काठमाडौं । शे–फोक्सुण्डो गाउँपालिकामा पाँच वर्ष उपाध्यक्षका रुपमा काम गरेका धावा सम्डुक गुरुङ आगामी पाँच वर्षका लागि अध्यक्षमा निर्वाचित भएका छन् । डोल्पाकै तीन स्थानीय तहले मनोनयन अघि नै आफ्ना अध्यक्ष निर्विरोध चुनिसकेका थिए । जसमध्ये शे–फोक्सुण्डोमा गुरुङ निर्वाचित भएका हुन् ।
मनोनयन दर्ताका दिनसम्म पनि धावा निर्वाचनमै जाने पक्षमा थिए । नेकपा माओवादी केन्द्रले अध्यक्षमा उम्मेदवार उठाउने भनेपछि निर्विरोध चयन गर्ने वातावरण विथोलिएको थियो । तर, मनोनयन दर्ता गर्न गएका माओवादीका प्रतिनिधिले नै एकाएक गुरुङलाई अध्यक्षमा समर्थन जनाए ।
‘निर्वाचनमा नगएरै प्रतिनिधि चुन्ने कोशिस भइरहेको थियो । तर, माओवादीका प्रतिनिधिले निर्वाचनमै जाने भनेपछि म पनि तयार नै थिएँ’, धावा भन्छन्, ‘तर, खोइ के भयो ? मनोनयनका लागि माओवादीका साथी निर्वाचन कार्यालयमा पसेको केही समयमा नै फर्किएर अध्यक्षमा मलाई नै समर्थन गर्नुभयो ।’
अघिल्लो कार्यकालमा आफूले गरेको कामलाई देखेर नै यसपटक जनताले निर्विरोध निर्वाचित गराएको गुरुङको भनाइ छ ।
‘अघिल्लोपटक उपाध्यक्ष हुँदा अध्यक्षलगायत अन्य जनप्रतिनिधिसँग जुन प्रकारको समन्वयका साथ काम भयो, त्यसलाई नै आधार मानेर यसपटक मलाई जनताले निर्विरोध निर्वाचित गराए । जनताको यो विश्वासलाई म अझ माथि उठाउने छु,’ उनी भन्छन् ।
मुख्य प्राथमिकतामा पर्यटन र प्राविधिक शिक्षा
एक त दुर्गम, त्यसैमाथि ठूलो भूगोल र थोरै जनसंख्या । एउटा वडाबाट अर्कोमा पुग्नै दुई–तीन दिन लाग्ने दूरी । सडक सञ्जालको भित्रि पहुँच नपुगेको शे–फोक्सुण्डोमा अघिल्लो कार्यकालमा कच्ची भए पनि सबै वडामा सडकको पहुँच पुर्याइयो । अबको कार्यकालमा भने गुरुङले शिक्षा र पर्यटनलाई मुख्य प्राथमिकता दिने योजना बनाएका छन् ।
‘भौगोलिक हिसाबले विकट भए पनि ऐतिहासिक शे–गुम्बा र शे–फोक्सुण्डो ताल हाम्रै पालिकाभित्र पर्दछन् । अब यहाँको पर्यटनलाई नै प्राथमिकता दिनेछु । जसबाट आम्दानी र स्थानीय युवालाई रोजगारीसँग जोड्न पनि सहज हुनेछ’, गुरुङ भन्छन्, ‘आन्तरिक र बाह्य पर्यटकलाई मात्र भित्र्याउन सकेमा यहाँको आर्थिक समृद्धिका लागि पर्याप्त हुनेछ । सबै वडामा जनप्रतिनिधि चुनिएपछि पहिलो बैठकबाटै पर्यटनका लागि विशेष योजना बनाउनेछु ।’
दुर्गम भएकै कारण यहाँ शैक्षिक सुविधा पनि निकै न्यून छ । उनी आफ्नै ठाउँमा प्राविधिक शिक्षा दिने प्रबन्ध मिलाउने सोचमा छन् । त्यसो हुन सके आफ्नै ठाउँमा दक्ष जनशक्ति उत्पादन हुने छन् ।भन्छन्, ‘प्राविधिक शिक्षा आजको मुख्य आवश्यकता हो । सामान्य विषय अध्ययनले मात्रै रोजगारीसँग जोड्न नसक्ने रहेछ । त्यसैले यहाँका युवालाई प्राविधिक शिक्षामा पहुँच बढाउन गाउँपालिकाले सहयोग गर्नेछ ।’
सीमा खोल्न प्रयास
शे–फोक्सुण्डो गाउँपालिका तिब्बतसँग जोडिएको छ । यसको १४ नम्बर नाका चाडबाड लगायतका सिजनमा मात्रै खुल्छ । तर, अब आफ्नो प्रयास बाह्रैमास नाका खोल्नका लागि हुने गुरुङको भनाइ छ । ‘हाम्रो क्षेत्रमा अन्न उत्पादन कम हुन्छ ।
सदरमुकामबाट यहाँसम्म खाद्यान्न सामग्रीलगायत अन्य वस्तु ल्याउँदा जनतालाई महँगो पर्न जान्छ’, उनी भन्छन्, ‘त्यसैले अब १४ नम्बर नाकालाई बाह्रैमास खोल्न प्रयत्न गर्नेछु । जसका कारण सहज आवतजावत मात्रै होइन, अत्यावश्यक वस्तु सस्तो र सहज तरिकाले ल्याउन मद्दत पुग्नेछ ।’
सोही नाका हुँदै भेरी कोरिडोर जोड्नका लागि गाउँपालिकाले अघिल्लो कार्यकालमा प्रयास गरेको र त्यसलाई अहिले पनि निरन्तरता दिने उनको योजना छ । भेरी कोरिडोर नाकासम्म जोडिएमा कर्णालीका अधिकांश जिल्लामा उत्तरबाट सामग्री आयातका लागि सहज हुनेछ । केन्द्रमा पनि एमालेकै सरकार बनेको खण्डमा भने आफूले चाहेजस्तो काम गर्न सक्ने उनको भनाइ छ ।
सहजै नेतृत्व हस्तान्तरण
उपाध्यक्ष हुँदै गाउँपालिका अध्यक्ष बनेका ४२ वर्षीय धावा सम्डुक गुरुङ अकोपटक दोहोरिने मूडमा छैनन् । आफूलाई जुन तरिकाले नेतृत्व दिइयो अर्कोपटक उनी पनि त्यसरी नै नेतृत्व हस्तान्तरण गर्न चाहन्छन् ।
‘मलाई अघिल्लो कार्यकालमा गरेको टिमवर्कको परिणामले पनि जनताले निर्विरोध गराए । अर्कोपटक पनि यो भन्दा अझै सहज तरिकाले नेतृत्व हस्तान्तरण गर्ने मेरो चाहना छ’, उनी भन्छन् । जो आए पनि स्थानीय जनताकै सेवा गर्नुपर्ने भएकाले शे–फोक्सुण्डोमा आगामी कार्यकाल पनि चुनावी प्रतिस्पर्धा हुने वातावरण नबनाउने उनको दावी छ ।
‘आखिर जनताको सेवा गर्ने हो । निर्विरोध हुँदा जनताले चाहेकै मानिस आउँछ । यसमा निर्वाचन गराएर किन धाँधली गर्नु ? त्यसैले गाउँपालिकाको पूरै टिम मिलेर अर्कोपटक पनि निर्विरोध नै नेतृत्व हस्तान्तरणको वातावरण बनाउँछु,’ उनले भने ।