Logo

२८ कार्तिक २०८१, बुधबार

भक्तपुर, थिमिका किसानका छोरा उनी, खेत खन्दै, माटोको सुगन्धबोध गर्दै हुर्किए । नेवार समुदायको आदिम रैथाने वस्ती, मदनसुन्दर श्रेष्ठ त्यहिँको बालकुमारी क्षेत्रमा पर्ने दथु टोलमा जन्मिए । उनी हुर्केको समय त्यस क्षेत्र पञ्चायतकालदेखि नै बामपन्थी राजनीतिक विचारबाट प्रभावित थियो । राजनीतिक रुपमा सचेत परिवार ।

२०४३ सालमा सम्पन्न गाउँ/नगर पञ्चायत निर्वाचन ताका बुबासँग श्याम सुन्दर थापाको हाते कल चुनाव चिन्ह भएको पोष्टर टाँस्न गएको उनलाई सम्झना छ ।

सानैदेखि हठी, कोहीमाथि अन्याय भएको सहन नसक्ने स्वभावका थिए उनी । पारिवारिक संगतकै कारण कक्षा सातमा पढ्दैखेरी उनी अखिलमा जोडिए । जुनबेला देशमा पञ्चायत विरोधी उभार बढ्दै गयो । २०४६ सालको जनआन्दोलनताका उनी कक्षा १० मा पढ्थे । विद्यार्थीमाथि नै पञ्चायत पक्षधर केही युवा हातपात गरे । विद्यार्थीमाथि शैक्षिक संस्थाभित्रै पसेर भएको त्यो भौतिक आक्रमणको उनले खुलेर विरोध गरे ।

पाँच हजार घरको भान्साबाट संकलित फोहोरबाट गन्ध नआउने गरी मल उत्पादन गरिन्छ । सो मल बिक्रीबाट साढे तीन करोड रूपैयाँ आम्दानी गरिसकेको छ ।

त्यो घटनाले उनलाई राजनीतिक बाटोमा अघि बढ्न प्रेरित गर्‍यो । थिमिको भेटमा उनी चुनावी माहोलको हतारो, घरदैलो सक्याउनुपर्ने दवावलाई केहीबेर बिर्सेर पुराना दिनसम्झन थाल्छन् ।

‘पहिले त हाम्रो तिर सबैजसो नेवार समुदायकै बसोबास थियो । बाहिरबाट हेर्दा त्यहाँ बस्ने सबै एउटै समुदाय ! एउटै भाषा ! सबै कुरा ठिकठाक छ, यस्तो लाग्नु स्वभाविक हो । तर, एउटै संस्कृति माने पनि, हेर्दा उस्तै देखिए पनि समुदाय दुई वर्गमा विभक्त थियो ।

एउटा वर्ग व्यापार–व्यवसायमा संलग्न, आर्थिक रुपमा सम्पन्न र अर्को किसान वा अन्य नितान्त श्रमसँग जोडिएका मानिस । हुने खानेहरू स्वभाविक रुपमा तत्कालीन सत्ता र शासक वर्गसँग नजिक थिए, समुदायभित्र उनीहरू नै एक तहको सत्ता चलाउँथे । उनीहरूको दलनमा थिए श्रमजीवी वर्ग । उत्पीडित वर्गमाथि सधैंजसो शक्तिमा हुनेहरूको दादागीरि चल्थ्यो ।

बहुदल आएपछि अखिलको जिल्ला कमिटी सचिव हुँदै राष्ट्रिय परिषद् सदस्य भएका उनी २०५१ सालमा एमालेको पार्टी सदस्य भए । टोल कमिटी हुँदै एक दशक पार्टीको नगर संयोजक रहेको उनी हाल बाग्मती प्रदेश कमिटी सदस्य हुन् ।

पाँच वर्षे कार्यकाल

लामो समय नगरकै राजनीतिको नेतृत्व गरेका उनलाई २०७४ सालको स्थानीय निर्वाचनमा एमालेले मध्यपुर थिमि नगरपालिकाको मेयरमा उभ्यायो । सानैदेखि सामाजिक सरोकारसँग जोडिएका उनलाई जनताले पत्याए र उनले पाँच वर्ष नगरको नेतृत्व गरे । यसअवधि जनताले बोध गर्न सक्ने गरी नगरको विकास गरेको उनको मत छ ।

हुने खानेहरू स्वभाविक रुपमा तत्कालीन सत्ता र शासक वर्गसँग नजिक थिए, समुदायभित्र उनीहरू नै एक तहको सत्ता चलाउँथे । उनीहरूको दलनमा थिए श्रमजीवी वर्ग ।

नियमित भौतिक पूर्वाधारका गतिविधि त छँदै छन् । यस ऐतिहासिक सांस्कृतिक सम्पदा नगरीलाई यसको परम्परागत सभ्यता जोगाएर विकासको आधुनिक मोडेल लागू गर्नु त्यति सहज थिएन । यसका लागि उनले नगरका पुरानादेखि युवा पुस्तासम्मको अभिमत सुने । यस्ता शहर विकास गर्न विश्वव्यापी मोडेलको अध्ययन गरे । शहरी विकासका जानकार, विज्ञसँग पनि सल्लाह लिए । नगरका विज्ञ प्राविधिक, अधिकारीहरूसँग छलफल गरे र अघि बढे ।

यसबीच यहाँका पुराना सम्पदाहरूको पुनःनिर्माण भएको छ । पूर्खाको पालामा पानीले भरिभराउ पोखरी वस्ती विकास हुँदै जाँदा खेलमैदान, सभास्थल बनेका थिए । जमिनमुनिको पानीको प्राकृतिक स्रोतका आधार १७ ओटा पोखरीलाई पुनःजीवन दिए । अहिले ती पोखरीहरूमा कतै फूल तैरिरहेका कतै राजहाँस त कतै डुंगा सयर भइरहेका छन् ।

अलपत्र परेका, जीर्ण बनेका,कतिपय अस्तित्वविहीन भइसकेका पाटी/सत्तलको पुनःनिर्माण भएका छन् । हिजो चारैतिर खुला फाँट, हरियाली खेतबारी हेर्दै हुर्केका उनलाई नै शहरमा बस्ति बढ्दै गएपछि भएको भिडभाड, घरले घर छेकिदाँ कहिलेकाँही हैरान लाग्ने । झनै हिँडडुल धेरै गर्न नसक्ने जेष्ठ नागरिकहरूका लागि यी सत्तल (फाल्चा) दोस्रो घर ।

उनीहरू दिनभरीजसो तिनै सत्तलमा भेला भएर आ–आफ्ना जीवन–कथा हालिरहेका हुन्छन् । तर, जब सामुन्नेको कालोपत्रे गरिएको सडक घामले तात्दै जान्छ, यसको रापले उनीहरूलाई विचलित गराउँछ ।

हामीले बनाएका भौतिक पूर्वाधारले प्रकृतिलाई दीर्घकालिन क्षति पुर्‍याउनु हुँदैन भन्ने कुरामा हामी सचेत छौं ।

फेरि यस्ता सडकबाट जमिनमुनि पानीको पुनःसिंचन (सिपेज) पनि हुन नसक्ने रहेछ। नगरभित्रका करिब ७० प्रतिशत भित्री सडकमा ढुंगा विछ्याइएको छ, जहाँबाट पानी पुनःसिंचन हुन संभव छ । यस्ता गल्लीहरूमा हिँड्दा पुरानो समयको झल्को आउने, सत्तलमा बस्न आउने वृद्धवृद्धा पनि खुसी ।

उनी भन्छन्, ‘विकासको नाममा प्रकृतिलाई नजोगाए हामीभन्दा केही पुस्तापछि यो पृथ्वी ध्वस्त हुनसक्छ । त्यसको दायित्व हामीसँग छ भन्ने कुरामा हामी जिम्मेवारीमा बसेकाहरू बढी नै सजग हुनुपर्छ ।हामीले बनाएका भौतिक पूर्वाधारले प्रकृतिलाई दीर्घकालीन क्षति पुर्‍याउनु हुँदैन भन्ने कुरामा हामी सचेत छौं ।’

संस्कृतिको पुनःजीवन

सभ्यता विकासको क्रममा यहाँ अनेक पर्व, जात्रा, नाँचहरूको विकास भएका छन् । तीमध्ये महाकाली, भैरव, अष्टमात्तृका, ज्यापु–ज्यापूनी, नागाजः, भष्मासुरलगायत नाँच बिचमा हराउँदै गएका थिए । उनको पालामा तिनले पुनःजीवन पाए ।

कीजापूजा प्याखँः, चर्खा प्याखँः(कपास र चर्खा पेशासम्बन्धी) लगायत केही नाच ब्यूँताउन भने थप अध्ययन भइरहेको छ ।
सांस्कृतिक नगरीको रुपमा, संस्कृति पुनःजागरणको सन्दर्भलाई हेर्दा देशकै नमूना काम मध्यपुर–थिमि नगरपालिकाभित्र भएको मेयर श्रेष्ठ बताउँछन् । ४५ वटा मन्दिर, ४२ वटा पाटी–पौवा पुरिएर रहेका २७ ओटा ढुंगे धाराको पुनःनिर्माण भए ।

अहिले ती ढुंगेधाराहरूमा पानी झरिरहेका छन् । केही वर्षअघिसम्म फोहोरको डुंगुर थुप्रिरहेका स्थानहरूमा निर्मित पार्कहरूमा ढुक्कले बालबालिका खेलिरहेका छन् । पानी सुकेर, फोहोरले भरिएका २७ वटा इनारको कलात्मक जीवन पाएका छन् ।

नगरपालिकाभरी कहिँ कसैले एक पोको फोहोर सडकमा फाल्न नपरोस् । पालिकाभरी नै फोहोर मैला व्यवस्थापन गरी अरुका लागि अनुकरणीय कार्य गर्ने पनि उनको योजना छ ।

नगरपालिका भित्र पर्ने तीन वटा मल्लकालीन दरबार मध्ये दुई वटाले अब नगरको पर्यटन कडीलाई जोड्ने भएका छन् । एउटाको काम बाँकी छ । ९ वटामध्ये ४ वटा बुद्ध बिहारको स्वरुप पनि बदलिएको छ ।

एक सय शय्याको अस्पताल

उपत्यका राजधानी हो, यहाँ देशका सबै सुविधा उपलब्ध छन् । तर, ती सुविधा उपभोग गर्न सक्ने हैंसियत नभएका ठूलो जनसंख्या पनि यहीँ छ । सर्वसाधारणले सहज उपचार पाउन् भन्ने हेतुले उनकै पहलमा पालिकाभित्रै एक सय शय्याको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल नगरपालिकाकै पहलमा सञ्चालित छ ।

चरम कोभिड कालमा अक्सिजन प्लान्ट, पिसिआर ल्याब स्थापना गरी सुविधा प्रदान ग¥यो । पालिकाको पहल देखेर दक्षिण कोरियाली सरकारले नगरपालिकाको स्वास्थ्य पूर्वाधार विकास गर्न एक अर्ब पाँच करोड रूपैयाँ अनुदान स्विकृति गरी पठाइसकेको छ ।

फोहोरबाट करोडौं आम्दानी

राजधानी भन्नु मात्रै, फोहोर दुर्गन्धले नाक छोपेर हिड्नुपर्ने बाध्यताबाट यो पाँच वर्षमा पनि नगरबासी मुक्त भएनन् । चोक–चोकमा उभिएका फोहोरको पहाडले महानगरको सभ्यतालाई गिज्याइरह्यो । जतिसुकै विकासको चर्चा गरे पनि यस्तो दृष्य भोग्नुपर्ने परिस्थितिबाट माथि नउठे के महानगर ? मेयर बन्नु अघिदेखि मदन सुन्दरको मनमा हिर्काइरहने प्रश्न थियो यो ।

मेयर बनेपछि उनको नगरभित्र उत्पादित फोहोरको वैज्ञानिक व्यवस्थापनको पहल सोचे । उनको पहलमा जापानी प्रविधिको रिकिसी कम्पोष्ट प्रोजेक्ट सञ्चालन गरेका छन् । पाँच हजार घरको भान्साबाट संकलित फोहोरबाट गन्ध नआउने गरीमल उत्पादन गरिन्छ । मल बिक्रीबाट साढे तीन करोड रूपैयाँ आम्दानी गरिसकेको छ ।

उक्त प्राङ्गारिक मल राष्ट्रपति कार्यालयको बगैंचालगायत भीआईपी निकायहरूमा प्रयोग हुँदै आएको छ । अहिले नमूनाका रुपमा लागू गरिएको प्रजेक्ट पालिकाभरी विस्तार गर्ने उनको सपना छ ।

व्यवस्थित शहरीकरण

सम्पदा वस्तीलाई परम्परागत रुपमा सोही रुपमा विकास गर्ने । अव्यवस्थित बसोबासलाई नियन्त्रण गर्र्दै उनले व्यवस्थित शहरीकरण गर्न ल्याण्ड पुलिङको नीति अपनाएका छन् । यस अन्तर्गत ११ ओटा आयोजना अघि बढ्दै छ । उनी भन्छन्, ‘वस्ती विकास तथा जग्गा एकीकरण ऐनभित्र रहेर ल्याण्ड पुलिङ गर्ने हाम्रो पहिलो नगरपालिका हो । तीव्र गतिमा बढ्दो शहरीकरणलाई अब पनि व्यवस्थित गर्न नलाग्ने हो भने हामीलाई अर्को पुस्ताले धिक्कार्ने छन् ।’

मलाई मेरै नगर मात्रै सफा भएर पुग्दैन । यसको श्रेय आफैं मात्रै लिएर बस्नु पर्ने साँघुरो सोच पनि मेरो छैन । मलाई त सिंगो उपत्यका सफा र सुन्दर बन्नुपर्छ । यसरी नै अरु शहरहरू सफा हुनुपर्छ ।

यो काकाकुल शहरमा खानेपानीको राम्रो व्यवस्थापन हुनु मात्रै पनि जनताको अनुहारमा उज्यालोको एक धर्को देखिनु हो । यस बीचनगर क्षेत्रमा भएको खानेपानीको व्यवस्थापन । ५५ करोड रुपैयाँ लागतमा पालिकाले खानेपानीको व्यवस्थापन पाएका छन्।

यसरी संख्यामै गन्न सकिने विकासका गतिविधिको फेहरिस्त लाउँदै गर्दा उनलाई लाग्यो, गर्न त अझ धेरै नै बाँकी छ । यस पाँच वर्षमा गर्दागर्दै आधा भएका गतिविधि पनि प्रसस्तै छन् । नेपाल कोरियामैत्री नगरपालिका अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्न बाँकी छ ।

अस्पतालकै आधारमा एउटा मेडिकल कलेज सञ्चालन गर्ने सपना छ । ल्याण्ड पुलिङ गरिएका प्रजेक्टहरू अघि बढेका छन्, पूरा गर्न निकै काम गर्नु छ । सांस्कृतिक तथा प्राकृतिक सम्पदा पुनःनिर्माणका कार्य पनि अधुरा छन् ।

नगरपालिकाभरी कहिँ कसैले एक पोको फोहोर सडकमा नफाल्न नपरोस् । पालिकाभरी नै फोहोर मैला व्यवस्थापनको प्लान्ट राखी अरुका लागि अनुकरणीय कार्य गर्ने पनि उनको योजना छ ।वातावण पनि सफा हुने, प्राङ्गारिक मल उत्पादन हुने र फोहोरको डुंगुरबाट निस्कने दुर्गन्ध र कुरुप दृष्यबाट सबैलाई बाहिर निकाल्न मन छ उनलाई । नसड्ने वस्तुबाट रिसाइकल प्रजेक्टहरू सञ्चालन गर्ने पनि सोच छ ।

‘मलाई मेरै नगर मात्रै सफा भएर पुग्दैन । यसको श्रेय आफैं मात्रै लिएर बस्नु पर्ने साँघुरो सोच पनि मेरो छैन । मलाई त सिंगो उपत्यका सफा र सुन्दर बन्नुपर्छ । यसरी नै अरु शहरहरू सफा हुनुपर्छ ।नेपालका शहरलाई स्वच्छ र सुन्दर राख्नदेशैभरका स्थानीय निकाय तथा नेपाल सरकारको सम्बन्धि निकायसँग हातेमालो गरी काम गर्ने सपना छ । खासमा मलाई प्रकृतिलाई जोगाएर गरिने विकासमा विश्वास छ । यिनै अधुरा सपना पूरा गर्न मैले फेरि उम्मेदवारी दिएको हुँ ।’

यी सबै विकासलाई पर्यटनसँग जोड्दै ‘गन्तव्य मध्यपुर थिमि’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ । पर्यटन मार्फत् जनताले अनुभूत गर्ने गरी आर्थिक विकास गर्ने र समृद्ध नगर जनतालाई हस्तान्तरण गर्ने उनको सोच छ । मदन सुन्दर भन्छन्, ‘विकास निर्माणलाई सभ्यता र सामाजिकरणकै प्रक्रियासँग जोड्ने कोशिस गरिरहेको छु ।’

प्रकाशित मिति: २४ बैशाख २०७९, शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *