Logo

२ फाल्गुन २०८१, शुक्रबार

“गाउँकी केटी सबैलाई” अर्थात् कि गाउँका सिधा–साधा परिश्रम गरेर खाने गरीब केटी सबैको साझा हो ।
“पातलीले दुई चूल्ठो बाटिछ हामीलाई ढाँटिछ” अर्थात् पातली एउटीले दुई चूल्ठो बाटेर हामी याने थुप्रैलाई ढाँटिछ, यहाँ पनि गाउँकी पातली साझा हो कारण पातली नाउँ प्रायः शहरमा राखिँदैन ।
“साइँली र माइली पोइल गएछन् गाउँ घर नै सुन्ने पारेर” अर्थात् साइँली र माइली दुईजना पोइल जाँदा (प्रेम विवाह गरेर जाँदा) गाउँ घरका सारा तन्नेरीहरूलाई गाउँ घर नै सुन्ने लाग्छ । यहाँ पनि साइँली र माइली सारा गाउँ घरका तन्नेरीहरू (अधबैंसे बुढाहरूको पनि ? कारण गाउँ घरका तन्नेरीहरू मात्र हुँदैनन्) –को साझा माल हो ।

हुन त मेरी दुखिया जननी, बिहे गर्नुअघि तिमीले कहिल्यै नदेखेको तिम्रो बूढो लोग्नेले बिहेको पहिलो रात तिमीलाई पनि बलात्कार नै गरेको हुनुपर्छ र असम्भव के छ, हामी गरीबहरूको निम्ति समय यहाँ खास केही हेरफेर भएको छैन ।

माटो बोक्दा–बोक्दै तीतेपाती घारीमा मलाई जन्माएर पोल्टोमा बोकी घर आउने मेरी दुखिया जननी राष्ट्रको मर्यादा रेडियो नेपालबाट प्रसारित हुने यस्ता गीतहरू गाएर हिँड्ने शहरका अल्लारेहरूले तिम्रो र मेरो मर्यादाको कयौंपटक बलात्कार गरेका छन् । हुन त मेरी दुखिया जननी, बिहे गर्नुअघि तिमीले कहिल्यै नदेखेको तिम्रो बूढो लोग्नेले बिहेको पहिलो रात तिमीलाई पनि बलात्कार नै गरेको हुनुपर्छ र असम्भव के छ, हामी गरीबहरूको निम्ति समय यहाँ खास केही हेरफेर भएको छैन । तिमी पनि मलाई त्यसरी नै मैले कहिले नदेखेको लोग्ने मान्छेसँग बिहे गरेर दिने थियौ र त्यो मेरो कथित लोग्नेले मलाई पनि पहिलो रात नै बलात्कार गरेको हुने थियो तर अब धन्धा नमान मेरी जननी मेरो बलात्कार भइसकेको छ । मर्यादा शरीर एकसाथ बलात्कार भइसकेको मैले अब जहाँबाट जसरी बोलूँ कोही रोक्न सक्ला मलाई ? तँलाई बात लाग्यो अब तेरी बहिनी बिक्दिन भनी पुर्पुरोमा हात नराख मेरी आमै, त्यो बात लाग्ने कुरालाई अब चिहान खनेर पुरिदिऊँ । माथिका उल्लिखित गीतहरूले हामी सबै स्वास्नीमान्छेहरूलाई बात लगाइसकेका छन् । हामी सबै स्वास्नीमान्छे आखिर एकै त हौँ । जति बात लाग्नु छ लागि सक्यो लाग्दैन अब ।
आमै घर भनेको घर मात्र रहेछ, सुरक्षित बस्न पाऊँ भनी बनाइएको एउटा चारदिवारी । हामी त वनमाराको सीटाले बारेको छाप्रोभित्र बस्ने, जसमा छाप्रो शब्दको सामर्थ्य पनि वास्तवमा छैन । एउटा जड्याहाको एक मुक्का पर्याप्त छ यसलाई ढाल्न, हामी त भित्र बाहिर जहाँ पनि असुरक्षित, तर अट्टालिका र भवनहरूकाहरू पनि बलात्कृत भइसके र मारिइसके । यस देशमा जसरी सतहमा आकर्षक खोल्सीको रूप लिएर भित्र–भित्रै विकराल दत्य जस्तो भूमिगत बग्ने नदीहरू छन् त्यस्तै मुखमा नौनीको चिप्लो पोतेर र पेटमा षड्यन्त्रको त्यतिकै ठूलो गुफा बोकेका मान्छेहरू छन् ।

बेला–मौका रचिएका कतिपय भावुक गीतहरू पनि समयमा यति काँडेदार आइरोनी भइदिँदारहेछन्, नेपाली स्वास्नीमान्छेहरूको आफ्नै गीतहरू उनीएर हैरान् । “मेरो माइती नेपालमा” । त्यसो भए घर कहाँ विदेशमा ?

अब ती सेलो गायकहरूलाई भनिदिनू, “भुइँमा राख्दा दाग लाग्ला काखमा राख्दा बात लाग्ला” । यस्ता झूट र नकच्चरो गानाहरू गाएर नेपाली स्वास्नीमान्छेहरूको मुक्ति गाथालाई चेपारो नपारून् आखिर “गाउँकी ठिटी सबैलाई” त हो । किन राख्नुपर्छ काखमा, उहाँ बलात्कार गरेर, हत्या गरेर मिल्काइसके सेती खोलाहुँदो नमिता, सुनितालाई । बलात्कार गरेर, मारेर झुण्ड्याइसके पथलैयाको सालको रूखतिर लक्ष्मीलाई । नीरा पराजुलीलाई पनि त कतै कसैले त मारिसके होलान् । यो त भयो देशभित्रको कुरा त्यसैले माटो बोकेर खाने जंगल–जंगलमा सुत्केरी हुने मेरी जननी आफ्नो वनमाराको सीटाले बनाएको त्यो कथित छाप्रोलाई एक लात हानेर भत्काइदेऊ । हामीलाई एउटा ठूलो घर नबनाइकन धरै छैन, हामी आफै त्यस घरको पर्खाल हुनेछौं ।
बेला–मौका रचिएका कतिपय भावुक गीतहरू पनि समयमा यति काँडेदार आइरोनी भइदिँदारहेछन्, नेपाली स्वास्नीमान्छेहरूको आफ्नै गीतहरू उनीएर हैरान् । “मेरो माइती नेपालमा” । त्यसो भए घर कहाँ विदेशमा ? विदेशमा के गति छ नेपाली स्वास्नीमान्छेहरूको ? बम्बई, लखनऊ, कानपुर जस्ता महानगरीहरूमा ‘नेपाली माल चाहिए’ –को माग पूरा गर्दागर्दै भुसिया कुकुरको मृत्यु मरिसकेका छैनन् ? ‘सच्ची कहानियाँ’, ‘सत्य कथा’–हरूलाई सस्तो पत्रिका भनेर के गर्ने विश्वमा सस्तो हुँदै गइरहेका नेपाली स्वास्नीमान्छेहरूको दुःखद कथाहरूले भरिएको हुन्छ । ‘टाइम्स अफ इण्डिया’ र ‘तुलसा काण्ड’–ले आएर मोसो पोतिदिएनन् यहाँका युवकहरूलाई ? प्रशासकहरूलाई ? नेताहरूलाई ? विदूषीहरूलाई ? सोध मेरी आमै सोध । यो नेपाल देश भनेको नेपाली स्वास्नीमान्छेहरूको घर हो घर माइती मात्र होइन ।

सीमा पार गर्न हुँदैन आँखा झिम्काउँछन्, उडाउँछन्, हेप्छन्, कान्छी भन्दै भारतीय ब्वाँसाहरू । ए नी लै लै कता होलान् हाम्रा पोइला जाने साइँली र माइलीहरू, दुई चूल्ठो बाटेर ढाँट्ने पातलीहरू ।

देश बेचुवा, आइमाई बेचुवा भनेको कति घिनलाग्दा विशेषणहरू हुन् यो कुरा अलि सामान्य बुद्धि हुनेहरूले पनि बुझ्छन् तर अफसोस्को कुरो तीखा बुद्धिहरू नै व्यापार गर्न सिपालु हुन्छन्, कुरा बुझेर के गर्नु ?
रून पनि हाँस्न पनि नसकेकी हो कि क्या हो मेरी आमै ! भावनाहरू तिम्रा आँखाहरूमा आएर एकाएक स्थिर भए जस्ता छन् । कि रोऊ कि हाँस । रोए हल्का भइन्छ, हाँसे सामना गर्नसकिन्छ हामी धूलो माटोको फाहा घसेर हुर्केका हौं, इन्पोर्टेड लाली लाउनेहरूको पनि अब त भाउ खसिसक्यो । सीमा पार गर्न हुँदैन आँखा झिम्काउँछन्, उडाउँछन्, हेप्छन्, कान्छी भन्दै भारतीय ब्वाँसाहरू । ए नी लै लै कता होलान् हाम्रा पोइला जाने साइँली र माइलीहरू, दुई चूल्ठो बाटेर ढाँट्ने पातलीहरू ।
अब ती खरसाङका गीतकार जस योञ्जन प्यासीलाई पनि सोधिहाल, ‘बोलाऊँ भने तिमीलाई बात लाग्ने डर नबोलाऊँ त तिम्रो प्रीतको पाप लाग्ने डर ।’
उनले पनि नगरून् यति चोखो माया अथवा उनी पनि नउभिउन् यत्रो दोसाँधमा । अब त आफ्नो मर्यादाको खातिर आवाज नउठाए बात लाग्छ, अब त यो साङलो नचुडाए बात लाग्छ अब त युद्ध नगरे बात लाग्छ ।

(पारिजातका लेख–संग्रह ‘आधी आकाश’बाट)

प्रकाशित मिति: ३ जेष्ठ २०७८, सोमबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *