Logo

१४ माघ २०७९, शनिबार

तुम्बेवा गाउँपालिका पाँचथर जिल्लाको दुर्गम, विकट क्षेत्र हो । यहाँबाट जिल्ला सदरमुकाम पुग्न र धरान वा धनकुटा पुग्न उत्तिकै समय लाग्छ । यही विकट ठाउँको विकास गर्ने सङ्कल्प लिएर स्थानीय तह निर्वाचनमा उम्मेद्वारी दिएका खड्ग सम्बाहाम्फेलाई जनताले उपाध्यक्षमा निर्वाचित गरेका छन् ।

आफ्नै उद्यम, व्यवसाय र पार्टीको जिम्मेवारीमा रमेका खड्गलाई के कुराले जनप्रतिनिधि बन्न प्रेरित गर्‍यो ? उनी एक वाक्यमा सरल जवाफ दिन्छन्, ‘म जन्मेको साबिक आङ्गनाको याङ्ख्वा क्षेत्र, गाउँका आमाहरूले खानेपानी लिन एक बिहानको दुःख गर्नु पथ्र्यो । यो दुःखको निवारण म कलिलो हुँदैदेखि खोज्थें तर केही उपाय पाउँदिन थिएँ । बुझ्दै गएपछि कार्यकारी जिम्मेवारीमा पुग्यो भने जनताको लागि काम गर्न सकिने रहेछ भन्ने बुझ्दै गएँ । यस्ता कारणहरूले मलाई यहाँसम्म ल्याइपुर्‍यायो ।’

तुम्बेवा मिश्रित जातजातिको बसोबास भएको क्षेत्र, थोरै मानिस आर्थिक रुपमा सबल रहेपछि धेरै जसो जनता गरिबीको मारमा परेका । अर्थोपार्जनको सपना बोकेर गाउँ र देशै छोड्ने युवाको सङ्ख्या उत्तिकै बढ्दो छ । तिनलाई गाउँमै अड्याउन सक्ने उद्यमको सिर्जना गर्न पाए हुन्थ्यो भन्ने उनको मनमा लागिरहन्थ्यो । हुने र नहुने वर्ग बिचको अन्तरले उनको मन पोलिरहन्थ्यो ।
०५४÷५५ सालतिर तत्कालिन माओवादी जनयुद्धको तरङ्ग पूर्व पनि पुग्यो । उनको घरको सिङ्ंगौरीमा पुरानो रेडियो झुण्डिएको हुन्थ्यो । माओवादी आन्दोलरूनबारे रेडियोले बेलाबेला समाचार फुकिबस्थ्यो । उनले अघिल्ला व्यवस्थाहरूको धेरै मेसो पाइसकेका थिएनन् । तर रातदिन श्रम गर्नेहरूको जीवनको दुःखले मनमा प्रश्न भने उठाइरहन्थ्यो । त्यही जिज्ञासाको सम्बोधन माओवादी जनयुद्धले गर्छ भन्ने आशा उनको मनमा पलायो । उनलाई आफू पनि जोडिन पाए हुने भन्ने लाग्थ्यो । भन्छन्, ‘म माओ को हो ? चिन्दिनँ थिएँ । रेडियोमा आउने समारचारहरूकै भरमा जनयुद्धले केही न केही परिवर्तन ल्याउँछ भन्ने आशा लाग्यो । पछि हाम्रोतिर संगठकहरू आए र म जोडिएँ ।’

उनी अखिल क्रान्तिकारीको विद्यार्थी संगठनमार्फत् सो आन्दोलनमा जोडिए । जनताको माझ काम गर्दै जाँदा उनलाई संगठकका रुपमा पार्टी पङ्क्तिले विश्वास गर्न थाल्यो । विद्यार्थी संगठनको पाँचथर जिल्लाको नेतृत्व सम्हाले । २२औं राष्ट्रिय सम्मेलनसम्म आइपुग्दा उनी केन्द्रीय सचिवसम्म भए । यता पार्टीको भूगोलको जिम्मेवारीमा पनि उनी पाँचथर जिल्ला कमिटी सचिवालय सदस्य पनि भए ।

यसरी पार्टीको विभिन्न तहको जिम्मेवारीमा रहने क्रममा उनले निरन्तर जनताको बीचमा घुलमिल हुने, काम गर्ने मौका पाए । वास्तविक धरातलमा जनताको समस्या, आशाका बारे बुझ्ने मौका पाए । विकासको यथार्थ स्थिति थाहा पाए । यसअघि जिम्मेवार जनप्रतिनिधि कहाँ–कहाँ कसरी चुके ? जसको कारण जनताको जीवनस्तर उठाउने स्थायी आधार निर्माण गर्न कठिनाई भयो ? यसको सुक्ष्म अध्ययन गर्ने अवसर पाए । तिनै अनुभवका आधारमा उनले यसपटकको स्थानीय तह निर्वाचनमा आफ्नो गाउँपालिकाको जिम्मेवारी उठाउने बिचार गरे । नभन्दै उनले जनताको विश्वासको मत पाए ।

स्थानीय सरकारसँग जनताको अथाह आशा र गुनासा छन् । तिनको उचित सम्मानसहित सम्वोधन गर्नुपर्ने सवालमा उनी सचेत देखिन्छन् । भन्छन्, ‘आगामी पाँच वर्ष जनताकै हितमा अहोरात्र खट्ने छु ।’

यो सुख्खाग्रस्त क्षेत्र हो । यहाँ खानेपानीको हाल वितरित प्रणालीलाई थप व्यवस्थित गर्न आवश्यक छ । यही गाउँपालिकामा राष्ट्रिय गौरवको आयोजना ‘तमोर वृहत् लिफ्टिङ खानेपानी आयोजना’ निर्माण हुँदै छ । यो आयोजना सम्पन्न भएपछि जनताको घरघरमा धारो पु¥याउने लक्ष्य छ । भन्छन्, ‘तुम्बेवाबासी जनताको घरघरमा पानी झरिरहने धारो दिने छौँ । यसका लागि हामी पहल गर्ने छौंँ । स्वच्छ पानी पिउनबाट कोही पनि बञ्चित हुन नपरोस् भन्ने कुरालाई ध्यानमा राख्ने छौँ ।’

पालिकाको केन्द्र रहेको साबिक मौवा गाविसमा पर्ने विद्यालय आधा शताब्दी भन्दा पुरानो शैक्षिक केन्द्र हो । जो हाल उच्च माविका रुपमा सञ्चालित छ । यस्ता केही शैक्षिक केन्द्रले यस क्षेत्रको शिक्षाको आधार निर्माण गर्न भुमिका खेलेका छन् । पछिल्ला दशक अन्य धेरै शैक्षिक संस्था खुलेका छन्, चलेका छन् । तर, देशभित्रै स्वरोजगार हुने जनशक्ति उत्पादन गर्न अझै धेरै काम गर्नु आवश्यकता छ । यहाँको शैक्षिक गुणस्तर सुधारका लागि पूर्वाधार निर्माण गर्न पालिकाको तर्फबाट विशेष पहल गर्ने उनको प्रतिवद्धता छ ।

बाह्रैमास गाडी चलाउने
गाउँलाई गाउँसम्म र शहर हुँदै सिङ्गो देशसँग जोड्ने माध्यम हो सडक सञ्जाल । करिब दुई दशक अघिसम्म बजार भर्न दमक, मधुमल्ला वा धरान झर्न पेरुङ्गे र साँघुरीको एक पाइले बाटो कि त दिनभरी तमोरको बगरैबगर हिड्न बाध्य थिए तुम्बेवाबासी । भरियाहरू दुई दिन लगाएर गाउँको उत्पादन बजार पु¥याउँथे, बजारको माल गाउँ । तर, विकासको खाका कोरिदै जाँदा गाउँ सडक सञ्जालसँग जोडियो । धुलाम्मे भएपनि मोटर बाटो खुल्यो, आवातजावत सहज बन्यो । तर, यी बाटोघाटो अहिले पनि मौसमी छन् । बर्खा लाग्यो कि बाटो पहिरोले तान्छ, तर्दातदै खोलाले गाडी बगाइदिन्छ । भेल बढेपछि बाटो बन्द हुन्छ । ‘आगामी पाँच वर्षभित्र नवनिर्वाचित पालिकाको समूहले स्थानीयबासीको यो दुःख टुङ्ग्याउने पहल हामी गर्ने छौं,’ उनले भने ।

ठूलो लगानी गर्नुपर्ने पूर्वाधारका यस्ता आयोजना पालिकाको बजेटबाटै पूर्णरुपमा सम्पन्न गर्न सकिन्छ भन्ने छैन । त्यसका लागि स्थानीय बजेट तथा प्रदेश र संघीय सरकारसम्म पहल गर्ने दायित्व पनि उनीहरूले निर्वाह गर्दै छन् । यो पाँच वर्षमा सबै सडक कालोपत्रे गर्न संभव नहोला तर अलवेदर (बाह्रै मास) गाडी चल्न सक्ने अवस्था भने बनाएरै छाड्ने उनको प्रतिवद्धता छ ।
कृषि :
तुम्बेवा गाउँपालिकाको अर्थतन्त्रको मुख्य आधार कृषि हो तर सिंचाईको उचित प्रबन्ध नहुँदा यहाँका कृषक प्रभावित छन् । त्यस्तै, प्राङ्गारिक मल उत्पादन गर्ने व्यावसायिक पद्धतिको अभाव, रासायनिक मल, बीउ–बिजन समयमा नपाउँदा कृषक मर्कामा छन् । यो समस्यालाई पालिकाको प्राथमिकताको योजनामा राखेर काम गर्ने उनको भनाई छ । उनका अनुसार आफ्नै खेतबारीमा उत्पादित वस्तुबाट किसानको आयआर्जनमा वृद्धि गर्न सकिने कार्यक्रम ल्याउने छन् ।

पालिकाका आधा क्षेत्रमा अघिल्लो कार्यकालमै बिजुली बत्ति पुगे पनि बाँकी जनता आज पनि टुकीकै भरमा बस्न बाध्य छन् । भन्छन्, ‘यो लाजमर्दो अवस्थाबाट हामी छोटो अवधिमै जनतालाई मुक्त गर्र्छौ । चाँडै नै सबैको घरमा बत्ति बल्ने छ ।’
आफ्नो कार्यकालमा जतिसक्दो तुम्बेवाबासीको जीवनस्तर माथि उठाउने गरी काम गर्ने उनको सोँच छ । उपाध्यक्ष खड्ग भन्छन्, ‘मानिस कमजोरी सहितको प्राणी हो । म पनि त्यही वर्गमा पर्छु । हामीले गर्ने काममा कुनै कमीकजोरी देखिए भने जनताले औंल्याइदिनु पर्छ । सकारात्मक खबरदारीको आशा गर्छौं । सच्चिदै, अघि बढ्न तयार छौंँ ।’

प्रकाशित मिति: ८ जेष्ठ २०७९, आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मरुहिटी मार्ट

सम्बन्धित सामग्री

सिफारिस