Logo

३ माघ २०८१, बिहिबार

लिम्बूटोल । कालो कपाल, खाइलाग्दो जिउडाल, कसैले बोलाए पहिल्यै मुसुक्क मुस्कान दिन्छन् अनि मुन्टो फर्काउँछन् । उमेर १६ वर्षको भए पनि उनको जिउडाल भने २० पुगिसकेको जस्तो देखिन्छ । अलिक दूरीमा पछाडिबाट हेर्दा कुनै डिउ्टीमा बसेका सिपाहीजस्तै देखिन्छन् ।

राजु ऋषिदेव मोरङको ग्रामथान गाउँपालिका मोतिपुरका राजुप्राय बेलबारी–५ मटियारीमै बस्छन् । उनको मामाघर त्यहिँ मटियारीको लिम्बूटोल हो । अघिल्लो श्रृंखलामा उल्लेख गरिएका झुरो ऋषिदेव उनका बाजे हुन् । एक वर्षअघिसम्म पिठ्यूमा झोला र किताब बोकेर विद्यालय जान्थे राजु ।

तर, अहिले भने उनी विद्यालयमा कहिलेकाँहि मात्रै भेटिन्छन् । लोहन्द्रा खोला वरिपरीका मुसहरजस्तै उनी पनि अहिले बालुवाटारमै हुन्छन् । बिहानदेखि बेलुकासम्म तीनै सकुम्बासी जो दिनभर बालुवा उतार्छन् उनीहरुसँगै बेल्चा चलाउँछन् राजु ।

हामी रिपोर्टिङका लागि खोलामा पुग्दा राजुपनि त्यहिँ थिए । आधा शरीर खोलाको पानीमा डुबाएर बालुवा उतार्दै थिए । ‘तपाईं त स्कूल जानुपर्ने होइन ? किन यहाँ बालुवा उर्ता आउनुभएको त ? कि पढ्नुहुन्नँ ?’ मेरो प्रश्न नसकिँदै अर्का युवाले भने, ‘घरमा कमाउने कोही नभएपछि के गर्नु त सर बिहान बेलुका हातमुख जोर्नेपर्यो ।’

राजुका बुबा सत्ली ऋषिदेव पनि त्यहिँ खोलामै काम गर्थे । दैनिक खोलाको फोहोर पानीमा डुब्दाडुब्दै उनको जिन्दगी नै डुब्न पुग्यो । भर्खर अधबैंसे उमेरमा नै सत्लीको ज्यान खोलाले खायो । संधै पानीसँग पौठेजोरी खेल्न कसले पो सक्छ र ? शरीरमा ताकत हुँदासम्म त सत्लीले पनि हिम्मत कहाँ हारे र ? तर, एक दिन उनी अचानक बिरामी भए । उनलाई विराटनरस्थित अस्पतालमा लगियो । सत्लीका जेठा छोरा सुमन कमाउन भारत गएका थिए ।

आर्थिक स्थिति राम्रो नहुँदा सत्लीले सुमनलाई सामान्य साक्षरबाहेक माथिल्लो कक्षामा पढाउन सकेनन् । तर, राजुलाई भने कम्तिमा पनि प्लस–टूसम्म पढाएर कतै जागिर खाएको हेर्ने सपना थियो सत्लीको ।

बुबा बिरामी भएको खबर पाएपछि केही महिनाको दुःख गरी कमाएको रकमसहित घर फर्किए । सत्ली यति थलिसकेका थिए कि उनको उपचार त्यहाँ सम्भव भएन । उपचारका लागि न भारततिर लैजाने पैसा थियो, न राजधानीका महंगा अस्पतालमा भर्ती गराउने ल्याकत नै । केही दिनको अस्पताल बसाइपछि घरमै फर्काए । भर्खर किशोरावस्थामा लाग्दै गरेका राजुकै अगाडि सत्लीले परान छाडे ।

लामो समयदेखि दैनिक खोलामा होमिने सत्लीलाई पानीकै कारण नसा र छातीमा गम्भीर असर पर्यो । त्यहि कारण ज्यान गएको स्थानीय बताउँछन् । त्यसबेला राजु कक्षा ८ मा पढ्थे । २०७७ फागुन २३ गते सत्लीको मृत्यु भयो । समुन विवाह भएकाले पहिल्यै आमा–बाबुसँग छुट्टिएका थिए ।

भिन्न बसेका दाईले कति नै सहयोग गर्थे र ? फेरि सुमनलाई पनि त आफ्नी पत्नी र बालबच्चाको हेरचाह गर्नु नै थियो । जुन त्रास सत्लीको मनमा थियो, आखिर त्यहि नै भयो । पहिले आर्थिक स्थिति राम्रो नहुँदा सत्लीले समुनलाई सामान्य साक्षरबाहेक माथिल्लो कक्षामा पढाउन सकेनन् ।

तर, राजुलाई भने कम्तिमा पनि प्लस–टूसम्म पढाएर कतै जागिर खाएको हेर्ने सपना थियो सत्लीको । ‘दाईले पढ्न पाउनुभएन तर, मलाई भने प्लस–टूसम्म पढाएर कतै जागिर खाएको हेर्नुछ भन्नुहुन्थ्यो,’ राजु भन्छन्, ‘तर, बुवाको मृत्युपछि त्यो सबै सपना चकनाचुर भयो ।’

आफूले जिवनको ऊर्जामय समय खोलाकै बालुवा उतार्दैमा सके पनि कान्छो छोरा राजूको जिन्दगी त्यसो नहोस भन्ने चाहन्थे सत्ली । तर, नियति भनौं कि बाध्यता, जुन बाटोमा कहिल्यै नजाओस भन्ने चाहन्थे सत्ली अहिले राजु त्यहि बाटोमा आफ्नो दैनिकी धान्दैछन् । उनकी आमा पनि बेला–बेला बिरामी परिरहन्छिन् ।

घरमा पालेका केही थान कुखुरा र एक दुई बाख्राले दैनिक धान्न मुस्किल छ । सधैं जन(ज्यालादारी)मा जान पनि सक्दिनन् । घरखर्च चलाउनकै लागि भए पनि आफ्नो सुन्दर भविष्यलाई थाती राखेर गाउँका दाजुभाईसँग खोलामा होमिन बाध्य छन् राजु ।

बिहानदेखिको थकानले होला सुमनले तमाखु राखेर चिलिम बनाए । सल्काउँदै गर्दा राजु पनि त्यहिँ पुगे । सुमनले दुई सर्को तानेपछि राजुले मागे र उनले पनि सर्काउन थाले ।

अहिले कक्षा ९ मा पढ्छन् राजु। ‘कमाउने बुबा बित्नुभयो । दाईले आफ्नो परिवार लिएर छुट्टै बसेको छ । सधैं कहाँ सहयोग गर्न सक्छ र ? त्यहि किताब कापी किन्न र लत्ताकपडाका लागि पनि म यहिँ खोलामै आउँछु’, राजु भन्छन् । स्कूलमा उनले सरसँग नियमित आउन नसक्ने तर, कहिलेकाँहि हाजिर गर्न आएर परीक्षा दिने बताएका छन् ।

उनी भन्छन्, ‘मैले नै कमाउनुपर्ने भएपछि हेडसरसँग कुरा गरेको छु । कहिलेकाँहि पढ्न आउँछु । परीक्षा पनि दिन्छु भनेर । अब यहाँबाट आउने पैसाले नै किताबकापी र कपडा किन्छु ।’

किशोरावस्थामै त्यो कठोर काम, दिनभरको थकान तर पनि राजूको मुहारमा मुस्कान भने कहिल्यै हराउँदैन । कसैले केही कामका लागि ‘एक राजु’ भनेर बोलाउँदा मन्द मुस्कानसहित आफ्नो मुन्टो फर्काउँछन् । उनको यहि अदाका कारण पनि त्यहाँ काम गर्ने सबै दाजुभाईबीच सबैभन्दा प्रिय छन् ।

तर, विडम्बना नै भनौं त्यो बालुवाको दलदलसँगै अर्को दलदलमा पनि फस्दैछन् राजु। शरीर नै थिलोथिलो हुने यस्तो काम गर्नेहरु प्राय सबै धुम्रपान मध्यपान गर्छन् । हुन त यो समुदायमै मदिरा नभइ कुनै पर्व नै हुँदैन ।

कुराकानी गर्दैगर्दा राजूका दाई सुमन पनि सँगै थिए । बिहानदेखिको थकानले होला सुमनले तमाखु राखेर चिलिम बनाए । सल्काउँदै गर्दा राजुपनि त्यहिँ पुगे । सुमनले दुई सर्को तानेपछि राजूले मागे र उनले पनि सर्काउन थाले ।

‘लौ यहि उमेरमै चिलिम पो हान्न थाल्यो । दाई भएर गाली गर्नुपर्दैन ?’ मैले प्रश्न गरे । समुनले भने, ‘के गर्नु जति भने पनि मान्दैन । केटो बिग्रिन थालिसक्यो । अब त बुझ्ने पनि भइसकेको छ । आफैं सोच्नुपर्ने हो ।’

यसो भन्दै गर्दा राजुले मुसुक्क मुस्कान दिए, कुनै जवाफ दिएनन् । उनीहरुले चिलिम खाइसकेपछि हामी पुनः कुराकानीमै निरन्तर लाग्यौं ।

हामी त लिजेन्ड हो नि

त्यहाँ काम गर्नेहरु कोही ५५ वर्षसम्मका थिए । सबैभन्दा कान्छो राजु नै थिए । उनीभन्दा केही उमेर माथिका केही थिए । मुसहर समुदायमा सानै उमेरमा विवाह हुने रहेछ । भागेर नभई परिवारका सदस्यले नै मागेर । १५–१६ वर्षकै उमेरमा विवाह गर्ने यो समुदायमा धन्न राजुको भने विवाह भएको रहेनछ ।

‘राजुको विवाह त भएको छैन नि ?’ प्रश्न नसकिँदै उनले भने, ‘सर हामी त लिजेन्ड हो नि । कहाँ अहिल्यै विहे गर्नु । अहिल्यै विहे गरे बालबच्चा जन्मिहाल्छन् । दुःख पाइहालिन्छ नि !’

अहिले खोलामै दुःख गर्नु परे पनि स्थायी रुपमा आफ्ना बाबुबाजेजस्तो दुःख गर्न उनी चाहँदैनन् । उनी अन्य केही काम गर्न चाहन्छन् ।

उनका दाई समुनले १६ वर्षकै उमेरमा विवाह गरेका थिए । अहिले तीन बच्चा र पत्नीसहित बस्छन् । तर, राजुको सोच अहिले विहे गर्ने छैन । उनी कम्तिमा पनि २२ वर्ष नपुगी विहे नगर्ने सोचमा छन् । उनले देखेका छन् आफ्ना बाबुले बालविवाह गर्दा आफूहरुको हविगत कस्तो भएको छ भन्ने । भलै उनको सपना धेरै ठूलो छैन । तर, जिन्दगीमा अर्थोपार्जनको बलियो माध्यम नभइ घरमा दुलही भित्र्याउन चाहँदैनन् ।

अहिले खोलामै दुःख गर्नु परे पनि स्थायी रुपमा आफ्ना बाबु-बाजेजस्तो दुःख गर्न उनी चाहँदैनन् । उनी अन्य केही काम गर्न चाहन्छन् । एसईईसम्म पढ्न पाए पनि उनी माथिल्लो कक्षाको पढाई अरु काम गरेरै अघि बढाउन चाहन्छन् ।

‘अहिले बाध्यताले मात्रै खोलामा आएको हुँ । तर, सधैं यो कामले त जिन्दगी अघि बढ्दैनन नि सर !,’ उनी भन्छन्, ‘एसईईसम्म यही गाउँमा पढ्न यही काम गर्नुबाहेक विकल्प छैन । तर, एसईईपछि बाहिर गएर अरु काम गरेर भए पनि माथिल्लो तहमा अध्ययन गर्छु ।’

बाख्रा बेचेर मोबाइल

पछिल्लो समय प्रविधिले प्रभावित नगरेको ठाउँ कहाँ होला र ? जंगलमा बस्ने आदीवासी त प्रविधिसँग अभ्यस्त हुँदै त्यसका फिचरहरुको फाइदा लिँदैछन् भने राजु त्यसबाट प्रभावित नहुने कुरै भएन । आफ्नै उमेरका सबै साथीभाइले मोबाइल फोन चलाउँदै टिकटक र फेसबूक चलाइरहँदा उनलाई पनि रहर जाग्यो ।

घरमा बिहानबेलुकाको हातमुख जोर्न गाह्रो । एकछाक भए पनि मिठोमसिनो खाने कैयौं छाक कुर्नुपर्छ । तर, कहिलेकाँहि बाध्यताले पनि रहरसँग हार्नेरहेछ । राजूको परिवारको बाध्यताको अगाडि रहरले जित्यो । रातदिन राजुले आमासँग मोबाइलका लागि अनुनय-विनय गरे । आमाले पनि छोराको त्यो रहरको विवशता देख्न सकिनन् ।

राजुले बालुवा उतारेर ल्याएको केही रकमा थप गर्न पर्वका लागि भनेर तयार भएको बाख्रा बिक्री गरिन् । बाख्रा बिक्री गरेको ८ हजारमा केही थप गरेर छोराको लागि मोबाइल किनिदिइन् ।

‘मसँग केही पैसा थियो । आमाले बाख्रा बेचेर मोबाइल किन्दिनुभयो’, राजु भन्छन् । अहिले त्यहि मोबाइलमा उनी टिकटक, फेसबुकका साथै बेलुका साथीभाइसँग फ्रि फायर गेम खेल्छन् । भलै राजुकी आमाले आपतमा चाहिँदा काम लाग्छ भनेर बाख्रा साँचेकी थिइन् । तर, छोराको रहरको अगाडि उनले आफ्नो बाध्यता त्याग गरिन् ।

देशको सिपाही बन्छु

जसको मुखमा माड र जिउज्यानको रक्षा गर्ने ओत हुँदैन त्यस्ताको के ठूलो सपना हुनु र ? त्यहाँका अधिकांश मुसहरको सपना भनेकै दिनभर काम गरेर बेलुका शान्तिसँग एकछाक मिठो खानु र पर्वमा राम्रो लाउनु नै हो । अझ त्यो भन्दा ठूलो सपना आफ्नै बलियो घर र तरकारी खानेसम्मको भए पनि जमिन हुनु ।

बाबुसँगै दाजु पनि भासिएको बालुवाको याे दलदलबाट उनी निस्कनँ सक्छन् या सक्दैनन् त्यो भविष्यकै कुरा हो ।

तर, त्यो नसिब अहिलेसम्म सुकुम्बासी मुसहरले पाएका छैनन् । केहीले खोलाको पौठेजोरीको खाडलबाट उत्रिन सके, तीनले सानो भए पनि जमिन जोडेका छन् । तर, राजुजस्ता जो घरमा भरथेक गर्ने कोही छैन तीनले कहिले खोलाबाट पार पाउनु ?

त्यसैले पनि त्यहाँ काम गर्न आउनेका आफ्ना सपना छैनन् । सपनाविहीन खोलामा तैरिने जीन्दगीको भीडमा राजुको भने आफ्नै सपना छ । उनी उमेर पुगेपछि देशको सिपाही बन्न चाहन्छन् । ‘मेरा बाबुबाजे मात्रै होइन, दाजु पनि यहि खोलामै सिमित हुनुभयो । तर, सर म केही समयका लागि मात्रै हो । ठूलो भएपछि आर्मी बन्छु’, उनी भन्छन्, ‘देशको सेवा गर्छु, मेरो परिवारलाई पनि यो बालुवाको दलदलबाट बाहिर निकाल्छु ।’

सपना सुनाइरहँदा उनको कान्तिमा सुनौलो भविष्यको झलक देख्न सकिन्थ्यो । तर, त्यो सपना पूरा गर्नका लागि बाबुसँगै दाजु पनि भासिएको बालुवाको त्यो दलदलबाट उनी निस्कन सक्छन् या सक्दैनन् त्यो भविष्यकै कुरा हो । तर, उनको उत्साह र अठोट भने अब यो दलदलमा धेरै भासिन्नँ भन्ने नै छ । सबैका सपना पूरा कहाँ हुन्छन् ।

तर, जसले अठोटका साथ हिम्मत हार्दैनन् तीनले अवश्य आफ्नो लक्ष भेटाउँछन् नै । भनिन्छ नि जसले विष पिएर पनि मुस्कुराउन छाड्दैन त्यसले संसार आफ्नो मुट्ठीमा कस्छ । बाबुको मृत्युपछि पढाइ थाती राखेर कलिला पाखुराले उर्लँदो लोहन्द्रासँग जसरी राजुले पौठेजोरी खेलिरहेका छन्, त्यसले भने भविष्यमा उनले आफ्नो सपना पूरा गर्छन् भन्ने छनक भने अवश्य दिन्छ ।

प्रकाशित मिति: २६ बैशाख २०७९, सोमबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *