- कृष्ण सेन इच्छुक
मानौँ मेरो मौन प्रश्नले पारिजातको मर्मस्थललाई छोयो र अनिच्छाको बावजुद उहाँले देशको परिवर्तित राजनीतिक परिवेश र वर्तमान अवस्थाका बारेमा आफ्ना विचारहरूलाई यसरी व्यक्त गर्नुभयोः
‘बदलिएको वर्तमान परिवेशमा हिजोभन्दा आज केही त बदलिएको पाएको छु किनभने सहिदहरूले राष्ट्रका निम्ति जति आहुति चढाएका छन् त्यो त्यसै खेर त गएको छैन । सत्ता जसले हामीमाथि कुल्ची नै राखेको हुन्छ, त्यसले सधैँ नै कुल्चिराख्न सक्तैन भन्ने कुरा ०४६ सालको जनआन्दोलनले प्रमाणित गरेको छ । तर, हामीले जे जति पाएका छौं त्यो आंशिक मात्र पाएका छौं । हिजोको पञ्चायती शैलीको ठाउँमा नयाँ शैली आएको छ । अहिले पनि हामी स्वतन्त्र र फुक्का भएका छौं– त्यो कसैले भन्दै र म पनि भन्दिनँ ।’
पारिजातको वर्तमानप्रतिको वस्तुगत दृष्टि र सारगर्भित भनाइपछि मैले राजनीतिक सन्दर्भलाई साहित्यतिर मोड्दै सोधेँ,
‘दिदी, गत वर्ष दाङमा तपार्ईंले उत्कृष्ट साहित्य सिर्जना गर्नका लागि दमन र निरङ्कुश परिवेश बढी उपयुक्त हुन्छ भन्नुभयो । यसले केही भ्रम सिर्जना गरेकोले स्पष्ट पारिदिनु हुन्छ कि ?’
‘तपाईंले यही सोध्नुहुन्छ नै भनेर मैले पर्खिरहेकी थिएँ ।’ पारिजातले भन्नुभयो, ‘दमन जति हुन्छ त्यति कविता प्रखर हुन्छ । दमनपछि सबै केही हल्का अनुभव गर्छन् अनि साहित्य पनि केही हल्काफुल्का भएर आउनु स्वाभाविकै हो । अहिले कविता मात्र होइन अन्य विधामा पनि हल्कापन आएको छ । हामीले दमनका बेला जसरी कविताहरू लेख्यौँ आजभोलि त्यसरी घोच्ने कविता लेखिएको पाइएको छैन ।’
समाजको वास्तविकतालाई, वर्गसङ्घर्षको रूप दिएर त्यो मूल्य दिएर लेखेका छन् भने ‘तिमीले जे लेखेका छौ, त्यो सत्य हो र यो प्रगतिशीलताभित्र पर्न आउँछ’ भन्ने ‘गट्स’ हामीमा हुनुपर्छ । छुट्याउने किन ?
‘त्यसो भएर उच्चस्तरका कविताहरू सिर्जना हुनका लागि निरङ्कुश सत्ता र दमन नै हुनुपर्छ भन्ने मान्यता होकि तपार्ईंको ?’ अमर गिरीले त्यसै प्रसङ्गमा अर्को प्रश्न थप्नुभयो ।
‘होइन । त्यो मान्यता लिएर म गएको होइन तर हामी त्यो दमनकारी सरकारी सत्ताको अन्त्य भएर धेरै टाढा आएका छैनौं । हाम्रो समाज धेरै टाढा आएर अर्को ठूलो परिवर्तनको स्थितिमा पनि पुगिसकेको छैन । सायद यही सङ्क्रमणको बीचमा के लेखौं के लेखौं भएर हाम्रो कविता विधामा प्रखरता नआइसकेको होला ।’ आफ्नो पूर्वकथनलाई पारिजातले स्पष्ट पार्ने प्रयत्न गर्नुभयो ।
‘अरूलाई के लाग्छ कुन्नि ? एकाध रचनाहरूको कुरा बेग्लै हो तर मलाई अहिलेका रचनाहरू त्यसो भए जस्तो लाग्दैन ।’
यसै प्रसङ्गमा अमर गिरीले अचेलका प्रगतिवादी कविता र गैर प्रगतिवादी कविता पढेर तिनको कथ्य, शिल्प–शैली र प्रतिबद्धताका आधारमा हामीले लेखक वा कविहरूलाई यो पक्षधर र त्यो पक्षधर भनी छुट्याउन गाह्रो भएको चर्चा गर्नुभयो । पारिजातले अमर गिरीको भनाइसित असहमति जनाउँदै भन्नुभयो, ‘हामी मात्रै प्रगतिवादी र तिमीहरू होइनौ भनेर एउटा लक्ष्मणरेखा कोरेर बस्ने स्थिति नपारौं किनभने जुन भेल ठूलो हुन्छ त्यसले उताबाट ल्याउने हो । प्रगतिवादी भेल बढेर जान्छ भने उनीहरूलाई हामी किन अस्वीकार गरौं ! समाजप्रति संवेदनशील भएर, जनताको पीरमर्का बुझेर राम्रा कविताहरू लेख्छन् भनेपछि त्यसमा तिमीहरूको नाउँ अर्कै हो, हामीहरूको नाउँ अर्कै हो त्यो म भन्दिनँ । समाजको वास्तविकतालाई, वर्गसङ्घर्षको रूप दिएर त्यो मूल्य दिएर लेखेका छन् भने ‘तिमीले जे लेखेका छौ, त्यो सत्य हो र यो प्रगतिशीलताभित्र पर्न आउँछ’ भन्ने ‘गट्स’ हामीमा हुनुपर्छ । छुट्याउने किन ?’
‘बाल्जाकजस्ता लेखकहरूको चर्चा गर्न खोज्नुभएको होला दिदीले…।’ ताराकान्त पाण्डेय आफ्नो मौनता भङ्ग गर्नुभयो ।
उनीहरूले सकेसम्म त समाजलाई समान रूपमा, एउटा उत्कृष्ट साम्यवादमा पुग्नै दिँदैनन् । यस्तो अवस्थामा हाम्रो उत्तरदायित्व के बाझिरहने हो त सधैँभरि ? बाझ्ने पक्षलाई एकातिर छाडिदिऊँ । हामी त अगाडि बढ्ने हो ।
अमर गिरीले आफ्नो विचार स्पष्ट पार्दै भन्नुभयो, ‘सवाल प्रगतिवादी भेल बढाउनेभन्दा पनि माक्र्सवादी दर्शनप्रति प्रतिबद्ध भएर लेख्ने कि नलेख्ने भन्ने हो । आखिर प्रगतिवादको आफ्नो दार्शनिक आधार र सौन्दर्यशाश्त्र सम्बन्धी आफ्नै मूल्य र मान्यताहरू छन् । अब त्यसलाई आत्मसात् गरेर जाने कि नजाने ? त्यसअनुसार हामी अगाडि बढ्ने कि नबढ्ने भन्ने सवाल प्रमुख हो जस्तो लाग्छ ।’ मित्र ताराकान्त र म उत्सुक स्रोता बनेर सुनिरहन्छौँ । पारिजात र अमर गिरीका बीचका गम्भीर र रोचक छलफल चल्छ । सधैँभरि व्यस्त देखिनु हुने सुकन्या दिदी आज पनि व्यस्तताका बीच आक्कल झुक्कल कोठामा पस्नु हुन्छ र मिठो र सरल मुस्कान बाँडेर फेरि बाहिर निस्कनु हुन्छ । यसैबीच चिया आइपुग्छ । कुराकानी भने जारी नै रहन्छ । पारिजातले पनि आफ्ना विचारहरू स्पष्टताका साथ राख्दै जानुहुन्छः
‘तपार्ईंले भन्नुभएको त्यो पहिचान छुट्ला भन्ने भय हामीले लिनु हुन्न । हामी आफ्नो प्रगतिवादी मूल्य, मान्यता वा सिद्धान्तमा छुटेका पनि हुँदैनौँ र छुट्दैनौँ पनि । अब त हामी प्रतिबद्ध भइसक्यौँ । कोही त यस्ता पनि हुन्छन् कि प्रतिबद्धताबाट फुत्केर यता पनि आउँछन् । तर राजनीतिको चिरफार गरेजस्तै हामीले हाम्रो साहित्यिक संसारलाई त्यति ठूला–ठूला हतियारले चिरफार गर्न लाग्यौं भने त अन्याय नै होला कि साहित्यकारहरूप्रति ।’
‘साहित्यकारहरूप्रति अन्याय हुन जाने वा अन्य कुरा आफ्नो ठाउँमा छँदैछ तर आज प्रगतिवादी कविता र मार्क्सवादी सौन्दर्यमाथि चौतर्फी हमला र आक्रमण भइरहेको यस अवस्थामा प्रगतिवादी स्रष्टाहरूले यसलाई अझ सशक्त ढङ्गले उठाउनु पर्ने हो कि जस्तो लाग्छ मलाई । दिदीलाई कस्तो लाग्छ ?’
‘उनीहरूबाट आएको आक्रमण प्रगतिवादी लेखक वा साहित्यकारप्रति नभएर सिद्धान्तमाथि नै हो जुन सिद्धान्तलाई उनीहरू रोक्नै चाहन्छन् र अवरोध पु-याउन चाहन्छन् । मेरो विचारमा राजनीतिक प्रयास हो यो । उनीहरूले जतिसुकै प्रयास गरे पनि, जतिसुकै अवरोध खडा गरे पनि समाज त अगाडि बढ्छ । समाजभित्र जुन द्वन्द्व छ त्यो उनीहरूले रोकेर रोकिने कुरै होइन । उनीहरूले सकेसम्म त समाजलाई समान रूपमा, एउटा उत्कृष्ट साम्यवादमा पुग्नै दिँदैनन् । यस्तो अवस्थामा हाम्रो उत्तरदायित्व के बाझिरहने हो त सधैँभरि ? बाझ्ने पक्षलाई एकातिर छाडिदिऊँ । हामी त अगाडि बढ्ने हो ।’
समाजवाद र समाजविकासको कुरा छ, त्यो तुरुन्तातुरुन्तै टुङ्गो लाग्ने कुरा होइन । यो त लाखौँ वर्षको इतिहास हुन्छ ।
मैले उहाँहरू दुवैको बहसमाथि हस्तक्षेप गर्दै कुरालाई अलि विषयान्तर गरेर अघि बढाउने प्रयत्न गरेँ ।
‘दिदी आज मार्क्सवाद म-यो, समाजवाद असफल भयो भन्ने जुन विश्वव्यापी हल्ला छ । यसको असरले हाम्रो देशमा खास गरेर नेपाली प्रगतिवादी साहित्यमा कस्तो विचलन र प्रभाव ल्याइरहेछ ?’
पारिजात भन्नुहुन्छ, ‘खै साहित्यमा त्यसको असर के कति प-यो र के कस्ता विचलन ल्यायो त्यो त मलाई थाहा छैन तर मार्क्सवाद म-यो र समाजवाद असफल भयो, ढल्यो भन्ने कुरा म मान्दिनँ । सिद्धान्त कसरी मर्न सक्छ ? यो त जलाएर, च्यातेर मार्न सक्ने कुरा हैन नि । प्रकृतिमा रहेको सिद्धान्तलाई कसै नि नष्ट गर्न सक्दैन । प्रकृतिमा निहित अन्तर्विरोधको नियम रहेसम्म यो मर्ने वा नष्ट हुने प्रश्नै आउँदैन । जहाँसम्म समाजवाद र समाजविकासको कुरा छ, त्यो तुरुन्तातुरुन्तै टुङ्गो लाग्ने कुरा होइन । यो त लाखौँ वर्षको इतिहास हुन्छ ।’
पारिजात आफ्नो सधैँको सुखदुःखको एक्लो साथी खाटमाथि बसेर कुराकानी गरिरहनुभएको हुन्छ । उस्तै गम्भीर र भव्य अनुहार र उनी शान्त र सौम्य बोली । एक मनमा लागिरहेको हुन्छ, आखिर पारिजातलाई के भएर छ र ? तर होइन, उहाँ रुग्ण र असक्त हुनुहुन्छ । उहाँको बोली र अनुहारले सधैँ त धोखा दिइरहेको छ हामीलाई । म सोच्छु र गम्भीर हुन्छु ।
०००
(२७ साउन, २०४९, मङ्गलबार जनादेश साप्ताहिकमा प्रकाशित यो आलेख इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा प्रकाशित ‘इच्छुक रचनावली–भाग ३’ बाट लिइएको हो)