Logo

१४ माघ २०७९, शनिबार

काठमाडौं । राजुसिंह कठायतको पारिवारिक विरासत राजनीतिक आधारमा बनेको हो। उनका बुवा अदनसिंह कठायत भने पञ्चायतकालमा मन्त्री बनेका थिए । तर, त्यसपछि भने उनको परिवारको मुख्य पहिचान भन्नु व्यवसायिक घराना नै हो । जुम्लामा हुने अधिकांश ठूला ठेक्कापट्टामा कठायत परिवारकै रजगज चल्छ ।

अहिले उनै राजुसिंह कठायत चन्दननाथ नगरपालिकाको दोस्रो नगरप्रमुखका रुपमा निर्वाचित भएका छन् । कांग्रेसको गढका मानिने नगरपालिकामा उनले बागी उम्मेदवारी दिएर कांग्रेसकै उम्मेदवारलाई हराए ।

नेकपा एकीकृत समाजवादीसँग तालमेल गरी उनले उम्मेदवारी दिएका थिए । जसमा २४०४ मतसहित आफ्नो जित हासिल गरे । उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका पदमबहादुर शाहीले भने २३४१ मत प्राप्त गरे ।

टिकटका लागि कोशिस गरे पनि प्रदेश सभापति ललितजंग शाही बाधक बन्दा उनले टिकट पाएनन् । हुन त कांग्रेसकै राजनीतिमा कठायत सक्रिय बनेको पनि धेरै भएको छैन ।

व्यवसायी भएकै कारण कठायतलाई टिकट दिन नहुने भन्दै पार्टीभित्र चर्को आवाज उठेको थियो । तर जनतामाझ उनको लोकप्रियता भने निकै राम्रो थियो ।जुन कुरालाई ख्याल गर्न नसक्दा कांग्रेसले जित सुनिश्चित भएको नगरमा आफ्नो मत गुमाएको हो ।

कठायतको राजनीतिक करिअरमा जनताले पार्टीबाट भन्दा पनि स्वतन्त्र रुपमा पत्याएका छन् । उनी स्थानीय तहकै निर्वाचनमा दुईपटक उम्मेदवारका रुपमा सहभागी बने । तर, दुवैपटक स्वतन्त्र उम्मेदवार भएरै जित हासिल गरेका छन् ।

उनले स्वतन्त्र जितेको यो पहिलोपटक भने होइन । यसअघि २०५४ को निर्वाचनमा उनी वडाध्यक्षमा निर्वाचित भएका थिए । त्यसबेला आवद्ध राप्रपाबाटै टिकट चाहन्थे । तर, पार्टीले उनलाई पत्याएन र उनी स्वतन्त्र उठे । जनताबीच लोकप्रिय भएकै कारण त्यसबेला पनि जितेका थिए ।

अहिले पनि सोही घटना दोहोरियो । टिकटका लागि कोशिस गरे पनि पार्टी नेतृत्वले उनलाई दिन चाहेन । संस्थापनसँग राम्रो पकड भएका पदमबहादुर शाहीले टिकट पाए । शाहीलाई भरोसा थियो कि आफ्नो जित सुनिश्चित छ तर उनलाई आफ्नै वडामा समेत अपेक्षा गरे अनुसारको मत प्राप्त भएन । सुरुवातदेखि नै अग्रता लिएका कठायतले १० नम्बर वडासम्म पुग्दासम्म अग्रता कायम राखे ।

दुईपटक पार्टी बाधक

पार्टीभित्र योगदान भए पनि उनलाई कांग्रेसले नै नपत्याएको यो पटक मात्रै होइन । अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि उनी मेयरको उम्मेदवार बन्न चाहन्थे । तर, त्यसबेला पनि ललितजंग शाही नै बाधक बने । शाहीको सहयोगले कान्तिका सेजुवालले टिकट पाइन् ।

तर, त्यसबेला निकै लफडा भएको थियो । कठायतका समर्थकले पार्टी सभापति शेरबहादुर देउवाको पुत्ला नै जलाए । ललितजंग शाहीको घरमा धर्ना कसे । तै पनि अर्कोपटक सम्बोधन गर्ने भन्दै कठायतलाई मत्थर पारिएको थियो ।

यद्यपि त्यसबेला पनि कठायतले बागी उम्मेदवारी दिएको भए सेजुवालको हार सुनिश्चित थियो । कठायतको सहयोग मात्रै नभई सेजुवालका स्वर्गीय पति मानव सेजुवालको लोकप्रियताका कारण कांग्रेसले नगरपालिकामा नेतृत्व हत्याउन सफल भएको थियो ।

पूर्व शिक्षिकासमेत रहेकी कान्तिकालाई त्यसबेला एकल महिला र मानव सेजुवालको पत्नीका रुपमा मतदाताले पत्याएका हुन् । तर, पाँच वर्षे कार्यकालमा विवाद झिक्नेबाहेक उनले नगर विकासका लागि कुनै काम गर्न सकिनन् । सोही कारण पनि कांग्रेसकै गढमा बागीले जित्ने अवस्था आइपुगेको हो ।

अहिले कांग्रेसले नै आधिकारिक उम्मेदवार बनाएका पदमबहादुर शाही लोकप्रिय नेता भने होइनन् । अधिवक्तासमेत रहेका शाहीको आफ्नै गाउँमासमेत त्यति राम्रो सम्बन्ध छैन । नगरपालिकाको १० नम्बर वडा कांग्रेसको विरासत बोकेको वडा हो ।

भौगोलिक हिसाबले पनि अघिल्ला चुनावमा आफ्नो गाउँमा व्यक्ति उम्मेदवार भएमा एकलौटी भोट जान्थ्यो । तर, यसपाली त्यसो रहेन । शाहीले आफ्नै वडामा मात्र पकड जमाउन सकेको भए कठायतलाई पराजित गर्न सक्थे ।

शाहीले मेयरमा मात्रै पराजय भोगेनन्, वडामै पनि कांग्रेसलाई जिताउन सकेनन् । कांग्रेसकै गढमा उनकै गाउँका नमराज शाहीले वडाध्यक्षमा माओवादीबाट जितेका छन् । पाँच वर्षअघिसम्म उक्त वडामा माओवादी निकै कमजोर थियो ।

अघिल्लो कार्यकालमा जनप्रतिनिधिको विवादले हैरानी खेपेका नगरवासीले कठायतबाट भने निकै अपेक्षा गरेका छन् । यद्यपि व्यवसायिक घराना भएकाले कठायतले आफ्नो व्यवसायिक लाभ हेर्छन् कि जनताको सेवाप्रति बढी ध्यान दिन्छन् त्यो त हेर्न बाँकी नै छ ।

तर, निर्वाचित भएपछि उनले सबैको भावनाको सम्बोधन हुने आश्वासन दिएका छन् । उनले अघिल्ला जनप्रतिनिधिको कार्यकालभन्दा आफ्नो भिन्न हुने दावी गरेका छन् । साथै मुख्य समस्याका रुपमा रहेको सरसफाइ व्यवस्थापन र विद्युतीकरणलाई नै पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

विजय जुलुशका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘सबै युवाको साथले नै म निर्वाचित भएको छु । अब सबैको सल्लाहअनुसार नै काम गर्नेछु । तर, एउटा कुरा अघिल्ला प्रतिनिधिको कामको तुलनामा पक्कै भिन्न चाहिँ देख्नुहुनेछ ।’

प्रकाशित मिति: ४ जेष्ठ २०७९, बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मरुहिटी मार्ट

सम्बन्धित सामग्री

सिफारिस