर पशु चौपाया पुरिएर मरेका छन् । त्यसको विवरण संकलन गर्न बाँकी छ ।

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गर्नुभएको छ ।

भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रका लागि जानुभएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

उद्धार र राहतमा समन्वयका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासमेत प्रभावित क्षेत्रमा जानुभएको छ । मन्त्री बस्नेत जाजरकोट र शर्मा रुकुमपश्चिमबाट निर्वाचित सांसद हुनुहुन्छ ।

प्रधानमन्त्री दाहालले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको जनाउनुभएको छ ।

उहाँले घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका जानकारी दिनुभएको छ । प्रधानमन्त्री दाहालले उद्धार एवं राहतमा जुट्न सबैमा अपिलसमेत गर्नुभएको छ ।

भूकम्प प्रभावितको खोज उद्धारका लागि तीनवटै निकायका थप सुरक्षाकर्मी सुर्खेतलगायत छिमेकी जिल्लाबाट पनि सो क्षेत्रतर्फ प्रस्थान गरिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

भूकम्पमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ ।

भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी भीम ढकालले जानकारी दिए ।

उनका अनुसार नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो । उहाँ कांग्रेसबाट निर्वाचित हुनुभएको थियो ।

भेरी अस्पताल नेपालगन्ज डेडिकेटेड अस्पताल

जाजरकोट तथा रुकुम पश्चिममा गएरातिको भूकम्पमा परी घाइते भएकाको उपचारका लागि भेरी अस्पताललाई तोकिएको छ ।

भेरी अस्पताल नेपालगन्जलाई उपचारको लागि डेडिकेटेड अस्पताल बनाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरुको आफन्तजनको सहजताको लागि पनि नरेश श्रेष्ठलाई समन्वयको जिम्मेवारी दिइएको छ ।

उहाँलाई ९८५११४३६६६ मा फोन गर्न सकिनेछ । उपचारका लागि कोहलपुर मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको छ ।

भेरी अस्पताल , सैनिक अस्पताल र प्रहरी अस्पतालको १ सय ५ वटा बेड तयारी अवस्थामा राखिएको पोखरेलले जानकारी दिनुभयो ।

हेलिकप्टरबाट आउने बिरामीको लागि राँझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ ।

रगत पनि मौज्दात रहेको जानकारी दिँदै अपुग भएमा फ्रेश ब्लड आपूर्तिको लागि रक्त दाता सुरक्षाकर्मीको व्यववस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तत्काल उद्धारका लागि जाजरकोटमा ९८५८०७७३३३, ९८५८०५७१९०, ९८६८९३६६७८ वा ९८४८१२२५८४ रूकुम पश्चिममा ९८५७८३७७७७, ९८६१०८७१३२, ९८५७८३५५५५, ९८५१२५८२१७, ९८५७८७२७७७ वा ९८४७९३६११३ नम्बरमा सम्पर्क गर्नुहुन जिल्ला प्रशासन कार्यालय जाजरकोट र रुकुम पश्चिमले अनुरोध गरेका छन् l

भूकम्पको केन्द्र जमिनबाट १० किलोमिटर तल

जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिनुभयो ।

भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि चार घण्टाको अवधिमा ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा परकम्प गएका छन् ।

‘गएरातिको भूकम्प आफैंमा परकम्प हो,’ केन्द्रका एक भूकम्पविद्ले भन्नुभयो, ‘अरु साना कैयौं परकम्पहरु गएका छन् । ४ रेक्टरभन्दा माथिका तीनवटा परकम्प मापन भएको छ ।’

उहाँका अनुसार जाजरकोटको रामिडाँडा आसपास केन्द्रविन्दु बनाएर ११ बजेर ४७ मिनेटमा ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको थियो । जमिनको सतहबाट करिब १० देखि १२ किलोमिटरमुनि भूकम्पको केन्द्र रहेको उहाँले बताउनुभयो ।


प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *