Logo

१४ माघ २०७९, शनिबार

खेतबारीमा काम गर्दै हुर्किएका किसानका छोरा हुन् तेजप्रसाद पराजुली । आफ्नै हातले उब्जाएको अन्नपात खान राम्रो लाग्छ उनलाई ।

तर, जिविकामुखी खेती प्रणालीका कारण बराजुका पालादेखि आजसम्म पनि किसानको जीवन खासै माथि नउठेको उनलाई बोध छ । मिहिनेत धेर, उत्पादन कम हुने भएपछि वर्षभरीको कमाईले प्रायः दुई छाक टार्न मात्रै ठिक्क हुने, कतिपयले ज्यालामजदुरी गर्नुपर्ने बाध्यता पनि देखेका छन् ।

खेती गर्ने प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्न सके फेरि त्यही जमिनमा पैसा फलाउन सकिने संभावना पनि उत्तिकै देख्छन् । यही संभावनालाई उनी अब वडाध्यक्षका रुपमा आकार दिने तयारीमा छन् । भर्खरै निर्वाचित तेजप्रसाद वडाबासीको आर्थिक विकासको पहिलो आधार तयार गर्न उनीहरुसँग भएकै जमिनलाई व्यवस्थित गर्ने योजना अघि सार्छन् ।

बदर्पा पोखरेली चामल नाममा ब्राण्डिङ गरी बजारमा पुर्‍याउनु छ ।

उनको वडा जालबारी, अँधेरीलगायत बेंसी फाँटदेखि हिउँ पर्ने ब्वाँसे लेकसम्म फैलिएको छ । यी विविधतायुक्त माटो सुहाउँदो खेतीलाई आधुनिक प्रणालीमा जोड्ने उनको पहिलो लक्ष्य छ ।

उनी भन्छन्, ‘नगदे बाली लगाउन किसानलाई प्रेरित गर्ने, वडाको तर्फबाट स्रोत पुगेसम्म अनुदान तथा अन्य सहयोग उपलब्ध गराउने प्रबन्ध गर्ने छु । उत्पादित वस्तुलाई नजिकको खाडी चौर बजारले थेग्न सक्दैन । त्यसो हुँदा काठमाडौंसम्म पुर्‍याउने प्रबन्ध गर्ने पनि मेरो सोच छ ।’

स्थानीय चामलको ब्राण्डिङ

गाउँकै बदर्पाको क्षेत्रमा पोखरेली धान उत्पादन हुन्छ । जसको बजारमा निकै राम्रो माग छ । अन्य धानका चामलभन्दा बढी मूल्यमा विक्रि हुने उक्त चामललाई स्थानीय नाममै ब्राण्डिङ गरी बिक्री गर्नसके किसान निकै लाभान्वित हुने थिए । उनी भन्छन्, ‘बदर्पा पोखरेली चामल नाममा ब्राण्डिङ गरी बजारमा पुर्‍याउनु छ । प्याकेजिङ नै गाउँमै गरी बजार पुर्‍याउने प्रबन्ध गर्न वडाको तर्फबाट संयन्त्र बनाउन पहल गर्छु ।’

भूकम्पले क्षतिग्रस्त भएर बन्द भएको सामुदायिक डेरीलाई पुनःसञ्चालनमा ल्याउने पनि योजना बनाउँदै छन् ।

गाउँमा मासु बाहिरबाट आयात हुन्छ । तर, आफ्नो घरमा कुखुरा पाल्ने किसान पनि ब्रोइलरका आयातित मासु किनेर खान्छन् । व्यावसायिक पशुपालनको थालनी केही मात्रामा नभएको होइन । तर, यसलाई थप व्यवस्थित गरेर किसानको आर्थिक स्थिति माथि उठाउने उनको अर्को योजना छ ।

भन्छन्, ‘व्यावसायिक काम गरे गाउँमै बसेर किसानले हरेक दिन हातमा पैसा खेलाइरहन सक्छन् । यहीँ कमाई भए गाउँबाट पलायन हुने क्रम पनि रोकिने छ ।’

दूग्ध उत्पादनमा पनि किसानलाई झक्झक्याउँदै छन् । यसका लागि प्राथमिकताका साथ पशु बीमाको योजना लागू गरिने छ । उत्पादन बढाउने र भूकम्पले क्षतिग्रस्त भएर बन्द भएको सामुदायिक डेरीलाई पुनःसञ्चालनमा ल्याउने पनि योजना बनाउँदै छन् ।

उनको वडामा शैक्षिक रुपमा पछि परेको समुदाय छन् । उसो त सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर गतिलो छैन । आर्थिक अवस्था बलियो भएका बाहेक आम जनताका छोराछोरी सामुदायिक विद्यालय नै जान्छन् । अब सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजीको हाराहारी पुर्‍याउने उनको प्रयत्न रहने छ ।

ग्रहण गरेको शिक्षाकै आधारमा व्यक्तिको भविष्य निर्धारण हुन्छ । विभेदपूर्ण शैक्षिक नीतिकै कारणफरक हैसियतका नागरिक उत्पादन हुने उनको धारणा छ । उनी आफ्नो समाजलाई समतामुलक बनाउन चाहन्छन् ।

हुन त उनको एउटा वडा सुव्यवस्थित भएर मुलुक बन्दैन । तर, शुरुवात गर्न सकिन्छ, बाटो देखाउन सकिन्छ, उनी यसमा विश्वास छ । त्यसकारण सामुदायिक विद्यालयको गुणस्तर सुधारमा उनले पहल गर्दैछन् ।

वडाको भौतिक पूर्वाधारमा पनि गुणस्तर विकास गर्ने जिम्मा अब उनको काँधमा आएको छ । गाउँ जाने बाटोपहिले खनिएको छ, तर, तिनको स्तरोन्नती बाँकी छ । ग्राभेल बाटोको ग्रेडिङ गर्ने, माथिल्लो मांखा हुँदै ब्वासेसम्मको बाटो फराकिलो पार्ने लक्ष्य छ । त्यसो भएपछि काठमाडौंदेखि निर्वाधरुपमा वडाको माथ्लो भेग गाडी चल्ने छ ।

वडाध्यक्ष कार्यालयमा भेटिदैनन् भन्ने यसअघिको जनगुनासोलाई तोड्ने छु । म नियमित कार्यालयमै रहेर जनतालाई सेवा दिने छु ।

गाउँमै छ तिर्थस्थल

वडाको शिरमा सेल्ताप भगवती मन्दिर छ ।सो मन्दिरमा सम्बद्र्धन गरी नजिकका पर्यटक आकर्षित गर्न पनि वडाले पहल लिने छ ।

भन्छन्, ‘हामी भगवानको दर्शन गर्न भनी कालिञ्चोक जान्छौं, कहाँ पाथिभरा पुग्छौं, भारतसम्म पनि धाउँछौं । तर आफ्नै ठाउँमा भएको तीर्थको महत्वलाई कम बुभिराखेका छौं । अब मन्दिरसम्म पुग्ने बाटो बनाउने, बीचमा होमस्टे निर्माण गर्ने पनि मेरो योजना छ । त्यसो गर्न सकिए पर्यटक भित्र्याउन सकिन्छ । यहाँका मानिसको आयको नयाँ स्रोत हुनसक्छ ।’

यसअघिको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा पराजित भएका उनलाई यसपटक भने जनताले विश्वासको मत दिए । उनी खुसी छन् ।

भन्छन्, ‘जनताले मलाई गरेको विश्वासको म सम्मान गर्छु । एउटा सिफारिस लिनु परे पनि वडाध्यक्ष कार्यालयमा भेटिँदैनन् भन्ने यसअघिको जनगुनासोलाई तोड्ने छु । म नियमित कार्यालयमै रहेर जनतालाई सेवा दिने छु ।’

प्रकाशित मिति: ५ जेष्ठ २०७९, बिहिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मरुहिटी मार्ट

सम्बन्धित सामग्री

सिफारिस