आगामी अक्टोबर महिनाको १७ देखि २० तारिखसम्म काठमाडौँमा हुन गइरहेको एघारौं महाधिवेशन तथा विश्व सम्मेलनका लागि भर्खरै सम्पन्न राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय समन्वय परिषद्को नेतृत्वमा निर्वाचित तथा एघारौं महाधिवेशनका लागि निर्वाचित सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु ।
आसन्न एघारौं महाधिवेशन तथा विश्व सम्मेलनले आगामी दुई वर्षका लागि अन्तर्राष्ट्रिय नेतृत्व चयन गर्ने भएकाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायको चासो हुनु स्वाभाविक हो । अहिले गैरआवासीय नेपाली संघ (एनआरएनए) को उद्देश्य, भूमिका, भविष्य, नेतृत्व र चुनौतीका बारेमा व्यापक बहस भइरहेको छ ।
यो विमर्शलाई मैले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायको गैरआवासीय नेपाली संघप्रति बढ्दो विश्वास र भरोसाको रूपमा आत्मसात् गरेको छु । त्यसैले आसन्न एघारौं महाधिवेशन तथा विश्व सम्मेलनको पूर्वसन्ध्यामा एनआरएनएको उद्देश्य, भूमिका, भविष्य, नेतृत्व र चुनौतीका बारेमा आफ्ना केही दृष्टिकोण र प्रस्तावहरू पेश गर्न चाहन्छु ।
नेपालीका लागि नेपाली
“नेपालीका लागि नेपाली” भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापित एनआरएनएको अभियानले दुई दशक पार गरिसकेको छ । विश्वभरि छरिएर रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै उनीहरूले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको आर्थिक तथा सामाजिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ स्थापना भएको एनआरएनएको विश्वका ८६ देशमा राष्ट्रिय समन्वय परिषद्हरू गठन भइसकेका छन् । विश्वभरि छरिएर रहेका नेपालीहरूको साझा संगठन निर्माण हुनु आफैंमा एउटा महत्वपूर्ण सांगठनिक उपलब्धि हो ।
बीस वर्षको यस अवधिमा गैरआवासीय नेपालीसम्बन्धी ऐन, गैरआवासीय नेपाली नागरिकता, योगदानमा आधारित सामाजिक सुरक्षा कोष तथा आप्रवासी कामदारहरूसँग जोडिएका ऐन– कानूनमार्फत् गैरआवासीय नेपालीका हकहितका विषयहरू सम्बोधन मात्रै भएको छैन, गैरआवासीय नेपालीहरूको मातृभूमिप्रतिको दायित्व पनि थपिएको छ ।
संघको २० वर्षको इतिहासमा २ वर्ष अगाडिको दशौँ महाधिवेशन सुखद हुन नसकेको तितो यथार्थ हामी सबैलाई अवगत नै छ । त्यस क्रममा भएको विवादका कारणले संघको प्रतिष्ठा र गरिमामा नै ठूलो आँच आयो । त्यसैले यस्तो विशिष्ट परिवेशमा सम्पूर्ण गैरआवासीय नेपाली आमा–बुबा, दिदी–भाइ, दाजु–बहिनीहरू सबैलाई भावनात्मक रूपमा एकताबद्ध गर्नु तथा संघको गरिमा पुनः स्थापित गर्नु अहिलेको प्रमुख चुनौती हो । यसैगरी नेपाल सरकार, राजनीतिक दल, निजी क्षेत्र, सामाजिक संघ–संस्थासँग सहकार्य गर्दै विदेशस्थित कूटनीतिक नियोगसँग सुमधुर कार्यगत सम्बन्ध स्थापना गर्नु पनि अहिलेको मुख्य प्राथमिकता हो ।
विश्वभरका गैरआवासीय नेपाली समुदायसँगको घनीभूत छलफल, सुझाव र प्रेरणापछि “समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली” बनाउने प्रण गर्दै आगामी अक्टोबरमा काठमाडौंमा सम्पन्न हुन गइरहेको एघारौं महाधिवेशन तथा विश्व सम्मेलनमा गैरआवासीय नेपाली संघको अध्यक्षका लागि उम्मेदवारी दिने निर्णय गरेको छु । “सबल, साझा र एकताबद्ध एनआरएनए, परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए” बनाउने मेरो प्रमुख उद्देश्य र प्राथमिकता हुनेछ ।
एनआरएनएमा विगतको मेरो भूमिकालाई नजिकबाट अवलोकन गर्नु हुने सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाई म पद र प्रतिष्ठाका लागि भन्दा पनि संघलाई ठोस योगदान दिने उद्देश्यले सक्रिय हुँदै आएको तथ्य घामजत्तिकै छर्लङ्ग छ । गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी बहन गर्दा संघको आर्थिक पारदर्शिता र आर्थिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको, संघको MIS system लाई थप सुरक्षित तथा निर्वाचन प्रणालीलाई विश्वासयोग्य र विवादरहित बनाउन, Face Verificationलाई अनिवार्य बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको तथ्य सबैलाई अवगत नै छ ।
आगामी २०२३–२५ को २ वर्षे कार्यकालमा मैले गर्ने कामलाई पाँच नीतिगत प्राथमिकतामा विभाजन गरी ठोस कार्ययोजनाहरू प्रस्तुत गरेको छु र यी कार्ययोजनाहरू समयमा नै पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु । मेरा पाँच नीतिगत प्राथमिकताहरू यसप्रकार हुनेछन् ।
१. एनआरएनएको संकल्पः नेपालको समुन्नति
२. जन्मभूमिका नेपालीलाई, कर्मभूमिका नेपालीको साथ
३. अबको कार्यभारः एनआरएनएको हक, हित र अधिकार
४. एनआरएनएको संरचनात्मक सुधार र संस्थागत विकास
५. मेरो प्राथमिकताः युवा, महिला तथा दोस्रो पुस्ता
उक्त नीतिगत प्राथमिकताका उद्देश्य हासिल गर्न निम्न लिखित ठोस कार्ययोजनाहरू कार्यान्वयन गरिनेछ ।
१. एनआरएनएको संकल्पः नेपालको समुन्नति
गैरआवासीय नेपाली संघको परिकल्पना अनुरुप दिगो विकास र समुन्नत नेपालको सपना साकार पार्न गैरआवासीय नेपालीहरूले विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजी नेपाल भित्र्याउनु अपरिहार्य छ । त्यसैले नेपाल सरकार, निजी क्षेत्र, सामाजिक संघ–संस्थाका साथै विदेशस्थित कूटनीतिक नियोगसँग समेत समन्वय गरी विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजी नेपाल भित्र्याउन एक उच्चस्तरीय संयन्त्र बनाएर देहायअनुसारका ठोस कार्ययोजनाहरू मार्फत काम गरिनेछ ।
१.१ नेपालमा वैदेशिक लगानी भित्र्याउन ठोस नीतिगत पहल
१. गैरआवासीय नेपालीहरूको पुँजीलाई जन्मभूमिको विकासका लागि योगदान गर्ने उद्देश्यले सुरू गरिएको रु. १० अर्बको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयन गरिनेछ । जन्मभूमिको विकासका लागि योगदान गर्न चाहने सबै गैरआवासीय नेपालीहरू समेट्ने उद्देश्यले सो कोषमा न्यूनतम २५० डलर लगानीको अवसर प्रदान गरिने छ । गैरआवासीय नेपालीहरूको लगानीलाई सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई पनि लगानी कोषमा समेट्नका लागि आवश्यक कानूनहरूलाई समयानुकूल परिमार्जित तथा संशोधन गर्दै गैरआवासीय नेपालीको लगानीलाई समेत नेपालको धितोपत्र विनिमय बजारमा प्रवेश गराउन पहल गरिने छ ।
२. गैरआवासीय नेपालीको लगानी र साझेदारीमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन तथा वैदेशिक लगानी आकर्षित गर्न नेपाल सरकारसँग सहकार्य गरिने छ । वैदेशिक लगानीलाई प्रोत्साहित गर्न आवश्यकता अनुसार दोहोरो कर छुटबारे आवश्यक नीतिगत व्यवस्था गर्न ठोस पहल गरिने छ ।
३. नेपालको प्रमुख आर्थिक स्रोत विप्रेषण (रेमिट्यान्स) लाई वैधानिक माध्यमबाट पठाउन प्रोत्साहित गर्ने कार्यक्रम सरकारसँगको सहकार्यमा लागू गरिने छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकले पठाएको रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानीका लागि सरकार एवं निजी क्षेत्रसँग सहकार्य गरिने छ ।
४. श्रमिकले पठाएको रेमिट्यान्स सटही गर्दा प्राप्त हुने कमिशनको निश्चित रकम (प्रति डलर १ पैसा) श्रमिक कल्याणकारी कोषमा राख्न पहल गरिनेछ । यस विषयमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैकसँग छलफल गरी कार्यान्वयनका लागि प्रयास गरिनेछ ।
५. सामाजिक सुरक्षा कोष, डलर खाता, आइपिओको कार्यान्वयनको लागि ल्ऋऋ मार्फत प्रचार–प्रसार तथा प्रशिक्षणको व्यवस्था गरिने छ ।
१.२ नेपालमा ज्ञान, सीप र नवप्रवर्तन भित्र्याउन ठोस पहल
१. विधानमा नै व्यवस्था भएको “एनआरएनए प्रोफेसनल एन्ड एकाडेमिक युनिट” गठन गरी संसारभर छरिएर रहेका बौद्धिक, व्यवसायिक तथा पेशागत गैरआवासीय नेपालीहरू जस्तै वैज्ञानिक, प्राध्यापक, डाक्टर, इन्जिनियर, प्राज्ञ, सोधकर्ता, नर्सलगायतलाई संघमा आबद्ध गराइनेछ ।
२. नेपाल सरकार, नेपालका विश्वविद्यालयहरू, अनुसन्धान केन्द्रहरू, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान र नेपाल तथा विदेशमा कार्यरत थिंक ट्यांक र अनुसन्धान प्रतिष्ठानहरूसँग सहकार्य गर्दै NRN Global Knowledge Convention दुई वर्षको एकपटक आयोजना गरिने छ ।
३. विज्ञ सम्मेलनलाई थप प्रभावकारी बनाउँदै विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययनरत युवा वैज्ञानिकलगायत अन्य गैरआवासीय नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप र प्रविधि भित्र्याउने वातावरण तयार गर्न एउटा छुट्टै विभागको गठन गरिने छ ।
४. तीन महिनाभित्र छुट्टै नियमावली बनाई एनआरएनए पोलिसी इन्स्टिच्युटलाई थिंक ट्यांकका रूपमा अघि बढाइने छ । यसैगरी नेपाल सरकारको नीति तथा योजना निर्माण तहमा गैरआवासीय नेपालीहरूलाई प्रतिनिधित्व गराउन पैरवी (Lobbying) गरिने छ ।
५. नेपाल सरकारको Brain Gain Centre (BGC) का लागि आवश्यक विज्ञ तथा विशेषज्ञ गैरआवासीय नेपालीको विवरण तयार गर्न उक्त सेन्टरसँग सहकार्य गरिने छ ।
१.३ मातृभूमिमा पर्यटनको विकास, कर्मभूमिमा संस्कृतिको प्रबद्र्धन
१. नेपाल सरकारले पर्यटन गन्तव्यका रूपमा अघि सारेका स्थानमा पर्यटन प्रबद्र्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रचार–प्रसार गरिने छ । ‘एक साथी नेपाल पठाउँ’ अभियान र नेपाल फेस्टिभल जस्ता कार्यक्रमलाई संसारभर सञ्चालन गरिने छ । यसैगरी नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धन गरिने छ ।
२. विश्वव्यापी तापक्रम वृद्धि (Global Warming) र जलवायु परिवर्तन (Climate Change) ले नेपाललाई प्रत्यक्ष रूपमा नकारात्मक असर पार्दै आएको विषयमा गैरआवासीय नेपाली र नेपालसँग सरोकार राख्ने विदेशी विज्ञ तथा विशेषज्ञहरू मार्फत सम्बन्धित अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाइने छ ।
३. नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायबीच समन्वय गर्न सद्भावना दूतको भूमिका निर्वाह गरिने छ ।
४. विदेशमा नेपाली भाषा, धर्म, कला, संस्कृति र मूल्य–मान्यताको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले “नेपाली भाषा र संस्कृति जोगाऔं” अभियान सञ्चालन गरिने छ ।
५. विदेशमा नेपाली भाषा, धर्म, कला, संस्कृति र मूल्य–मान्यताको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले क्रियाशील संघ–संस्था, अभियान, आन्दोलन र अभियन्ताहरूसँग सहकार्य गरिने छ ।
२.जन्मभूमिका नेपालीलाई, कर्मभूमिका नेपालीको साथ
२.१ गैरआवासीय नेपालीको समस्या समाधान गर्न निर्णायक पहल
१. गैरआवासीय नेपालीहरूले विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशको विकास र समृद्धिका लागि उपयोग गर्न नेपाल सरकारसँग सहकार्य गरी श्रम तथा सीप बैंक स्थापना गरिने छ । विदेशबाट नेपाल फर्किएकाहरूको सीप र क्षमताअनुसार नेपालमै रोजगारीको अवसर सृजना गर्न सरकार र निजी क्षेत्रसँग सहकार्य तथा समन्वय गरिने छ ।
२. वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नेपाल सरकार, गन्तव्य मुलुकको सरकार तथा विदेशस्थित नेपालका कूटनीतिक नियोगहरूसँग सहकार्य गरिने छ ।
३. नेपाल सरकारले हालै सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगारसम्बन्धी आइपिओमा सबै गैरआवासीय नेपालीहरूको पहुँच सुनिश्चित हुने गरी कार्यान्वयन गर्न आवश्यक कानुन संशोधनका लागि पहल गरिने छ । हाल वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि आवश्यक संयन्त्र बनाई सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्ने तथा गन्तव्य देशसँग श्रम सम्झौता गर्दा अनिवार्य रूपमा सामाजिक सुरक्षामा आबद्ध गराउन पहल गरिने छ ।
४. नेपाली समुदायको संख्या र समस्यालाई आत्मसात गर्दै पोर्चुगल, टर्की, रोमानिया, पोल्यान्ड, माल्टा, साइप्रस, क्रोएसिया, माल्दिभ्सलगायतका देशमा दूतावास स्थापना गर्न नेपाल सरकारसँग पहल गरिने छ । यसै गरी जापान, जर्मनी, अस्ट्रिया, दक्षिण कोरिया, इजरायललगायतका देशमा पनि श्रम सहचारीको व्यवस्था गर्न नेपाल सरकारसँग पहल गरिने छ ।
५. अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यक दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गर्न सरकार र निजी क्षेत्रसँगको सहकार्यमा काठमाडौँमा एक व्यवसायिक तालिम केन्द्र स्थापना गर्न वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई प्रोत्साहित गरिने छ ।
६. वैदेशिक रोजागारमा रहेका नेपालीहरूले गन्तव्य मुलुकमा पाउने सेवा सुविधामा हुने विभेद अन्त्य गर्न नेपाल सरकार र विदेशस्थित नेपाली नियोगमार्फत सम्बन्धित देशहरूलाई आवश्यक प्रवन्ध गर्न सहजीकरण गरिने छ । श्रम सम्झौता नभएका मुलुकहरूमा नयाँ श्रम सम्झौता गर्दा वैदेशिक रोजागारमा जाने नेपालीको हितमा हुने गरी गर्न नेपाल सरकारसँग सहकार्य तथा समन्वय गरिने छ । वैदेशिक रोजगारीका क्रममा नेपालीहरूले भोगेका मानव तस्करी, घरेलु हिंसा, घरेलु श्रमिकको सुरक्षा, मानसिक यातना लगायतका समस्याको समाधानका लागि सहजीकरण गरिने छ ।
७. विदेशमा वैदेशिक रोजगारको क्रममा सृजना हुनसक्ने कानुनी समस्या तथा जटिलता, पेशागत सुरक्षा तथा आकस्मिक रूपमा सृजना हुन सक्ने समस्या तथा विपद्का बारेमा आवश्यक कानूनी सेवा तथा सहजीकरणको लागि संघको कार्यालयमा एक कानूनी परामर्श तथा सहजीकरण केन्द्र (Legal Consultation and Facilitation Center) को स्थापना गरिने छ ।
८. वैदेशिक रोजगार कल्याणकारी कोषलाई श्रमिकको समस्या समाधानमा प्रभावकारी ढंगले प्रयोग गर्न सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गरिने छ । वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली श्रमिकको परिवारलाई वैदेशिक रोजगार बोर्डमार्फत उपलब्ध गराउँदै आएको आर्थिक सहायता कम्तीमा १५ लाख रुपैयाँ पुर्याउने व्यवस्था मिलाउन पहल गरिने छ ।
९. श्रम स्वीकृति नलिई वा श्रम स्वीकृतिको अवधी समाप्त भई मृत्यु भएका श्रमिकका परिवारले पनि राहत रकम पाउने व्यवस्था मिलाउन पहल गरिने छ । विभिन्न कारणले विदेशका जेलमा रहेका नेपाली श्रमिकको लागि उपलब्ध गराइने कानुनी सेवालाई प्रभावकारी बनाउन विद्यमान कार्यविधिलाई संशोधन गर्न पहल गरिने छ ।
१०. खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकको एमआरपी राहदानीको अवधि समाप्त भई विद्युतीय राहदानी बनाउन दूतावास र महावाणिज्यदूतको कार्यालयलाई आवश्यक जनशक्ति, स्रोत र साधन उपलब्ध गराई अधिकतम घुम्ती शिविर सञ्चालनको व्यवस्था मिलाउन पहल गरिने छ ।
११. रोजगारीका क्रममा मृत्यु भएका तर कागजी प्रक्रिया नपुगेका नेपालीहरूको अलपत्र शव नेपालमा ल्याउन लाग्ने आर्थिक खर्च सरकारले व्यहोर्नु पर्ने नीतिगत व्यवस्था मिलाउन पहल गरिने छ । नेपाल सरकार, गैरआवासीय नेपाली संघ, वैदेशिक रोजगार व्यवसायी संघ र दातृ निकायसँग समन्वय गरी १० करोडको श्रमिक कल्याण कोष खडा गरी अलपत्र परेका शवको व्यवस्थापन, विदेशमा आपतमा परेका तथा विदेशमा जेलमा रहेका नेपालीहरूको उद्धार गरिने छ ।
१२. श्रम सम्झौता नभएका र कन्सुलर कार्यालय नभएको मुलुक इराकमा कार्यरत श्रमिकको सहजताका लागि यूएई दुतावासमार्फत सेवा दिने व्यवस्था मिलाउन र तत्कालका लागि माल्टाको हकमा स्पेन दुतावास मार्फत सेवा दिने व्यवस्था मिलाउन पहल गरिने छ ।
१३. विदेशमा नेपालीहरूको मानसिक स्वास्थ्यको अवस्था विकराल बन्दै गएको छ । मानसिक स्वास्थ्य तथा आत्महत्याका कारण ठूलो मानवीय क्षति भइरहेको गम्भीर पक्षलाई आत्मसाथ गर्दै मानसिकलगायत अन्य शारीरिक स्वास्थ्य सम्बन्धी अनलाइन परामर्श सेवाको व्यवस्था गरिने छ ।
२.२ मातृभूमिका नेपालीको सेवामा गैरआवासीय नेपालीको साथ
१. परोपकारी कामका लागि स्थापित एनआरएनए फाउन्डेसनको सचिवालय सुदृढीकरण गरी अन्तर्राष्ट्रिय कार्यालयहरूको स्थापना गरिने छ । क्षेत्रगत रुपमा एनआरएनए फाउण्डेसनमार्फत एक अक्षय कोष स्थापना गरी नेपालमा आइपर्ने प्राकृतिक प्रकोप तथा विपदमा नेपालका तीनै तहका सरकारसँगको सहकार्यमा सहयोगको लागि पहल गरिने छ । त्यसै गरी विदेशमा समस्यामा परेका गैरआवासीय नेपालीहरूको लागि पनि उक्त फाउन्डेसनबाट सहयोग गर्ने व्यवस्था मिलाइने छ ।
२. संयुक्त राष्ट्र संघ (UN, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO), अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (IOM) लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकाय र विभिन्न संघसंस्थासँग साझेदारी तथा सहकार्य गरिने छ ।
३. सामाजिक तथा परोपकारी कामलाई अगाडि बढाउन ‘एक एनसीसी, एक परियोजना’लाई एनआरएनए फाउन्डेसनमार्फत एकीकृत परियोजनाको रूपमा अघि बढाइने छ ।
४. कल्याणकारी र अध्ययन तथा अनुसन्धान परियोजनाका लागि अन्तर्राष्ट्रिय दातृ निकायहरूबाट आर्थिक सहयोग लिन विज्ञहरूको एक समिति गठन गरिने छ ।
३. अबको कार्यभारः गैर आवासीय नेपालीको हक, हित र अधिकार
१. “एक पटकको नेपाली सधैंको नेपाली” भन्ने सिद्धान्तलाई मूलमन्त्र मान्दै नेपालको संविधानले सुनिश्चित गरेको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनलाई सहज बनाउन नेपाल सरकारसँग आवश्यक पहल गर्नुका साथै गैरआवासीय नेपालीहरू तथा भूपू गोर्खाहरूको वंशजको नागरिकताको निरन्तरताको लागि निरन्तर पहल गरिने छ ।
२. विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउन आवश्यक ऐन तथा नियमावली निर्माणका लागि नेपाल सरकार र राजनीतिक दलहरूसँग सहकार्य गरी २०८४ को निर्वाचनमा नै मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न निर्णयक पहल गरिने छ । यसैगरी नेपाली नागरिकताबाहक गैरआवासीय नेपालीले सम्बन्धित देशस्थित नेपाली कूटनीतिक नियोग वा अनलाइनमार्फत मतदाता नामावली दर्ता एवं मतदान गर्ने तथा राष्ट्रिय परिचयपत्रसमेत बनाउन सक्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग आवश्यक पहल गरिने छ ।
३. गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्ति सम्बन्धमा आवश्यक कानून संशोधन गरी सम्पत्तिको पूर्ण सुरक्षाको प्रत्याभूति गरिने छ ।
४. नेपालीमूलका तर पुस्तौंदेखि विदेशमा बसोबास गर्दै आएका म्यानमार, थाइल्यान्ड, मलेसिया, मौरिसस, ब्रुनाईलगायतका मुलुकमा रहेका नेपाली समुदाय तथा नेपाली भाषीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली परिचयपत्रको व्यवस्था गर्न आवश्यक कानूनी प्रबन्ध गरी नेपालसँग जोड्न प्रयत्न गरिने छ ।
५. सम्बन्धित देशको राष्ट्रिय समन्वय परिषदको अध्यक्षलाई नेपाल सरकारको अवैतनिक वाणिज्य दूतको रूपमा मान्यता दिन नेपाल सरकारसँग समन्वय गरिने छ ।
६. विभिन्न कारणवस श्रम स्वीकृति नलिई इराक लगायत खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकलाई श्रम स्वीकृतिको दायराभित्र ल्याउन नेपाल सरकार समक्ष पहल गरिने छ ।
७. स्थायी बासिन्दा (पीआर) भई विदेशमा वसेका नेपालीहरूका सम्बन्धमा संविधानको धारा २९१ मा राखिएको विभेदकारी प्रावधान संशोधन गर्न पहल गरिने छ ।
४. एनआरएनएको संरचनात्मकः सुधार र संस्थागत विकास
४.१ परिणाममुखी एनआरएनए (Result–oriented NRNA)
१. गैरआवासीय नेपाली संघका कार्यक्रमहरू परिणाममुखी बनाउन ठोस नीति तथा कार्यतालिकाको अवलम्बन गरिने छ । प्राविधिक, आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय पक्षहरूको गहन अध्ययनपछि मात्र संघका परियोजनाहरूको निर्धारण गरिने छ ।
२. व्यापक छलफल र परामर्शपछि संघको दुई वर्षे कार्ययोजनासहितको क्यालेण्डर तयार गरिने छ । आइसीसी र एनसीसीका क्रियाकलापहरू समेत सोही कार्ययोजनामा समाहित गरिने छ ।
४.२ सबैको साझा एनआरएनए (NRNA For All)
१. अहिले संघमा न्यून संख्यामा गैरआवासीय नेपाली आबद्ध छन् । यसमा पनि महिला, युवा, प्राज्ञिक वर्ग र दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूको सहभागिता अत्यन्त न्यून छ । आम गैरआवासीय नेपालीहरूलाई गैरआवासीय नेपाली संघ मेरो पनि हो भन्ने अपनत्व महसुस गराउन संस्थागत पुनःसंरचना गरिने छ ।
२. गैरआवासीय नेपाली संघलाई पूर्णरूपमा विधिसम्मत, संस्थागत तथा पारदर्शीरुपमा सञ्चालन गरी विश्वभरी रहेका सम्पूर्ण गैरआवासीय नेपाली समुदायको साझा र विश्वसनीय संस्थाको रूपमा विकास गरिने छ । यसैगरी गैरआवासीय नेपाली संघलाई थप समावेशी तथा थप महिलामैत्री, युवामैत्री, प्रविधिमैत्री, राष्ट्रिय समन्वय परिषदमैत्री, पञ्जिकृत सदस्यमैत्री बनाइने छ ।
३. विश्वका जुनसुकै मुलुकमा रहेका गैरआवासीय नेपालीलाई संघमा आबद्ध हुन सहजताका लागि बाह्रै महिना एमआईएस (मेम्बर इन्फरमेशन सिस्टम) खुला गरी उदार र सहज सदस्यता प्रणाली नीति अख्तियार गरिने छ । साथै, आगामी दुई वर्षभित्र गैरआवासीय नेपाली संघमा कम्तिमा ५ लाख पञ्जिकृत सदस्य पुर्याइने छ ।
४.३ दिगो एनआरएनए (Sustainable NRNA)
१. सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नुपर्ने स्थितिको अन्त्य गरी आर्थिक दिगो वैकल्पिक स्रोतको खोजी गरिने छ । स्मार्ट एनआरएनए परियोजनाका विविध आयामलाई सबलीकरण गर्दै ‘मेम्बरसीप बेनिफिट’ कार्यक्रम कार्यान्वयन गरिने छ ।
२. गैरआवासीय नेपाली संघको सञ्जाल प्रयोग गरी सञ्चालनमा आएका वा सञ्चालन गर्न चाहने व्यवसायबाट लाभांशको न्यूनतम प्रतिशत एनआरएनएका लागि छुट्याउनु पर्ने व्यवस्था गरिने छ ।
३. परियोजना छनोटसम्बन्धी नीति पुनरावलोकन गरी कल्याणकारी र अध्ययन तथा अनुसन्धान परियोजनाका लागि अन्तर्राष्ट्रिय दातृ निकायहरूबाट आर्थिक सहयोग लिन विज्ञ सम्मिलित एक समिति गठन गरिने छ ।
४.४ मितव्ययी, पारदर्शी र विश्वास योग्य एनआरएनए
१. विश्वभरका ६ वटा क्षेत्रीय समितिहरूलाई अझ बढी अधिकार सम्पन्न र जिम्मेवार बनाइने छ । गैरआवासीय नेपाली संघ अन्तर्गतका ६ वटै क्षेत्रमा दुई वर्षमा कम्तीमा एक पटक क्षेत्रीय बैठक गर्न प्रोत्साहन गरिने छ । हाल आयोजना हुँदै आएका क्षेत्रीय बैठकको सट्टा निश्चित योजनामा केन्द्रित विषयगत कार्यशाला र गोष्ठीहरूको आयोजना प्रभावकारी र मितव्ययी रूपमा गरिने छ ।
२. राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषदबीचको सहकार्य, समन्वय र साझेदारीलाई थप बलियो र प्रभावकारी बनाइने छ । प्रभावकारी सूचना प्रणालीको स्थापना गर्दै एनसीसीहरूलाई थप प्रोत्साहन गर्दै थप गतिशील र प्रभावकारी कार्यक्रमहरू ल्याइने छ ।
३. गैरआवासीय नेपाली संघलाई नियमन तथा व्यवस्थित गर्न र हाम्रा मागहरूलाई छिटो छरितो ढंगले कार्यान्वयन गर्नका गर्नका लागि परराष्ट्र मन्त्रालयमा एनआरएनए विभाग स्थापनाका लागि पहल गरिने छ ।
४. आइसिसी र आइसिसीसँग आबद्ध निकायहरू (एनसिसी, समिति, टास्क फोर्स, क्षेत्रीय संयोजक आदि) बीच प्रभावकारी संवाद र समन्वय गरिने छ । संघसँग आबद्ध पदाधिकारीहरूलाई प्रशिक्षणको व्यवस्था गरिने छ ।
५. सम्पूर्ण गैरआवासीय नेपाली र एनसिसीका आवाज सुन्ने र सम्बोधन गर्ने व्यवस्था गरिने छ । संघको काठमाडौँस्थित सचिवालयलाई अझ बढी व्यवस्थित गर्न कर्मचारीहरूको दक्षतालाई अभिवृद्धि गर्नुका साथै सचिवालयलाई प्रविधियुक्त बनाइने छ ।
६. गैरआवासीय नेपालीहरूले आफू बसेको देशका स्थानीय समुदाय तथा सरकारसँग सहकार्य सक्षम बनाउने उद्देश्यले राष्ट्रिय समन्वय परिषदहरूको क्षमता अभिवृद्धि गरिने छ ।
७. पट्यार लाग्दो आशनग्रहण, भड्किलो खादा–माला र ब्याच वितरण तथा निरस र लामा मन्तव्यलाई निरुत्साहित गर्दै व्यवहारिक आसनग्रहण, सांस्कारिक खादा–माला र अर्थपूर्ण र गहन वैचारिक मन्तव्यलाई प्रोत्साहित गरिने छ । यसलाई तुरुन्तै कार्यान्वयन गर्नका लागि आवश्यकता अनुसार सबै NCCहरूलाई कार्यक्रम संचालन सम्बन्धी प्रशिक्षणको व्यवस्था गरिने छ ।
८. हाल अधिकांश क्ष्ऋऋ सदस्यहरू कुनै पनि जिम्मेवारी नपाएका कारण निष्क्रिय रहने गरेकोमा पदीय भूमिका नभएपनि निरन्तर सक्रिय क्ष्ऋऋ सदस्यहरूलाई पनि क्षमताअनुसार थप जिम्मेवारी दिइ क्षेत्रीय समितिमार्फत क्रियाशील बनाइने छ ।
४.५ स्मार्ट एनआरएनए (SMART NRNA)
१. गैरआवासीय नेपाली संघलाई अत्याधुनिक डिजिटल प्रविधियुक्त बनाइने छ । सचिवालयका सबै अभिलेखहरूलाई डिजिटलाइज गरिने छ । संघले हाल प्रयोग गर्दै आएको Management Information System (MIS) लाई थप सरल र सुरक्षित बनाइने छ ।
२. आइसीसीका बैठक सञ्चालन, मिटिङ माइन्यूटको रेकर्ड, मतदान, उपस्थितिको रेकर्ड राख्न छुट्टै सफ्टवेयर विकसित गरिने छ ।
३. गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समन्वय परिषद्मा हुने निर्वाचनलाई व्यवस्थित र प्रविधिमैत्री बनाइने छ । भविष्यमा अनलाइन भोटिङको व्यवस्था गर्न ब्लकचेन (Blockchain), ईलेक्सन रनर (Election Runner) जस्ता भरपर्दा प्रविधि वा सेवा प्रदायकको प्रयोगबारे अध्ययन गरिने छ । सबै पञ्जिकृत सदस्यहरूले मतदान गरी केन्द्रीय नेतृत्व चयन गर्ने व्यवस्था गरिने छ । यसका लागि सबै NCC हरूको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्नका लागि विज्ञहरूको राय लिई विधान संशोधन गरिने छ ।
४. संघका सबै पदाधिकारीहरूलाई निश्चित जिम्मेवारी दिई हरेक ३–३ महिनामा प्रत्येक पदाधिकारीहरूले आफूलाई दिइएको कार्य सम्पादनको प्रगति विवरण पेश गर्नुपर्ने व्यवस्था गरिने छ ।
४.६ सरकारसँग साझेदारी, एनआरएनएको जिम्मेवारी
१. नेपाल सरकारको नीति तथा योजना निर्माण तहमा गैरआवासीय नेपालीहरूलाई प्रतिनिधित्व गराउन पैरवी (यिददथष्लन) गरिने छ ।
२. नेपाल सरकार, विदेशस्थित नेपाली कूटनीतिक नियोग, नेपालस्थित वैदेशिक कूटनीतिक नियोग र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग प्रभावकारी संवाद र सहकार्य गर्न एक संयन्त्र तयार गरिने छ ।
३. Brain Gain Center का लागि आवश्यक पर्ने विदेशमा रहेर आर्जन गरेको विशिष्ट ज्ञान, विशेषज्ञता र अनुभव भएका नेपालीहरूको पेशा, विशेषज्ञता, विज्ञता, विद्वता, अनुभव जस्ता विषयमा परराष्ट्र मन्त्रालय र दातृ निकायसँगको सहकार्यमा म्बतबदबकभ तयार गरिने छ ।
५. मेरो प्राथमिकताः युवा, महिला तथा दोस्रो पुस्ता
१. गैरआवासीय नेपालीको दोस्रो पुस्तालाई नेपालसँग जोड्न र अपनत्व महसुस गराउन केही ठोस कार्यक्रम ल्याइने छ । दोस्रो पुस्तालाई संघको मूलधारमा समाहित गर्दै विदेशमा रहेका बालबालिकाहरूलाई नेपाली भाषा, लिपि, संस्कार र संस्कृति सिकाउने व्यवस्था गरिने छ । संसारभर सञ्चालित नेपाली भाषा पाठशालाहरूसँग समन्वय गरी स्तरीय पाठ्यक्रम तथा शैक्षिक सामाग्री उत्पादन गर्न पहल गरिने छ ।
२. गैरआवासीय नेपाली स्पोर्ट्स एकेडेमीलाई आर्थिक रूपमा आत्मनिर्भर, क्रियाशील, पारदर्शी, जिम्मेवार निकायको रूपमा विकास गर्नका लागि सम्बन्धित निकायका विज्ञहरू सम्मिलित एक समिति गठन गरी उक्त समितिको सुझाव अनुसार एकेडेमीलाई पुनःसंरचना गरिने छ । गैरआवासीय नेपाली खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताको सुनिश्चितता गरिने छ ।
३. गैरआवासीय नेपाली र स्वदेशमा रहेका युवाको नवीन सोच, ज्ञान र उत्साहलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न सरकार, एनआरएन नेपाल डेभलपमेन्ट फण्ड र सम्बद्ध वित्तीय निकायहरूबाट लगानीको व्यवस्था गर्न पहल गरिने छ ।
४. ‘स्टार्टअप’ कार्यक्रम सञ्चालनका लागि कार्यविधि बनाई अविलम्ब कार्यान्वयन गरिने छ । नयाँ पुस्ताका गैरआवासीय नेपालीलाई संघका गतिविधिमा आकर्षित गर्दै स्वदेशसँगको सम्बन्धलाई बलियो बनाउन उनीहरूलाई ‘स्टार्टअप’ बिजनेस र अन्य स–साना लगानीमा प्रोत्साहित गरिने छ ।
५. संगीत, कला र संस्कृतिको विकासमा सहयोग पु¥याउन एनआरएनए क्ष्म्इी नामक सांगतिक कार्यक्रम अविलम्ब शुरु गरिने छ । यो सांगितिक कार्यक्रमले नेपाली डायस्पोराका नेपालीको प्रतिभा प्रस्फुटन हुने मात्रै होइन, मातृभूमि र नेपाली कला संस्कृतिसँग पनि जोड्ने छ । नेपालको कुनै राष्ट्रिय टेलिभिजनबाट कार्यक्रम प्रसारणको व्यवस्था मिलाइने छ ।
५.१ ‘एनआरएनएमा महिलाः सबै कार्यक्रममा पहिला’
१. गैरआवासीय नेपाली संघका विभिन्न जिम्मेवारीमा रहेर योगदान गर्दै आउनु भएका महिला समुदायहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै एनआरएनको सबै अभियानहरूमा ‘एनआरएनएमा महिलाः सबै कार्यक्रममा पहिला’ पद्धति लागू गरिने छ ।
२. नेपालका विश्वविद्यालय, शैक्षिक तथा व्यवसायिक संस्थाहरूमा इन्टर्नशिप गर्न सक्ने व्यवस्था मिलाइने छ । युवा तथा महिलाहरूको उद्यमशीलता अभिवृद्धिका लागि तालिमलगायत अन्य आवश्यक सहयोग गरिने छ ।
३. धेरै महिला दिदीबहिनीहरू पाठेघरको क्यान्सरबाट पीडित हुँदा कयौंले ज्यान गुमाएका छन् भने कयौं उपचार गर्न नसक्ने अवस्थामा छन् । एनआरएनएले यस्तो प्राणघातक रोगको नियन्त्रणका लागि आवश्यक खोपको व्यवस्था देशैभरिका महिलाका लागि गर्न नेपाल सरकारसँगको साझेदारीमा पहल गर्नेछ ।
४. ग्रामीण विद्यालय पठनपाठन गर्ने किशोरीहरूका लागि महिला शौचालय र महिनावारी हुँदा सेनेटरी प्याडको सहयोग गर्ने एनआरएनको यसअघिकै कार्यक्रमलाई निरन्तरता दिइने छ ।
प्रतिबद्धता कार्यान्वयन
विधि र संयन्त्र
१. माथि प्रस्ताव गरिएका मेरा नीति, योजना र कार्यक्रमहरूलाई समेत समेटेर संघको भावी नीति, रणनीति, कार्ययोजना मस्यौदा गर्न र ती कार्ययोजना कार्यान्वयनका लागि आवश्यक प्राविधिक, आर्थिक एवं कानुनी पक्षलाई समेत आत्मसात गर्दै १० दश वर्षे विस्तृत भिजनरी दस्तावेज (Comprehensive Visionary Document) तयार गर्न विशेषज्ञहरू सम्मिलित एक उच्चस्तरीय समिति गठन गरिने छ । नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरू, राजनीतिक दलहरू, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघका साथै गैरआवासीय नेपाली समुदायसँग समेत गहन परामर्श र छलफल गरी आसन्न महाधिवेशनबाट नयाँ अन्तर्राष्ट्रिय समन्वय परिषद् गठन भएको मितिले ६ महिनाभित्र उक्त समितिले विस्तृत भिजनरी दस्तावेज तयार पार्नेछ ।
२. उक्त समितिले तयार पारेको प्रतिवेदनअनुसार नै सन् २०२५ अक्टोबरसम्मको कार्यतालिकालाई संघको वार्षिक क्यालेण्डरमा नै समावेश गरी कार्यान्वयन गरिने छ ।
३. यस प्रतिबद्धता पत्रमा उल्लेख गरिएका नीति, रणनीति र कार्ययोजना कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघका प्रतिनिधि र योजनाविद् तथा विज्ञ/विशेषज्ञ सम्मिलित एक स्थायी समिति बनाइने छ । उक्त समितिको कम्तिमा २ महिनामा १ पटक अनिवार्य बैठक बस्ने तथा कार्यान्वयन प्रक्रियालाई तीव्रता दिइने छ ।
४. यस प्रतिबद्धता पत्रमा उल्लेख गरिएका नीति, रणनीति र कार्ययोजना ठोस रूपमा कार्यान्वयन गर्नका लागि नेपाल सरकार, स्वदेशी र विदेशी निजी क्षेत्र, सम्बन्धित अन्तर्राष्ट्रिय निकायहरूसँगको सहकार्य र समन्वयमा ३ वटा अन्तर्राष्ट्रिय सम्मेलन गरिने छ ।
१. अन्तर्राष्ट्रिय लगानी सम्मेलन
२. अन्तर्राष्ट्रिय ज्ञान सम्मेलन
३. नेपालको परराष्ट्र एवं आर्थिक नीतिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
अन्त्यमा, गैरआवासीय नेपाली संघको उद्देश्य अनुसार काम गरी संघको गरिमा, प्रतिष्ठा र छवि पुनःस्थापित गर्ने तथा माथि उल्लेखित नीति, रणनीति र कार्ययोजनाहरू कार्यान्वयन गर्ने संकल्पका साथ मैले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु । विगतमा जस्तै यसपटक पनि सम्पूर्ण गैरआवासीय नेपाली समुदायको सहयोग, समर्थन, शुभेच्छा र आशीर्वाद पाउने पूर्ण विश्वास लिएको छु । साथीहरूको विवेकसम्मत निर्णयमा सम्पूर्ण गैरआवासीय नेपाली समुदायको साझा संगठन गैरआवासीय नेपाली संघको भविष्य निर्भर छ । त्यसैले गैरआवासीय नेपाली संघको अध्यक्षमा मलाई निर्वाचित गर्नुहुनेछ भन्ने पूर्ण विश्वाससहित तपाईंहरूको अमूल्य मतका लागि संस्थाका संस्थापक, अग्रज, मेरा सहकर्मी, शुभचिन्तक तथा सम्पूर्ण सदस्य साथीहरू समक्ष सविनय हार्दिक अनुरोध गर्दछु ।
जय गैरआवासीय नेपाली समुदाय !
धन्यवाद !
महेशकुमार श्रेष्ठ