काठमाडौं । यतिबेला देशभर स्थानीय तहको निर्वाचनको माहोल छ । नेता कार्यकर्ता मात्रै होइनन्, मतदाता पनि तेरो पार्टी र मेरो पार्टी भन्दै आ–आफ्नो पक्षको उम्मेदवारलाई जिताउन लागिपरेका छन् ।
नयाँ संविधान जारी भएपछिको पहिलो स्थानीय तहको निर्वाचनका बेला म घरमै थिए । जुम्लामा जौ पाकेर पहेँलै थियो । काटेर भित्र्याउन तयार थिए किसान । हिमालमा ढिलो गरी बाली पाक्ने भएका कारण पनि एउटा बाली भित्र्याउने बित्तिकै अर्को बाली लगाइहाल्नुपर्छ ।
यता ब्याडमा धानको बिउ तयार थियो । जेठको पहिलो सातादेखि नै रोपाइ सुरु हुन्छ । रोपाइका बेला सबै आ–आफ्नै बारीमा व्यस्त हुने भएका कारण ज्यालादारी कामदार पाउन मुस्किल हुन्छ । त्यसैले पनि बैशाख अन्तिमदेखि नै गाउँमा रोपाई गर्ने मिति तोकिन्छ । पर्म लगाएर रोपाइ गर्ने हुनाले एकैदिन दुई–तीन जनाको भन्दा धेरैको रोपाइ हुँदैन ।
त्यसबेला मेरो मामाघरमा रोप्नेरी पाउनै मुस्किल भयो । कारण थियो, स्थानीय चुनाव । मत हाल्न त एकदिन नै हो नि । तर, लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि चुन्नका लागि आएको निर्वाचनले पूरै गाउँ वैचारिक रुपमा विभाजित बनायो । त्यतिमात्रै होइन, मेरै मामाघरभित्र पनि तीनतिर लागे । एक भाई कांग्रेस, एक भाई एमाले र कान्छा थिए जनयुद्धदेखि नै होमिएका खाँटी माओवादी ।
न मारिने उम्मेदवार थिए, न मार्ने र कुट्ने नै उम्मेदवार हुन् । यो परिस्थिति आउनुमा हाम्रा दल नै मुख्य जिम्मेवार छन् ।
घरमा बुहारीहरुबीच पनि बोलचाल बन्द हुने भयो । धन्न भाइ–भाइ बसेर थोपरिएको वैचारिक विवादलाई पारिवारिक सम्बन्धका अगाडि मत्थर पारे । गाउँमा भने एक अर्काबीचमा बोलचाल नै बन्द भयो । ताल परे आ–आफ्नो दलको समर्थनमा कुटाकुट नै गर्ने स्थिति बन्यो ।
अझ दलको समर्थन मात्र कारण थिएन । मुख्य कारण थियो घरघरमा भिन्न भिन्न दलका झण्डा । केन्द्रमा भन्दा पनि गाउँमा राजनीतिक माहोल धेरै भयो । सबैको ध्यान स्थानीय तहको विकास गर्नसक्ने नेतृत्व छान्न भन्दा पनि आफू समर्थित दलको उम्मेदवारलाई नै जिताउन थियो ।
पाँच वर्षपछि घुमिफिरि फेरि स्थानीय तहको निर्वाचन मुखैमा छ । आगामी पाँच वर्षका लागि जनप्रतिनिधि छान्न भोलि निर्वाचन हुँदैछ । त्यसबेला विभाजित भएका जनता अझै मिलिसकेका थिएनन् । अलिअलि भएको बोलचाल पनि पुनः यो चुनावले बन्द गराएको छ ।
निर्वाचन निश्चित नेतृत्व छनोटका लागि हुन्छ । एउटा दलले आफ्नो प्रतिनिधि उम्मेदवार बनाउँछन्, निर्वाचन हुन्छ र जितेपछि त्यो माहोल त्यसै सेलाउँछ । तर, चुनावको रापले वैचारिक मात्रै होइन, भावनात्मक रुपमा समेत परिवारदेखि छिमेक र गाउँलेलाई विचाजित गराउँछ । त्यसबेलादेखिको तुष कैयौं वर्षसम्म मेटिँदैन ।
अहिलेको चुनावमा पनि मतदान अघि नै गाउँमा बोलचाल बन्द हुने मात्र होइन, मारामारकै स्थिति सिर्जना भएको छ । भर्खरै मात्रै ताप्लेजुङ र रोल्पामा दुई जना मारिएका छन् । कैयौं कुटिएका पनि छन् । न मारिने उम्मेदवार थिए, न मार्ने र कुट्ने नै उम्मेदवार हुन् । यो परिस्थिति आउनुमा हाम्रा दल नै मुख्य जिम्मेवार छन् । अझ जिम्मेवार त उनीहरुले दिने प्रशिक्षण नै मुख्य हो ।
वर्षौं सत्तामा रजाई गरेका र देशको प्रमुख जिम्मेवारी नै सम्हालेका नेताबीचको जुहारी हेर्दा नै कस्तो खालको राजनीतिक संस्कार स्थापित भइरहेछ भन्ने बुझ्न सकिन्छ । तल्लो स्तरसम्म गिरेर प्रधानमन्त्री भइसकेकाहरुबाटै अभिव्यक्ति आइरहेका छन् । अनि उनीहरुलाई नै शिरोधार्य गर्ने तल्लो तहका जनतामा त्यो प्रभाव नपर्ने त कुरै भएन ।
यो कस्तो चुनावी प्रणाली हो, एक दलको कुनै अमुख उम्मेदवार जिताउन निर्दोश जनताको बलि चढाउनुपर्ने ।
विकसित मुलुकमा उम्मेदवारहरु आफ्ना विकासका एजेण्डा लिएर जनतामाझ जान्छन् । उनीहरुका विचार र एजेण्डा सुनेरै जनताले मतदान गर्ने हुन् । तर, विडम्बना हाम्रोमा हेर्ने हो भने अहिले उम्मेदवार बनेका जनप्रतिनिधिमा कुनै स्थानीय एजेण्डा छैनन् । केन्द्रबाट जारी हुने पार्टीका एजेण्डाले दिनभर कमाएर गरिखाने जनतालाई के प्रभाव पर्छ र ?
अहिलेका स्थानीय तहका उम्मेदवारका घोषणापत्र हेर्दा पूरै संघीय चुनाव लागेको भान हुन्छ । मेट्रोरेल, जहाज, सुरुङ, व्यवस्था परिवर्तन लगाएका मुद्दा नै प्रमुख छन् । जबकी यस्ता योजनामा न स्थानीय सरकारको अधिकार नै छ, न स्थानीय सरकारको ल्यागतले भ्याउँछ नै ।
विडम्बना नै मान्नुपर्छ, स्थानीय जनप्रतिनिधिका उम्मेदवारसँग त्यहाँका जनताका लागि आवश्यक योजना छैनन् । जसले आधारभूत आवश्यकतामाथि सम्बोधन गर्न सकिरहेका छैनन् ।
यो कस्तो चुनावी प्रणाली हो, एक दलको कुनै अमुख उम्मेदवार जिताउन निर्दोश जनताको बलि चढाउनुपर्ने । दलले यसरी प्रशिक्षण दिन्छन् कि भिन्न दलको उम्मेदवार जतिसुकै क्षमतावान र राम्रो भए पनि त्यसको कुनै महत्व हुँदैन ।
अपराधी नै भए पनि आफ्नो दलको उम्मेदवारलाई जसरी पनि जिताउनुछ । त्यहि प्रशिक्षणको प्रभावमा परेर आफ्नै परिवार, छिमेकी र गाउँलेसँग नै सम्बन्ध बिगार्छन् । मध्यराति आपत पर्दा, अस्पताल लैजाँदा, विवाह ब्रतबन्ध लगायतका शुभकार्य हुन् या मृत्युपर्यन्त मसानघाटसम्म काँध हालेर लैजाने छरछिमेककै मानिस हुन् ।
भोलि फेरि यस्ता घटना हुँदा कुनै दल आउँदैन, भोको हुँदा कुनै दलको कार्यालयमा गएर खान पाइँदैन, अैचोपैचो चलाउनुपर्दा कुनै दलले सहयोग गर्ने होइन, पर्दा होस् या मर्दा छिमेकी र परिवार नै चाहिने हो ।
‘जंगलमा त्रास भयो, बाहिर असुक्षित भयो भने सुरक्षाका लागि घर नै उपयुक्त हुन्छ’ यो उक्तिलाई उल्ट्याउने प्रयास कसैले नगरौं ।
चुनावका बेला पार्टीका कारण विभाजित नै नभएको मेरो मामाघरमा केही वर्षअघि मामाको कान्छो छोरा बिरामी भए । हिजो जुन दल र विचारका कारण दुई भाईबीच बोलचाल बन्द भएको थियो, पछि उनी दाइले उनलाई लखनउसम्म लगेर उपचार गराए ।
पहिले परिवार, छिमेक र समुदाय हो न कि विचार । एउटा समुदाय पूर्ण भएपछि मात्रै विचार जन्मिन्छ । यदि हामीले पहिले विचार अनि मात्र परिवार र समुदाय सोच्न थाल्यौं भने त्यो बिखण्डनतिर जान्छ । प्रत्यक्ष होस या अप्रत्यक्ष रुपमा अहिलेका दलले विचार लाद्ने नाउँमा परिवारभित्रै विखण्डन निम्त्याइरहेका छन् ।
यो एक समुन्नत समाज निर्माणका लागि ठूलो बाधक हो । एक अर्काबीचमा भावनात्मक रुपमा अैचोपैंचोका हिसाबले चलायमान भइरहेको समाजमा यसरी वैचारिक भिन्नताका कारण लडाउन थाले पनि न जनता रहन्छन् न समाजले नेतृत्व गर्ने सक्षम मानिस नै जन्माउन सक्छ ।
त्यसैले लामो समयपछि एकपटक आउने चुनावका कारण समुदायमा छर छिमेकसँग सम्बन्ध नबिगारौं । परिवारभित्रकै रडाको नमच्चाउँ । भोलि आपतविपतमा चाहिने परिवार र समुदाय नै हो । ‘जंगलमा त्रास भयो, बाहिर असुक्षित भयो भने सुरक्षाका लागि घर नै उपयुक्त हुन्छ’ यो उक्तिलाई उल्ट्याउने प्रयास कसैले नगरौं ।
अहिले हेर्दा चुनावका लागि मात्रै यस्तो भएको हो भन्ने बुझिएला तर, मानविय स्वभाव नै हो यस्तोबेला गरेका व्यवहारहरु बिर्सन सकिँदैन । लामो समयसम्म ‘ईगो’का रुपमा मनमै गढिरहन्छ । यदि घर, समाज नै सुरक्षित भएन भने भोलि कहाँ जाने ?