काठमाडौं । यतिबेला देशभर चुनावी माहोलले तातिएको छ । स्थानीय तहको निर्वाचनको मतदान हुन दुई दिनमात्र बाँकी रहँदा उम्मेदवारले मतदाताको घरदैलो अभियानलाई जारी राखेका छन् । यद्यपि प्रचारप्रसारका लागि भने आज अन्तिम दिन हो । आज रातिबाट मौन अवधि सुरु हुन्छ ।
उम्मेदवारहरु गाउँ विकासका अनेक एजेण्डा लिएर मतदाताको दैलोमा मत माग्दैछन् । यसपाली अझ रोचक त के भने विभिन्न दलबाट अधिकांश युवा उम्मेदवारहरु नै उम्मेदवार बनेका छन् ।
लामो समय राजनीतिमा होमिएका र सेतै फुलेकाहरु मात्रै उम्मेदवारका रुपमा देखिने नेपाली समाजमा युवा उम्मेदवारको मुहारले उत्साह भने अवश्य छाएको छ ।
यस्तै अभियानमा छिन् सिन्धुपाल्चोकको बलेफी–२ की सपना थापा । उनी नेकपा एमालेबाट गाउँपालिकामा उपाध्यक्षकी उम्मेदवार हुन् ।
उनले गाउँ विकास र सामाजिक उत्थानको मुद्धालाई प्राथमिकताका साथ राखेर मतदाता रिझाइरहेकी छिन् । राजनीतिक पृष्ठभूमि रहेकी सपनाले आफ्नो जित सुनिश्चित भएको दावी गर्दै आएकी छिन् ।
उनका काका २०५४ सालको स्थानीय तहमा जनप्रतिनिधिसमेत भएका थिए । परिवारका सदस्यहरु नै राजनीतिमा आवद्ध भएकाले पनि विद्यार्थीकालबाटै उनको राजनीतिक अवतरण सुविधाजनक नै रह्यो ।
सानै उमेरदेखि राजनीतिप्रति लगाव हुनुमा उनी परिवारकै प्रभाव रहेको बताउँछिन् । ‘२०५४ सालमै मेरा काका स्थानीय तहको जनप्रतिनिधि बन्नुभएको थियो । बुवा पनि एमालेकै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । त्यसैले पनि मलाई विद्यालय तहदेखि यसमा आवद्ध हुन सहज भयो,’ उनी भन्छिन् ।
हरेक टोलमा एउटा महिला नेतृत्वकर्ता बन्नेछन्
उनको मूल मुद्दा भनेकै राजनीतिमा महिलाको सहभागिता उच्च बनाउनु हो । अझ भन्नुपर्दा नेतृत्व तहमा सक्षम महिलाको सहभागिता बढाउनु पनि हो । अझै पनि महिलालाई घरबाहिर एक्लै निस्कने वातावरण तयार भइनसकेको अवस्थामा आफूले जितेको खण्डामा त्यो अवस्थामाथि सुधार ल्याउने उनको अठोट छ ।
‘न्यून मात्रामा महिला अघि आए पनि अधिकांश महिलाहरू अझैं चुलाचौकामै सिमित छन् । मेरो मुख्य उद्देश्य नै महिला सशक्तिकरण हो । महिला पनि नेतृत्वका लागि सक्षम छन् भनेर देखाउनु हो’, थापा भन्छिन् ।
जनप्रतिनिधिका रुपमा चुनिएपछि उनले हरेक टोलबाट अर्को चुनावका लागि कम्तिमा एक जना महिला प्रमुख दावेदारका रुपमा उत्पादन गर्ने मुख्य लक्ष्य छ । ‘महिलालाई नेतृत्व दिन कन्जुस्याईँ गरिन्छ । केही कमजोरी होला तर, मैले जितेँ भने जुनसुकै दलका हुन् अर्को चुनावसम्म हरेक गाउँमा अध्यक्षमै दावी गर्ने एउटा महिला प्रतिनिधि तयार पार्नेछु ।’
यस्तै युवालाई राजनीतिक चेतनासहित आत्मनिर्भर बनाउनेतर्फ नै आफ्नो सम्पूर्ण ध्यान जाने थापाको भनाइ छ । लामो समय सामाजिक संघसंस्थाहरुमा काम गर्दा आर्थिक विकास, नेतृत्व विकास र आत्मनिर्भर बन्नबाट रोक्ने समस्याहरुको निकारण गर्नु नै आफ्नो मुख्य एजेण्डा भएको थापा बताउँछिन् ।
युवामा राजनीति र नेतृत्वप्रति देखिएको घृणा कम गर्दै समक्षम युवा नेतृत्व विकासमा जोड दिने थापाको योजना छ । अहिलेका युवामा देखिएको अराजक मनोवृत्ति नेतृत्व गरिरहेका प्रतिनिधिबाटै भएकाले त्यसलाई चिर्न पनि आफ्नो जित आवश्यक रहेको थापा बताउँछिन् ।
गाउँलाई आत्मनिर्भरताको बाटोमा लैजान्छु
बढ्दो बेरोजगारी र युवाको विदेशिने लहरले थापा चिन्तित छिन् । यतिका पाँच वर्षसम्म जनप्रतिनिधिले यो समस्या निकारणका लागि केही गर्न नसकेकोप्रति उनको दुःखेसो छ ।
‘अघिल्ला पाँच वर्षमै युवा रोक्ने कामहरु हुनुपथ्र्यो । अहिले हेर्नुस त गाउँमा मान्छे बिरामी पर्दा अस्पताल लैजाने मानिस पनि छैनन्,’ उनी भन्छिन्, ‘गाउँमा जमिन बाँझो छ । सबैभन्दा पहिले त स्थानीय भू–उपयोग नीति बनाउन आवश्यक छ ।
उत्पादनसँग युवालाई जोड्दै त्यसको बजारीकरण गर्न सकियो भने बेरोजगारी मात्रै होइन, विदेश पलायन हुने समस्या पनि समाधान हुन्छ । मेरो मुख्य जोड यस्तैमा हुनेछ ।’
समान सहभागितासहितको विकासले नै समृद्धि हासिल गर्न सकिने भएकाले गाउँपालिकाका हरेक विकास निर्माणका योजनामा सबै वर्गको प्रतिनिधित्व गराउने प्रतिवद्धता थापाको छ ।
‘मेरो मुख्य टार्गेट नै युवा र महिला हुन् । किनकी सामाज र देशलाई शारिरीक, मानसिक तथा बौद्धिक रुपमा योगदान दिने वर्ग नै यही हो । त्यसैले क्षमता विकास र आत्मनिर्भरताका योजनाहरुमा यो वर्गलाई नै समेट्छु’, उनी भन्छिन्, ‘भलै पाँच वर्षमा सबै काम गर्न नसकिएला । तर, सकारात्मक सोचबाट केही हेर्न लायकका कामहरु अवश्य सुरु हुनेछन् ।’
यस्तो छ थापाको राजनीतिक यात्रा
फुल्पिङकोटा माविमा अध्ययन गर्दैगर्दा उनी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा प्रारम्भिक कमिटीमा आवद्ध भइन् ।
सानैदेखि राजनीतिमा महिला सहभागिता र लैगिक समानताको मुद्दालाई उठाउँदै आएकी थापा २०६७ देखि गाउँ कमिटी सदस्य बनिन् । त्यसैवर्ष उनी अखिल नेपाल महिला संघको सदस्य पनि बनिन् ।
थापाले ग्रामीण विकासमा विसं २०७४ सालमा स्नातकोत्तर उत्तीर्ण गरिन् । अहिले कानून शास्त्र संकायमा आवद्ध छिन् । विभिन्न सामाजिक अभियानमा संलग्न थापा २०६८ देखि नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध भइन् ।
पार्टीप्रति उनको लगावकै कारण उनले २०७१ मा अखिल नेपाल महिला संघको क्षेत्रीय सचिवको जिम्मेवारी सम्हालिन् । यस्तै, एमालेको गत महाधिवेशनमा आयोजक कमिटी सदस्य र प्रभार विभाग सदस्यसमेत बनिन् ।
हाल उनी राष्ट्रिय युवा संघको सचिवालय सदस्य र निर्वाचन आयोजक कमिटी सदस्य समेत हुन् । दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यसमेत भएकी थापालाई पार्टीले योगदानकै मूल्यांकन गरेर गाउँपालिका उपाध्यक्षको टिकट दिएको हो ।
उनले २०६५ देखि २०७२ मा फुल्पिङकोट माविमा शिक्षकको काम गरिन् । त्यसपछि भने उनी पाँच वर्ष विभिन्न सामाजिक संस्थामा आवद्ध भइन् ।
उनीसँग २०७२ देखि २०७७ सम्म महिला आत्मनिर्भरता केन्द्र, नेपाल रेडक्रस सोसाइटी, सामुदायिक आत्मनिर्भरता केन्द्र लगायत भूमि अधिकार, महिला तथा बालबालिकाको क्षेत्रमा लैंगिक समावेशीकरण, सार्वजनिक जवाफदेहिता, सहभागितामूलक दिगो विकासको क्षेत्रमा सहकार्य तथा समन्वय गर्दै काम गरेको अनुभव छ ।
यसबीचमै उनले केही सञ्चारमाध्यममा सम्पादकको भूमिकामा रहेर पनि काम गरिन् । थापा कलाकार पनि हुन् । लोक दोहोरी क्षेत्रमा उनले गाउने मात्रै नभइ नेतृत्वमासमेत बसेर काम गरिरहेकी छिन् । २०७५ सालयता राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान सिन्धुपाल्चोकको सचिवको भूमिकामा छिन् ।