Logo

१६ बैशाख २०८१, आइतबार

काठमाडौँ, १८ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा भूकम्पमा परेर घाइते भएकाहरुको उपचार सरकारले निःशुल्क गर्ने बताउनुभएको छ ।

स्वास्थ्यमन्त्री बस्नेतले घाइतेहरुको उपचारका लागि स्वास्थ्यकर्मीहरुको टोली घटनास्थल पठाइसकिएको जानकारी दिँदै आवश्यकताअनुसार थप उपचारका लागि औषधिसहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको जानकारी पनि दिनुभयो ।

उहाँले भन्नुभयो, “त्यहीँ उपचार गर्नुपर्ने घाइतेहरुको उपचार त्यही गर्छौं, त्यहाँ उपचार सम्भव नहुनेलाई हेलिकप्टरबाट भए पनि सुविधासम्पन्न अस्पताल ल्याएर उपचार गर्छौं । उपचारमा कुनै कमी हुने छैन ।”

मन्त्री बस्नेतले प्राकृतिक विपत्तिका बेला सरकारले उपचारमा कुनै कमी हुन नदिने जानकारी दिनुभयो । उहाँले जाजरकोट र रुकुमका घाइतेको अवस्था हेरेर उपचारका लागि थप के गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयका विज्ञहरुसँग सल्लाह गरेर अगाडि बढ्ने जानकारी दिनुभयो ।

केएमसीले पनि निःशुल्क उपचार गर्ने
जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको भूकम्पमा परी घाइते भएकाहरुलाई काठमाडौँ मेडिकल कलेज (केएमसी) ले निःशुल्क उपचार गर्ने जनाएको छ ।

मेडिकल कलेजका कार्यकारी अध्यक्ष सोइना शर्माले आज एक विज्ञप्ति जारी गरी भूकम्पमा परी घाइते भएकाहरुलाई केएमसीले निःशुल्क उपचार गर्ने जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पठाउनसमेत केएमसी तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अस्पतालका सल्लाहकारसमेत रहनुभएका मोरङ जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा सुनिल शर्माको सक्रियतामा केएमसीले घाइतेहरुको निःशुल्क उपचार गर्न लागेको अध्यक्ष शर्माले विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।

केएमसीले भूकम्पका कारण ठूलो जनधनको क्षति भएकामा अत्यन्त मर्माहत रहेको जनाउँदै ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र उपचार तथा स्वास्थ्य लाभको कामना गरेको छ ।

राससको सहयोगमा

प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *