गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनमा आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेका जर्मनीका डा. नवराज रोस्याराले नयाँ पुस्तालाई समेट्न नेपाल फ्रेन्डसिप काउन्सिलको धारणा अघि सारेका छन् ।
उनले गैरआवासीय नेपाली संघले आफ्नो विधानमै विदेशी मित्रहरूसँगको सहकार्यका लागि फ्रेन्डसिप काउन्सिलको अवधारणालाई समाहित गर्नुपर्छ भनेर विगतका अधिवेशनमा पनि प्रस्ताव राख्दै आएका थिए । प्रस्तुत छ, उनले अघि सारेको अवधारणाबारे प्रश्नोत्तरः
नेपाल फ्रेन्डसिप काउन्सिल भनेको के हो ?
नेपाल फ्रेन्डसिप काउन्सिल भनेको नेपाल र नेपालीहरुलाई माया गर्ने विदेशीहरूलाई समेटेर एनआरएनए जस्तैगरि विश्वका हरेक देशमा गठन गरिने सामाजिक संरचना हो । जुन देशमा एनआरएनए हुन्छ, त्यहाँ नेपाल फ्रेन्डसिप काउन्सिल पनि निर्माण हुनेछ ।
यो संस्था सम्बन्धित देशको नियम कानुनअन्तर्गत सामाजिक संस्थाको रूपमा दर्ता भई काम गर्नेछ । एनआरएनए र फ्रेन्डसिप काउन्सिलबीच निरन्तर रूपमा परस्पर सहयोग र सहकार्य गरी सामाजिक गतिविधिहरू सञ्चालन गरिनेछन् । फ्रेन्डसिप काउन्सिलमा हामीहरू आफू बसेको देशमा ‘इन्टिग्रेसन’ गर्ने विषयमा व्यापक छलफल हुनेछ । भाषा सिकाउने काम यही काउन्सिलले गर्नेछ । विदेशीलाई नेपालीको संस्कृति र नेपालीलाई आफू बसेको देशको संस्कृतिमा मिसाएर नयाँ समाज निर्माणको कुरा हुनेछ ।
नेपाल फ्रेन्डसिप काउन्सिलको मुख्य उद्देश्य के हो ?
सम्बन्धित देशको एनआरएनएसँग सहकार्य गर्ने, नेपाली ‘इमिग्रेन्ट्स’लाई सम्बन्धित देशको समाजमा ‘इन्टिग्रेट’ गराउने, सम्बन्धित देशमा नेपालीहरूका साझा समस्या समाधानमा सहयोग गर्ने, नेपालसँग भाइचारा र सांस्कृतिक सम्बन्ध कायम राखिराख्ने, नयाँ नेपाली इमिग्रेन्टसलाई विदेशी भाषा सिकाउने व्यवस्थाको पहल गर्नेजस्ता उद्देश्य यसका मुख्य हुनेछन् । त्यसैगरि नेपाली ‘इमिग्रेन्टस’हरूको संस्कृति र रितिरिवाजलाई त्यस देशको ‘माइनर कम्युनिटी’ अर्थात ‘अल्पसंख्यक’को रूपमा परिचित गराउने, ग्लोबल वार्मिङ, वातावरणीय असर, महिला शसक्तिकरण, बालबालिकाको लागि अनिवार्य शिक्षाजस्ता विश्वव्यापी मुद्दाहरूमा अन्य संघसंस्थाहरूसँग सहकार्य गर्नेजस्ता कार्य पनि उसका मुख्य उद्देश्यमा पर्नेछन् ।
नेपाल फ्रेन्डसिप काउन्सिलमा सदस्यहरू को हुनेछन र कस्ले नेतृत्व गर्नेछन्?
नेपाल फ्रेन्डसिप काउन्सिलको नेतृत्व हाम्रा विदेशी मित्रहरू अथवा नेपाली मूलका तर विदेशमै जन्मिएर विदेशी नागरिकता लिएका दोश्रो तथा तेश्रो पुस्ताका एनआरएनहरूले मात्र गर्नेछन् । पहिलो पुस्ताका नेपालीहरूले एनआरएनए संचालन गर्नेछन् भने नेपालसँग सद्भाव राख्ने, खासगरिकन एनआरएनहरूसँग सहकार्य गरेर नेपाल र एनआरएनहरूको हितमा सहकार्य गर्न चाहने विदेशीहरूले एनआरएनहरूँंग मित्रता र सहकार्यका आधारमा नेपाल फ्रेन्डसिप काउन्सिल सञ्चालन गर्नेछन् । यो फ्रेन्डसिप काउन्सिलमा विदेशीहरू र विदेशमै जन्मिएका दोश्रो पुस्ताका नेपाली मूलका एनआरएनहरू सक्रिय सदस्य हुनेछन् भने हामी पहिलो पुस्ताका एनआरएनहरू पर्यवेक्षकको रूपमा रहनेछौं ।
एनआरएनए सक्रिय छँदाछँदै फेरि किन नेपाल फ्रेन्डसिप काउन्सिलको आवश्यकता पर्यो ?
एनआरएनएमा हामी पहिलो पुस्ताका नेपालीहरूमात्रै सक्रिय छौँ । यसमा हामीलाई जे आउँछ त्यही गर्छौं । समाजसेवा, राजनीति, पद, प्रतिष्ठा, आपसी भातृत्व, भाषण, भेला, सांस्कृतिक मनोरन्जन आदि इत्यादि । नियमकानुनका कुराहरू कम, अनि भावनाका कुराहरू बढी । अर्थात राम्रा, नराम्रा सबै कुराहरू यसमा पर्दछन् । समग्रमा भन्दा हामीले एनआरएनएलाई नेपालमय बनाएका छौं र हाम्रा लागि यो हरेक देशमा नेपालको प्रतिबिम्बजस्तै भएको छ । यो नेपालमय बनाउने कुरा हाम्रा लागि त राम्रै पनि होला । तर के यो नेपालमय एनआरएनए हाम्रा सन्ततिको पनि समाज बन्न सक्छ त ? त्यस्तो कदापि हुन सक्दैन ।
के विदेशमा जन्मेका हाम्रा सन्तानहरूको समाज अहिलेको एनआरएनए समाज हो त ? के हाम्रा सन्तानहरू हामीजस्तै शत प्रतिशत नेपाली बन्न सक्छन ? यो प्रश्नमा हामी सबैको छोटकरी उत्तर एउटै हुन्छ– सक्तैनन् । त्यसो भए के उनीहरू विदेशी समाजसँग मात्र सरोकार राख्छन त ? त्यसको उत्तर पनि ‘होइन’ भनेर छोटकरीमा दिन सकिन्छ । जस्तो कि मेरा सन्तति जर्मनीमा जन्मिएर हुर्किंदैछन् । अब उनीहरु न त शतप्रतिशत नेपाली नै हुन् न त जर्मन नै । त्यसैले म आज प्रश्न गरिरहेको छु, मेरा सन्ततिहरूलाई आफ्नोपन महसुस हुने त्यो नेपाल–जर्मन मिश्रित समाज खै कहाँ छ ? तर, उत्तर मसँग छैन ।
हाम्रा सन्ततिहरूलाई मिश्रित समाज चाहिएको छ । के हाम्रा सन्ततिको भविष्यलाई हेरेर नेपाली र विदेशी संस्कृतिको सम्मिश्रण भएको मिश्रित समाज बनाउन पहल गर्ने कि नगर्ने ? इतिहासले सुम्पेको नेपालीहरूको प्रवासी समाज निर्माण गर्ने यो ऐतिहासिक दायित्व पूरा गर्न नेपाल फ्रेन्डसिप काउन्सिलको आवश्यकता परेको छ । जसरी एउटा सिक्का बन्न त्यसका दुई पाटाहरू चाहिन्छन्, ठीक त्यसरी हाम्रा सन्ततिका लागि चाहिने समाज बनाउन दुइटै पक्षको आवश्यकता छ । हामी पहिलो पुस्ताका नेपाली र हामीसँग सहकार्य गर्न चाहने विदेशीहरू समाजको एउटा पाटोमात्रै हो । यो सिक्काको दोश्रो पाटोको रूपमा विदेशीहरूको मिश्रित समाज बनाउन आवश्यक छ । त्यसैले हामी बसेकै देशमा बसोबास गर्ने अनि नेपाललाई बुझ्ने र माया गर्ने विदेशीहरूलाई समेत समेटेर नेपाल फ्रेन्डसिप काउन्सिल बनाउनुपर्छ ।
नेपाल फ्रेन्डसिप काउन्सिल गठनवाट हुने अरू फाइदा के–के छन् ?
नेपाल फ्रेन्डसिप काउन्सिल गठन भैसकेपछि यसले एनआरएनएलाई आर्थिक रूपमा पूर्ण सबल बनाउनेछ । चन्दा उठाएर बाँच्नुपर्ने दिनको अन्त्य हुनेछ । हरेक देशमा ‘इमिग्रेन्ट्स’को मुद्दामा सहयोग पुर्याउन प्रशस्त सरकारी ‘फन्ड’ हुन्छन् । तर हामीसँग अहिले भाषाको समस्या, कार्यशैलीको समस्या र अन्य विभिन्न कारण ती ‘फन्ड’मा पहुँच छैन । तर, फ्रेन्डसिप काउन्सिल भएमा त्यहाँका विदेशी मित्रहरूले ती सरकारी फन्डहरूमा पुग्ने बाटो देखाएर हाम्रो पहुँचलाई सरल बनाइदिनेछन् । अनि हामीले चन्दा मागेर वा ठुलो–ठुलो रकमको उम्मेदवारी शुल्क लगाएर एनआरएन चलाउनुपर्ने दिनहरूको अन्त त हुने नै छ साथसाथै नेपालमा सामाजिक कार्यहरू सञ्चालन गर्न प्रशस्त ‘फन्ड’ पनि मिल्न सक्नेछ ।
जस्तो कि जर्मन सरकारले ‘इमिग्रेन्टस’मार्फत उनीहरूको मुल देशमा परोपकारी कार्यमा वर्षेनी ५० हजार युरो बराबरको सहयोग गर्न सक्छ । तर त्यसका लागि लेखपढ गर्नुपर्ने धेरै बिषयहरू हुन्छन र जर्मनमै प्रोजेक्ट तयार गर्नुपर्ने हुन्छ । टुरिज्म र आर्थिक लगानीको क्षेत्रमा पनि हामीहरू फ्रेन्डसिप काउन्सिलमार्फत निकै ठुलो फड्को मार्न सक्छौँ ।
के विदेशीहरूलाई एनआरएनएमै समेटेर अघि बढ्न सकिँदैन ?
यो प्रश्नको उत्तर मैले भन्दा पनि अग्रज अभियन्ता मित्रहरूले राम्रोसँग दिन सक्नुहुन्छ जस्तो लाग्छ । तर मैले बुझेअनुसार विदेशीहरूलाई एनआरएनएमा समेट्न नेपालको कानुनले दिँदैन । नेपालको कानुनले नदिएपछि उनीहरूले आइसिसीका गतिविधिमा भाग लिन पाएनन् । आइसिसीका गतिविधीमा भाग लिन नपाए एनसिसीमा देशी र विदेशी गरि दुइ थरि सदस्यता राख्नुपर्ने भयो, जुन ‘डिस्क्रिमिनेसन’ अर्थात भेदभावको चरम नमूना हुन जान्छ । मान्छेले सबै सहन्छ, तर भेदभाव सहन सक्दैन ।
यसपालि जर्मनीमा यस्तै भयो । एक जना एनआरएनकी श्रीमती तर जर्मन मूलकी महिलाले एनसिसीमा उपाध्यक्ष हुन चाहनुभयो र आफ्नो उम्मेदवारी पनि दिनु भयो । नियमअनुसार उहाँलाई एनआरएनएको सदस्यता दिन मिलेन । अनि स्थानीय नियमअनुसार र नेपाली परम्पराअनुसार उनको उम्मेदवारी रद्द गर्न पनि मिलेन । परिवारका एक सदस्य बाबुले एनआरएनएको सदस्यता लिन मिल्ने, अनि परिवारके अर्को सदस्य आमाचाहिँ सदस्य बन्न नमिल्ने ? आमाले विदेशी भएपनि सहयोग भने गरिरहनु पर्ने ? यो अवस्थामा उहाँका छोराछोरीहरूले हाम्रो अपूर्ण संरचनाका कारण कस्तो भेदभाव महसुस गरे होेलान ? एकछिन सोचौँ त ! म स्वयं उक्त एनसिसीको निर्वाचन प्रमुख संयोजक भएकोले सवै प्रत्यक्ष भोगेँ । के गर्ने ? के नगर्ने ? केही थाहा भएन ।
सधैँभरि असमानता र भेदभावको विरुद्धमा अवाज उठाउने मान्छे यसपाली विदेशी मूलकी ती नेपाली आमालाई सम्मानका साथ एनसिसीको उपाध्यक्ष पदमा स्वागत गर्न सकिएन । केही गर्न नसकेर लाचारीपन देखाउन परेकोमा निकै ठुलो पीडा महसुस गरेँ । त्यसैले एनआरएनएमा नेपाली र विदेशीलाई एकसाथ सदस्य बनाउन सकिने अवस्था छैन ।
विदेशीहरूलाई एनआरएनएमै समेट्न नसकिने अरू थप कारणहरु पनि छन कि ?
विदेशीलाई एनआरएनएमा संगठित गर्न नसकिने अरू पनि धेरै कारणहरू छन् । जस्तो कि भाषागत, शैलीगत कारणहरू । विदेशीले ‘वियोन्ड २०२०’ मा भनेजस्तो अंग्रेजीमा मात्र सम्वाद गर्न खोज्लान् । हामी नेपालीमा सम्वाद गर्छौं । विदेशीले सबै योजनामा चल्न खोज्लान्, हामी हाम्रा काम गर्ने शैली नेपालको जस्तै राख्न चाहन्छौं । कुरा गर्ने, छलफल गर्ने, झगडा गर्ने र अन्त्यमा केही सीप नलागे मात्र बल्ल सहमति गर्ने । यी सबै पक्षलाई केलाएर हेर्दा नेपाली र नेपालसँग सहकार्य गर्न चाहने विदेशीहरूलाई सँगै संगठित गरेर अघि बढ्ने हो भने एनआरएनए र नेपाल फ्रेन्डसिप काउन्सिल समानान्तर किसिमले चलाउनु पर्दछ ।
एनआरएनए र नेपाल फ्रेन्डसिप काउन्सिलको सदस्यता एक साथ वितरण गर्ने व्यवस्था गरौँ । नेपाली मूलका भए सदस्यतामा एनआरएनए लेखौँ , विदेशी मूलका भए नेपाल फ्रेन्डसिप काउन्सिल (एनएफसी) लेखौँ । यसरी बाहिर हेर्दा नेपाल फ्रेन्डसिप काउन्सिल र एनआरएनए एउटै जस्तो पनि देखिन्छ, कहिलेकाहिँ यिनीहरू दुवैका उद्देश्य एउटै हुन्छ । तर नेतृत्व तहमा भने एउटामा नेपालीहरू बस्छन् भने अर्कोमा विदेशीहरू ।
अन्त्यमा,
गैरआवासिय नेपाली संघलाई आधुनिकीकरण गर्ने हो र नयाँ भिजनका साथ अघि बढाउने हो भने फ्रेन्डसिप काउन्सिलको अवधारणा लाई लागू गर्न उपयुक्त देखिन्छ । यसैले आदरणीय अग्रज एनआरएनए अभियन्ताज्यू तथा सहकर्मी साथीहरूलाई यो अवधारणालाई एनआरएनएको सम्मेलनमा एजेन्डा बनाएर विधानमा नै फ्रेन्डसिप काउन्सिलको व्यवस्था गर्न पहल गरिदिन हुन अनुरोध गर्दछु ।