काठमाडौँ, २० असोज : आज शनिबार, तपाईंहरूले के के गर्नुभयो ? प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भने आज पनि भ्याइ नभ्याइ नै भयो । कार्यक्रममा पनि पुग्नैपर्यो, नेतासँगको भेटघाट पनि गर्नै पर्यो । उहाँ आज दुई वटा त किताब विमोचनमै पुग्नुभयो, अनि दुई जना नेतासँग विशेष भेटघाट गर्नुभयो । आउनुहोस्, उहाँको आजको व्यस्तताबारे एकैछिन चर्चा गरौं ।
उहाँ सहभागी भएको पहिलो किताब विमोचन कार्यक्रम थियो नेकपा (माओवादी केन्द्र)की युवा नेता तथा बेलकोटगढी नगरपालिकाकी पूर्वउपप्रमुख कविता ढुङ्गानाको । किताबको नाम हो– स्थानीय सरकारः अपेक्षा र अवस्था ।
राष्ट्रिय महिला आयोगको हल भद्रकालीमा भएको कार्यक्रममा उहाँले सरकार र राज्यमाथि जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप जति प्रभावशाली हुन्छ, लोकतान्त्रिक प्रणाली त्यति नै बलियो हुने बताउनुभयो ।
“सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने जिम्मेवारी राष्ट्रिय कार्यभार हो । यतिबेला हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने कानुनहरू निर्माण गर्ने चरणमा छौँ । यस सन्दर्भमा हामी सबैले गम्भीररूपमा चिन्तन गर्न जरूरी छ”, प्रधानमन्त्रीले भन्नुभयो– “सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने बेला बेलामा प्रयत्न हुने गरेको छ, यस्तो बेला स्थानीय सरकारलाई थप जनमुखी बनाएर व्यवहारबाट प्रतिक्रान्तिकारी सोच पराजित गर्न जरूरी छ ।”
राज्यमाथि जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप जति प्रभावकारी हुन्छ, राज्यलाई त्यति नै लोकतान्त्रिक बनाउने उहाँको भनाइ थियो । प्रधानमन्त्री दाहालले एकथरी व्यक्ति ऐन बनाउने र यो परिवर्तनको परिणाम सकारात्मकरुपमा जनतालाई दिने काममा लागे पनि केही भने कुनै काम नहोस् भन्ने मानसिकतामा रहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले परिकल्पना गरेका ऐन, कानुन लागू राम्रोसँग नगरिदिने र यो व्यवस्था नै ठीक छैन भनेर फेरि पुरानै सामन्ती निरंकुशतातिर फर्काउन चाहने कसरत विभिन्न कोणबाट देखापरेको उल्लेख गर्नुभयो ।
“यस्तो बेलामा स्थानीय सरकारको महत्व के हो ? त्यसको आवश्यकता किन हो ? भन्नेबारे स्थानीय जनप्रतिनिधि जसले आफैँले अनुभव गरे उनीहरूले जनतालाई अझै प्रशिक्षित गर्नुपर्ने आवश्यकता पहिलेभन्दा बढेको छ । हाम्रो अवस्था पनि फेरियो र दैनिक जीवनमा सकारात्मक परिवर्तन भएको छ भन्ने अनुभूत नभएसम्म यसलाई सिद्धान्तले मात्र पुष्टि गरेर हुन्न”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।
त्यस्तै, उहाँले विमोचन गरेको दोस्रो किताब थियो नेकपा (माओवादी केन्द्र)का नेता तथा लेखक राम काकी ‘पार्थ’को । किताबको नाम हो– विकल्पः समता, समाजवाद र मुक्त दुनियाँ ।
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भएको कार्यक्रममा उहाँले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको बताउनुभयो । मुलुकमा देखिएका सङ्कट भर्खर भएको हो वा पुरानाका परिणाम हुन् भनी समीक्षा गर्न आवश्यक रहेको उहाँको धारणा थियो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, “अहिलेको सङ्कट दक्षिणपन्थी वा वामवन्थीका कारण उब्जेको हो भन्ने विषय गम्भीर छ, माक्र्सवादलाई धर्मशास्त्र र सूत्रका रूपमा होइन, वैज्ञानिक र वैचारिक सुधारको बाटोका रूपमा बुझ्नुपर्छ ।”
आफ्नो नेतृत्वमा भएको जनयुद्धलाई अझै पनि केहीले गल्ती र हिंसात्मक रहेको भनी टिप्पणी गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनका वाहकलाई कतिपयले दोषारोपण र कमजोर पार्ने प्रयास भइरहेकोतर्फ पार्टीपङ्क्तिलाई सजग गराउनुभयो ।
दर्शन, राजनीतिक र सामाजिक क्रान्तिका विषयमा चर्चा गर्न सजिलो नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले क्रान्ति र प्रतिक्रान्ति सामाजिक विज्ञानको अनिवार्य नियम भएको बताउनुभयो । उहाँले एकपटक क्रान्ति गरेपछि त्यो सधैँका लागि हुन्छ भन्ने मानसिकताबाट माथि उठेर मात्र निरन्तर क्रान्ति सम्भव रहेको उल्लेख गर्नुभयो ।
पार्टी र सरकारले गरेका राम्रा कामको मूल्याङ्कन हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले क्रान्तिकारीमाथि प्रहार गर्दा दक्षिणपन्थीको शिर उठ्ने अवस्थाले पार्टीको हित नगर्ने बताउनुभयो । पार्टीले अगाडि बढाएका आर्थिक विकासका मुद्दामा सहयोग र समर्थन गर्न आग्रह गर्दै उहाँले माक्र्सवादको प्रयोगद्वारा सामाजिक न्याय, सुशासन र भ्रष्टाचारविरुद्धको लडाइँमा सरकार दृढताका साथ अगाडि बढिरहेको बताउनुभयो ।
त्यसैगरि, उहाँले आज नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेट्नुभयो । भेटमा सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा उहाँहरुबीच सरकारको प्रभावकारिता, समाजवादी मोर्चाको अभियान, मुलुकको अर्थतन्त्र, संसद्को चालु अधिवेशन तथा संयुक्त राष्ट्र सङ्घका महासचिवको नेपाल भ्रमणलगायत विषयमा कुराकानी भएको थियो ।
भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सरकारलाई प्रभावकारी बनाउनेलगायत समसामयिक विषयमा प्रधानमन्त्री दाहालसँग छलफल भएको जानकारी दिनुभयो । “सत्तारुढ दलहरुको बैठक बसेर सरकारलाई प्रभावकारी बनाउने, अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न विज्ञसँग छलफल गर्ने विषयमा कुराकानी भयो”, उहाँले भन्नुभयो ।
सत्ता गठबन्धनको बैठक बसेर दलका बीचमा विभिन्न मुद्दामा समान धारणा बनाउने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो । दुई पार्टीबीचका सम्बन्धलाई घनिभूत र बलियो बनाउने विषयमा पनि गम्भीर कुराकानी भएको बताउनुभयो । “प्रदेश, जिल्ला र तल्ला कमिटीसम्म दुई पार्टीबीचका सम्बन्धलाई प्रभावकारी बनाउने, गुनासा तथा समस्या समाधान गर्ने बारेमा कुराकानी भयो”, उहाँले भन्नुभयो ।
भेटमा सरकारका विभिन्न निकायमा हुने नियुक्तिका बारेमा पनि कुराकानी भएको अध्यक्ष नेपालले जानकारी दिनुभयो । मन्त्री, नीति तथा आयोग एवं राजनीतिक नियुक्तिका सम्बन्धमा दलहरुबीच भएको सहमति पालना नभएकामा अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउनुभएको थियो ।
संयुक्त राष्ट्र सङ्घका महासचिवको आसन्न नेपाल भ्रमण, भेटघाट तथा संसद्मा सम्बोधनलगायत विषयमा प्रधानमन्त्रीसँग छलफल भएको उहाँले जानकारी दिनुभयो ।
उहाँले आजै नेकपा एमालेका नेता केपी ओलीलाई पनि भेट्नुभयो । सिंहदरबारमा भएको भेटवार्तामा उहाँहरुबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुङ्गोमा पुर्याउने तथा सदनमा दर्ता भएका विधेयकका सम्बन्धमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक, विद्यालय शिक्षा विधेयक, २०८० लगायत महत्वपूर्ण विधेयक सदनमा दर्ता भएका छन् । सरकारले संविधान कार्यान्वनसँग सम्बन्धित विधेयकलाई सदनबाट निष्कर्षमा पुर्याउने गरी काम गरिरहेको प्रधानमन्त्रीको दाबी छ ।
मोटामोटी थाहा पाइहाल्नुभयो, प्रधानमन्त्रीको दिन आज यसरी बित्यो, उहाँले के–के बोल्नुभयो भनेर । देश कार्यकारी प्रधानमन्त्रीले शनिबार गरेका यी काम कस्ता लागे ? कमेन्ट गर्नुहोला । प्रधानमन्त्रीले कसरी दिन बिताए भनेर लेख्ने, हाम्रोचाहिँ नलेख्ने भन्ने लाग्छ भने हाम्रो इमेलमा तपाईंको दिन कसरी बित्दैछ, जीवन कसरी बित्दैछ, लेखेर पठाउन सक्नुहुनेछ । हामी तपाईंको क्रियाकलापलाई पनि उत्तिकै स्थान दिएर समाचार बनाउँनेछौं । हामीले कस्ता समाचार बनाउनुपर्छ भन्ने विषयमा पनि तपाईंले आफ्नो धारणा राख्न सक्नुहुन्छ ।
समाचार मन परेमा सामाजिक सञ्जालमा सेयर गर्नुहोला, कमेन्ट गर्न नभुल्नुहोला । समाचार पढ्ने समय छुट्याउनुभएकोमा यहाँलाई हार्दिक धन्यवाद ।
राससको सहयोगमा