विसं १९७५ सालमा त्रिचन्द्र कलेजको उद्घाटन गर्दा आफ्नै गोडामा बन्चरो हानेको भनेर चन्द्र शमशेरले भाषण गरे भन्दै भाष्य खडा गरियो।
अहिले पनि देब्रे, पेण्डुलम देब्रे र दाहिने विद्वान् यही भनाइको स्वाद लिँदै विद्वत्ता डकार्छन्। त्रिचन्द्रमा १९७६ सालमा आईए, आईएस्सी र १९८१ सालदेखि स्नातक पढाउन शुरु गरिएको थियो। आज १ शताब्दीपछि पनि नेपालका सबै पालिकामा आईएस्सी र स्नातक पढाउने संस्था खोल्न सक्यौँ त? यो सम्झिदा आफू कुन तहमा छौँ भन्ने चेतना आउँदो हो कि हराउँदो हो?
त्यति मात्रै हो र! पुर्खाले स्थापना गरिदिएका शैक्षिक केन्द्र चलाउन सक्दैनौँ । २ दशकसम्म देब्रे, पेण्डुलम देब्रे र दाहिने भन्दै विश्वविद्यालयमा भागबण्डा लगाई आतंक मचाउने तर वेलैमा प्रवेश परीक्षा समेत गराउन नसक्ने तपाईं, म जस्ता व्यक्ति बुद्धिजीवी हौँ कि बुख्याँचा?
आफ्नै कारणले शैक्षिक, प्राज्ञिक, सांस्कृतिक संस्था ध्वस्त पारेको नदेख्ने तर चन्द्र शमशेरलाई गाली गरेर रमाउने हाम्रा देब्रे, पेण्डुलम देब्रे र दाहिने बुद्धिजीवी, प्राध्यापकको चेतनास्तर कस्तो होला?
अहिलेसम्म तपाईं, मैले त्यति चेतना हामीसँग छ त भनेर कहिले सोचेका छौं? अहिले खोटो भइसकेको दुई पैसाको बुद्धि पनि हामीसँग नभएकै हो त? एकपटक टाउको छामौँ! बुद्धि नभए पनि कपाल त होला।