Logo

६ श्रावण २०८१, आइतबार

कृषि अनुदान कुन चराको नाम ?

साठी वर्ष भेडा पाल्ने किसानहरूको व्यथा

ढोरपाटन (बागलुङ), १६ कात्तिक: शिरमा हरियो गलबन्दी, शरीरमा मैलिएका कपडा । बुढ्यौउली उमेर, चाउरिएका अनुहार ढल्दै गरेको उमेर । तर पनि काम गर्ने जोस जाँगर भने कत्ति पनि घटेको देखिन्न ।

हिजोआज पहेँलो त्रिपालले छाएको गोठ छेउमै भटिनुहुन्छ, रनबहादुर सिर्पाली । गोठ वरपर दुई सय ५० बढी भेडाबाख्रा चरिरहेका देखिन्छन् । युवावस्थामा एक सय ५० सय भेडाबाख्रा पालेको सुनाउने उहाँ अहिले तागत घट्दै गएपछि कम पाल्न थालेको बताउनुहुन्छ । बागलुङको सबैभन्दा दुर्गम गाउँ तमानखोला गाउँपालिका–५ का उहाँले व्यावसायिक रुपमा भेडापालन गन थालेको ६३ वर्ष भयो । नौ वर्षकै उमेरदेखि गोठालो गर्न थाल्नु भएका सिर्पाली अहिले ७२ वर्ष पूरा हुनुभयो ।

एउटै पेसामा यति लामो समयसम्म निरन्तरता दिई राख्ने शायदै होलान् । सरकारी कर्मचारी भए पनि २० वर्ष मात्रै जागिरमा रहन्छन् । तर सिर्पाली दशकौँसम्म एउटै पेसामा अनवरत रुपमा लागि राख्नुभएको छ । बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म भेडाबाख्राको स्याहारमै व्यस्त हुने उहाँ दसैँ अगाडि मात्रै बुकीबाट झर्नु भएको थियो । विकट गाउँमा जन्म हुँदा सानैबाट गोठालोमा लाग्नुपरेको उहाँले गुनासो गर्नुभयो ।

आफ्नो बाल्यकालमा अहिलेको जस्तो पढ्ने लेख्ने चलन नभएको हुँदा आफूले पढ्न नपाएको उहाँ बताउनुहुन्छ । अहिले तमानखोला दुर्गम नै मानिन्छ । पहाडैपहाडले घेरिएको तमानखोलाका अधिकांश नागरिक रनबहादुर जस्तै पशुपालनमा लागेका छन् । अग्ला भिर पाखा र पशुपालनका लागि राम्रो वातावरण रहेको हुँदा हजारौँ पशु पाल्न सहज हुने उहाँको भनाइ छ ।

अझै १० वर्ष एक डेढसय भेडा पाल्न सक्ने उहाँ बताउनुहुन्छ । गाउँमा पाका पूर्खादेखि खेतीपाती गर्ने र पशुपालन गर्दै आएको हुँदा आफूले पनि सानैदेखि यही पेसा अङ्गाल्दै आएको उहाँले बताउनुभयो । पछिल्लो समय नयाँ पुस्ता भेडापालनमा चसो नदिँदा परम्परागत पेसा हराउना थालेको उहाँ हुनुहुन्छ ।

चार वर्ष अगाडिसम्म बुकीमा हजारौँ भेडा र सयौँ गोठाला भेटिने गरेकामा अहिले त्यो सङ्ख्या निकै न्यून भएको सिर्पालीले बताउनुभयो । समय परिवर्तनसँगै गाउँघरमा पेसा पनि फेरिँदै गएको हुँदा व्यापार व्यवसाय गर्ने बढ्न थालेको उहाँले बताउनुभयो ।

“सहर बजारमा सुविधा धेरै हुन्छ, हाम्रा गाउँ ठाउँमा बल्ल अलिअलि विकास हुन थालेको छ, पहिले मोटर गाडी देख्न सहर जानुपथ्र्यो, अहिले गाउँमै गाडी गुड्छन्, भेडाबाख्राले पनि अहिले त गाडी देख्न पाए, हाम्रो जमानामा साह्रै दुःख थियो, नून, चामल बटौली (बुटवल) पुगेर ल्याउनुपथ्र्यो, आजभोलि घरमै पाइन्छ,” उहाँले भन्नुभयो “हामी सानो–सानो हुँदा गाउँभरिका मान्छेले भेडाबाख्रा पाल्थे, एउटा घरमा कम्तीमा पनि एक सय भेडाबाख्रा र गाईभैँसी हुन्थे, अचेल त्यस्तो छैन, युवा बजार जान थाले, विदेश जान थाले त्यही भएर गोठालो गर्ने पनि घटे ।”

सिर्पालीका भेडाको बथानमा काला, सेता र खैरो रङ्गा पाठापाठी र माहु भेडाबाख्रा छन् । हुलमूलमा हराउने हुँदा ती सबैका सिङमा रातो, हरियो लगायतका रंग लगाइएका छन् । बर्खामा बुकी र हिउँदमा बेँसी झर्ने गर्दा घाँस र दाना पु¥याउन सहज हुने भएको छ । भेडापालनबाटै परिवार चलाउँदै आएको उहाँ बताउनुहुन्छ ।

पाँच भाइबहिनी छोराछोरी यही पेसाबाटै हुर्काएको र पढाएको जनाउँदै तीन छोरा र दुई छोरीको विवाहसमेत भेडा बेचेरै गरेको उहाँको भनाइ छ । आफूहरुले अहिलेसम्म भेडापालन गर्दै आए पनि छोराछोरीले यसतर्फ चासोनै नदिएको उहाँ बताउनुहुन्छ । उहाँले भेडा र गोठको सुरक्षाका लागि दुई कुकुरसमेत पाल्नुभएको छ । दुई कुकुरलाई गोठको दुई पट्टीबाँध्नु भएको छ । यसले गर्दा गोठ सुरक्षित हुने उहाँ बताउनुहुन्छ । पहिले–पहिले गोठ बलाङ, मान्द्रो (बाँसको चोयाबाट बनेको सामान)ले बनाउने गरेको सुनाउँदै अहिले त्रिपाल र टेन्टले छाउन थालेको उहाँको भनाइ छ ।

स्थानीय, प्रदेश र संघीय सरकारले कृषिकका लागि हरेक वर्ष अनुदानका कार्यक्रम ल्याउने गरेको छ । तर ती कार्यक्रमले रनबहादुर जस्ता सयौँ किसानलाई अझै पनि छुनसकेको छैन । उहाँ भन्नुहुन्छ, “ कृषि अनुदान भन्ने मलाई थाहा छैन । ”

राष्ट्रिय समाचार समिति (रासस)

प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *