नन–रेसिडेन्ट नेपाली एसोसिएसन अर्थात एनआरएनए स्थापना गर्दा गैरआवासीय नेपाली अर्थात एनआरएनको साझा संस्था बन्नेछ भन्ने परिकल्पना गरिएको थियो । यसका संस्थापक अध्यक्ष उपेन्द्र महतोले यो कुरा अनेकन मञ्चमा दोहोर्याइसकेका छन् । तर, यो परिकल्पनालाई संस्थाले ‘नाबालिग’ रहँदामात्र कायम राख्न सकेको देखियो, संस्था १८ वर्ष पुगिसकेपछि ती परिकल्पनामा पानी छ्यापियो ।
बैंसालु भइसकेको संस्थालाई पुरानो ‘आदर्श’को लुगा छोटो भयो, तानतुन गरेर छोप्न खोज्दा पनि सकेन, अनेक ‘जुरा’ देखिए । संस्थाको शरीर एकातिर जान्छु भन्न थाल्यो, मन एकातिर जान्छु भन्न थाल्यो अनि मस्तिष्क अर्कातिर जान्छु भन्न थाल्यो । जता गए पनि तीन ‘कुरा’ देखिन थाले । संस्था नै तीन चिरा देखियो ।
अक्टोबरमा (जसलाई अक्टोबरे एनआरएनए पनि भन्दा रहेछन् एनआरएनहरूले) महाधिवेशन गर्ने एनआरएनमा पनि ‘तीन जुरा’ छर्लङ्गै देखियो । ‘कहिँ नभएको जात्रा एनआरएनए’मा भनेजसरी संस्थामा तीन अध्यक्ष बने । त्यसपछि के भयो भन्ने त एनआरएनहरू जानकार नै छन् ।
संस्था तीन ‘टाउके’ बनेको कुरा पछिल्लो छ महिनाको अध्यक्ष कार्यकाल सम्हालिरहेका र अब फेरि अध्यक्षको दौडमा रहेका डा. बद्री केसीलाई बलियो मुद्दा बनेको छ । उनी भावमा भन्दैछन्, ‘अघिल्लो कार्यकाल विवाद मिलाउँदैमा बित्यो, त्यसैले त्यसलाई कार्यकाल भन्न मिल्दैन, त्यो त कालमात्रै हो । अब अध्यक्ष बनेर कार्यकाल बनाउँछु ।’
अध्यक्षको दौडमा रहेका अरू चार जना पनि छन्, रविना थापा, महेश श्रेष्ठ, आरके शर्मा र विनय अधिकारी । सबैले कुनै न कुनै रूपमा ‘तीन टाउके’ कार्यकाललाई देखाएर अबको अध्यक्ष आफू भए संस्थालाई एउटै लयमा ल्याउँछु भनेर दावी गर्दैछन् । तर २० वर्षको लक्काजवान भइसकेको संस्थाको शरीर, मन र मस्तिष्क एकै ठाउँमा ल्याउनु चुनौतिपूर्ण कुरा हो ।
लयमा पनि कसरी पो ल्याउनु र, संस्था नै तीन वटा बनिसकेछ । एकातिर विनोद कुवँर आफूलाई नै असली एनआरएनएको अध्यक्ष हो भनेर अदालतले भनिदिने आशामा मुद्दाको अद्यावधिक हेरिरहेका छन् । अर्कातिर मैले बनाएको लोगो प्रयोग गर्ने पनि कहाँ असली एनआरएनए हुन्छ भनेर मुद्दा हाल्दै बसिरहेका माधव मरासिनी छन् । एनआरएनएको यस्तो ‘पारा’ले एनआरएनहरूलाई कुनचाहिँ एनआरएनए ‘असली बाजेको पेडा’ हो भन्ने थाहा पाउन हम्मे परिरहेको छ । जसले जतिबेला ठूलो हल्ला गर्छ, त्यसैको होलाजस्तो लाग्नेमात्रै भइरहेको छ । त्यसैले करोड हाराहारीको लक्षित वर्ग भएको एनआरएनएप्रति नयाँ र व्यवसायिक पुस्ताको आकर्षण छैन । त्यही मुद्दालाई एनआरएन नेताहरूले चुनावी नारामा परिणत गरेका छन्, आफू कार्यकारी पदमा भए संस्थामा सबै एनआरएन हुरुरु आउनेछन् भन्ने आश्वासनसहित बाँडिरहेका छन् ।
यी त केही बाहिरी ‘चास्सचुस्स’ प्रसंगमात्रै हुन्, बीस वर्षे एनआरएनएका अनेकौं भित्री कथा निर्माण भइसकेका छन् । कति त ‘यो कुरा गोप्य’ भन्ने भाँतीमा गोप्य नै छन्, कति बाहिर आइसकेका छन्, बाहिर आएकै कुराको पनि कसैले जवाफ दिन आवश्यक ठान्दैन, त्यसैले ती असरल्लै छन् । मरुहिटी डटकम ‘लाइभ’मात्रै भइएको छ, ‘फुल लन्च’ हुन पाएकै छैन । तैपनि यसलाई धेरै सूचना आइरहेका छन्, एनआरएनए नेता, उम्मेदवार, सचिवालय र अन्य सरोकारवालाको ।
त्यसैले मरुहिटीको ‘सफ्ट लन्च’ एनआरएनएका यस्तै विषयहरूबाट हुने भयो । तपाईंसँग भएको सूचना पनि दिनुभए हुन्छ । हामीलाई प्राप्त सूचनाहरू ‘भेरिफिकेसन’ गर्दै बाँड्दै जानेछौं ।