Logo

३ माघ २०८१, बिहिबार

‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पार गरेको दुई दशक सपना, संघर्ष र अनेकन उपलब्धिले सजिएको कालखण्ड हो । सतासी देशमा राष्ट्रिय समन्वय परिषद्हरू विस्तार हुँदै विश्वकै सबैभन्दा ठूलो प्रवास सञ्जाल बन्न सक्नु आफैंमा विशिष्ट उपलब्धि हो । यसबाट नेपालीहरू एकतामा बाँच्छन् भन्ने सन्देश संसारभर फैलिएको छ ।

म भाग्यशाली भएरै होला, स्थापनाकालदेखि एनआरएन अभियानको एउटा सिपाहीका रूपमा अनवरत् क्रियाशील हुन पाएको छु । अग्रजहरूको समर्पण, मैत्रीभाव र कार्यकुशलताबाट धेरै कुरा सिक्ने अवसर पाएँ । र, त्यसलाई हाम्रो संगठनको उचाइ वृद्धिमा लगाउँदा मैले युवा साथीहरूसँग धेरैभन्दा धेरै सहकार्य गर्दै आएको छु । यो संस्थालाई अझ उचाइमा लैजाने चुनौतीलाई मूल नेतृत्वमा रहेर सामना गर्ने आत्मविश्वास पनि यहाँहरू सबैले दिनुभएको हो ।

संघकै अभियानको प्रभाव र सम्मानस्वरूप नेपाल राष्ट्रले हामीलाई गैरआवासीय नेपाली ऐन (२०६४) मार्फत् कानुनी मान्यता दियो, नेपाली नागरिकताको सुनिश्चितता गर्ने बाटो खोल्यो । जसलाई यसै बर्षको नागरिकता ऐन संशोधनले टुंगोमा पुर्‍याएको छ, त्यसको कार्यान्वयननिम्ति हालै कार्यविधिसमेत बनिसकेको छ । प्रवासी नेपालीलाई नेपाली नागरिकता सहज र वैज्ञानिक ढंगले उपलब्ध गराउने विषयमा हाम्रो नेपाल सरकार र सरोकारवालाहरूसँग निरन्तर सहकार्य चलिरहनुपर्नेछ ।

विदेशमा गैरआवासीय नेपालीहरूले प्राप्त गरेको स–साना पुँजी र सीपलाई नेपालको समृद्धिमा लगाउने उद्देश्यले आवश्यक ऐन कानुन बनिसक्नु पनि विशिष्ट उपलब्धि हो । गैरआवासीय नेपालीहरूको सक्रियतामा नेपालमा सामूहिक र व्यक्तिगत लगानी बढ्दो छ । विदेशबाट ज्ञान, अनुभव र सीप भित्र्याउने संस्थागत प्रयास भएका छन् । संघमार्फत विभिन्न सामाजिक र परोपकारी कार्यमा योगदान र पहल भएका छन् । १० अर्ब लगानीको कोषको माध्यमबाट विदेशमा वा भनौँ मध्यपूर्वका खाडी मुलुक एवं मलेसिया लगायतका मुलुकमा रहेका गैरआवासीय नेपालीको सानो पूँजीलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण बनेको छ ।

हामी सदैव मातृभूमि र नेपाली जनताका पक्षमा उभिँदै आएका छौं । विपद्, प्रकोपदेखि मानवीय संवदेनासँग जोडिएका कुनै पनि घटना–परिघटना, नेपालको अस्मितासँग जोडिएको विषयदेखि नेपाली समुदायका पक्षमा संघर्ष गर्नुपर्ने जुनसुकै अन्तर्राष्ट्रिय मन्चहरूमा हामी एकबद्ध हुने गर्छौं । यो हाम्रो प्राणतुल्य कर्तव्य हो ।

कोरोना महामारीमा गैरआवासीय नेपाली संघको भूमिका एक अग्नि परीक्षा थियो । महामारीका बीच संघले विदेशमा ५० भन्दा बढी देशमा रहेका दुई लाख भन्दा बढी नेपालीलाई सहयोग र उद्धार गर्न सफल भयो । महामारीले गैरआवासीय नेपाली संघको भूमिका र प्राथामिकतालाई समेत बदलिदिएको छ । संघले सञ्चालन गरेको राहत तथा उद्धार कार्यक्रमको नेतृत्व लिइ २ लाखभन्दा बढी नेपालीलाई प्रत्यक्ष सहयोग गर्न पाउनु मैले अवसरको रूपमा लिएको छु ।

मेरै नेतृत्वमा नेपालमा स्वास्थ्यसम्बन्धी राहतका सामग्री अक्सिजन सिलिन्डर तथा कन्सन्ट्रेटर पठायौं भने ७ वटै प्रदेशमा एक–एक वटा अक्सिजन प्लान्ट स्थापना हुने क्रममा छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारी गुमाएर कयौँ नेपालीले रित्तो हात फर्कनुप¥यो । उनीहरूको पुनर्एकीकरण एवं नेपालमै क्षमताअनुसारको रोजगारी सिर्जना गर्न नेपाल सरकारसँग सहकार्य गर्नुपर्ने जिम्मेवारीमा हामी थप सशक्त भएर लाग्नुपर्नेछ ।

गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशन एनआरएन अभियानको एकतामा बढी केन्द्रित रह्यो । जसलाई समयले ल्याएको एउटा विशिष्ट परिघटना मानौं । तथापि १० औं महाधिवेशनपछिको कार्यकालमा हामीले कयौं उदाहरणीय काम गर्न सफल भयौं । संस्थागत गर्दै जाने आयाममा हामी अगाडि बढेकै छौं । मूलतः नागरिकता प्राप्तिको कठिनतम् संघर्षलाई एउटा सुखद उत्कर्षमा पु¥याउन सक्यौं, यसमा हामी सबै र सारा प्रवासी नेपाली दाजुभाइबहिनी बधाईका पात्र बनेका छौं ।

एनआरएन अभियानमा देखिएका कयौँ चुनौतीका बीच हाम्रो निरन्तर लगाव मातृभूमिप्रतिको कर्तव्यकै विशिष्ट प्रकटिकरण हो । यही सिलसिलामा विश्वभरिका धेरै एनआरएन साथीहरूसँग घनीभूत अन्तक्र्रिया भयो । उहाँहरूले एनआरएन अभियानका केही ऐतिहासिक मुद्दाहरूमा समयोचित उपलब्धि सुनिश्चित गर्न मलाई निकै घचघच्याइरहनु भएको छ ।

‘तपाईं कामै गर्ने मान्छे हो’ भनेर उहाँहरूले जसरी मलाई स्नेह र विश्वासपूर्वक जिम्मेवारी दिन खोज्नुहुन्छ, त्यसलाई म नकार्ने सामथ्र्य राख्दिनँ । मेरा जीवनका केही प्यारा चिजमध्ये एनआरएन अभियान नै खास छ किनभने यो मेरो जीवन पाठशाला हो । त्यसैले यहाँहरू सबैको जोडबलमा मैले ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनमा गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु ।

‘समृद्धि र रूपान्तरण, हाम्रो साझा अभियान’ मा विश्वभर रहेका गैरआवासीय नेपालीहरूको सहयोग र साथको अपेक्षा गर्दै संघको अध्यक्ष पदमा विजयी भएपछि निम्नानुसारको काम प्रतिबद्धता व्यक्त गर्दछु ।

सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी

  • वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन नेपाल सरकार, श्रम गन्तव्य मुलुकस्थित कूटनीतिक नियोग, दूतावास लगायतसँग सहकार्य गरिनेछ ।
  • वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अभिमुखीकरण तालिम सञ्चालन गरिनेछ ।
  • विदेशको श्रम बजारमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोष तथा पेन्शन फण्डमा सहभागी गराउन पहल गरिनेछ । पछिल्लो समय सामाजिक सुरक्षा कोषमा सहभागी भई वैदेशिक रोजगारीमा आएका श्रमिकलाई कोषमा गरिने योगदानको निरन्तरताका लागि श्रम गन्तव्य मुलुकका नेपालीसमक्ष सहजीकरण र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ । यस कार्यमा नेपाल सरकारलाई समेत आवश्यक सहयोग गरिनेछ ।
  • अन्तर्राष्ट्रिय श्रम बजारमा हासिल गरेको ज्ञान, सीप र पुँजीलाई स्वदेशको विकास र समृद्धिका निम्ति उपयोग गर्न नेपाल सरकारसँग सहकार्य गरी छुट्टै श्रम तथा सीप बैंक स्थापनाका लागि पहल गरिनेछ । नेपाल सरकारको वैदेशिक रोजगार कल्याणकारी कोषलाई श्रमिकको समस्या समाधानमा प्रभावकारी ढंगले प्रयोग गर्न र कोषमा नेपाल सरकारले पनि आर्थिक योगदान गर्न नीतिगत पैरवी गरिनेछ ।
  • विदेशमा रोजगारी गुमाई नेपाल फर्किएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई उनीहरूको सीप र क्षमता अनुसार नेपालमै रोजगारीको अवसर दिलाउन नेपाल सरकारसँग समन्वय गरिनेछ ।
  • वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका नेपालीको अभिलेख तयार गरी उनीहरूलाई उत्पादनमूलक क्षेत्रमा सहभागी गराउन नेपाल सरकारको सहकार्यमा ‘आफ्नै माटो, स्वावलम्बी बाटो’ अभियान सञ्चालन गरिनेछ । आइएमओको सहकार्यमा गरेको नेपाली श्रमिकको स्किल म्यापिङ परियोजनालाई विस्तार गरिनेछ ।
  • नेपाली श्रमिकहरूलाई संविधानप्रदत्त रोजगारीको हकबाट बञ्चित हुने गरी घरेलु श्रमिकका रूपमा वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाइएको र यसले गर्दा मानव बेचबिखनका घटना तीव्र रूपमा बढेकाले घरेलु श्रमिकका रूपमा वैदेशिक रोजगारीमा जान लगाइएको प्रतिबन्ध विनाशर्त हटाउन पैरवीका विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछ । रोजगारीका सिलसिलामा मध्यपूर्व, मलेसियालगायत जुनसुकै क्षेत्रमा रहेका महिला कामदारहरूको सुरक्षित, मर्यादित र सम्मानजनक रोजगारीका निम्ति विशेष कूटनीतिक पहलका लागि नेपाल सरकारसँग सहकार्य गरिनेछ ।
  • वैदेशिक रोजगारमा जाने नेपालीहरूको न्यूनतम तलब अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउन नेपाल सरकार र गन्तव्य मुलुकबीच संवादको लागि पहल गरिनेछ ।
  • वैदेशिक रोजगारीका क्रममा रहेका नेपाल दाजुभाइ तथा दिदीबहिनीहरूले भोग्नुपरेको समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समन्वय परिषद्ले खडा गरेको कोष थप वृद्धि गरि एनसीसीहरूमार्फत कार्यक्रम सञ्चालन गरिनेछ ।
  • श्रम स्वीकृति नविकरण, बीमा नविकरण तथा श्रम सम्बन्धि अन्य समस्या समाधानका लागि नेपाल आउने बाध्यकारी अवस्थालाई अन्त्य गरी विदेशबाटै अनलाइनमार्फत् गर्ने प्रबन्धका लागि सहजीकरण पहल गरिनेछ ।
  • अत्यधिक जोखिमपूर्ण रोजगारीमा जाने व्यक्तिहरूलाई विशेष बीमाको व्यवस्थापन गर्न सरकारसँग नीतिगत रुपमा पहल गरिनेछ ।
  • वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको मृत्युको कारण हचुवाका भरमा उल्लेख गरिँदा उचित क्षतिपूर्तिबाट बञ्चित हुनुपरेकोले हरेक मृत्युको कारणको छुट्टाछुट्टै र विस्तृत अनुसन्धान गरेर मात्र लाश नेपाल पठाउन र मृत्युको कारणको वर्गीकरण अन्तर्राष्ट्रिय मापदण्डअनुसार गर्न गन्तव्य मुलुकका सरकार र नेपाल सरकारसमक्ष पहल गरिनेछ एवम् त्यसका लागि गैरआवासीय नेपाली संघका तर्फबाट आवश्यक सरकारका लागि सहयोग र समन्वय गरिनेछ ।
  • वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका तर कागजी प्रक्रिया नपुगेका नेपालीहरूको अलपत्र शव नेपालमा ल्याउन लाग्ने आर्थिक खर्च नेपाल सरकारले व्यहोर्नुपर्ने नीतिगत व्यवस्था गर्न पहल गरिनेछ ।
  • युरोपेली, अमेरिकी ओसेनिया क्षेत्र एवं जापान, हङकङ, दक्षिण कोरियालगायतका देशसहित नयाँ आकर्षक श्रम गन्तव्यको पहिचान गरी सम्बद्ध देशसँग श्रम सम्झौता गर्न नेपाल सरकारसँग सहकार्य गरिनेछ ।
  • वैदेशिक रोजगारीमा जाने श्रमिकले भर्नाबापत चर्को शुल्क तिरिरहेको प्रति हामी चिन्तित छौँ । भर्नाबापत लाग्ने कुनै पनि खर्च श्रमिकलाई तिराउन नहुने अन्तर्राष्ट्रिय श्रम संगठनको सिद्धान्तको पूर्ण पालना गर्न गराउन श्रम गन्तव्य मुलुक र नेपालका सम्बद्ध सरोकारवालासमक्ष दबाव सिर्जना गरिनेछ । वैदेशिक रोजगारीमा जाँदा लाग्ने श्रमिकको सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने प्रणाली अर्थात् इम्प्लोयर पे मोडेलअनुरूप मलेसिया, युएइ, मौरिससलगायतका देशसँग गरिएको सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न र अन्य श्रम गन्तव्य मुलुकसँग सोही मोडेल अनुरूप श्रम सम्झौता गर्न वा भइरहेका सम्झौता अद्यावधिक गर्न नेपाल सरकारसँग घनीभूत पैरवीगत संवाद गरिनेछ ।
  • नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि कम्पनीहरूले १० प्रतिशत शेयर अनिवार्य छुट्याएको तर शेयर भर्ने काममा श्रमिकहरूलाई असहज भइरहेकोले एनसिसी स्वयम्सेवकमार्फत् शेयर भर्ने काममा सहयोग गरी श्रमिकहरूको क्षमता अभिवृद्धिसमेत गरिनेछ ।

नेपालमा लगानी तथा एनआरएन नेपाल डेभलपमेन्ट फन्ड

  • नेपालमा लगानी भित्र्याउने उद्देश्यले स्थापना गरिएको एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई अघि बढाइनेछ । सुरुवाती पुँजी १० अर्ब रूपैयाँ रहेको यस फण्डलाई आगामी दिनमा थप बृहत बनाइनेछ । र, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सो फण्डमा (आइपिओ मार्फत) जोडिनेछ ।
  • नेपालमा लगानीको क्षेत्र पहिचान गरि सुरक्षित लगानी प्रबद्र्धनका लागि नेपाल सरकारको संघदेखि प्रदेश र स्थानीय तहसँग सहकार्य गरिनेछ ।
  • वैदेशिक रोजगारीमा रहेका श्रमिकले पठाएको रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानीका लागि प्रोत्साहन गरिनेछ र त्यसका लागि लगानीका क्षेत्र पहिचान गरिनेछ ।
  • गैरआवासीय नेपाली र स्वदेशमा रहेका युवाको नवीन सोच, ज्ञान र उत्साहलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न एनआरएन नेपाल डेभलपमेन्ट क्षेत्रीय फण्ड र सम्बद्ध वित्तीय निकायहरूबाट लगानीको व्यवस्था गरिनेछ । ‘संयुक्त स्टार्टअप’ कार्यक्रम सञ्चालनका लागि कार्यविधि बनाउने र क्रमशः कार्यान्वयन गरिनेछ ।
  • गैरआवासीय नेपाली र वैदेशिक लगानी आकर्षित गर्न दोहोरो कर छुट सम्बन्धि सम्झौता गर्न सरकारसँग पहल गरिनेछ ।

संस्थागत पुनर्संरचना एवं सुदृढिकरण

  • संशोधित विधानमा ल्याइएका नयाँ प्रस्तावहरू पूर्ण कार्यान्वयनमा ल्याइनेछ ।
  • संघको पञ्जिकृत सदस्यतालाई वृद्धि गर्दै विश्वभर छरिएर रहेका नेपालीलाई एकैसुत्रमा बाँध्नेगरि सदस्यता विस्तार गरिनेछ ।
  • गैरआवासीय नेपाली संघले स्थापनाकालदेखि नै उठाएको १८३ दिन भन्दा बढी विदेशमा बस्ने नेपालीहरूलाई गैरआवासीय नेपाली परिभाषित गर्ने तथा विद्यार्थीहरूलाई पनि गैरआवासीय नेपालीको परिभाषाभित्र समेट्न पहल गरिनेछ ।
  • सम्पूर्ण पञ्जिकृत सदस्यहरूले अनलाइनबाट मतदान गरी नेतृत्वको चयन गर्ने व्यवस्था गरिनेछ ।
  • गैरआवासीय नेपाली सदस्यता लिएका व्यक्तिहरूलाई नेपालभित्र र विदेशमा विभिन्न क्षेत्रमा सहुलियत सुविधाका कार्यक्रमहरू ल्याइनेछ ।
  • स्मार्ट एनआरएनए प्रोग्राम सुधार गर्दै विश्वसनीय बनाइने छ । एनसिसीमा देखिएका सदस्यता वितरण, निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउन अहिले प्रयोग गरिएको फेस भेरिफिकेसन प्रणालीलाई सरल गरिनेछ ।

गैरआवासीय नेपालीका हकहित अधिकार

  • नेपाल सरकारले संविधानमा व्यवस्था गरेका तर कार्यान्वयनमा आउन बाँकी गैरआवासीय नेपाली सम्बन्धि ऐनलगायतका अन्य व्यवस्थालाई कार्यान्वयनमा ल्याउन परिणाममुखी पहल गरिनेछ ।
  • विदेशमा बस्ने नेपालीहरूलाई राजनीतिक अधिकारसहित विदेशबाटै मतदान गर्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग पहल गरिनेछ ।
  • गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्तिको सुरक्षाका लागि कानूनी व्यवस्था मिलाउन नेपाल सरकारसँग पहल गरिनेछ ।
  • नेपालीहरूको बाक्लो उपस्थिति भएका देशहरूमा दुतावास स्थापना गर्न तथा दूतावास स्थापना गर्न सम्भव नभएका मुलुकमा कन्सुलेट कार्यालयको व्यवस्था गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइनेछ । विदेशमा रहेका नेपालीहरूलाई नेपाल सरकारको सुविधा उपलब्ध गराउन प्रयास गरिनेछ ।
  • नेपाल मूल भएका तर पुस्तौंदेखि विदेशमा नेपाली समुदाय (म्यानमार, थाइल्यान्ड, मलेसिया, मौरिसस, बु्रनाइलगायतका मुलुकमा रहेका) नेपाली भाषीलाई पनि एनआरएन कार्डको माध्यमबाट कानूनी आधारसहित नेपालसँग जोड्ने प्रयत्न गरिनेछ ।
  • राष्ट्रिय समन्वय परिषद्बाट निर्वाचित अध्यक्षलाई नेपाल सरकारको अवैतानिक वाणिज्य दूतको रूपमा मान्यता दिन नेपाल सरकारसँग पहल गरिनेछ ।
  • बेलायत लगायतका विभिन्न देशमा कार्यरत भुपूगोर्खाहरूले उठाउँदै आएको समान पेन्सन र अधिकारको मागलाई पूरा गर्न संस्थागत रूपमा विशेष पहल गरिनेछ ।

ज्ञान, सीप र प्रविधिसहितको एनआरएन

  • संशोधित विधानमा व्यवस्था भएको एनआरएनए पेशागत तथा प्राज्ञिक इकाइ स्थापना गरी सक्रिय रूपमा सञ्चालन गरिनेछ ।
  • ज्ञान तथा विज्ञ सम्मेलनलाई थप प्रभावकारी र सहभागीतामूलक बनाइ निरन्तरता दिइनेछ ।
  • नेपाल पोलिसी इन्स्टिच्युटलाई दक्षिण एसियाली स्तरको थिंक ट्यांकका रूपमा अघि बढाइनेछ ।
  • अन्तर्राष्ट्रिय थिंक ट्यांकहरूसँग सहकार्यलगायतका गतिविधि अगाडि बढाएर नेपाल बौद्धिक प्रतिभाहरूको मुहान र गन्तव्य दुवै हो भन्ने सन्देश प्रवाह गरिनेछ ।
  • विदेशमा हासिल गरेको अनुभवका आधारमा नेपालका विविध क्षेत्रमा आवश्यक नीतिगत सुझाव तयार गरी नेपालका सम्बन्धित निकायलाई उपलब्ध गराइनेछ ।

एनआरएनए फाउन्डेसन

  • राष्ट्रिय–अन्तर्राष्ट्रिय दातृ निकाय तथा परोपकारी संस्थाहरूसँग आवधिक कार्ययोजनाका साथ सहकार्य गरिनेछ ।
  • सहयोगपूर्ण सहभागिता र योगदान एवं कदर लगायतका विभिन्न स्कीमहरू ल्याइनेछ ।
  • फाउन्डेसन सचिवालय सुदृढीकरण तथा अन्तर्राष्ट्रिय कार्यालयहरूको स्थापना गरिनेछ ।
  • नेपालमा स्वयंसेवाका लागि संसारभरका युवालाई आकर्षित गर्न विशेष प्याकेजसहितका कार्यक्रम ल्याइनेछ ।
  • फाउण्डेशनलाई नेपाल बाहिर पनि स्थापना गरी विस्तार गरिनेछ ।

नेपाल एवं नेपाली पर्यटन प्रबद्र्धन

  • नेपाललाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्न पुलको रूपमा भूमिका निर्वाह गरिनेछ ।
  • नेपाली पर्यटन व्यवसायीहरूसँग सहकार्य गरी गैरआवासीय नेपाली एवं विदेशमा रहेका दोस्रो पुस्ताका लागि विशेष प्रोत्साहन प्याकेज ल्याइनेछ ।
  • नेपाल सरकारले पर्यटन गन्तव्यका रूपमा अघि सारेका स्थानमा पर्यटन प्रबद्र्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरिनेछ ।
  • कोरोना महामारीका कारण प्रभावित पर्यटन प्रबद्र्धनलाई सकारात्मक सन्देश प्रवाह गर्दै पुनःस्थापित गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम गरिनेछ ।
  • विदेशमा नेपाली सामान प्रबद्र्धधनका लागि ८७ वटै देशमा गैर–आवासीय नेपालीहरूको सञ्जाललाई प्रयोग गरिनेछ । नेपालबाट निर्यात हुने सामानमा विकसित देशहरूले दिने भन्सार छुट सहुलियतलाई अधिकतम सदुपयोग गरी नेपालको निर्यात क्षमता वृद्धि गर्दै व्यापार घाटा न्यूनीकरणमा योगदान पु¥याइनेछ ।

युवा, महिला तथा दोस्रो पुस्ता

  • गैरआवासीय नेपालीको दोस्रो पुस्तालाई नेपालसँग जोड्न र अपनत्व महसुस गराउन विभिन्न कार्यक्रम गरिनेछ ।
  • युवा र महिलालाई एकजुट रूपमा नेपालसँग जोड्न विशेष कार्यक्रम बनाई वार्षिक क्यालेन्डरमै समेटिनेछ । यसका लागि ‘एनआरएन युथ मिट’ र ‘अन्तर्राष्ट्रिय महिला सम्मेलन’ आयोजना गरिनेछ ।
  • गैरआवासीय नेपाली खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताको सुनिश्चितता गरिनेछ ।
  • गैरआवासीय नेपाली खेलकुद प्रतिष्ठान स्थापनालाई व्यवस्थित गरिनेछ ।
  • दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरूलाई संघमा आबद्ध गर्न विधानमा थप संरचना ल्याइनेछ ।

अन्तर्राष्ट्रिय संघ–संस्थाहरूसँग सहकार्य

  • संयुक्त राष्ट्र संघ अन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम)सँग गरिएका सम्झौतालाई कार्यान्वयन गर्दै थप कार्यक्रम ल्याइनेछ ।
  • नेपाल फर्किएका नेपालीहरूलाई अन्तर्राष्ट्रिय संघ—संस्थाहरूसँग सहकार्य गरि स्वदेशमै स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याइनेछ ।
  • आगामी दिनमा अन्य अन्तर्राष्ट्रिय संघ–संस्थासँग सहकार्य गरिनेछ ।

अन्त्यमा, तपाईंहरूको साथ समर्थन विश्वास र भरोसासहितको अमूल्य मतको लागि अनुरोध गर्दै यसपटकको नेतृत्व गर्ने अवसर दिनुहुन हार्दिक अपिल गर्दछु ।

डा. बद्री केसी

प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *