Logo

२९ कार्तिक २०८१, बिहिबार

म राजेन्द्रकुमार (आरके) शर्मा, विगत १५ वर्षदेखि गैरआवासीय नेपाली अभियानमा सक्रिय रूपमा सहभागी हुँदै आएको छु । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराकासाथ सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दुई दशक पूरा गरिसकेको छ ।

दुई दशक मात्रको छोटो अवधि पनि गैरआवासीय नेपाली अभियान ८० देशमा फैलन सफल भइसकेको छ । यसबीचमा यस अभियानले नेपालमा कानुनी मान्यता पाइसकेको मात्र छैन, गैरआवासीय नेपाली ऐन ल्याउने, गैरआवासीय नेपालीलाई नागरिकता दिने तथा विदेशमा बस्ने नेपालीलाई मताधिकारको व्यवस्था मिलाउनेजस्ता महत्वपूर्ण र हाम्रा सरोकारका विषयमा सरकारलाई मनाउन हामी सफल भइसकेका छौं । गैरआवासीय नेपाली संघ र तपाईं हामी सबैको अथक प्रयासबाट यी सबै व्यवस्था गर्न गराउन सम्भव भएको हो भन्ने व्यहोरा यहाँहरू सबैलाई अवगत नै छ ।

एउटा नेपालीलाई अप्ठ्यारो पर्दा अर्को नेपालीलाई दुख्दो रहेछ ! यस्तो समयमा भौगोलिक दूरीले छेक्दो रहेनछ ! हामी सात समुद्रपारि हुन्छौं । तर, हाम्रो मन क्षणभरमै उडेर स्वदेशमै पुगिहाल्छ ! त्यसैले, नेपालमा अप्ठ्यारो पर्दा गैरआवासीय नेपालीहरू सदैव एकजुट भइहाल्छन् । मातृभूमिको जनताका घाउमा मल्हमपट्टी लगाउन अहोरात्र खट्न पुगिहाल्छन् ।

त्यसका केही उदाहरण हुन्ः– २०७२ सालमा गएको भूकम्प र त्यसपछि भारतले लगाएको नाकाबन्दी, समय–समयमा हुने प्राकृतिक विपत्तिले ल्याउने कहर र २०७६ देखि शुरु भएको कोरोना आदिले पारेको अप्ठ्यारो अवस्थामा गैरआवासीय नेपालीले गरेको होस्टेमा हैंसे ।

हाम्रा पुर्खा र हामी पटक–पटकको संघर्षमा होमियौं । व्यवस्था परिवर्तन भए पनि अधिकांश नेपालीलाई सुखको दिन आएन । देशभित्र रोजगारीको अवसर छैन । त्यसैले, आफ्नो र परिवार ज्यान पाल्ने जोहो गर्न हामी विदेशी भूमिमा पुगेका छौं । विदेशी भूमिमा पसिना बगाउने हाम्रो रहर होइन, बाध्यता हो ।

स्वदेशमै मातृभूमिको सेवागर्दै परिवारसँगै रमाउदै बस्ने रहर कस्लाई हुँदैन र ? तर, भोको पेटले त्यसरी बस्न कहाँ दिँदोरहेछ र ! त्यसैले, हामी बिरानो देशको सेवा गर्न विवश भएका छौं ।

हाम्रा धेरै दाजुभाइ तथा दिदी बहिनीहरू आर्थिक अवस्था सुधार गर्न चाहन्छन् । छोराछोरीलाई राम्रो शिक्षा दिन चाहन्छन् । परिवारमा खुशी ल्याउन चाहन्छन् । त्यसैले, ऋणको भारी बोकेर विदेशिन्छन् । तर, बिडम्वना भन्नु पर्छ, कतिपय दाजुभाइ तथा दिदीबहिनीहरूले अर्काको देशमा ज्यान गुमाउन पुग्छन् । परिवारको जीवनमा खुशी ल्याउने उनीहरूको सपना बीचमै तुहिन्छ ।

जहाज चढेर विदेशिएका उनीहरूको लास बाकसमा फर्किन्छ । परिवारको जीवन ऋणको दलदलमा झन् भासिन्छ । न त उनीहरूको ज्यान बच्यो, न त तिनीहरूको परिवारको जीवनमा खुशी छायो ! यस्तै संघर्षपूर्ण र पीडादायी जीवन कहानी छ हामी परदेशी प्रवासीहरूको !

हाम्रो जन्मभूमि नेपाललाई समृद्ध बनाउने कर्तव्य हाम्रो पनि हो । त्यसैले, त्यही कार्यमा योगदान दिन एनआरएनएको स्थापना भएको हो । यस उद्देश्य हासिल गर्न एनआरएनए थप बलियो हुनुपर्छ । राम्रो योजना बनाएर मात्र पुग्दैन । त्यसको प्रभावकारी कार्यान्वयन पनि हुनुपर्छ । एनआरएनएको भूमिका पनि थप बढाउँदै लैजानुपर्छ ।

विश्वमा २०० भन्दा पनि धेरै देश छन् । तर, औपचारिक रूपमा कुटनीतिक नियोगको स्थापना नेपालले ३९ देशमा मात्रै गरेको छ । गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद् ८० भन्दा बढी देशमा स्थापना गर्न हामी सफल भइसकेका छौं । हामी एनआरएन अभियानकर्मीका लागि यो गौरवको विषय हो ।

नेपालको दूतावास नभएका देशहरूमा सरकारले खेल्नुपर्ने भूमिका गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरूले खेल्ने गरेका छन् । विदेशमा बस्ने नेपालीलाई एकापसमा जोड्ने र विदेशमा सिकेको सीप र आर्जन गरेको धन स्वदेशमा लगानी गरी मातृभूमिलाई समृद्ध बनाउने अभियानमा होस्टेमा हैंसे गर्ने पवित्र उद्देश्य समेत राखेर स्थापना भएको यो संस्था विदेशमा हुने सबै नेपालीका लागि आस्थाको एक धरोहर हो ।

एनआरएनएले विदेशमा रहेका नेपालीलाई होस् वा स्वदेशमा गाह्रो सारो पर्दा होस् सदैव अग्रस्थानमा उभिएर काम गर्ने गरेको छ । उक्त कुरा मैले अगाडि पनि थोरै झल्काइसकेको छु । स्थापनाको दुई दशकसम्म हामीहरू मानवीय कार्यमा बढी केन्द्रित भयौं । हामीमध्येकै साथीहरूको प्रयासमा नेपालमा धेरै व्यवसाय सञ्चालनमा पनि आए । तर, ती व्यवसायले धेरैभन्दा धेरै गैरआवासीय नेपालीलाई अझै समेटिसकेको छैन ।

उमेर छँदासम्म हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूले विदेशी भूमिमा पसिना बगाउँछन् । हाम्रा अग्रज र तपाई हामी सबैले प्रवासी कामदारको हकहितका लागि अथक प्रयास गरिरहेका छौं । तैपनि, बुढेसकालमा ‘न उमेर, न धन’ हुने प्रवासी कामदारको पीडा कम गर्न हामीले अझै सकेका छैनौं ।

विदेशी भूमिमा श्रम गरिरहेका अधिकांश प्रवासी कामदारहरू स्वदेश फर्कन चाहन्छन् । स्वदेशी माटोमै पसिना बगाउन चाहन्छन् । त्यसका लागि नेपाल विकासको बाटोमा लम्किनु पर्छ । देश समृद्ध हुँदै जानुपर्छ । तब मात्र रोजगारीको अवसर बढ्दै जान्छ ।

देशलाई समृद्ध बनाउन योगदान दिने हाम्रो पनि दायित्व हो । त्यसैले, एनआरएनएको मूल उद्देश्यमा अझ बढी केन्द्रित भई हामीले खट्नुपर्ने भएको छ । विदेशी भूमिमा श्रम बेचेर स्वेदश फर्किने परिश्रमी दाजुभाइ, दिदीबहिनीहरूको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्नु पर्ने भएको छ । हामी सबै एकजुट भएर लाग्यौं भने उक्त कार्यमा हामी सफल पनि हुन्छौं । मेरो त्यही ठम्याइ छ, अनि त्यही विश्वास छ ।

देशभित्र रोजगारीको अवसर नपाएर विदेशिनु परेको कटुयथार्थ मैले माथि पनि उल्लेख गरिसकेँ । मलाई पनि त्यस्तै बाध्यताले स्वदेशमा बस्न दिएन । सन् २००३ मा कतार पु¥यायो ।

म निम्न मध्यमवर्गको परिवारमा जन्मेको किसानको छोरो हुँ । जीवन संघर्ष रहेछ ! मैले संघर्ष गर्दै गएँ । अथक परिश्रम, परिवार तथा शुभचिन्तकहरूको साथले मलाई श्रमिकबाट कतारमा उद्यमी बनायो । श्रम गरेर पसिना बगाएको व्यक्ति हुँ म । त्यसैले, ५० डिग्रीको गर्मीमा पसिना बगाउँदा बग्ने आँसुको कथा मलाई प्रष्ट रूपमा थाहा छ । गरिबीले विदेसिएकाहरूको व्यथाको अनुभव पनि मसँंग छ ।

यही वास्तविकतालाई आत्मबोध गर्दै विदेशी भूमिमा पसिना बगाउने तमाम् दाजुभाइ तथा दिदी बहिनीहरूको सामाजिक सुरक्षाको व्यवस्था मिलाउन मरिमेटेर लाग्ने संकल्प मैले गरेको छु । त्यसैले, मलाई तपाईहरूको साथ, सहयोग र प्रेरणाको आवश्यकता रहेको छ । किनकि उक्त संकल्प पूरा गर्न एनआरएनएको अध्यक्षको जिम्मेवारी लिने निर्णय गरेको हुँ ।

गैरआवासीय नेपाली अभियानमा म सन् २००५ देखि सक्रिय छु । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि मेरो यात्रा शुरु भएको हो । आइसिसी सदस्य, मध्यपूर्व संयोजक र आइसिसी सचिव भएर काम गरेँ । अहिले आइसिसीको उपाध्यक्षको रूपमा कार्य गरिरहेको छु । यो करिब १८ वर्षको यात्रामा गैरआवासीय नेपाली अभियानलाई नजिकबाट बुझ्ने मौका पाएँ । सेवा गर्ने अवसर पाएँ ।

मैले सदैव गैरआवासीय नेपालीको हकहितको लागि आवाज उठाउँदै आएको छु । श्रमिकदेखि लिएर विभिन्न पेसामा आबद्ध व्यवसायीका समस्यालाई समाधान गर्न सम्बन्धित निकायहरूमा कुरा राख्दै आएको छु ।

विदेशमा बस्ने नेपाली श्रमिकहरूलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने विषय होस् वा आइपिओमा आरक्षण दिएर बचत गर्न प्रोत्साहन गर्ने कुरा होस्, सरोकारवाला निकायमा गई मैले सदैव बहस र पैरवी गर्दै आएको छु । हामी सबैको प्रयासले अहिले उक्त व्यवस्था कार्यान्वयनमा आइसकेको छ । उक्त कुराले मलाई केही आत्मसन्तुष्टिको अनुभूति पनि गराएको छ ।

हामी सबैको प्रयासले गैरआवासीय नेपालीलाई नागरिकता दिने कानुन बनेको छ । कानुन बने तापनि हामीले माग गरेअनुसारको सबै व्यवस्था समेटिएको छैन । तर, सरकारी निकायलाई यस सम्बन्धमा बुझाउन हामी सफल भइसकेका छौं । हाम्रा सबै माग पूरा गराउन अनवरत रूपमा खट्ने विश्वास पुनः दिलाउन चाहन्छु ।

अब गैरआवासीय नेपाली अभियानलाई मानवीय सहयोगमामात्र सीमित राख्ने छुट हामीलाई छैन । आर्थिक क्रान्तिका लागि तपाई हामी एकजुट भएर खट्न ढिला भइसकेको छ । तपार्इं हामी स्वदेश फर्किदा हाम्रा लागि आम्दानीका स्रोतहरू तयार पारेर राख्ने अभियानमा लाग्नुपर्ने समय आइसकेको छ ।

गैरआवासीय नेपाली भनेका धनी व्यक्ति हुन् भन्ने बुझाइ आम नेपालीको रहेको छ । वास्तविकता त्यस्तो होइन । उक्त गलत धारणा र बुझाइलाई चिर्दै धनी पनि, श्रमिक पनि र उद्यमी पनि सबैको साझा संस्था गैर आवासीय नेपाली संघ हो भन्ने वास्तविकता सबैलाई बुझाउनु छ । उक्त कार्य गर्न हामी एकजुट हुनुको विकल्प छैन ।

गैरआवासीय नेपाली संघमा करिव २ दशकको आबद्धताले मलाई धेरै कुरा सिकाएको छ । तपाईं हाम्रा लागि थप कार्य गर्ने प्रेरणा दिएको छ ।

मैले आइसिसीको उपाध्यक्ष भइ कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्न अनुभव कमाइसकेको छु । त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु ।

तपाईं हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैरआवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प मैले गरेको हुँ । त्यसैले, यस पटक सन् २०२३–२०२५ को कार्यकालका लागि आइसिसीको अध्यक्ष पदमा उम्मेद्वारी दिने निर्णय गरेको व्यहोरा सादर अनुरोध गर्दछु ।

अध्यक्ष पद प्राप्त गर्ने मेरो अभिलाषा होइन । मैले त तपाईं हाम्रा लागि काम गर्न जिम्मेवारी लिन खोजेको मात्र हुँ । त्यसैले, मैले योजनाबद्ध रूपमा कार्य गर्ने लक्ष्य राखेको छु ।ती लक्ष्य र कार्ययोजनालाई समेटेर यो बाचापत्र सार्वजनिक गरेको छु ।

अध्यक्षमा निर्वाचित भएपछि मैले गरेको आफ्नो बाचा पूरा गर्नु पर्छ । त्यसैले, यसलाई मैले बाचापत्रको नाम दिएको छु । मैले आपूmले सार्वजनिक गरेका कार्य र त्यसमा भएका प्रगतिको समीक्षात्मक टिप्पणी त्रैमासिकरूपमा सार्वजनिक गर्ने बाचा पनि गर्दछु ।

पूर्व अध्यक्षज्यूहरूले एनआरएनए अभियानका क्रममा पु¥याउनु भएको योगदान अतुलनीय छ । उहाँहरूको योगदानका लागि हार्दिक सम्मान गर्न चाहन्छु । उहाँहरूले देखेका सपना पूरा गर्ने र उहाँहरूको छाती चौंडा गराउने गरी कार्य गर्नेछु । उहाँहरूबाट निरन्तररूपमा आर्शिवाद, सल्लाह, सुझाव, मार्गदर्शन र प्रेरणा प्राप्त गर्ने विश्वास मैले लिएको छु ।

सम्पूर्ण पूर्व पदाधिकारीज्यूहरू, एनआरएनए अभियानकर्मीहरू, सम्पूर्ण एनसिसी प्रमुख तथा पदाधिकारीज्यूहरू, सल्लाहकारज्यूहरू, नेपाल सरकार, अन्य स्वदेशी तथा विदेशी निकायहरू, स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरू र शुभ चिन्तकज्यूहरूमा हार्दिक धन्यवाद दिन चाहन्छु । मलाई उक्त जिम्मेवारी उठाउन प्रेरणा दिनु हुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार प्रकट गर्दछु ।

‘गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मूल मन्त्रमा केन्द्रित भएर मैले यो बाचापत्र तयार गरेको छु । त्यसैले, २४ महिनाको मेरो कार्यकालमा २४ कार्यक्रम कार्यान्वयन गर्ने बाचा यहाँहरू समक्ष गर्न चाहन्छु । तपाईंहरूबाट निरन्तररूपमा माया, सदभाव, सहयोग र प्रेरणाको अपेक्षा मैले राखेको छु । तपाईहरूको सल्लाह र सुझावलाई सदैव मैले आत्मसाथ गर्नेछु, सम्मान गर्नेछु । हाम्रो अभियानलाई थप उचाईमा पु¥याउने विश्वास पनि दिलाउन चाहन्छु ।

१. एनआरएनहरूबीच एकताः पहिलो प्रतिबद्धता

सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई एकताको मालामा उन्ने र साझा हक हितका विषयमा एकताबद्ध भएर लड्ने विशुद्ध उद्देश्य राखेर एनआरएनएको स्थापना भएको हो । तर, केही समययता हामी सबै एकताबद्ध भएर अगाडि बढ्न सकेका छैनौं । त्यसले, कहीं कतै हाम्रै अभियानलाई असर पुर्‍याउँदै गएको छ । हामी फुटेर होइन, जुटेर मात्र लक्षित उद्देश्य हासिल गर्न सक्दछौं ।

तसर्थ, मेरो नेतृत्वमा आइसिसी गठन हुने बित्तिकै सबै गैरआवासीय नेपालीलाई एकताको मालामा उन्ने अभियानमा लाग्नेछु । मेरो कार्यकालमा ‘फुटेको होइन, जुटेको एनआरएन’ बन्नेछ । यो मेरो पहिलो प्रतिबद्धता हो ।

२. वैदेशिक रोजगारः दक्ष जनशक्ति, सुरक्षित वातावरण

देशभित्र पर्याप्त रोजगारी नभएपछि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य कहिले हुने हो, थाहा छैन । बरु, यो बाध्यता झन् बढ्दै गएको छ । गैरआवासीय नेपाली अभियानले अब देशभित्र नै रोजगारी पाउने वातावरण बनाउनको लागि काम गर्नुपर्नेछ । तत्कालै वैदेशिक रोजगारीमा जानेको संख्या घटिहाल्ने स्थिति छैन । त्यसैले, सरोकारवाला निकायसँग समन्वय गरी वैदेशिक रोजगारीमा जानेहरूलाई सिप सिकेर जान प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिने छ ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षा कोषको कार्यक्रममा जोड्न जनचेतनाको कार्यक्रम सञ्चालन गरिने छ ।

समयसापेक्ष ज्ञान, दक्षता तथा सिपको कमीका कारण न्यून तलबमा काम गर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न नेपाल सरकार तथा निजी क्षेत्रसँग सहकार्य गरी अबिलम्व आवश्यक प्रशिक्षण कार्यक्रम अगाडि बढाइने छ ।

विश्व बजारमा सूचना प्रविधिमा आएको परिवर्तनसँगै रोजगारीका क्षेत्र पनि परिवर्तन भएको हुँदा सो अनुसारको रोजगारी प्राप्त गर्ने गरी विदेश जान सरोकारवाला निकायसँग समन्वय गरी सूचना प्रविधिमा आधारित तालिम लगाएतका कार्यक्रम सञ्चालन गरिने छ ।

भाषा र कानुनको अज्ञानताको कारण कानुनी समस्यामा परेका श्रमिकहरूलाई निःशुल्क कानुनी सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन पहल गरिनेछ ।

वैदेशिक रोजगारीको क्रममा मृत्युवरण गर्नुपरेका व्यक्तिको परिवारलाई दिने राहत रकमलाई बढाउने र उनीहरूका परिवारलाई देशभित्र रोजगारीका अवसर प्रदान गर्ने व्यवस्था गर्न सरोकारवाला निकायसँग समन्वय गरिनेछ ।

पछिल्लो समय वैदेशिक रोजगारको गन्तव्य मुलुकका सम्भावना बोकेका देशहरूसँग श्रम सम्झौता गर्न पहल गरिनेछ ।

मध्यपूर्व, मलेसिया हुँदै अहिले पूर्वी युरोप अनि युरोप मा बढ्न थालेको श्रमिकको चापलाई मध्यनजर गर्दै संघमा श्रम समस्या सहजीकरण गर्नको लागि अलग विभाग राख्ने व्यवस्था मिलाइनेछ ।

श्रमिकहरूको संख्या बढी भएका देशहरूको एनसिसीमा श्रम डेस्क नै राखेर श्रमिकका समस्या समाधानको व्यवस्था मिलाइनेछ ।

श्रमिकको संख्या बढी भएका देशका एनसिसीका अध्यक्षलाई पदेन श्रम दूत बनाउन पहल गरिनेछ ।

भाषा र स्वास्थ्यको अज्ञानताको कारण श्रमिकहरू कानुनी झमेलामा पर्ने र उनीहरूको स्वास्थ्यमा असर पर्ने भएकाले उनीहरूलाई कानुन र आधारभूत स्वास्थ्यको जानकारी निःशुल्क दिने व्यवस्था मिलाइनेछर कामदारको सुरक्षाका लागि सम्बन्धित रोजगारदाताले पूरा गर्नुपर्ने कर्तव्य रोजगार करारमा स्पष्टरूपमा राख्ने व्यवस्था गर्न पहल गरिनेछ ।

३. हाम्रो नीतिः सुधारौं श्रमिकको आर्थिक स्थिति

लामो समयदेखिको प्रयासपछि सरकारले विदेशमा बस्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णय गरेको छ । विदेशमाबस्ने सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन अभिप्रेरित गरि ती श्रमिक र तिनीहरूमा आश्रित परिवारको आर्थिक र सामाजिक सुरक्षाकालागि विशेष पहल गरिने छ ।

नेपाल सरकार, सामाजिक सुरक्षा कोष र अन्य सम्बन्धित निकायहरूसँग अन्तरक्रिया गरी सामाजिक सुरक्षा कोषमा हाल कायम रहेका योजनाहरूलाई गैरआवासीय नेपालीमैत्री बनाउन पहल गरिनेछ ।

सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकका ल्याइने आइपिओमा आरक्षण कोटा बढाएर श्रमिकको सहभागिता बढाउन विशेष पहल गरिनेछ ।

४. विपे्रषणको प्रयोग कहाँ, उत्पादनमूलक उद्यम हुन्छ जहाँ

वैदेशिक रोजगारको विकल्प तत्काल देखिंदैन । तर, देशकालागि विप्रेषण (रेमिट्यान्स) दिगो स्रोत होइन । अबको केही वर्षसम्म विप्रेषण आउने क्रम जारी रहने आँकलन गरिएतापनि त्यसपछि पनि त्यसरी नै सहजरूपमा विप्रेषण आइरहनेछ भनेर भन्न सकिने अवस्था छैन ।

त्यसरी प्राप्त हुने विप्रेषण पनि अधिकांश रकम उपभोग्य वस्तु आयात गर्नमै खर्च भएको छ । त्यसैले, अहिले देशले प्राप्त गरिरहेको विप्रेषण रकम उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने र वैदेशिक रोजगारको विकल्प खोज्नुपर्ने देखिएको छ । त्यसका लागि विशेष पहल गरिनेछ ।

विश्वले स्वच्छ उर्जा उत्पादनमा ध्यान केन्द्रित गरिरहेको छ । हाम्रो देशको झण्डै ४२ हजार मेगावाट विद्युत् उत्पादन क्षमता भएपनि उपयोग नभएर त्यसै खेर गएको अवस्था छ । जलविद्युत्मा विप्रेषण रकमलाई लगानी गर्दै क्रमशः नेपालमा आयात हुने एलपी ग्याँस खपतलाई घटाई विदेशी मुद्रा बचाउने र निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने नीतिमा जोड दिने कार्यलाई प्राथमिकतामा राखी कार्य गर्न विशेष पहल गरिनेछ ।

स्वदेशमा विद्युत् खपत बढाउने, विदेशी संस्थाहरूको डाटा सेन्टर खोल्ने र मलकारखाना स्थापना गर्ने व्यवस्था मिलाउन विशेष पहल गरिनेछ ।

५. एनआरएनएको निरन्तर खटनः ‘गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ गठन

सामान निर्यात गरी विदेशी मुद्रा भित्र्याउने निर्यातकर्तालाई सरकारले प्रोत्साहन रकम उपलब्ध गराउँछ । तर, श्रम निर्यात गरी विप्रेषण रकम भित्र्याउने नेपालीलाई सरकारले कुनै प्रोत्साहन रकम उपलब्ध गराउने गरेको छैन । त्यसैले, नेपाल सरकारबाट ‘गैरआवासीय नेपाली भविष्य सुरक्षा प्राधिकरण’ गठन गराउन निरन्तररूपमा बहस र पैरवी गरिनेछ ।

औपचारिक माध्यमबाट विप्रेषण पठाउने व्यक्तिलाई प्रोत्साहन गर्न पठाउने व्यक्तिको नामबाट भित्रिएको रकमको दुई प्रतिशत रकम सरकारले उक्त व्यक्तिको नाममा राखिदिने र पठाएको रकमको १० प्रतिशत रकम वैदेशिक रोजगारीमा रहेका व्यक्तिको सहमतिमा ‘गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ मा रहेको भविष्य सुरक्षा खातामा जम्मा गर्ने व्यवस्था मिलाउन पहल गरिनेछ । यसरी जम्मा हुँदै र बढ्दै गएको रकममा हरेक वर्ष एक निश्चित प्रतिशत ब्याज प्रदान गर्ने व्यवस्था मिलाउन पनि पहल गरिनेछ ।

यसरी जम्मा भएको रकमलाई उत्पादनमूलक आयोजनामा लगानी गरी वैदेशिक रोजगारीमा रहेका उक्त प्राधिकरणमा रकम जम्मा गरेका योगदानकर्तालाई जम्मा भएको रकमको आधारमा लाभांश वितरण गर्ने व्यवस्था मिलाउन पनि पहल गरिनेछ । यस्तो व्यवस्थाबाट वैदेशिक रोजगारमा रहेका नेपालीहरूले पठाएको रकमका आधारमा प्रोत्साहन रकम पाउने, उनीहरूको बचत रकम बढ्दै जाने र भविष्यमा हुने आर्थिक सुरक्षाको चिन्तामा कमी आउँदै जाने अपेक्षा गरिएको छ ।

६. सांगठनिक पुनर्संरचना ः पहिला कार्यदलबाट गहन योजना

सम्बन्धित विज्ञबाट अध्ययन गराई सांगठनिक पुनर्संरचना गरिनेछ ।

संघको मूल मर्मअनुसार लक्षित उद्देश्य हासिल गर्न योजना कार्यान्वयन पक्ष बलियो हुनुपर्छ । तसर्थ, केन्द्रीय कार्यालय साधन र स्रोतको व्यवस्था मिलाई थप सबल र सक्षम बनाइनेछ ।

घोषणा गरिएका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विशेष कार्यदल गठन गरिनेछ । कार्यदलका लागि लिखितरूपमा ‘कार्य विवरण’ तयार गरी प्रदान गरिनेछ । त्यही कार्यविवरणका आधारमा हरेक कार्यदलले गरेको कार्य सम्पादनको मूल्यांकन गरिनेछ ।

आन्तरिक व्यवस्थापन र संघको लेखापरीक्षणलाई अन्तर्राष्ट्रियस्तरको गराइनेछ । संघको कार्य प्रगति नियमितरूपमा अनुगमन गर्ने र पदाधिकारी तथा कार्यसमितिलाई जानकारी गराउने व्यवस्था मिलाइनेछ ।

केन्द्रीय कार्यालयमा रहेका हरेक विभागकालागि विभाग प्रमुख चयन गरिनेछ । हरेक विभाग प्रमुखले प्रतिबद्धतासहितको जिम्मेवारी ग्रहण गरी कार्यसम्पादन प्रतिवेदन पदाधिकारीलाई मासिकरूपमा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।

हाल कायम रहेका एनआरएनए एनसिसीहरूलाई नेपालीहरू बस्ने सबै देशहरूमा पु¥याइनेछ ।

संघलाई आर्थिक रूपमा सम्पन्न र बलियो बनाउन संघ सञ्चालन कोषको रकमलाई बढाउँदै लगिनेछ र उक्त कोषलाई आर्थिक प्रशासन नियमावली अनुसार प्रभावकारी रूपमा व्यवस्थापन गरिनेछ ।

७. मानव संशाधन : सबलीकरणयुक्त कार्यसम्पादन

निर्वाचन सकिएलगत्तै आइसिसी पदाधिकारी र कार्यसमितिका सदस्यहरूका लागि ‘अभिमुखीकरण’ कार्यक्रमको आयोजना गरिनेछ ।

कार्य जिम्मेवारीअनुसार सचिवालयमा आवश्यक पर्ने कर्मचारीको पद र संख्या निर्धारण गरिनेछ । त्यसैका आधारमा आवश्यक परेमा थप कर्मचारी भर्ना गर्ने व्यवस्था मिालाइने छ ।

हरेक पदका लागि आवश्यक पर्ने योग्यता र सीपको विवरण विषय विज्ञबाट तयार गराइनेछ ।

हरेक कर्मचारीलाई कार्यविवरण तयार गरी लिखितरूपमा दिइनेछ । कार्य विवरणका आधारमा वार्षिक कार्यसम्पादन मूल्यांकन गरिनेछ ।

सम्पूर्ण पदाधिकारी तथा कर्मचारीलाई आवश्यकताअनुसार आन्तरिक तथा बाह्य तालिमको व्यवस्था मिलाइनेछ ।

८. संस्थागत सुशासन: शून्य सहनशील स्वअनुशासन

गैरआवासीय नेपालीप्रति नेपाली दाजुभाइ दिदीबहिनीहरूको ठूलो आशा र भरोसा छ । हामी कहीं कतै चुक्यौं भने संस्थाप्रति नै नकारात्मक धारणा बढ्दै जान्छ । तसर्थ, सबै गैरआवासीय नेपाली स्वअनुशासनमा बस्न अभिप्रेरित गरिनेछ ।

संस्थागत सुशासनमा ‘शून्य सहनशीलता’ को नीति लागू गरिनेछ । सशक्त र बलियो अनुशासन समिति बनाइनेछ ।

एनआरएनए पदाधिकारी र अन्य सदस्यहरूले पालना गर्नुपर्ने आचरणका सम्बन्धमा एक मार्गदर्शन बनाई लागू गरिनेछ र सबै सदस्यहरूलाई वितरण गरिनेछ ।

९. एनआरएनए निर्वाचन: सबैले गर्न पाऊन् मतदान

गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद्देखि अन्तराष्ट्रिय समन्वय परिषद् सम्मको निर्वाचन निकै खर्चिलो र भड्किलो हुने गरेको अनुभव गरिएको छ । सूचना तथा प्रविधिको उच्चतम् प्रयोग गर्ने व्यवस्था मिलाई उक्त प्रचलन र प्रणालीमा सुधार गरिनेछ ।

गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनमा अहिले डेलिगेट्सबाट नेतृत्व चयन हुने गरेकामा त्यसलाई पञ्जीकृत सदस्यले चुन्ने व्यवस्था गराइने छ ।

अनलाइनबाट पञ्जिकृत सदस्यले भोट गर्ने र राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय समन्वय परिषदको निर्वाचन एकैदिन हुने व्यवस्था मिलाइनेछ ।

कार्यसमितिलाई समावेशी बनाउने नीति लिइनेछ ।

१०. आर्थिक कुटनीति : लगानी प्रबद्र्धन मुख्य नीति

देशको विकासका लागि आर्थिक कुटनीति र लगानी प्रबद्र्धनको कार्यक्रम सञ्चालन गरिनेछ ।

सम्भाव्य देशहरूका एनसिसीमा नेपालमा लगानी आकर्षण गर्नको लागि छुट्टै डेस्क सञ्चालन गरिनेछ ।

लगानीका सम्भावना भएका देशका एनसीसीहरूमा नेपालमा लगानी भित्र्याउन लगानी सम्मेलन आयोजना गर्न पहल गरिनेछ ।

नेपालमा लगानी भित्र्याउने सम्भावना भएका देशहरूका एनसीसीले त्यहाँका लगानीकर्तासँग अन्तरक्रिया कार्यक्रम गर्न प्रोत्साहन गरिनेछ ।

विदेशमा बहुराष्ट्रिय कम्पनीको उच्च पदमा कार्यरत नेपालीहरूको रोष्टर तयार गरेर ती कम्पनीको लगानी नेपालमा भित्र्याउन विशेष पहल गरिनेछ ।

अन्तर्राष्ट्रिय जिल्ला समाजहरूसँगको सहकार्यमा सम्भव भएसम्म सबै जिल्लामा एक जिल्ला एक उत्पादनको कार्यक्रम सञ्चालन गर्ने कार्यका लागि पहल गरिनेछ ।

११. गरौं उच्चतम् प्रयोग सूचना प्रविधि : हुन्छ विकास र समृद्धि

पछिल्लो समय सूचना प्रविधिमा नेपालमा लगानी बढ्दो क्रममा रहेको छ । त्यति मात्र होइन, निर्यात गर्ननिकै ठूलो सम्भावना रहेको क्षेत्र हो सूचना प्रविधि । त्यसैले, विदेशका सफल कम्पनी र लगानीकर्तालाई नेपालमा लगानी गरी सफ्टवेयर निर्यात गर्ने कार्य गर्न प्रबद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।

आइटी क्षेत्रमा लगानी भित्र्याउनको लागि यस सम्बन्धी छुट्टै विज्ञ सम्मेलन गरिनेछ । विश्वमा प्रतिष्ठित सूचना प्रविधि कम्पनीमा कार्यरत नेपालीहरूको सूची बनाएर नियमित अन्तरक्रियात्मक कार्यक्रम गर्ने व्यवस्था मिलाई त्यसको लाभ मातृभूमिमा ल्याउने प्रयास गरिनेछ ।

१२. नेपाली रोजौं, नेपाली खोजौं ः निर्यात बढाउन जोडतोडले लागौं

नेपालको बढ्दो व्यापार घाटा कम गर्न हरेक एनसिसीले नेपालको वस्तु निर्यात प्रबद्र्धनका लागि पहल गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।

मुख्य रूपमा नेपालका चिया, अलैंची, अदुवा जस्ता वस्तुहरूको निर्यातलाई एनसीसीहरूले सम्बन्धित देशमा प्रबद्र्धन गर्ने कामलाई प्राथमिकतामा राखिनेछ ।

विदेशी नेपालीलाई नेपाली उत्पादन प्रयोग गर्न प्रोत्साहन गराउने कार्यक्रम सञ्चालन गरिनेछ ।

१३. गैरआवासीय सरोकार : जहाँ भए पनि नागरिकता र मताधिकार

विश्वव्यापी मान्यताअनुसार १८० दिनभन्दा बढी समय नेपाल बाहिर बस्ने नेपालीलाई गैरआवासीय नेपालीको मान्यता दिलाउन पहल गरिनेछ ।

बंशजको नागरिकताको निरन्तरताको लागि पहल गरिनेछ ।

२०८४ सालको निर्वाचनमा विदेशमा नै मताधिकार कार्यान्वयन गर्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग समन्वय गरिनेछ ।

बर्मा, थाइल्याण्ड तथा मलेसियामा लामो समयदेखि बस्ने नेपालीलाई गैरआवासीय अभियानभित्र ल्याउन पहल गरिनेछ ।

गोर्खाजको मुद्दालाई सरकारी वा सम्मानित निकायद्वारा सम्बोधनको लागि पहल गरिनेछ ।

१४. नेपाल समृद्धिको दस्ता: गैरआवासीय दोस्रो पुस्ता

गैरआवासीय अभियानमा अहिलेसम्म नेपालमा जन्मेर हुर्केको पुस्तामात्र संलग्न रहदै आएका छौं । सम्बन्धित देशमा जन्मी हुर्की त्यहीँको नागरिकता लिएका दोस्रो÷तेस्रो पुस्ताका गैरआवासीय नेपालीले नेपाल बिर्सिदै जाने सम्भावना बढ्दै गएको छ । तसर्थ, उक्त जोखिमलाई न्यूनीकरण गर्न एनआरएनए अभियानमा दोस्रो पुस्तालाई जोड्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

दोस्रो पुस्ताबीच आपसमा अन्तरक्रिया गराउन विभिन्न खालका कार्यक्रम सम्बन्धित देशका एनसिसीसँगको सहकार्यमा गरिनेछ ।

१५. अबको समृद्धि : जगेर्ना गरौं भाषा र संस्कृति

नेपाली तथा नेपालभित्र बोलिने मातृभाषाको जगेर्नाको लागि हरेक एनसिसीहरूमा विभिन्न कार्यक्रम तथा महोत्सवहरूको आयोजना गरिनेछ ।

विदेशमा जन्मेका नेपाली बालबालिकाहरूलाई नेपाली भाषा सिकाउन इच्छुक तथा सक्षम व्यक्तिहरूसँग एनसिसीहरूले सहकार्य गरी क्यालेण्डर बनाई निःशुल्क नेपाली कक्षा सञ्चालन गरिनेछ ।

संसारभरि रहेका अन्य नेपाली भाषा बोल्ने समुदायसँग समेत समन्वय गरी नेपाली भाषा, कला तथा संस्कृतिको प्रबद्र्धन गर्न विशेष पहल गरिनेछ ।

१६. एनआरएनए शक्ति : अधिकार सम्पन्न एनसिसी

गैरआवासीय अभियानमा सबैभन्दा महत्वपूर्ण भूमिका सम्बन्धित देशमा गठन गरिएको एनसिसीको हुन्छ । त्यसैले, उनीहरूलाई थप बलियो र अधिकार सम्पन्न बनाउन जोड दिइनेछ ।

एनसिसी धेरैजसो देशमा सम्बन्धित देशमा नै दर्ता भएका छन् । तर, कतिपय एनसिसीको विधान आइसिसीको विधानमा भएका व्यवस्थासँग बाझिएको पनि भेटिएको छ । त्यसैले ती व्यवस्थामा एकरूपता ल्याउने व्यवस्था मिलाइनेछ ।

प्रत्येक एनसिसीको कार्य मूल्याङ्कन गरी मासिक रूपमा अब्बल एनसिसी घोषणा गरी प्रोत्साहित गर्ने व्यवस्था मिलाइनेछ ।

१७. विदेशमा सिकेको ज्ञान : देश निर्माण अभियान

विदेशमा आर्जेको ज्ञान, सीप र पुँजीलाई राष्ट्र विकासमा परिचालन गर्न नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरूमा एनआरएनए समन्वय विभागको छुट्टै व्यवस्था गर्न गराउन विशेष पहल गरिनेछ ।

विश्वका विभिन्न देशमा कार्यरत नेपाली स्वास्थ्य विज्ञहरूको प्रोफाइल तयार गरेर उहाँहरूको क्षेत्रगत विज्ञताका आधारमा एकीकृत रूपमा नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने व्यवस्था मिलाउन पहल गरिनेछ ।

प्रवासमा बसोवास गरिरहेका भौतिक पूर्वाधार विज्ञहरूलाई देशको पूर्वाधार विकासका लागि योगदान दिन अभिप्रेरित गरिनेछ ।

शिक्षा क्षेत्रका विज्ञलाई मातृभूमिमा २१ औं शताब्दीका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा योगदान दिन आव्हान गरिनेछ ।

माथि उल्लेखित क्षेत्रका अतिरिक्तअन्य पेशागत क्षेत्रमा आबद्ध विज्ञहरूको अलगअलग विभाग गठन गरेर उहाँहरूको ज्ञान र सीपलाई देश विकासमा उपयोग गर्न आह्वान गरिनेछ ।

१८. देश विकासको बल : एक एनसिसी, हजार पर्यटक

पर्यटन प्रवद्र्धनका लागि आवश्यकताका आधारमा उपयुक्त व्यक्तित्वलाई ‘ब्रान्ड एम्बासडर’को रूपमा नियुक्त गरी विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

एनसिसीहरूमार्फत सम्बन्धित देशका उच्च ‘ब्रान्ड भ्यालु’ भएका व्यक्तित्वहरूमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्न गराउन विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

हरेक एनसिसीबाट दुई वर्षको कार्यकाल अवधिमा सम्भाव्यताका आधारमा कम्तीमा एक हजार जना सो देशका नागरिकलाई नेपाल भ्रमण गराउन विशेष कार्यक्रम चलाइनेछ ।

१९. घटाऔं वैदेशिक श्रम, फर्किनेलाई स्वरोजगार कार्यक्रम

विदेशबाट फर्केकालाई उहाँहरूको योग्यता, सीप तथा रुचिका आधारमा सरोकारवाला निकायहरूसँग समन्वय गरी स्वेदशमै स्वरोजगार हुने व्यवस्था मिलाउन पहल गरिनेछ ।

त्यसका लागि केन्द्रीकृत रूपमा डाटा बैंक स्थापना गरिनेछ । आन्तरिक रोजगारको मागलाई पहिचान गरिनेछ । स्वदेशी श्रमिकलाई तुलनात्मक रूपमा बढी पारिश्रमिक दिने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्यवय गरी छिमेकी देशबाट आउने श्रमिकको संख्या स्वतः घट्ने वातावण सिर्जना गर्न गराउन पहल गरिनेछ ।

विदेशबाट फर्केर उद्यमी र स्वरोजगार बनेकाहरूको तथ्यांक संकलन गरेर उनीहरूलाई स्वदेशमै आइ उद्यमी बन्न अभिप्रेरित गरिनेछ ।

विदेशबाट फर्केर उद्यम गर्नेलाई सहजरूपमा कर्जा उपलब्ध गराउने व्यवस्था मिलाउन पहल गरिनेछ । कम्तीमा ५० लाख रूपैँया सम्मका कर्जा परियोजना धितोका आधारमा मात्र उपलब्ध गराउने योजना ल्याउन सम्बन्धित निकायसँग समन्वय गरिनेछ ।

२०. अग्रजलाई सम्मान : युवा परिचालन र विज्ञबाट ज्ञान

अग्रजको प्रयास र योगदानका कारण आज हामी एनआरएनए अभियानमा लामो फड्को मार्न सफल भएका छौं । त्यसैले, उहाँहरूको सल्लाह र सुझावलाई मनन गर्दै र अनुभवलाई उपयोग गर्दै अगाडि बढ्न ‘अग्रजको योगदान, हाम्रो सम्मान’ कार्यक्रम ल्याइनेछ ।

स–शरीर उपस्थित हुने गरी वा सूचना प्रविधिको उपयोग गर्ने गरी एनआरएनए अभियानलाई अझ व्यापक रूपमा फैलाउन युवाहरूलाई विशेषरूपमा परिचालन गरिनेछ ।

कर्णप्रिय कार्यक्रमहरूभन्दा पनि विज्ञहरूबाट प्राप्त सल्लाह र सुझावका आधारमा प्रवासी नेपाली र मातृभूमिलाई विशेष फाइदा पुग्ने व्यावहारिक कार्यक्रम सञ्चालन गरिनेछ र सम्बन्धित निकायमा बहस र पैरवी पनि सोही अनुसार गरिनेछ ।

२१. नेपाली धन, नेपाली श्रम : अबको उद्यम

ठूला परियोजना सञ्चालन गर्न ठूलो रकमको आवश्यकता पर्छ । तथापि, स्वदेशी धन र श्रम परिचालन गरी उद्यम गर्न सकिएमा उक्त धन नेपालमा नै रहन्छ । राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, श्रम मन्त्रालय र अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी स्वदेशमै रोजगारी सिर्जना हुने कार्यक्रम ल्याउन र संख्यात्मक रूपमा धेरै जनाले लगानी गर्ने उपयुक्त लगानीको क्षेत्र पहिल्याउन र कार्यान्वयनको वातावरण बनाउन लगानी बोर्ड तथा अन्य सरोकारवाला निकायहरूसँग समन्वय गरी ‘नेपाली धन, स्वदेशी श्रम, अबको उद्यम’ कार्यक्रम लागू गर्न पहल गरिनेछ ।

२२. समावेशी अभियान : महिला सदस्यलाई प्रोत्साहन

आधा आकाश ढाक्ने महिलाको विकास नभइ, उहाँहरूले नेतृत्व नलिइ र उहाँहरू नेतृत्वको अग्रपंक्तिमा नआइ कुनै पनि क्षेत्रमा विकासको कल्पना गर्न सकिँदैन ।

एनआरएनएमा महिला विभाग र महिला सशक्तीकरण तथा नेतृत्व विकास र महिला उद्यमशीलता समिति गठन गरी कार्य अगाडि बढाइएको भएतापनि महिला सहभागिता अझै पनि अपर्याप्त भएको अनुभव गरिएको छ । तसर्थ, महिला सदस्यता वृद्धि, महिला नेतृत्व विकास तथा महिला उद्यमशीलता बढाउन एक छुट्टै कार्यक्रम बनाइ लागू गरिनेछ ।

२३. चुस्त व्यवस्थापन मुख्य सरोकार : बनाऔं प्रभावकारी सञ्चार

एनआरएनएले आफ्ना सदस्यहरूको हित र देश विकासका लागि धेरै कार्य गरेको छ । ती कार्यहरूको जानकारी सरोकारवाला पक्षहरूका छिटो, छरितो र प्रभावकारीरूपमा नपुगेको महसूस गरिएको छ । त्यस्तैगरी, आइसिसी, एनसिसी र विभिन्न तथा समितिहरूबीचको सञ्चार पनि चुस्त र प्रष्टरूपमा नभएको अनुभव गरिएको छ । फलस्वरूप, एकापसमा समन्वय प्रभावकारी रूपमा हुन सकेको छैन । त्यसैले, प्रभावकारी सञ्चार व्यवस्थापनका लागि प्रणालीगत संरचनाको विकास गरिनेछ ।

त्यस्तैगरी, एनआरएनएले नेपाल सरकार र त्यसअन्तर्गतका मन्त्रालय तथा विभाग, विभिन्न दूतावास, नियमनकारी निकायहरू तथा विभिन्न सरोकारवाला निकायमा सम्बन्ध स्थापना गर्ने, सम्बन्ध स्थापना भइसकेको हकमा त्यसलाई अझ बलियो, चुस्त र प्रगाढ बनाउनुपर्ने हुन्छ । त्यस्का लागि विशेष अभियान चलाई सम्बन्ध बलियो बनाउने कार्यमा भएको प्रगतिको मूल्यांकन गरिनेछ ।

२४. योजनाबद्ध कार्यान्वयनः न्यायपूर्ण कार्यसम्पादन मूल्यांकन

आइसिसीको चुनाव सकिने बित्तिकै हरेक कार्यक्रम लागू गर्न सुरु मिति र कार्यक्रम सम्पन्न हुने अन्तिम मिति सहितको समय तालिका र ‘कार्यसम्पादन सूचक’ उल्लेख गरिएको योजना बनाइनेछ । कार्यक्रम कार्यान्वयन गर्न एकल वा संयुक्त रूपमा जिम्मेवार हुने गरी कर्मचारी वा पदाधिकारी वा कार्यसमिति सदस्यलाई जिम्मेवारी तोकिनेछ ।

हरेक कार्यक्रममा भएको प्रगति विवरण त्रैमासिकरूपमा आइसिसी पदाधिकारी तथा कार्यसमितिलाई उपलब्ध गराइनेछ । देश र विदेशमा भएको परिवर्तनले कुनै कार्ययोजनामा संशोधन गर्नु परेमा आवश्यक संशोधन गरिनेछ ।

उत्कृष्ट कार्य गर्ने कर्मचारी वा पदाधिकारी वा कार्यसमिति सदस्यलाई पुरस्कृत र सम्मान गर्ने व्यवस्था मिलाइनेछ ।

राजेन्द्रकुमार शर्मा

प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *