काठमाडौं, ३ कात्तिकः गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा निकटतम् प्रतिष्पर्धी आरके शर्मालाई १०६ मतले पछि पार्दै डा. बद्री केसी निर्वाचित भएका छन् ।
शुक्रबार राती सार्वजनिक भएको भएको नजिताअनुसार केसीले १ हजार ३ सय ७८ मत प्राप्त गरेका छन् भने शर्माले १ हजार २ सय ८१ मत प्राप्त गरेका छन् । त्यसैगरि अध्यक्षका अर्का प्रत्यासी महेशकुमार श्रेष्ठले १ हजार २ सय २५ मत प्राप्त गरेका छन् ।
अध्यक्ष पदमा रविना थापाले समेत उम्मेदवारी दर्ता गरेको भए पनि उनले मतदान सुरु हुनुअघि नै आफ्नो उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाई साथ दिएकी थिइन् ।
निर्वाचनका लागि ५९ देशका ४ हजार २ सय २७ जना प्रतिनिधि छनोट भएका थिए । नेपालमा बिहीबार तथा विदेशमा रहेका प्रतिनिधिका लागि भने बुधबार रातिबाटै २४ घण्टाका लागि ‘फेसियल भेरिफिकेसन’ मार्फत अनलाइन भोटिङ गरिएको थियो । नेपाल आएका प्रतिनिधिले सोल्टी होटल परिसरमा व्यवस्थापन गरिएको मतदान केन्द्रबाट मतदान गरेका थिए ।
निर्वाचनका लागि ७४ पदमध्ये १० वटा पदमा उम्मेदवारी नै परेको थिएन । उम्मेदवारी नपर्ने अधिकांश अफ्रिकन मूलका देशहरू रहेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार विभिन्न पदमा २३ जना निर्विरोध निर्वाचित भइसकेका थिए । मतदानबाट अब ९७ जनाको उम्मेदवारीबाट ४१ पदाधिकारी निर्वाचित भएका छन् ।
अनलाइन भोटिङ भएकाले मतदान सकिएको एकघन्टा पछि नै नतिजा सार्वजनिक गरिएको थियो । तर, अनलाइन निर्वाचनका क्रममा धाँधली गरिएको भन्दै शर्मा र श्रेष्ठ समूहले निर्वाचन बहिष्कार गरेको छ । उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको नेपालबाट शून्य मत देखिएको, उम्मेदवारहरूले प्राप्त गरेको मत मतदाता संख्याभन्दा बढी देखिएको आदि कारणले धाँधली प्रमाणित भएको उनीहरूको दाबी छ ।