Logo

३ माघ २०८१, बिहिबार

देशमा भर्खरै २७औं जनयुद्ध दिवस मनाइएको छ । सोही युद्धमा होमिएर विभिन्न लडाईँको मोर्चामा भाग लिएकी चितवनकी निर्मला पौडेल(जिज्ञासु) भने अहिले जीविकोपार्जनका लागि परदेशमा छिन् । उनी श्रम बेच्न इजरायल पुगेका १६ वर्ष बित्यो । हुन त परिवारलाई छोडेर विदेशमा बस्न उनलाइ पटक्कै मन छैन । तर बाध्यताले उनलाई इजरायलमै रोकिदियो । निर्मला भन्छिन्, ‘देशमा जतिनै व्यवस्था परिवर्तन भए पनि हाम्रो अवस्था उस्तै रह्यो । व्यवस्था परिवर्तन गर्न उठाएको बन्दुक बिचमै बिसाउनु प-यो ।’

राजनितिक सचेतना
निर्मला कुनै समय आफैं राजनीतिमा सक्रिय थिइन् । उनले २०५४ सालको स्थानीय चुनावमा महिलातर्फ वडा सदस्यमा उम्मेदवारी दिएकी थिइन् । चितवनको रत्ननगरमा नेकपा (एमाले)बाट वडा सदस्यमा उम्मेदवारी दिँदा उनले ५५ सय भोटमा ४५ सय भोट आफ्नो पक्षमा पारिन् र जितिन् ।
निर्मलालाई बुझ्ने भएदेखि नै राजनीतिले नै समाज परिवर्तन गर्न सकिन्छ भन्ने लाग्थ्यो । त्यसैले उनले स्थानीय निर्वाचनमा भाग लिएकी थिइन् । तर सोचेजस्तो विकास गर्न सकेको भान भएन उनलाई ।

उनी भन्छिन्, ‘शहिदको रगत, घाइते तथा अपांगहरूको आँसुले नेताहरूलाई एक दिन पोल्छ ।’

‘पद लिएर मात्र के गर्नु ? समाज परिवर्तनमा देखिने काम गर्न नसकेपछि,’ उनलाई यस्तै लाग्यो । उनले महिला वार्ड सदस्यबाट राजीनामा दिइन् र माओवादी जनसेनामा भर्ती भइन् ।’ जनयुद्ध उभारमा आएको ०५७÷५८ सालको समयमा निर्मलालाई लाग्यो– माओवादी जनयुद्धले मात्र आफूले सोचेजस्तो विकास र राजनीतिक परिवर्तन गर्न सक्छ ।

साढे दुई वर्ष माओवादी जनसेना
निर्मला मोर्चामा सामेल हुँदा देशका धेरै स्थानमा छापामार युद्धका तालिम र भिडन्तमा सहभागी भइन् । उनलाई अहिले पनि धेरै भिडन्तमा अगाडि रहेर बन्दुक बोकेको याद आउँछ । निर्मलाले सन्धिखर्कको आक्रमणलाई कहिल्यै बिर्सन सक्तिनन् । उनी भन्छिन्, त्यो घटनामा ६५ जना त सुरक्षाकर्मी नै मारिएका थिए । माओवादीका सैन्य साथीहरू पनि धेरै मरे । जसको कमाण्ड रामबहादुर थापा ‘बादल’ले गरेका थिए । निर्मला उक्त भिडन्तमा घाइते भइन् । नाइट भिजन आक्रमणमा परिन् । सेनाले उनलाई ‘मरेको’ ठानेर छाडेर हिडेछ । उनलाइ धेरैबेर पछि होस आयो । होस खुल्दा उनी लासको चाङले थिचिएकी थिइन् । जब छापामार साथीहरूले उनले हलचल गरेको देखे, उनीमाथि खप्टिएका लासको चाङ पन्छाएर तत्काल उपचारमा लगे । उनी बाँचिन् । टाउकोमा हात पुगेपिच्छे उनलाई युद्धको तिनै लडाईँका दिन याद आउँछ । उनको अझै २९ टाँका छ । उनले भाग लिएको अन्तिम युद्ध नवलपरासीको सुनवलको थियो ।
पछुतो अझै बाँकी छ
जनयुद्ध सकिएको धेरै वर्ष भए पनि निर्मलालाई भने जनयुद्धमा सामेल भएकोमा अझै पछुतो बाँकी छ । उनी भन्छिन्, ‘जनयुद्धले परिकल्पना गरेको परिवर्तन मुलुकमा हुन सकेन । स्वतन्त्र भएर बोल्ने बाहेक अरू उपलब्धिहरू पाइएन । सबै चोर–फटाहा र गलत प्रवृतिका व्यक्ति नेतृत्वमा हावी भए । बाबुराम जस्ता विकासमा ‘भिजनरी व्यक्ति’ निकालिए ।’ नेताहरू धेरै स्वर्थी भए भन्ने उनलाई लाग्छ । अहिले त झन नेताहरूको विलासी जीवनशैली देख्दा उनलाई उदेक लाग्छ । उनी भन्छिन्, ‘शहिदको रगत, घाइते तथा अपांगहरूको आँसुले नेताहरूलाई एक दिन पोल्छ ।’

जनतालाई सधैं सास्ती
साढे दुई वर्ष देशका विभिन्न गाउँ–सहरमा उनी छापामार युद्धमा सहभागी भइन् । तर माओवादी आन्दोलनमा पनि उनलाई आत्मसन्तुष्टि मिलेन । निर्मला भन्छिन्, ‘जुन पार्टीको पनि नारा र योजना मिठा हुने । तर पूरा गर्न नसकिने । नेतृत्व पंक्ति विलासितामा रमाउने र जनतालाई गरेको बाचा बिर्सिने । हामीजस्ता कार्यकर्ता र जनतालाई सधैं सास्ती ।’

त्यो घटनामा ६५ जना त सुरक्षाकर्मी नै मारिएका थिए । माओवादीका सैन्य साथीहरू पनि धेरै मरे । जसको कमाण्ड रामबहादुर थापा ‘बादल’ले गरेका थिए ।

मनमा यस्तो विचारले घर गर्न थालिसकेपछि उनी माओवादीमा पनि बसिरहन सकिनन् । राजनीतिक जीवन त्यागिन् र सामान्य जीवनमा फर्किइन् । अन्ततः अरू भुइमान्छेले जस्तै निर्मला पनि दुई बच्चा र शारीरिक रूपमा अशक्त श्रीमान्को गह्रौं जिम्मेवारीको भारी बोकेर १६ वर्षअघि इजरायल हानिन बाध्य भइन् ।
हरेक वर्ष जनयुद्धको सम्झना गर्दा निर्मलाको मन चसक्क हुन्छ । आफ्नै सामु ढलेका योद्धाहरुको याद आउँछ उनलाई । माटो भिजाउँदै बगेको तिनको रगतको सम्झेर रिंगटा लाग्छ । मर्दामर्दै बोलेका अन्तिम आवाज याद आउँछ । उनलाई लाग्छ, ‘शहिदको रगतको घोर अवमूल्यन भयो ।’ धेरै जनतालाई भ्रममा पारिएर गफको मिठो लड्डु बाँडिएको रहेछ । धेरैको ज्यान गयो, कयौं घाइते भए र अझै कति वेपत्ता छन् । सबैको समान खालको सम्मान भएन । तत्कालीन नेतृत्वले यो कुराको कहिले महसुस गर्लान ?

प्रकाशित मिति: ४ फाल्गुन २०७८, बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *