Logo

५ जेष्ठ २०८१, शनिबार

महाधिवेशनको गर्मीबीच बालापनको सितलु

एनआरएनए महासचिव गौरीराज जोशीले सम्झिए पहिलो तलब र घुँगीको स्वाद


माटोको सुगन्ध कस्तो हुन्छ ? देश छोडेर परदेश पुगेका कसैलाई सोधे भन्लान्, ‘आफू हिँडिआएको बाटोमा फुलिरहने फूलको जस्तो हुन्छ ।’

अमेरिका आवासी गौरीराज जोशी कतिबेला त्यस्तो सुगन्ध बोध गर्छन् त ? ‘जब नेपालका लागि विमान चढ्छु, विमानले देश नजिक ल्याउन थालेपछि आकाशमै आफ्नो माटोको सुवास आएजस्तो बोध हुन्छ’, उनको हृदयको आवाज कम्पित हुँदै निस्कन्छ ।

उनी जब आफ्नो मूल देश सम्झिन्छन्, आफ्नै आमा–बाले हिँडेको माटोको–बाटोको बासना आएझैं लाग्छ । उनलाई लाग्छ– देश भन्नु माटोको सुगन्ध रहेछ, अनि आफैं हिँडेको बाटोको पाइला भेट्नु पो रहेछ । त्यही पाइला खोज्दै उनी बेला–बेला नेपाल आइपुग्छन् ।

तेस्रो विश्वका धेरै युवाको सपनाको गन्तव्य अमेरिकामा लामो समयदेखि उद्यमीको हैसियत बनाएका जोशी अहिले भने गैर आवासीय नेपाली संघको ११ औं महाधिवेशनमा अन्तराष्ट्रिय समन्वय समिति (आइसिसी)को महासचिव पदमा पुनः प्रत्यासी भएर नेपाल आइपुगेका छन् । अहिले पनि महासचिव नै छन् ।

त्यो बालापन, यी प्रिय साथी

गौरीराजको पुख्र्यौली गाउँ लमजुङको चिती हो । उनका बुबा सुखको बाटो खोज्दै चितवन झरे । उनी हालको रत्ननगर–१०, टाँडीमा जन्मिए । निम्न मध्यम वर्गको किसान परिवारमा हुर्किंदा उनले घाँस, दाउरा, मेलापात सबै सिके । साथीहरूसँग गुच्चा खेल्न, घाँसदाउरा जान अनि पर्म लगाउन उनलाई खुब रमाइलो लाग्थ्यो ।

त्यतिबेलाको मौलिक जीवन सम्झेर आज पनि यसै आल्हादित हुन्छन् । त्यसैले, एनआरएनएनको चुनावी गर्माहटबाट एकैछिन बाहिर निस्केर बाल्यकालतिर विचरण गर्ने प्रस्तावमा मखलेल देखिए । एनआरएनएको चुनावी सरगर्मीमा उनी धपेडीमै देखिन्थे । भेटघाटको बाक्लो तालिकाका बीच पनि उनी एकछिन बाल्यकालतिर फर्किए । आमाबुबा, गाउँघर, साथीभाइको यादमा टहलिन पुगे ।

कर्मथलो अमेरिका भए पनि उनी नेपाल आइरहन्छन् । गाउँघर पुग्न र बाल्यकालीन साथी भेट्न उनलाई निकै रमाइलो लाग्छ । साथी सम्झिँदै भन्छन्, ‘संसारभर यात्रा गर्दा कति–कति नयाँ साथी बने । कतिसँग सहकार्य हुन्छ । तर बाल्यकालीन साथीको भने हरपल सम्झना आइरहन्छ । भरतपुर अस्पतालका प्रमुख डा.कृृष्ण पौडेल अनि मोहनामा बस्ने मोहन ढकालसँग यता आएपछि जहिले पनि भेट हुन्छ । गफ गर्छौं, पुराना दिनहरू सम्झिन्छौँ । बाल्यकालका कुरा सम्झँदै हाँस्छौँ, अनि हाम्रा छोराछोरीको कुरा पनि गर्छौं ।’

सपनाको उडान भर्दै उनी पृथ्वीको अर्को ध्रुवमा पुगे, कोही साथी कता, कोही कता । तर उनका केही लँगौटिया साथी अहिले पनि गाउँमै मौलिक जीवन बिताइरहेका छन् । उनीहरू आफू हुर्किएको माटोसँगै जोडिएका छन् । यसरी उनले सम्झिने अर्का साथी हुन् स्याना महतो । अहिले पनि उनी महतोको घर जान्छन्, उनको परिवारले बनाएर दिएको घुँगीको स्वाद लिन्छन् । हाँसको मासु खान्छन् ।

महतो कृषिसम्बन्धित व्यवसाय गर्छन् । गौरीराज भन्छन्, ‘स्याना मेरो निकै मिल्ने साथी । उहाँका छोराहरू पनि अहिले विदेश गएका छन् । उहाँलाई भेट्दा निकै रमाइलो हुन्छ । घुँगी त हामी बच्चैदेखि खान्थ्यौं । थारू समुदायमा हुर्किएको हुनाले त्यो नौलो कुरा थिएन हाम्रा लागि ।’

उनको जिब्रोले धेरैजसो समुद्री जीवका परिकारको स्वाद लिए पनि घुँगीको अर्गानिक स्वाद भने उनले भुलेका छैनन् ।

बाबाको बाटो, आमाको आँट

बालापनमा मिठा दिनमात्रै रहेनन्, तिता पनि उत्तिकै थिए । जस्तो कि, उनी भर्खर १६ वर्ष टेक्दै थिए, बुबाको माया गुमाए । बुबा नहुनु भनेको जीवनको छानोमा एकपाखो नहुनु थियोे । तर, आमाको मायाको न्यानोले त्यो खाली पाखोबाट आउने सिरेटो पनि छेकिरह्यो । उनीसहित चार छोरा र एक छोरी गरी पाँच सन्तानको आमाले रेखदेख गरिन् ।

गौरीराज सम्झन्छन्, ‘१६ लाग्दै थिएँ, बुबा जानु भो । समाजमा श्रीमान् नभएकी महिलाको लडाइँ कति हुन्छ, त्यो भन्नु नै पर्दैन । तर आमा हाम्रो लागि आफैँ छानो, आफैँ घरको धुरी हुनु भो । खरको छानो भएको घरमा भौतिक न्यानो त थियो नै, आमाको मायाको ओतले बुबाको संरक्षण अभावको सिरोटोलाई पनि छेकिरह्यो, चिसिनु परेन ।’

उनै आमाका चार सन्तान अहिले अमेरिकामा छन् । एक भाइ प्राध्यापक छन् भने अर्का भाइ र बहिनीका परिवार नै आइटी क्षेत्रमा छन् । ठुलो दाइ र भाउजूका परिवार भने चितवनमै छन् ।

उनका बुबाले १० कक्षा उत्तीर्ण गरेका थिए । समाजलाई आडओतन दिने स्वभावका बुबालाई गाउँमा ‘मुखिया’ मान्थे । धेरै मानिस निरक्षर थिए । लेखापढी, तमसुक आदि उनका बुबाले नै बनाइदिएको उनलाई याद छ ।

उनी अमेरिका पुगेको २७ वर्ष भइसक्यो, तर आज पनि बेला–बेला गाईगोठाला जाँदाका दिन सम्झना आउँछ । घरका लागि पुग्ने गाइभैंसी थिए गोठमा । बुबाले सबैलाई काम बाँडफाँड गर्दिन्थे । कोही घाँस काट्न हिँड्थे, कोही भैंसीलाई कुँडो पकाउने जिम्मामा हुन्थे । गोबर सोहोर्ने जिम्मा कहिले उनको भागमा पथ्र्यो । आमाबुबाले अह्राएको कुनै काम गर्न उनीहरू नाइँनास्ती गर्दैनथे । मिलेर काम गरेको देखेर छिमेकीहरू उनीहरूका परिवारलाई उदाहरण मान्थे ।

बुबा आफैँ अघि लागेर खेतको काममा निस्कने, आमा भने घरधन्दा सम्हाल्ने । समयमा खाना खाएर छोराछोरीलाई विद्यालय पठाउन उनकी आमा सधैँ बिहान सखारै उठेर धन्दामा जुटिसकेकी हुन्थिन् । गौरीराज आज पाएको सफलताको यात्रालाई यसो फर्केर नियाल्दै भन्छन्, ‘आमाको सखारै उठ्ने बानी, आमाबुबा दुवैको कामप्रतिको नित्य लगनको अभ्यास मेरो दिमागमा सेट भएको थियो । मैले पनि जति अप्ठ्यारा आइलागे पनि कहिल्यै हार मानिनँ, पछाडि फर्केर हेरिनँ । आज जहाँ उभिएको छु, त्यो यात्राको पथप्रदर्शक आमाबुबा नै हो ।’

सपनाको उडान

उनले गाउँमा सरकारी विद्यालय पढे, काठमाडौंमा सरकारी कलेज । काठमाडौंको बसाइलाई उनी संघर्षको एउटा चरणको रूपमा लिन्छन् । भोटेबहालमा सानो कोठा थियो, एउटा खाट, दुई जना सुत्थे त्यसैमा । अलिक पछि अनुकूलता खोज्दै बाँसबारी डेरा सरे । त्यतैबाट अमेरिका उडे ।

तिनताका घरमा पनि उति पैसा हुँदैनथ्यो । तर, खाद्यन्न भने आफ्नै खेतीको आइपुग्थ्यो । डेरा भाडा र अन्य खर्चको जोहो गर्ने दायित्व भने उनकै थियो । सन्ध्याकालीन कक्षामा कलेज भर्ना भएका थिए, यसैले दिनभर काम गर्ने मौका मिल्यो । सुरुका दिनमा विदेशीले टेलिफोन गर्ने पिसिओ अफिसमा सहायकको जागिर खाए । काम सिक्दै गए । त्यसपछि विज्ञापन एजेन्सीमा काम गरे । पहिलोपटक थापेको तलब १ हजार ५ सय रुपैयाँ थियो । भन्छन्, ‘आज यतिका मानिसलाई रोजगारी दिएको छु । मलाई पुग्दो कमाएको छु । तर, पहिलो तलब थापेको दिनको खुसी आज पनि याद आउँछ ।’

अत्यासले धकेल्यो अमेरिका

गौरीराजले स्नातकोत्तर (मास्टर्स इन फाइनान्स)को गरेपनि योग्यताअनुसारको जागिर खोजे । विभिन्न संघसंस्थामा आवेदन दिए । तर, जागिर पाएनन् । उनलाई न कसैको चाकडी गर्न आउँथ्यो, न त्यो मन नै पथ्र्यो । त्यसपछि देशबाहिर भविष्यको बाटो खोज्दै अमेरिकाका लागि आवेदन दिए । उनी सम्झन्छन्, ‘आज मात्र हैन, हिजैदेखि हाम्रो प्रणाली चाकडी, भनसुनमा गइसकेको थियो । मेरो कोही थिएन भनिदिने । आफ्नो क्षमता हुँदाहुँदै अर्कालाई हात जोड्न मन लागेन । नेपालमा नहुने देखेपछि चितवनको एक कठ्ठा जग्गा बचेर खर्चको जोहो गरेर अमेरिका उडेको थिएँ ।’

उनी अमेरिका जाँदाताका नेपालीमा अहिलेजस्तो विदेश गइहाल्ने सोचको माहोल थिएन । राहदानी बनाउनेको लर्को पनि आजजस्तो थिएन । अमेरिकामा पनि आज जसरी जता फर्कियो, त्यतै नेपाली देखिने अवस्था थिएन । त्यस्तो बेला उनी अमेरिका पुगेका थिए, त्यसैले त्यहाँ सुरु हुँदैथ्यो उनको असली संघर्ष ।

‘त्यहाँ त न आमाले चितवनमा फलाएको चामल आउँथ्यो, न दाल । काम गरे खान पाइने, नभए भोकै परिने । कहिले त दिनभरी काम गर्‍यो फर्किदा दिनभरीको कमाई ट्याक्सीलाई दिदा ठिक्क हुने । आएर पाउरोटी खाएर पनि सुतियो,’ उनले सुनाए ।

असहजताबीच अवसर

अमेरिका पुग्दा सुरुवाती कालमा उनलाई पनि आम आप्रवासीको जस्तो असहज अनुभूति त हुन्थ्यो । तर रहँदाबस्दा बिस्तारै त्यहीँको समाजसँग घुलमिल भए । अमेरिकामा सूचना प्रविधिको थप शिक्षा लिए । सोही क्षेत्रमा जागिरे पनि भए । व्यवसायमा पनि प्रविधिकै क्षेत्रमा हात हाले । अहिले उनको कम्पनीले अमेरिका, भारत र नेपालमा रोजगारी सिर्जना गरिरहेकोे छ ।

पछिल्ला दिनमा नेपाल पनि प्रविधिमा निकै अघि बढिसकेको छ । थुप्रै नेपाली कम्पनीले विदेशी कम्पनीहरूको लागि जनशक्ति उपलब्ध गराइरहेको छ । विशेषगरी आइटी क्षेत्रका आउटसोर्सिङ गरिरहेका छन् ।

नेपालमा उत्पादित जनशक्तिलाई थप अनुभव र ज्ञान हासिल गर्न विदेश लानु पर्ने र त्यहाँ सिकेको ज्ञानलाई नेपाल ल्याउनु पर्ने आवश्यकता बोध छ उनलाई । उनी भन्छन्, ‘भारत त अन्य मुलुकले पनि यसरी नै ज्ञान, सीप र जनशक्ति विनिमय गरेरै फड्को मारेका छन् । भारतले गरेको प्रगतिमा डायस्पोरामा बसेका भारतीयहरूको ठूलो योगदान छ ।’

अबको समयमा प्रगति गर्ने हो भने कुनै पनि देशले ‘ग्लोबल’ सोच राख्नुको विकल्प छैन । आफ्नोपन, संस्कार–संस्कृतिको जगेर्ना गर्नु नै पर्छ । तर, भौतिक–आर्थिक विकासमा अघि बढ्ने भने नेपालले पनि विश्वव्यापी सोच राख्नैपर्छ भन्ने बोध उनले अमेरिकाको विकासको यात्रा देखेरै गरेका हुन् ।

‘त्यसका लागि सरकारले पहलकदमी लिइदिने, निजी क्षेत्रले गर्ने कार्यमा सहजीकरण गरिदिनु पर्छ । यस्ता क्षेत्रमा अघि बढ्न विभिन्न किसिमका स्किमहरू ल्याउनु पर्छ । यसो हुन सके प्रविधिको क्षेत्रमा फड्को मार्न सकिन्छ,’ उनले आफ्ना अनुभव र आग्रहलाई संष्लेषण गरे ।

एनआरएनए यात्रा

गौरीराजको यो संष्लेषण अमेरिकामा गरेको संघर्ष र देखेको अवसरको सम्मिश्रण हो, अनि उनको एनआरएनए यात्राको प्रस्थानविन्दु पनि । अमेरिका गएपछि त्यहाँ टिक्न उनले अनेक किसिमका दुःख भोगे । त्यो क्रममा आफूजस्तै संघर्ष गरिरहेका नेपालीलाई सहयोग गर्नुपर्छ भन्ने मनोभावना उनमा आयो । सोही विचारले उनी टेक्सासका स्थानीय संघ–संस्थामा संलग्न भए ।

सन् २००३ मा उनले नेपाली समाज, टेक्सासको महासचिव भएर काम गरे । दुई वर्षपछि संस्थाको अध्यक्ष भए । संस्थामार्फत् सामुदायिक तथा सांस्कृतिक केन्द्र निर्माण गरे । एनआरएनएले सोही समयतिर नै विभिन्न स्थानीय संस्थासँग मिलेर कामहरू गरिरहेको थियो । त्यसअन्तर्गत पनि नेपाल अमेरिका काउन्सिल भन्ने संस्थामार्फत् एनआरएनएले आफ्ना कार्य गथ्र्यो । यिनै सन्दर्भ हुँदै उनी एनआरएनएसँग आबद्ध भए । जिम्मेवारीको अनेकन परीक्षामा उत्तीर्ण हुँदै, अब्बल ठहरिँदै, नेतृत्व लिँदै उनी आजको ठाउँमा आइपुगेका छन् ।

नेता होइन, स्वयंसेवक

गौरीराज जोशी अहिले विश्वव्यापी संगठन भएको गैरआवासीय नेपालीहरूको संस्था एनआरएनए, आइसिसीको महासचिव छन् । संघको आगामी कार्यकाल (सन् २०२३–२०२५)का लागि पनि सोही पदमा दोहोरिएर उम्मेदवार बनेका छन् । आफ्नो कामप्रति आएका सकारात्मक प्रतिक्रिया, योजना कार्यान्वयनमा देखिँदै गएको परिपक्वता र भावी योजनामा गाभिएका दूरदर्शी सोचको जगलाई अझ बलियो बनाउन आफूले महासचिव पदमा फेरि दोहोरिन चाहेको उनले बताउँदै आएका छन् ।

कम बोल्ने र बढि काम गर्ने मूल मन्त्रका साथ अधिकजसो जिम्मेवारीको भार काँधमा बोक्न अग्रसर हुने उनलाई देखेका जोकोहीलाई लाग्न सक्छ, यिनको सानैदेखि नेतृत्व गर्ने सोख थियो होला । तर, नेतृत्व उनको कहिले पनि रहर रहेन । बरु, उनलाई आफ्नो स्वभावले नेतृत्व गर्नुपर्ने जिम्मेवारीतिर हिँडायो । सानैदेखि स्वयंसेवा उनको रुचिमा पथ्र्यो, गाउँछिमेकमा कसैलाई केही पर्‍यो कि दौडेर सहयोग गर्न पुग्ने, साथीभाइलाई गाह्रो पर्दा पनि त्यसरी नै सहयोगको लागि अग्रसर हुने । तर, उनको दाबी छ कि त्यो भावना शुद्ध र पवित्र हुन्थ्यो । नेता हुने र शासन गर्ने भन्नेसोच उनलाई कहिल्यै आएन ।

भन्छन्, ‘मेरो स्वभाव त अरुलाई सहयोग गर्ने हो । म नेता हो, अरुलाई शासन गर्नुपर्छ भन्ने भावना ममा कहिल्यै आएन । आज पनि त्यस्तो छैन ।’ त्यसो भए नेतृत्वमा किन आउने त ? प्रश्न नउठ्ने कुरै भएन । उनको सहज जवाफ छ, ‘म यो संस्थामार्फत भावनाले जोडेको नेपाल र नेपालीलाई सोही कडीमा जोडिरहन चाहन्छु ।’

आसन्न महाधिवेशनमा हुने निर्वाचनलाई लक्षित गर्दै उनी थप्छन्, ‘म नेता हुँ र सबैलाई शासन गर्नुपर्छ भन्ने भावना छ भने त्यसलाई त्यागेर यो संगठनमा काम गर्न आउन सबै साथीहरूलाई अनुरोध गर्छु । म स्वयंसेवक हो, नेपाल र नेपालीका लागि काम गर्छु भन्ने भावना लिएर अघि बढौं ।’

सेवाभावको सलेदो बलिरहोस्

स्वभावमै रहेको सेवा भावनाको दियोमा तेल थप्न उनी एनआरएनएको अभियानमा सामेल भएका थिए, त्यो दियो बालिरहने सामूहिक बल बनाइरहन त्यसको नेतृत्वदायी भूमिका निर्वाह गर्दैछन् । अनि, आफ्नो सेवाभावी स्वभावलाई बल दिन निजी तवरले पनि उत्तिकै काम गरिरहेका छन् ।

आमाबुबाको सम्झनालाई सेवाको तारमार्फत प्रवाह गरिरहन उनले ‘आमा फाउन्डेसन’ स्थापना गरेका छन् । परिवारकै सदस्यहरू जोडिएर काम गर्ने हुँदा संस्थाको कार्यक्षेत्र चितवन नै बढी बनेको छ । चितवनबाहेक सुदुरपश्चिमको डोटी, कैलालीलगायत क्षेत्रमा एम्बुलेन्स प्रदान गरेको छ । महिला, जेष्ठ नागरिक तथा बालबालिकासम्बन्धि सेल्टरहरूलाई पनि आर्थिक लगायत सहयोग भएको छ ।

‘आफूसँग केही छ भने अरुलाई पनि दिनुपर्छ’ भन्ने मूलमन्त्र बनाएर गौरीराज समाजलाई निरन्तर केही न केही दिइरहेका छन् । भन्छन्, ‘चितवनमा गाइभैंसी चराउन जाँदा तरेको टिकौली खोला होस् वा उत्तरी अमेरिकाको टेक्सास क्षेत्रमा पर्ने रियो ग्रान्डे नदी होस्, प्रकृति र पानीको बहावले मान्छेलाई आफू जस्तै अविछिन्न यात्रा गर्न र सबैसँग मिलेर बाँच्न सिकाउँछ । आजसम्म प्रकृतिले सिकाएको त्यही बाटो म हिँडिरहेछु ।’

अरु सबै तपशील हुन्, जो आवश्यकताले हासिल हुँदै जान्छन् । अनिवार्यताले निर्माण गर्दै जान्छन् । उनी त हरेक कर्ममा एउटै कामना मिसाइरहन्छन्, ‘आफूभित्र सेवाभावको सलेदो सधैँ बलिरहोस् । स्वयंसेवाको दियो बाल्न पुगिरहोस् ।’

प्रकाशित मिति: २१ आश्विन २०८०, आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *