Logo

४ माघ २०८१, शुक्रबार

एनआरएनए जात्रा !

गैरआवासीय नेपालीहरूको संस्थाको रूपमा काम गर्न थालेको बीस वर्ष पुग्दा–नपुग्दै एनआरएनएको गतिविधिलाई लिएर एनआरएनहरूकै आलोचनात्मक र व्यंग्यात्मक टिप्पणी बढ्न थालेको छ ।

त्यसको एउटा उदाहरण हो उनीहरूले अहिले चलाइरहेको ह्यासट्याग एनआरएन जात्रा । उनीहरूले १० औं अन्तराष्ट्रिय अधिवेशनपछि सहमतिको नाममा तीनजना अध्यक्ष बनाएर एक कार्यकाल बिताएपछि हुन लागेको ११औं महाधिवेशनको सन्दर्भलाई ‘एनआरएन जात्रा’को संज्ञा दिएर यो ह्यासट्याग चलाएका हुन् । जसको अपडेट एनआरएन जात्रा पेज बनाएर भइरहेको छ ।


पेजमा ‘एनआरएनए जात्राको नालीबेली’ शीर्षकमा व्यंग्यात्मक रूपमा शाश्त्र वाचन शैलीसहित लेखिएको छ, ‘एउटा कथनअनुसार, एक पटक कलियुगमा एक संस्था (एनआरएनए) २० वर्षसम्म गर्भमा रह्यो रे । भो, अब ! नौ महिनामा सुत्केरी हुनुपर्ने २० वर्षसम्म भएन । अनि त हे ! नारायणलाई कहीँ नभएको जात्रा र कहीँ नभएको भूल चढाउने वाचा गरी सुत्केरी गराइएछ । सेफ ल्यान्डिङ क्या ! गैर आवासीय नेपाली नागरिकताको जन्म भो । त्यही कथाअनुसार हे ! नारायणहरूलाई खुसी छौँ भन्ने पार्न अहिले पनि उक्त एनआरएनए जात्रा चलाइएको र परम्परा कायमै रहने पक्का छ ।

आखिर हामी नेपालीलाई जात्रा साह्रै प्यारो लाग्छ । अर्को एउटा जात्रा ! एनआरएनए जात्रा !’


पेजमा गैरआवासीय नेपालीलाई दिइने भनिएको नागरिकता ‘महत्वहीन’ भएको र अझ यसले जोड्ने भन्दा फोड्ने काम गरेको उल्लेख गर्दै पोस्टर पनि पोस्ट गरिएको छ ।



त्यस्तै, अक्टोबर १७–२० मा हुन लागेको ११ औं अधिवेशनका सन्दर्भमा उल्लेख गरिएका डेलिगेट्सका नामबारे पनि संशय व्यक्त गरिएको छ । लेखिएको छ, ‘डेलिगेट्स हुन् कि बिल गेट्स ? खोइ त नाम, ठेगाना, टेलिफोन ? ४ हजार उपर छन् रे, अत्तोपत्तो छैन !’



पेजमा बहालवाला उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठले आफ्नो चुनावी नारा नेपाली कांग्रेसको नारासँग मिल्दोजुल्दो बनाएको भन्दै व्यङ्ग्य गरिएको छ । भनिएको छ, ‘यो नाराको चिरफार गरौं त ! नारा त ठ्याक्कै उस्तै छ, दाजुभाउजू/रुख मार्कावाल रहेछन् कि कसो ?’



ह्यासट्याग एनआरएनएअन्तर्गत अन्य विभिन्न विषयमा निरन्तर पोस्टर र शब्दमार्फत व्यंग्य गरिएका पोस्ट पेजमा अपडेट भइरहेको छ । एनआरएनएबारे चासो र सरोकार राख्ने व्यक्तिहरूले पोस्ट सेयर गरिरहेको देखिन्छ ।

प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *