Logo

२८ कार्तिक २०८१, बुधबार

बद्रीका बाह्र प्रतिबद्धता

डा. बद्री केसीले गरे एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेशनमा आगामी कार्यकाल (सन् २०२३–२५)का लागि डा. बद्री केसीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
जुममार्फत गरिएको कार्यक्रममा उनले बहालवाला कार्यकारी अध्यक्षको हैसियतले मतदाता नामावली मंगलबार प्रकाशित गरिसकेपछि बुधबार आगामी कार्यकालका लागि उम्मेदवारी घोषणा गरेको बताए ।
उम्मेदवारी घोषणा गर्दै उनले आफ्ना आगामी कार्यकालका महत्वाकांक्षी योजनासमेत सार्वजनिक गरेका छन् । कार्यक्रममा उनले प्रतिबद्धता व्यक्त गरेलगत्तै महासचिवमा गौरीराज जोशी र अन्य पदमा विभिन्न उम्मेदवारले आफ्नो मन्तव्यसहित उम्मेदवारी सार्वजनिक गरेका थिए ।

प्रस्तुत छ घोषणाका क्रममा डा. केसीले दिएको अभिव्यक्तिको सम्पादित सारः

पृष्ठकथाः
काठमाडौंको फर्पिङमा जन्मिएर युवा उमेरमा अध्ययनका सिलसिलामा रसिया पुगियो । बायोटेक्नोलोजीमा पिएचडी गरेर व्यवसाय गरिरहेको मैले रसियामा ३३ वर्ष बिताइसकेछु ।
गैरआवासीय नेपालीको हितमा काम गर्ने संस्थाको आवश्यकता छ भन्ने प्रारम्भिक छलफलदेखि नै म सहभागी छु । सन् २००३ मा भएको अन्तर्राष्ट्रिय महाधिवेशनमा पनि म सहभागी भएको थिएँ । एनआरएनएको सन्दर्भमा रसिया ऐतिहासिक छ, जहाँ पहिलो राष्ट्रिय समन्वय समिति (एनसिसी)बनेको थियो, त्यसमा पनि म सहभागी थिएँ । त्यसयता अहिले जति पनि देशमा समन्वय समिति बनेका छन्, तिनको स्थापनामा कुनै न कुनै भूमिका मेरो पनि रहँदै आएको यहाँहरूलाई विदितै छ । यसरी हेर्दा एनआरएनएको साधारण सदस्यदेखि विभिन्न पद हुँदै अहिले तीन जना अध्यक्ष भएको कार्यकालको पछिल्लो कार्यकारी अध्यक्षको रूपमा यहाँहरू समक्ष उपस्थित छु ।

इमान्दार सिपाही
मैले यो संस्थाको सम्पूर्ण उतारचढाव देखेको छु, महसुस गरेको छु । मलाई सम्झना छ, सन् २०१३ मा म कोषाध्यक्ष हुँदासम्म संस्थाको आर्थिक स्थिति निकै कमजोर थियो, अझ भनौं दयनीय नै थियो । कर्मचारीलाई तलब दिन पनि सहयोग माग्नुपर्ने स्थिति थियो । त्यही बेलामा मैले आर्थिक स्थायीत्वको अवधारणा अघि सारेँ । त्यो अवस्थालाई हामीले सुधार्‍यौं । अहिले यसले अरबौंको काम गरिसकेको छ, गर्न सक्ने भएको छ । यी तथ्यहरूबाट मैले के भन्न खोजिरहेको छु भने एनआरएनएको विकासको लागि म अनवरत इमान्दार सिपाहीको रूपमा काम गरिरहेको छु ।
मलाई सम्झना छ, भारतले नाकाबन्दी गरेको बेलामा महाधिवेशन हुँदा हामीले नै पेट्रोलको अभाव झेल्नुपर्‍यो । हामीले संसारको ४० भन्दा बढी देशमा विरोध प्रदर्शन गर्यौं । म महासचिव भएको बेला भएकाले अन्तराष्ट्रिय दवाब पैदा गर्नका लागि पहल गर्न सकेँ । संयुक्त राष्ट्रसंघको मुख्यालयमा हामीले प्रदर्शन गर्यौं । बेलायतमा त प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण हुँदा कालो झण्डा नै प्रदर्शन गर्यौं । भारतीय कुटनीतिक नियोग भएका ४० भन्दा बढी देशमा प्रदर्शन गरियो ।
त्यस्तै, भूकम्पको बेलामा पनि हामीले पैसा र राहत सामग्री दुवैको जोहोमा मिहिनेत गर्यौं । दुई महिना त म आफैं खटेर सेवा गरेँ । पुनर्निर्माणको क्रममा लाप्राक बस्ती बनाउन सफल भयौं ।
कोभिड सबै मानवको लागि परीक्षा थियो, मेरो लागि त झन् ठूलो परीक्षा थियो । पारिवारिक रूपमा म पनि विक्षिप्त थिएँ, तर पनि म त्यो अवस्थाबाट नेपालीलाई जोगाउन लागिरहेँ । विश्व श्रम संगठन (आइएलओ)लगायतका संघसंस्थामा मलगायतका साथीहरूले लेखेको प्रस्तावनाका कारण १० करोडको सहयोग पायौं । दुई लाखभन्दा बढी उदर । ५० भन्दा बढी देशमा कार्यक्रम गर्यौं । २८ सयलाई टिकट काटेर नेपाल फार्कायौं । २८ हजारलाई राहत दियौं । अक्सिजनको अभाव भएको बेलामा अक्सिजन सिलिन्डर पठाउन सफल भएका थियौं ।

अनलाइन भोटिङको संघर्ष र सफलता
सन् २०२१ को कार्यकालमा मैले अध्यक्ष उम्मेदवारी दिएँ । मतान्तरमा म धेरै अगाडि देखेकै कारण होला, किटेरै भन्न त सक्दिनँ तर निर्वाचन हुन सकेन । त्यो कार्यकालमा चुनाव नहुँदा संस्था नै ‘डिरेल’ भयो । तर पनि संस्था नटुटोस् भनेर हामीले त्याग गर्यौं । अहिले पनि हामी असन्तुष्ट साथीहरूलाई सँगै लिएर जान प्रतिबद्ध छौं ।
कतिपय सन्दर्भमा गल्ती भएका थिए, तर हामीले ती गल्ती सच्याइसकेका छौं । सुरुमा त सदस्य बनाउने क्रममै गल्ती भएको थियो । विना कुनै प्रमाणिकरण (भेरिफिकेसन) आफैंले आफूलाई सदस्य बनाउने प्रवृत्ति नै गलत थियो । अहिले हामीले ‘फेसियल भेरिफिकेसन’ गरेर धेरै राम्रो गरेका छौं ।
अवश्य पनि हो, गल्ती त्यही कारण भएको थियो, त्यो समस्या भोगिएकै हो । कतिपय एनसीसीमा उम्मेदवारले आफ्नै कम्प्युटरबाट आफैंले मत बनाउने र आफैंले भोट हाल्ने गरे । त्यस्तो बानी परेका साथीका बीच ‘भेरिफिकेसन’ गर्नु सजिलो थिएन । तर हामीले यसलाई चुनौतीका बीच लागू गर्यौं । ११ वटा एनसिसीमा अनलाइन भोटिङ भयो । परिणाम जे आए पनि साथीहरूले पारदर्शिताका सन्दर्भमा खुसी व्यक्त गर्नुभएको छ, यो हाम्रो पनि पारदर्शिताको उदाहरण रह्यो । अब भेरिफिकेसन प्रक्रियासहित सदस्य बनेका ५९ वटा देशका साथीहरूबाट ४२०० भन्दा बढी ‘डेलिगेट्स’ छानिइसक्नुभएको छ । र, ती ‘डेलिगेट्स’को अन्तिम नामावली मंगलबार प्रकाशित भयो ।
अब हुने अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसी)को निर्वाचनमा पनि ‘फेसियल भेरिफिकेसन’सहितको अनलाइन चुनाव हुन्छ ।
डेलिगेटस्को अन्तिम नामावली प्रकाशन नभइ मैले आफ्नो उम्मेदवारी घोषणा गरिनँ । किनकि, संस्था चुनावी उपयोगका लागि होइन, आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्ने दायित्वबोधका लागि हो । त्यसैले अन्तिम नामावली आएको भोलिपल्ट अर्थात आजमात्रै मैले आफ्नो घोषणा सार्वजनिक गरेको हुँ ।
हामीले यसपटक महिला र युवा साथीहरूलाई प्रोत्साहित गर्न मनोनमय शुल्कमा ७५ प्रतिशतसम्म शुल्क कम गरेका छौं । अर्कोचाहिँ यो संस्थालाई धनीहरूको संस्था भन्ने आरोप लाग्ने गरेको छ । खासमा यो संस्था गरिबलाई धनी बनाउन सिकाउने संस्था हो । तथापि मनोनयन शुल्ककै कारण कतिपय साथीहरू उम्मेदवार हुन नै हिच्किचाउनु पर्ने अवस्था थियो । त्यसैले धेरै विरोध हुँदा–हुँदै हामीले समग्रमै उम्मेदारी शुल्क ५० प्रतिशत घटाएका छौं । त्यस्तै, भोट हाल्ने क्रममा जहाजको टिकटदेखि होटलको खर्चसमेत व्यहोर्नुपर्ने झन्झटले उम्मेदवार र प्रतिनिधि दुवैलाई समस्या पारेको सन्दर्भमा आलोचना भइरहेको थियो । त्यसैले अहिले भोट हाल्न काठमाडौं जानैपर्ने अनिवार्यताको अन्त्य गरेका छौं । अब इच्छाले सहभागी हुन जान सक्ने र चाहनेमात्र काठमाडौं जाने, नत्र आफू बसेकै ठाउँबाट अनलाइनमार्फत भोट हाल्न सकिन्छ ।
अर्कोचाहिँ सबैले भोट हाल्न पाउनुपर्ने नारा हामीले पहिलेदेखि नै लगायौं । तर, त्यसो आधार भने अहिले ‘फेसियल भेरिफिकेसन’बाट सदस्य बनेपछि मात्र तयार भएको छ । अब अहिलेका ९८ हजार ६०० होस् वा ९८ लाख नै किन नहोस्, सबैले भोट हाल्न सक्ने आधार बनेको छ । यो पूर्वाधार बनेपछि अब अर्कोपटक डेलिगेट बनाउने झन्झट गर्नुपर्दैन । डेलिगेट बनाउने सन्दर्भमा पनि धेरै विवाद भएका छन्, अब त्यो पनि समाधान हुन्छ । अब आउने नेतृत्वको कार्यकालमा यसका लागि उपयुक्त हुनेगरि विधान पनि सच्याउनुपर्ने हुन्छ । त्यसो गर्न म र मेरो टिम प्रतिबद्ध छ ।

अघिल्लो कार्यकालका उपलब्धि
यो कार्यकालमा नागरिकताको विषय सम्बोधन भएको छ । सन् २०१४ बाट छलफल सुरु गरेको सामाजिक सुरक्षा कोष पनि लागू भएको छ । त्यस्तै १०० मिलियन डलरको कोषको काम पनि यही कार्यकालबाट सुरु गरयौं । यसरी हेर्दा जम्बो टिम बनेको भए पनि हामीले विवादलाई थाती राखेर सक्ने काम गर्यौं, झगडा गरेनौं । त्यसैले अब यो निर्वाचनको वातावरण सम्भव भएको छ ।
अहिले हामी ४० लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा छौं । सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगारी आजको अपरिहार्यता हो । सामाजिक सुरक्षा कोष भर्खर सुरु भएको छ । अनिवार्य जोडिनुपर्नेहरू बाहेक अन्य जोडिन सक्नुभएको छैन । सामाजिक सुरक्षा कोषको फि निकै चर्को छ । सामाजिक सुरक्षा कोषले एउटा बीमा गर्छ अनि श्रम स्वीकृति लिँदा अर्को गर्नुपर्ने हुन्छ । यस्ता जटिलताका विषयमा सरकार र मन्त्रालयसँग मिलेर सच्याउन जरुरी छ । सामाजिक सुरक्षा कोषले विदेशमा बसेर फर्किंदा पेन्सन हुने गरी सुविधा दिन्छ । त्यसैले यस विषयमा उचित नियमकानूनसहित लागू गर्नु आवश्यक छ । विदेशमा काम गरेर फर्किंदा बुढेसकालमा पेन्सन हुने व्यवस्था गैरआवासीय नेपाली संघको पहलमा जसरी गर्न सकियो, यो राम्रो भएको छ ।

अबका कार्यभार र प्रतिबद्धता
विदेशमा काम गर्दा हामीले धेरै सीप सिकेका हुन्छौं । त्यसलाई नेपालमा प्रयोग गर्नुछ भने विदेश जाँदा सीप सिकाएरमात्रै पठाउन सकिएमा राम्रो आम्दानी हुन्छ । यस विषयमा पनि हामीले काम गर्नुछ ।
वैदेशिक रोजगारीको सिलसिलामा महिला साथीहरूको निकै समस्या झेलिरहनु परेको छ । मानव तस्करीको समस्या जल्दाबल्दो छ । यो अवस्थाको अन्त्य गर्न नेपाल सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

१. नेपालले गर्व गर्ने कम्पनी स्थापना
संघको स्थापनाकालदेखि नै नेपालमा लगानी मूल विषय रहिरह्यो । अग्रजहरूले ठूलो लगानी पनि गर्नुभयो । त्यस्तै सामूहिक लगानीको रूपमा एनआरएन इन्फ्राइस्ट्रक्चर कम्पनी उदाहरणको रूपमा स्थापना भएको छ, जसले हाइड्रोलगायत धेरै क्षेत्रमा लगानी गरेको छ । त्यसमा हजारौं नेपाली जम्मा भएका छन् । अब, हजारौं होइन, लाखौं अझ दसौं लाख नेपालीहरूलाई एकै ठाउँमा जम्मा गरेर अरबौं–करोडौं होइन दश हजार–बीस हजारसमेत लगानी गर्ने वातावरण तयार भएको छ । मध्य पूर्वमा रहेका, मलेसियामा रहेका र अमेरिका– अस्टे«ेलियामा रहेका नेपालीले एकै ठाउँमा लगानी गर्ने आधार तय भएको छ । एनआरएनए नेपाल डेभलपमेन्ट फन्डमार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीले एकैठाउँमा लगानी सक्ने वातावरण बनाउन नेपाल सरकारसँग मिलेर विद्यमान कानून सच्याएर काम भइरहेको छ ।
अबको कार्यकालमा सबै गैरआवासीय नेपालीले विदेशबाटै डिम्याट एकाउन्ट खोलेर फन्ड आबद्ध हुन सक्ने व्यवस्था मिलाउँछौं । यो कम्पनी नेपालकै सबैभन्दा ठूलो इन्भेस्टमेन्ट कम्पनी हुनेछ । जुन नेपालमा मात्रै नभइ सिंगापुर, युके र अमेरिकामा ‘लिस्टिङ’ हुन्छ । अनि, गैरआवासीय नेपालीेले स्थापना गरेको कम्पनी नेपालले गर्व गर्ने कम्पनी बन्छ । त्यसमा सर्वसाधारण गैरआवासीय नेपाली मालिक हुन्छन् । अबको दुई वर्षमा यो पूरा हुन्छ ।

२. दश लाख सदस्य
संस्थाको पुनर्संरचना गर्नु आवश्यक छ, सुदृढिकरण गर्नु आवश्यक छ । यसपटक हामीले नारा तय गरेका छौं– ‘समृद्धि र रुपान्तरण’ । हामी हरेक सेकेन्ड परिवर्तन हुनु आवश्यक छ । पञ्जिकृत सदस्यता वितरणका सन्दर्भमा होस् या अनलाइन भोटिङमा सन्दर्भमा, हामीले स्मार्ट एनआरएनको कार्यक्रम लिएर आएका छौं । यसलाई अबका दिनमा अझै प्रभावकारी बनाएर कमसेकम अबको कार्यकालमा दश लाख एनआरएनलाई पञ्जिकृत सदस्य बनाउँनेछौं ।
सुरुमा ‘फेसियल भेरिफिकेसन’मा सबैले गाह्रो मानेका थियौं । तर जब यसो गर्दा नक्कली सदस्य बन्न मिल्दैन भन्ने भयो, त्यसपछि संस्थाप्रति विश्वास पनि बढेको छ । त्यसैले तीन महिनाभित्रमा ९८ हजारभन्दा बढी सदस्य बनेका छौं । अब सदस्यतालाई १२ महिना २४ घन्टा खुल्ला बनाउनेछौं, जसमार्फत हामीले दश लाख एनआरएनएलाई पञ्जिकृत गराउने लक्ष्य पूरा हुनेछ ।

३. सबैलाई चिन्ने र अधिकार दिने ऐन निर्माण
गैरआवासीय नेपाली संघ त्यस्तो संस्था हो, जसले आफ्नो भाग्यरेखा आफैंले कोरेको छ । सन् २००३ मा हामी जम्मा हुँदा गैरआवासीय नेपाली अभियानको रूपमा जम्मा भएको थियौं । त्यतिबेला संस्थाको नाम के राख्ने भन्नेसमेत तय भएको थिएन । सुरुमा प्रवासी नेपाली संघ राख्ने भन्ने छलफल चलेको थियो । तर, अन्ततः यो गैरआवासीय नेपाली संघ नाम राखियो । पहिलो महाधिवेशन गर्दा हामीले अभियानकै रूपमा गर्यौं । सन् २००७ मा गैरआवासीय नेपाली ऐन आयो । त्यसपछि वैदेशिक रोजगारमा गएका नेपालीलाई मात्रै त्यो ऐनले गैरआवासीय नेपालीका रूपमा चिन्छ । अहिले पनि विद्यार्थीलाई त्यो ऐनले गैरआवासीय नेपालीका रूपमा चिन्दैन । अहिलेसम्म पनि हामीले गैरआवासीय नेपालीको परिभाषालाई त्यो हदसम्म फराकिलो पार्न सकेका छैनौं । ऐन बनाउने बेला त्रुटी भएको थियो, हामीले त्यो परिभाषा नसच्याएसम्म संस्था नै दर्ता गर्दैनौं भनेर काम गरिरहेका थियौं । तर गतिविधि गर्नलाई विभिन्न व्यवधान देखिने कारण सन् २०१३ मा संस्था दर्ता गर्यौं ।
सन् २०१७ मा म महासचिव हुँदा निकै घच्घच्याएपछि कानून आयोगले ऐन परिमार्जन गर्दैछ । तर, यसमा परिभाषामात्रै होइन, गैरआवासीय नेपालीको हकहित र अधिकारको कुरा पनि परिमार्जन गर्नु आवश्यक छ । सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार के हो भन्ने स्पष्ट पारिनु आवश्यक छ । नेपाली नागरिकता लिने गैरआवासीय नेपालीको अधिकार के हुने, एनआरएन कार्डमात्र लिनेको अधिकार के हुने भन्ने पारिनुपर्छ ।
म्यानमार, थाइल्याड र मलेसियाजस्ता ठाउँमा भएका नेपालीहरू जो गैरआवासीय हुँदा नेपालमा नागरिकता दिने चलनै थिएन, उहाँहरूले आफ्नो तीन पुस्ते नेपाली भएको प्रमाण जुटाउन सक्नुहुन्न, उहाँहरूलाई पनि गैरआवासीय नेपालीको रूपमा नेपालको समृद्धिसँग जोड्नुपर्छ । त्यसको लागि ऐनले सम्पूर्ण हकअधिकारको कुरा स्पष्ट पार्नुपर्छ । अबको कार्यकालमा हामीले ऐनलाई यी स्पष्टतासहित संसोधन ल्याउन भूमिका निर्वाह गर्नेछौं ।
अहिलेलाई हामीले एनआरएन नागरिकतालाई स्वीकारेका छौं । तर, यो संक्रमणकालीन चरणको स्वीकृति हो । हामीले चाहेको वंशजको आधारमा नागरिकता नै हो । यसका लागि संस्थाले पहल गर्न कहिल्यै छोड्ने छैन ।
अर्को महत्वपूर्ण कुरा, पुराना गैरआवासीय नेपाली भनेका गोर्खाज नै हुन् । सुगौली सन्धीपछि लाखौंको संख्यामा सेनाका रूपमा इन्डिया र इङन्ल्याड पुगेका नेपालीको रगतले वीरताको गाथा कोरेको छ र त्यसैले नेपाललाई चिनाइराखेको छ । उहाँहरूको पनि वंशजको आधारमा नागरिकता हुनुपर्छ भन्ने माग छ । संघ स्थापना हुँदादेखि नै ‘एकपटकको नेपाली सँधैको नेपाली’ भन्ने नारा छ । त्यसैले हामी पूर्ण अधिकारसहितको नागरिकताका लागि अथक पहल गर्नेछौं ।

४. मताधिकारको सुनिश्चितता
अहिले हामी ८० लाखभन्दा बढी नेपाली प्रवासमा छौं । अधिकांशले नेपाली नागरिकता नै बोकेर बसेका छौं । सर्वोच्चले विदेशमा बसेका नेपालीलाई भोट हाल्ने अधिकार दिनू भनेर आदेश दिएको वर्षौं भइसक्यो । हामीले त्यसका लागि निर्वाचन आयोगमा धेरै वर्षदेखि पहल गरिरहेका छौं । हामीले भनेका छौं, मतदाता नामावली संकलन गर्न गैरआवासीय नेपालीले सहयोग गर्छ । अब २०८४ सालमा हुने निर्वाचनमा नेपाली नागरिकता भएका नेपालीले कमसेकम समानुपातिकमा आ–आफू बसेको देशबाट भोट गर्न पाउनुपर्छ । हुन त संघ राजनीतिक संगठन होइन, तर भोग हाल्न पाउने नैसर्गिक अधिकार भएका सदस्य यस संस्थामा छन् । जसले नेपालमा अब्बल उम्मेदवार जिताएर नेपालको राजनीतिलाई सबल बनाउँदै नेपालको मुहार फेर्न आफनो नैसर्गिक अधिकार प्रयोग गर्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसका लागि मेरो नेतृत्वको टिमले अग्रणी भूमिका खेल्नेछ ।

५. ज्ञान र सीपको लगानी
हामीले आर्थिक लगानीका कुरा धेरै गर्यौं । तर विदेशिएका लाखौं नेपाली प्रबुद्ध छन्, अक्सफोर्डमा पढाउनेदेखि लिएर संसारका विख्यात विज्ञान–प्रविधिका क्षेत्रमा काम गरिरहेका छन् । उहाँहरूले जानेको सीप र ज्ञानलाई नेपालमा लगानी गर्नुपर्छ । त्यसका लागि प्राज्ञिक चिन्तनका साथ प्रविधिको साथ लिएर जुन देशमा बसेर पनि नेपालसँग जोडिसक्ने बनाउनु आवश्यक छ । त्यसका लागि हामी भूमिका खेल्नेछौं ।

६. सबै रिजनमा फाउन्डेसन
हाम्रो अर्को पहिचान भनेको ‘च्यारिटी’ पनि हो । नेपालमा भएका हरेक घटनामा हामीले सहयोग गरेका छौं, हरेक घाउमा मल्हम लगाएका छौं । तर त्यो सहयोग बगलीको पैसाबाट गरिरहेका छौं । त्यसका लागि फाउन्डेसन बनाएर संसारका छ वटै ‘रिजन’मा दर्ता गर्ने हो भने हाम्रो बगलीको पैसा त ‘इक्विटी’मात्रै हुन्छ । त्यसको कयौं गुणा बढी ‘फण्ड’ संकलन गर्न सक्छौं र त्यही खालको सहयोग गर्न सक्छौं । त्यसैले अब छवटै ‘रिजन’मा फाउन्डेसन खडा हुन्छ । नेपालमा एनआरएन फाउन्डेसन खडा भइसकेको छ । अब तिनीहरूमार्फत ‘फन्ड जेनेरेसन’ गरेर हामी नेपालमा मात्रै होइन, हामी बसेको आ–आफनो देशमा विभिन्न समस्या परिरहेको हुन्छ, त्यहाँ पनि ‘च्यारिटी’ गर्न सक्ने भएर काम गछौं ।

७. हरेक देशमा नेपाली कल्चर सेन्टर
संघ स्थापना हुँदादेखिकै सबैभन्दा ठूलो चाहना भनेको नेपाल र नेपालीको पहिचान जहाँ बसेपनि जोगाइरहनुपर्छ भन्ने हो । नेपाली भाषा, संस्कृति र साहित्य हामी बसको ठाउँमा प्रबद्र्धन गर्नु त छँदैन, विदेशीमार्फत पनि प्रबद्र्धन गर्नुपर्छ । धेरै विकसित राष्ट्रको आ–आफ्नो कल्चर सेन्टर छन् । तर हाम्रो नेपालको ३९ देशमा नियोग छन्, तर कल्चर सेन्टर छैन । अब गैरआवासीय संघ नेपाली कल्चर सेन्टर बन्नुपर्छ । यसमा संघले बजेटै छुट्याएर कार्यक्रम गर्छ ।

८. पर्यटनमा ‘म्याजिक मिलियन’
नेपालको मुहार फेर्ने अर्को आधार भनेको पर्यटन हो । त्यसका लागि नेपाली व्यवसायी र सरोकारवालासँग सहकार्य गर्नुपर्नेछ । विदेशमा रहेका नेपालीमात्रै नेपाल फर्के, हाम्रा बालबच्चामात्रै अन्य ठाउँमा ‘होलिड’े बनाउन जानुभन्दा नेपाल नै गए र हाम्रा साथीहरूलाई मात्रै नेपाल पठायौं भने पनि नेपालको पर्यटन आफैं विकास हुन्छ । अहिले एक ‘मिलियन’ पर्यटक भित्र्याउन सरकारले धेरै मिहिनेत गरिरहेको छ । तर, असी लाख नेपाली विदेशमा छन्, त्यसमध्ये दश लाखलेमात्र एक जना नेपाल पठाउन सक्ने हो भने एकैचोटी पर्यटकको संख्या ‘मिलियन’ पुगिहाल्छ । संघले यसमा भूमिका खेल्नेछ ।

९. महिला र युवालाई प्राथमिकता
महिला र युवा संस्थाका मेरुदण्ड हुन् । जसबिना अभियान अपूरो हुन्छ र कतै गरेर टुंगिन्छ । त्यसैले संघमा महिला र युवालाई अझ बढी सहभागी गराउन विशेष कार्यक्रम गरिनेछ । एनआरएनए युथ समिट, अन्तर्राष्ट्रिय महिला सम्मेलन गरेर महिला र युवालाई संस्थाप्रति आकर्षित गरिनेछ र जिम्मेवारी पनि दिइनेछ ।

१०. खेलमार्फत नेपालीको मेल
हजारौं खेलप्रतिभा भएका नेपाली विदेशमा हुनुहुन्छ । धेरै गैरआवासीय नेपालीका सन्तान खेलकुदमा सफल हुनुहुन्छ । उहाँहरूलाई नेपालको खेलकुदमा जोड्नका लागि हामीले म महासचिव हुँदा एनआरएन टिमको रूपमा प्रवेश गराइएको थियो । जसले आठौँ र नवौं राष्ट्रिय खेलकुदमा भाग लियो । त्यसमालाई अझ प्रभावकारी बनाउनुपर्छ । विदेशमा भएका नेपाली खेलाडीलाई नेपालका खेलाडीसँग जोड्नुपर्छ । त्यसका लागि एनआरएन खेलकुद प्रतिष्ठान स्थापना भइसकेको छ । त्यसलाई व्यवस्थित गर्न बजेट नै छुट्याएर प्रभावकारी र व्यवसायिक बनाउनुपर्ने छ । एनआरएनलाई खेलकुदमार्फत नेपालमा जोड्ने कार्यक्रम ल्याउनु पर्नेछ ।

११. युएन र अन्य अन्तराष्ट्रिय संस्थासँग सहकार्य
एनआरएनए संसारकै एक अभूतपूर्व ‘युनिक’ संगठन हो । अहिले हामी ८७ देशमा छौं । यस्तो संगठन कुनै पनि देशको छैन । यसले आइएलओसँग सहकार्य गरेर कोभिडको बेलामा हजारौं मान्छे उद्दार गर्यो । आगमी दिनमा पनि सहकार्य गर्नुपर्छ । अब ‘नलेज कन्फ्रेन्स’ मा आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम)सँग पनि सहकार्य गर्दैछौं । त्यस्तै युनएनसँग सहकार्य गरेर संघलाई डायस्पोरा अर्गनाइजेसनको रूपमा दर्ता गरेर अघि बढ्नुपर्छ । हामी संस्थालाई दुई वर्षभित्रमा युएनमा दर्ता गराएर अन्य संस्थासँग समन्वय गरे अगाडि बढाउँछौं ।

१२. विविध
संघ यति ठूलो भइसक्यो कि यसले गर्ने धेरै काम भइसके । नेपालमा लगानी गर्नेदेखि लिएर च्यारिटी गर्नेसम्म, नयाँ पुस्ताका बालबच्चालाई नेपालसँग जोड्नेदेखि लिएर विदेशमा हासिल गरेको ज्ञान र सीपलाई नेपालको हितमा लगाउनेसम्मको काम यसले गर्नुपर्नेछ । र, मूलतः यसले नेपालबाहिर गएका नेपालीलाई नेपालभित्र रहेका नेपालीसँग जोड्ने मुख्य कार्यभार पूरा गर्नुपर्नेछ । त्यस काममा मेरो नेतृत्वको टिमले अझ प्रभावकारी रूपमा काम गर्नेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।

संस्थाको अक्टोबर १७ देखि २० सम्म हुने महाधिवेशन निकै महत्वपूर्ण अवसर हो । यस अवसरमा यहाँहरूलाई नेपालमा नेपालमा निमन्त्रणा गर्छु । १९ अक्टोबरमा निर्वाचनको कार्यक्रम छ । त्यहाँ यहाँहरूसँग हार्दिकतापूर्णक अंकमाल गर्ने इच्छा छ । जो, काठमाडौ आउन सक्नुहुन्न, तपाईंहरूले पनि म डा. बद्री केसी र मलाई सहयोग गर्ने टिमलाई विजयी बनाइदिनभुयभो भने एनआरएनले ठूलो फड्को मार्छ भन्नेमा विस्वस्त बनाउन चाहन्छु ।

प्रकाशित मिति: १८ आश्विन २०८०, बिहिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *