गिरफ्तार परेको त्यो साँझ, त्यसपछि बित्यो १४ वर्ष जेलमा
कहालीलाग्दा यातनाका शृंखलादेखि जेलभित्रको जेलसम्मको सम्झना
समय बितेको पत्तै भएन, आधा शताब्दी बितिसकेछ, यो साँझ म त्यो साँझ सम्झँदै छु ।
५० वर्षअघि आजैको दिन अर्थात २०३० साल आश्विन २३ गते । रौतहटमा घाम अस्ताएको एकैछिन पछिको मिरमिरे साँझ । म र मोहनचन्द्र अधिकारी पार्टी कामको सिलसिलामा रौतहटको इनरवारीबाट कोपुवा भन्ने गाउँमा जाँदै थियौं । इनरवारी अलिक पूर्व उत्तरमा पर्छ, कोपुवाचाहिँ पश्चिम दक्षिणमा पर्छ । होला, एक घन्टाको बाटो ।
कोपुवामा हाम्रो सम्पर्क व्यक्ति तथा आश्रयदाता थिए सुरज । उनी पार्टीकै कार्यकर्ता थिए । उनले हामीलाई लिन भनेर भाइ पठाएका थिए, उनको नाम भने बिर्सिएँ । उनीसँग .इनरबारीबाट हिड्न तयार भयौं । हिँड्नुअघि उनले त्यहाँको पसलमा बोत्तलमा केही किने र बिर्को लगाए । मैले ‘के किनेको’ भनेर सोधेँ, उनले मट्टितेल किनेको भने, होला भन्ने ठानेँ । उनी नै हामीलाई बाटो देखाउने ‘गाइड’ थिए, उनकै पछि लाग्यौं ।
कोपुवा गाउँभन्दा अलिक उत्तरपट्टि बाटो अलिकति साँघुरो छ, दुईतिर पोखरी छ । दुईपट्टि पोखरी भएको साँघुरो बाटोमा हिँड्दै गर्दा पाँच–सात जनाजति पुलिस भेटिए, बन्दुक बोकेका । उनीहरू अलमल गर्दै थिए खुल्ला बाटोबाट पोखरीतिर पस्ने ठाउँमा । हामी फटाफट आफ्नो बाटो लाग्यौं ।
ती पुलिसहरू बिस्तारै हाम्रो पछिपछि आए । अलिक अघि पुगेपछि अगाडिबाट पनि पुलिसहरू आए र सोधिखोजी गर्न थाले । उतापट्टि पनि पुलिस छ, यतापट्टि पनि पुलिस छ, दायाँबायाँ पोखरी छ, बाटो साँघुरो छ । पहिले भेटिएका पुलिसले हामीलाई सोध्दै सोधेनन्, हामी फटाफट गयौं । हामीलाई ठ्याक्क बिचमा पारे ।
त्यसपछि, केही सोधेजस्तो गर्न थाले । ‘कहाँ जाने ? कता हिडेको ?’ पुलिसमध्येकै अर्कोले भन्यो, ‘गोपुवा जाने उहाँहरू, सुरजको घरमा जाने ।’ त्यसरी हामीलाई अल्मल्याएको मात्रै रहेछ, उनीहरू पहिले नै हामीलाई गिरफ्तार गर्ने निश्चित भएर आएका रहेछन् । त्यो भाइले पनि हामीलाई झुक्याएका रहेछन् । वस्तुत: अरूसँगै मिलेर हामीलाई लिन गएका रहेछन् । पुलिस बोलाएर ठिक ठाउँमा राखिएको रहेछ ।
हामीलाई उनीहरू बास बसेको घरको खाँबोमा सिक्रीले बाँधेका थिए । चल्ने चट्पटाउने ठाउँ थिएन । एक त प्रहरीको फन्दामा पर्नु, दोस्रो खाँबोमा बाँधेको छ, निद्रा लाग्ने कुरै भएन, यसो झुलियो होला कहिलेकसो ।
शिउचन्दर भन्ने हवल्दार रहेछन् । शिवचन्द्रलाई त्यताको लवजमा शिउचन्दर उच्चारण गर्ने चलन हुन्छ । ती हवल्दारले ‘खै ले बाबु’ भनेर त्यो भाइको हातबाट मट्टितेल भनेर बोकेको बोतल लिए अनि खोलेर घुटुघुटु पिउन थाले । त्यसपछि पो हामीलाई थाहा भयो त्यो मट्टितेल नभएर अर्कै ‘चिज’ रहेछ । शिउचन्दरका साथै अरु दुई–तीन जनाले पनि घुट्क्याएर त्यो बोतल त्यहीँ सिध्याए ।
हामीलाई पक्राउ परेको बोध भयो, उम्किने स्थिति थिएन । हामीलाई चोहर्वा, पिपरिया भन्ने ठाउँमा लगियो । हत्कडी लगाएर बाँधेर राखे त्यस रात । गाउँलेहरूले खान बनाएका थिए, त्यसैले खानचाहिँ दिए ।
हामीलाई बास बसेको घरको खाँबोमा सिक्रीले बाँधेका थिए । चल्ने चट्पटाउने ठाउँ थिएन । एक त प्रहरीको फन्दामा पर्नु, दोस्रो खाँबोमा बाँधेको छ, निद्रा लाग्ने कुरै भएन, यसो झुलियो होला कहिलेकसो । हामीलाई त्यतिकै छोडेको भए पनि कुनै उपाय लाग्दैनथ्यो । उनीहरू हतियारसहित ड्युटीमा तैनाथ थिए ।
त्यसरी ५० वर्ष अघि म र मोहनचन्द्र अधिकारी गिरफ्तार भएका थियौं । त्यो साँझपछि हामीले त्यसरी खाना नै खान पाएको त एकैचोटि मंसिर ३ गते बेलुका चन्द्रनिगाहपुरमा हो ।
त्यहाँ राम्रा मानिस पनि थिए । थुनुवा वा कैदीलाई नपिट्ने, अरुले पिट्दा पनि आँसु खसाउने खालका थिए । शिउचन्दरचाहिँ अति दुष्ट र भ्रष्ट मानिस थिए ।
भोलिपल्ट हामीलाई सिडियो कार्यालय गौर लगियो । एकैछिन फराकिलो ठाउँमा राखियो, केहीपछि सानो जेलतिर हाल्ने भनेर अर्कातिर लगियो । त्यहाँ एक महिलालाई पनि थुनिएको रहेछ । ती महिलालाई देख्दा काम गर्ने मान्छे होला भन्ने लागेको थियो, तर होइन रहेछ । सुत्ने बेलामा थाहा भयो, उनको एउटा कोठा रहेछ, हाम्रो एउटा रहेछ ।
उनीसँग पनि कुराकानी भयो, उनलाई पनि विनादोष फसाएर राखिएको रहेछ । गर्भपतन गराएको भन्ने आरोपमा ज्यान मुद्दा लगाएर थुनेको रहेछ । केही पुलिसहरू मान्छेलाई फसाउन, समातेर थुन्न, कुटपिट गर्न, भोकै तड्पाउन, यातना दिन आनन्द मान्ने रहेछन् । तर, केही प्रहरी अधिकारीहरू असल नियतका पनि हुन्थे । त्यहाँ मोहनप्रसाद अधिकारी भन्ने एकजना राम्रा असइ थिए । अर्का, एकजना अन्सारी थरका सिपाही थिए, जसको नाम अहिले भुलेँ । त्यस्तै, एक जना राई हवल्दार थिए । तिनीहरू त्यहाँका राम्रा मानिस थिए । थुनुवा वा कैदीलाई नपिट्ने, अरुले पिट्दा पनि आँसु खसाउने खालका थिए । शिउचन्दरचाहिँ अति दुष्ट र भ्रष्ट मानिस थिए ।
त्यहाँ हामीलाई चरम यातना दिइयो । तुरुङ लगाएर राखिन्थ्यो, तुरुङमा खुट्टा हालेपछि यताउता फर्किन मिल्दैन्थ्यो । त्यहाँ रहुन्जेल मनपरी चुटथे, बुटले कुल्चन्थे । हत्तपत्त शौचालय जान दिँदैनथे, कहिलेकसो बन्दुकधारी र डन्डाधारी वरिपरी बसेर मात्रै जान दिन्थे ।
समातिएकै बेला झोलामा पार्टीका कागजात फेला पारिसकेका थिए । त्यसैले हाम्रोबारेमा धेरै सोध्दैनथे, तर अरूबारे कुरा खोलाउने कोशिस हुन्थ्यो । कहाँ बस्यौ, कहाँ खायौ ? अरु को–को छन् ? जस्ता प्रश्न गर्थे । हामीले भन्दैनौं भनेपछि यातना सुरु हुन्थ्यो ।
दुई चार दिन अलिक घाउ मत्थर के हुन लाग्थ्यो, यसको रक्त सञ्चार गराइदिउँ त भन्दै फेरि लगेर यातना दिन्थे । यसरी समातिएको सुरुका दिनमा जथाभावी चुटे । उठ्न पनि सकिँदैनथ्यो, हिड्न त परै जाओस् ।
त्यहाँ पुलिसको गुल्म भन्ने थियो । गुल्म भन्नु के र, त्यो यातना गृह थियो । चरम यातना दिनु परे त्यहाँ लगिन्थ्यो । एउटा खाँबोमा उल्टो पारेर झुण्ड्याइन्थ्यो, बाँसको टुप्पोपट्टिको ‘साइड’मा दुईटा खुट्टा छिराएर बाँधिएको हुन्थ्यो । हातमा हत्कडी लगाइएकै हुन्थ्यो । यातना दिन भनेर बाँसका छिप्पेका हाँगाका सिप्कनाको ठूलै मुठो राखिएको हुने, तिनै सिप्कना ढुट्टिएर सेतो धुलो भुईंमा छरिउन्जेल स्वाँट–स्वाँट–स्वाँट तीव्र गतिमा पिट्थे । बाँसको डन्डी (लौरा)ले ड्याम कि ड्याम पनि पिट्थे ।
चुटाइ खाँदाखाँदै कतिपल्ट बेहोस हुने अनि होसमा आउने, हिसाबै नहुने । चुटाइले छरछरी रगत र पुराना घाउबाट पानी निस्कन्थ्यो जिउबाट । सुन्निएर हलचल गर्नै हुँदैनथ्यो । कयौं दिनसम्म यसो छोयो भने पनि भत्भति पोल्थ्यो, दुख्थ्यो । दुई चार दिन अलिक घाउ मत्थर के हुन लाग्थ्यो, यसको रक्त सञ्चार गराइदिउँ त भन्दै फेरि लगेर यातना दिन्थे । यसरी समातिएको सुरुका दिनमा जथाभावी चुटे । उठ्न पनि सकिँदैनथ्यो, हिड्न त परै जाओस् । खुट्टा सुन्नेर फुट्लान जस्तो हुन्थ्यो, पानी र रगत बगिरहन्थ्यो । खुट्टा सुन्निएर तुरुङमै नअट्ने हुन्थ्यो । सुन्निएको घट्दै गएपछि फेरि हाल्थे । त्यो राजाको पालाको जेल, अहिलेको जस्तो किन हुन्थ्यो, चरम यातना दिइन्थ्यो । अघिपछि पाक्कपुक्क हिर्काउने त बेहिसाब थियो । हत्कडी र तुरुङमा भएकै बेला पनि शिउचन्दरहरूले यताउति हिँड्दैपिच्छे एक–एक लात हान्थे । त्यस्ता त कति हो कति यातना !
गौरमा मंसिर तीन गतेसम्म राखियो । त्यसपछि, वीरगञ्ज लगेर मंसिर तीन गते राती डिएसपी कार्यालयमा राखियो । अर्को दिन वीरगञ्ज जेलमा लगियो । त्यहाँ पनि दुई दिन ठूलो जेलमा राखियो र छ गते सानो जेलमा सारियो, जसलाई पहिले महिला जेल भनिन्थ्यो । पछि राजनीतिक बन्दीहरू थुन्ने जेल बनाएको रहेछ ।
त्यहाँ आठ गतेसम्म राख्यो । आठौं बिहान सखारै २ बजेतिर एउटा जीपमा हालेर हत्कडीसहित काठमाडौं ल्याइयो । काठमाडौं ल्याएर १० गतेसम्म मलाई भद्रगोल जेलमा राखियो । मोहनचन्द्रलाई सेन्ट्रल जेलमा राखियो । ११ गते दुवै जनालाई गोलघरमा राखियो । त्यो जेलभित्रको जेल थियो । जेलमा निस्किन तीन ओटा ढोका पार गर्नुपथ्र्यो ।
गोलघरमा डेढ वर्ष राखियो, अलिक समयमा निकाल्यो, फेरि नख्खु जेलमा राख्यो । फेरि अढाई वर्ष गोलघरमै थुन्यो । ०३६ साल जेठमा आएपछि बाहिरको जेलमा निकालियो । चार वर्ष त जेलभित्रको जेलमा बस्नुपर्यो । २०३७ चैतमा पुनः नख्खु जेल चलान गरियो ।
२०३९ माघ तीनमा पोखरा जेलमा सारियो । त्यस्तै २०४२ कात्तिकमा स्याङ्जाको जेल चलान गरियो । २०४३ मंसिर आठमा हनुमान ढोका ल्याइयो । ०४३ माघ १२ मा पुनः भद्रगोल सारियो । २०४४ असार ११ मा भद्रगोल जेलबाट म रिहा भएँ । यसरी १४ वर्ष लामो जेल जीवन भोगियो ।
आज ५० वर्ष पहिलेका ती दिन सम्झिँदा सम्झन्छु, हामीलाई गिरफ्तार गरिएको ठाउँको त्यो पोखरी आज पनि छ कि मासियो होला ! राजनीतिक यात्रामा यहाँसम्म आइपुग्दा मैले अनेक उतारचढाव भोगेँ, प्रधानमन्त्रीको हैसियतले मुलुकको शासकीय जिम्मेवारी सम्हालेँ । पार्टीको कार्यकारी जिम्मेवारीमा छु । ५० वर्षअघि आजकै दिनको त्यो मिरमिरे साँझमा हामी हतारिँदै पार्टी बनाउन हिँड्दै थियौं । अनेकन् उतारचढावपछिको आजको यो साँझमा पनि उस्तै जुझारु भएर देश बनाउन जुटिरहेकै छु । समय बदलिरहन्छ, जीवन चलिरहन्छ !
(एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्पादक शकुन्तला जोशीले गरेको संवादमा आधारित)