‘उहिले पर्धानपञ्चहेरु भोट देउ भन्दै आउँथ्यो, हुलका हुल तन्नेरी केटाहरू रातभरी पनि हिन्थ्यो । भोट पनि धेरैपल्ट पो लायुङ, दाइने हातको बुढी अम्लामा निकै फेरो रंग दल्यो । कोइ सूर्जेमा, कोइ रुखमा, कोइ हलो के हुँदी भोट माङ्नेहरू आयो । बारीको कामै छोडी राखेर भोट हाल्नु चुवाडे पुग्थिम् ।
आबो कोलाई हाल्नु राम्रो त, मैले था पायुङ्ना । तिम्रो बडाले हान् भनेकोमै भोट हाल्युङ । जितेपछि त सप्पै राम्रो हुन्छ भन्थ्यो । खै ! के पो गर्यो ? एउटा बिजुली बत्तीसम्म बलेन, अरु सप्पै उस्तै देख्छु,’ लिम्बू लवजमा पाँचथर, तुम्बेवा–२, गोगुने निवासी ७१ वर्षीया रणमाया आङ्लाले छोरा नन्द आङ्लाको फोनबाट चुनावी कुरा सम्झिन् ।
देश चुनावी माहोलमा छ । संघीयता लागू भएपछिको स्थानीय तहको दोस्रो कार्यकालका लागि निर्वाचन हुँदै छ । राजनीतिक दल आ–आफ्नो चुनावी घोषणा–पत्रसहित घरदैलोमा व्यस्त छन् ।
चुनावी सभाहरूमा सबै उमेर समूहका महिला–पुरुष सहभागी भएको देखिन्छ । त्यस्ता सभा, र्याली र घरदैलो कार्यक्रममा महिलाको सहभागिता अग्रपंक्तिमा र उत्साहपूर्ण देखिन्छ ।
कतै चुनावी गीत गाइरहेका, कोही नाचिरहेका, आफ्नो पार्टीको चुनाव चिन्ह अंकित फेटा शिरमा बाँधेर नारा लगाइरहेका । भोट के मा ?
जवाफी नारामा पनि युवादेखि वृद्ध उमेरसम्मका महिला नै अगाडि देखिन्छ । यहाँ प्रश्न उठेको छ, पार्टीको खास कार्यकर्ताबाहेक कति महिला आफ्नो मताधिकारबारे सचेत छन् ?
जुम्लाकी जालगेडी कामी भन्छिन् – जीवनमा आश मारेर बस्नु हुँदैन । निराश भएर भोटै नहाल्नु पनि राम्रो होइन । यसपाली भने हाम्रालाई नभई राम्रालाई हाल्छु ।
महिलाको यो उत्साहलाई तिनै दलहरूले कार्यकारी हैसियत निर्माण गर्ने सवालमा पनि उत्तिकै महत्व दिएका छन् त ? कति महिलाले आफ्नो स्वविवेकका आधारमा भोट खसाल्छन् ?
बहसको थालनी गर्न मैले केही अघिल्लो पुस्ता र केही युवा पुस्तासँग यसबारे छलफल गरें । म संघीय राजधानीमा छु, सबैतिर भौतिक रुपमै पुगिहाल्न सम्भव थिएन । कतै फोनबाट कुराकानी गरें, वरिपरीका पात्रसँग भने भेटेरै कुरा गरें ।
म गत शनिबार चुनावी सरगर्मी हेर्दै पाटन भिनेलाछि (भिन्द्योलाक्षी) पुग्दा एउटा पार्टीका केही कार्यकर्ता झण्डा र चुनावी नारा, उम्मेदवारको फोटो टाँसिएको ब्यानर बोकेर टोलतिर पस्दै थिए । चोकको सत्तल सामुन्नेका सार्वजनिक पानी ट्यांकीमा भाँडो थाप्नको लर्को देखिन्थ्यो । यता सत्तलमा सुकुलमाथि तीन जना वृद्ध महिला चुपचाप रमिते थिए ।
मैले नमस्ते गर्दै उनीहरूको छेउमा बस्ने अनुमति लिएँ । गुलाबी पछ्यौरा ओढेकी गहुँगोरो वर्णकी वृद्धाले नेवारीमा भाषामा भनिन्, ‘थे तुना दिसः ।’ के भनेको होला ? मेरो अलमल बुझेर छेउतिरकी महिलाले भनिन्, ‘बस्नोस् मैयाँ भन्नु भएको हो ।’ त्यसपछि म हाँस्दै उनीहरू नजिक बसें ।
उनी थिइन्, ८२ वर्षीया पूर्णमाया अवाले । मैले कुरोको पोयो खोलें– फेरि भोट आयो है आमा ? ‘हो त, आयो । झण्डाहरू हिडिराछ ।’ नेवारी लवजमा उनले भनिन् । ‘तपाईंले कतिपल्ट भोट हाल्नु भो ?’
‘खै, त्यो त सम्झेन । हामी केटकेटी भएको बेलामा भोट हुँदैन । पछि भएको । तर पहिलोपल्ट भोट भएकै बेला भोट दिन गएको । अहिले जसो त हुँदैन त्यो बेला, धेरै मान्छे हुँदैन । अहिले कति कति मान्छे । दिनभरी झण्डा बोकेर हिँडिरहने ।’
पहिले–पहिले पनि भोट हाल्न नजिकैको कृष्ण मन्दिर क्षेत्र गएको उनको सम्झना छ । रणमायाको जस्तै उनले पनि श्रीमान्ले भनेकै मान्छेलाई भोट दिँदै आइन् । भन्छिन्, ‘आफ्नै मान्छे उठेको हुन्छ । गुठीभित्रकै । बाले उहाँलाई नै दिनु पर्छ भनेको, अनि अरूलाई दिनु भएन नि ।’
इलाम नगरपालिका–९ भञ्ज्याङकी ७१ वर्षीया पेममाया राईले सम्झेसम्म उनले अहिलेसम्म नौ पटक भोट हालिन् । उनले पनि अक्षर खुट्याउन पाइनन् । तर, मतपत्रमा हुने अनेक मध्ये एमाले, कांग्रेस, माओवादी र राप्रपाको चुनाव चिन्ह भने राम्ररी चिन्छिन् । उनी तिनैमध्ये एउटामा हाल्छिन् ।
चुनावमा हुने धाँधली जस्ता गडबडीबारे पनि उनी केही जानकारी राख्छिन् । बलमिच्याईं गरेर भोट जितेको राम्रो लाग्दैन उनलाई । भन्छिन्, ‘राम्रो, सही–सत्ते बोलिबचन र बेभार (व्यवहार) गर्नेलाई चुन्नु पर्छ ।’ पार्टीको नाम पढ्न नसके पनि आफूले मन पराएको चुनाव चिन्ह चाहिँ उनी भुल्दिनन् ।
कौशलटारकी गीता पोखरेल भन्छिन्– विचार राखेकै आधारमा मलाई कसैले प्रश्न उठाउँछ, उठोस् । तर, म मेरो आस्थामा अडिन्छु । यति गर्दा कमसेकम मलाई अलिकति भएपनि आफू भएर बाँचेको महसुस हुन्छ । म खुसी छु ।
रुपन्देहीको तिलोत्तमा–७ सखुईकी ८० वर्ष नाघेकी कुटुरी कुमाल यसपालि पनि भोट हाल्ने तयारीमा छिन् । नेताहरूसँगको वितृष्णाको कारण भोट हाल्न नजाने मनस्थितिका मानिस पनि धेरै देखिन्छन् ।
तर कुटुरी भने भोट आयो भनेपछि खुसी भएकी छिन् । भन्छिन्, ‘ऐतना माहामारीके समयमे हमे कुछ नाही भइल, भोट नाए खरतिन भगवान् जिया देहले । वहि खातिन् हम भोट नाए जाइब ।’
उनका संगिनीहरू धेरै बितेर गइसके । संसारमा नयाँ–नयाँ कुरा देख्नकै लागि यत्रो महामारीमा पनि आफू बाँचियो भन्ने लाग्छ उनलाई । त्यसो हुनाले उनको मनमा भोट लाउन जाने उत्साह छ । उनका श्रीमान् त बितिसके । यद्यपि यसपालि पनि श्रीमानले भनेकै चुनाव चिन्हमा भोट दिने उनको सुर छ ।
लामो समयदेखि बिरामी परेर थलिए पनि तनहुँको शुक्लागण्डकी नगरपालिका– ७, खैरेनीटारकी ८४ वर्षीया चन्द्रकला पुरीलाई यसपालि पनि भोट हाल्न जान मन छ ।
तर, उनी एक दशकदेखि गाउँ छोडेर काठमाडौंको कलंकीमा छोराबुहारीसँग बसोबास गर्छिन् । उनी चलचित्र निर्देशक नारायण पुरी तथा शिव पुरीकी आमा हुन् । उनको मतदाता सूचीमा नाम अहिले पनि गाउँमै छ, स्वास्थ्यका कारण उनलाई गाउँ जान गाह्रो छ ।
‘त्यतिखेर भोट दिने भनेपछि कति महत्व थियो । भोटका दिन रमाइलो हुने उस्तै, गाउँभरीका सबै काम छोडेर उदेनढुंगाको वन्केवा गइन्थ्यो । खैरेनीदेखि ठाडो उकालो तीन घण्टाको बाटो हिडेर बन्क्या पुग्नुपर्ने ।
तर त्यो बेला उमेर थियो, त्यो तीन घण्टा हिड्नु केही जस्तो नहुने । फेरि हुलमुल, हल्लाखल्ला गर्दै हिड्दा बाटो काटेको पत्तो नहुने । एकदिन भए पनि अर्कै रमाइलो । एकपल्टको चुनावमा धाँधली भयो भने र भोट नहाली फर्कियौं पनि । फेरि भोलिपल्ट गएर दिइयो,’ उनी पुराना चुनावका दिन सम्झन्छिन् ।
उनको पालामा महिलाले पढ्न हुँदैन भन्ने प्रचलन थियो, अक्षर चिन्न पाइनन्। कहिँ सही गर्न परे ल्याप्चे हान्न पर्छ ।
भन्छिन्, ‘हाम्रा पालामा आइमाईले पढे फाप्दैन भन्थे, पढाएनन् । आफ्नो नाम लेख्नसम्म जानेको भए राम्रै हुन्थ्यो जस्तो लाग्ने । तर नपढे पनि चुनाव चिन्हचैं चिन्छु । भोट भने श्रीमान्ले र गाउँका छोरा भतिजाले भनेकै चिन्हमा दिइयो ।’
कतै नछोई गोलो घेरोभित्र छाप हाने मात्रै आफूले हालेको भोट सदर हुने कुरामा पनि उनी सचेत रहिछन् । धेरैले ठिक ढंगले नहानेर भोट खेर जाने पनि उनको मत छ ।
मोरङ बेलबारीको लोहोन्द्राको किनारास्थित सुकुम्बासी बस्तीमा छ मुसहर समुदायकी पवनी ऋषिदेवको छाप्रो । गाउँ–बस्ती सारा चुनावको माहोलले तातेको बेला उनलाई भने आफ्नै चुला जोर्ने पिरालोमै छिन् ।
परिवारकै लागि भनेर घरमै सीमित भएँ । तर, जब चुनाव आउँछ, केही दिनका लागि भएपनि म घरको चौकिल्ला नाघ्छु ।
चुनावमा जसले जिते पनि आफूहरूजस्ता गरीबलाई भोट बैंकका रूपमा मात्रै प्रयोग गर्छन् भन्ने उनलाई लाग्छ । बर्खा लाग्दैछ, यो वर्षको बाढीमा कसरी जोगिने हो ? बर्खे झरीमा परिवार कसरी ओताउने हो, उनको चिन्ता त्यता छ । यसअघिका चुनावमा पटकपटक आफ्ना श्रीमान्को साथ लागेर गएर भोट त दिएकै हो । बस्ने बासको मेसो मिलाइदिने प्रतिबद्धता गरे पनि कसैले फर्केर हेरेन । त्यसैले यसपालिको चुनावबारे उनलाई खासै मतलब छैन ।
उनी भन्छिन्, ‘पहिलाका चुनावमा त नागरिकता नहुँदा भोट हाल्न पाइनँ । बनेपछि दुई चुनावमा भने भोट हालेँ । तर यसो सम्झन्छु, मैले हालेको भोटले मलाई के दियो ? हाम्रो ठूलो सपना के हुन्छ अरू, यही एउटा बस्ने घर अलिक बलियो भइदिए हुन्थ्यो भन्ने हो ।
तर, नेताहरू बोल्छ मात्रै भोट माग्नलाई, कोही गर्दैन हाम्रो लागि । आफ्नो लागि त सबैले ठूलो घर बनायो, राम्रो काम गर्यो होला । त्यही भएर यसपालि मलाई भोट हाल्न जान खासै मन छैन ।’
अघिल्ला चुनावहरूमा भोट हाल्दाको अनुभवसहित आफ्नो मताधिकारबारे बोल्ने यी केही प्रतिनिधि पात्र मात्रै हुन् । पित्तृसत्ताको रगडग चलेको सामाजिक संरचनाको पिँधमा पारिएका महिला हरेक निर्वाचनमा भोट हाल्न पंक्तिबद्ध हुँदै आएका हुन् ।
भोट पनि हाल्दै आएका हुन् । तर मताधिकारमा आफ्नो स्वविवेकको प्रयोग गर्न सकेको देखिँदैन । समाजले अहिलेसम्म पुरुषलाई घरमुली मान्ने र तिनै घरमुली पुरुषबाट महिलाको मताधिकार प्रभावित भएको देखिन्छ । केही दशकअघिसम्म महिलालाई सार्वजनिक ठाउँमा उभिएर बोल्न/मत राख्न निषेध नै थियो ।
पञ्चायती जस्ता सामाजिक जमघटमा महिला सामेल भइहाले पनि रमिते मात्रै हुन्थे । कोही कसैले बोल्ने दुस्साहस गरे ‘पोथी बासेको राम्रो हुँदैन’ भन्दै तिनको आवाज निषेध गरिन्थ्यो । यसरी घरको चौकिल्लामा सिमित रहनु परेपछि महिलाले सामाजिक संरचनाबारे, त्यसको नेतृत्वबारे बुझ्ने अवसरै पाएनन् ।
यस्ता मुद्दामा बहस गर्नु त कल्पनाबाहिरको कुरा थियो । पित्तृसत्तात्मक संरचनाले घरदेखि समाजसम्मको नेतृत्व गर्ने छुट केवल पुरुषलाई दियो । सम्पत्तिमाथि अधिकार पनि पुरुषको हुने भएपछि घरपरिवारको जिम्मेवार अधिकारी पनि पुरुष नै स्वतः रहँदै आए । यसो हुँदा मताधिकार जस्ता मुद्दामा पनि महिलाले स्वविवेक प्रयोग गर्ने अवसर नै पाएनन्, ‘घर मुली’ले जे भन्यो, ठान्यो त्यही ठिक निर्णय हो भनेर मान्दै आए ।
स्वीट्जरल्याण्ड भन्दा नेपाल अघि
महिलालाई कानूनी रूपमै मताधिकार दिने विश्वका कतिपय विकसित देशभन्दा पनि नेपाल अघि छ । स्वीट्जरल्याण्ड विश्वकै विकसित देशमध्येको हो । विकासको दौरानमा नेपालले स्वीट्जरल्याण्डको दाँजोमा पुग्न कति लाग्ला, हिसाब निकाल्दै गरौंला ।
तर, त्यस देशमा सन् १९१८ मा प्रथम विश्व युद्ध अन्त्य भएपछि युरोपका लाखौँ महिलाहरूसँगसँगै मतदानमा अधिकारका लागि स्वीस महिलाहरू सडकमा निस्केका थिए । तर उनीहरूले सन् १९७१ मा मात्र त्यो अधिकार प्राप्त गरे । नेपालमा भने वि.सं. २०१० सालमै अर्थात् सन् १९५३ सो अधिकार प्राप्त गरेका थिए ।
सात सालमा प्रजातन्त्र आयो । त्यसपछि स्थानीय शासनलाई जनमुखी बनाउन नगरपालिका कानून निर्माण गरियो । २०१० सालमा काठमाडौं नगरपालिकाको दोस्रो चुनाव भयो । यही चुनावमा महिलाले पहिलोपटक मताधिकार र उम्मेदवार बन्नेसम्मको अधिकार पाएका थिए ।
यसरी नेपालमा महिलाले मताधिकार पाएको दशक पुगिसक्यो । बिडम्बना, अहिले पनि ठूलो संख्यामा महिला मताधिकारका लागि स्वविवेक प्रयोग गर्ने अवस्थामा छैनन् । खासगरी ग्रामिण भेगका महिला यस सवालमा पुरुषमै निर्भर छन् । जुम्लाको चन्दननाथ नगरपालिका– १०, सिलामकी ३८ वर्षीया रूपसरी कुँवर पनि भोट हाल्न जान उत्साहित छिन् ।
तर उनी आफ्ना श्रीमान्ले मानेका उम्मेदवारलाई नै भोट हाल्ने बताउँछिन् । सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका, वनदेउ निवासी ३३ वर्षीया कमला वाइबाको विवाह भएको धेरै भएको छैन । भक्तपुरमा मजदुरी गर्दै बसेकी उनी यसपालि चाहिँ मौका मिले श्रीमान्सँगै मिलेर भोट हाल्ने बताउँछिन् । काठमाडौं धोबिचौर निवासी १९ वर्षीया अनिता श्रेष्ठ स्नातक तह अध्ययनरत छिन् । तर, पहिलो पटक भोट हाल्ने तयारीमा रहेकी उनी हजुरबा–बुबाहरूले भनेकै चिन्हमा भोट दिने सोचमा छिन् ।
उदाउँदै सचेत पुस्ता
बादलमा चाँदीको घेरो भनेजस्तो उसो त उज्यालोको सुरुवात नभएकै भने होइन । खासगरी सहरी क्षेत्रमा मताधिकारमा स्वविवेक प्रयोग गर्ने सचेत युवा पुस्ता पनि तयार हुँदै छ । आफ्नो खुसी र रुचीको स्वनिर्णय गर्न सक्ने यो पुस्ता परिवर्तनका लागि अब नयाँ पुस्ता चाहिन्छ भन्ने पक्षमा देखिन्छन् ।
यसै हिसाबले यो पुस्ता अब नेता चयनमा पनि सचेत हुन खोजिरहेका छन् । यसको पछिल्लो उदाहरणका रूपमा आसन्न स्थानीय तहको निर्वाचनमा युवाहरूकै स्वतन्त्र उम्मेदवारी र तिनको समर्थनमा उत्रिएको युवा लहरलाई हेर्न सकिन्छ । काठमाडौंको मेयरका दाबेदार र्यापर बालेन शाहको पक्षमा धेरैजसो युवाको समर्थन देखिन्छ ।
आन्विका गिरी भन्छिन्– सामाजिक सञ्जालमा कतिपय मानिसले मेरो हातमा यति मत सुरक्षित छ मत व्यक्त गरिरहेका हुन्छन् । त्यो लेख्ने मानिस सबै पुरुष हुन् । ती पुरुषहरूले विशेषतः आफूसँग आश्रित महिला तथा व्यक्तिहरूको मत गन्ति गरेर भनेका हुन्छन् ।
त्यसरी नै पोखरा महानगरपालिकाबाट ‘अटेरी अभियान’ लिएर मेयरको उम्मेदवारी दिएका लेखक गनेस पौडेलको साथमा पनि बढी युवा नै देखिन्छन् । विचार, सिद्धान्तका हिसाबले राजनीतिको गहन चेत नराखे पनि परिवर्तनमा नयाँ पुस्ता आउनुपर्छ भन्ने सोचका साथ नयाँ पुस्तालाई समर्थन गर्नेको लर्को छ । यही लहरमा यही पुस्ताका महिलाहरू आफ्नो मताधिकारमा स्वविवेक प्रयोग गर्ने देखिएको छ । बाउ–बाजेको विरासत पछ्याउनै पर्ने बाध्यकारी पित्तृसतात्मक घेरो नाघेर युवा पुस्ताका महिला निस्कदै गरेको देखिन्छ ।
उसो त घर–व्यवहारमा घरमुली (पुरुष)कै वर्चश्वलाई स्वीकारे पनि राजनीतिक रूपमा स्वतन्त्र निर्णय गर्न रुचाउने महिला पनि छन् । कमसेकम भोट दिने अधिकार आफूले निर्णय गर्न पाउनुपर्ने उनीहरूको जिकिर छ । मध्यपुर थिमि नगरपालिका–३, कौशलटार (दोलखा तामाकोशी गाउँपालिका–३)की ४० वर्षीया गीता पोखरेल पेशाले गृहिणी हुन् ।
हर कुरा श्रीमान् र उनका परिवारकै मान्दै आएपनि चुनावमा भोट भने आफ्नो मर्जीले दिने उनको सोच छ । उनका श्रीमान् र परिवार एउटा पार्टीका समर्थक हुन् भने उनी खुलेरै अर्को पार्टीको प्रचारप्रसारमै सहभागी भइन् ।
गीता भन्छिन्, ‘मैले मेरो जीवन यही परिवारका बनाउनमा खर्चिएँ । मेरा आफ्ना पनि सपना थिए, मौका पाएको भए समाजमा अघि बढ्थें, केही गर्थें हुँला । तर, परिवारकै लागि भनेर घरमै सीमित भएँ । तर, जब चुनाव आउँछ, केही दिनका लागि भएपनि म घरको चौकिल्ला नाघ्छु ।
परिवार एउटा पार्टीका हुन्, म चाहिँ सानैदेखि अर्कै पार्टीको समर्थक । मलाई जुन पार्टी मन पर्छ, त्यसैलाई भोट हाल्छु । चुनाव प्रचारप्रसारमा पनि हिडें । विचार राखेकै आधारमा मलाई कसैले प्रश्न उठाउँछ भने मेरो भन्नु केही छैन । तर, म मेरो आस्थामा अडिन्छु । यति गर्दा कमसेकम मलाई अलिकति भएपनि आफू भएर बाँचेको महसुस हुन्छ । म खुसी छु ।’
यसरी हेर्दा विगतमा मुलुकको सर्वाङ्गीण विकास गर्ने कसम खाएर निजी अर्थोपार्जन, गुटबन्दी र तुष्टि परिपूर्तिमा लागेको नेतृत्वप्रति वितृष्णा भएका यो पुस्ता भने बाबुबाजे वा घरका पुरुषहरूप्रति बफादार नबन्ने देखियो ।
जुम्ला तातोपानीकी ३९ वर्षीयाजालगेडी कामीले यसअघिका चुनावमा पाँच पटक भोट हालिसकिन् । जितेर जानेहरुको जीवनमा परिवर्तन आयो होला । तर उनलाई भने कुनै चुनावले केही फरक पारेन ।
यसअघि उनले घरमुलीले भनेको सुनिन् र हाम्रालाई भोट हालेकी हुन् । तर, पाँच वर्षमा पनि के पो अन्तर भयो र उनको जीवनचर्यामा ! भन्छिन्, ‘कसैले जित्नु र हार्नुले हामीलाई खास फरक पारेन । हाम्रो हित सोचेर काम गर्ने मान्छे आउनु पर्ने रहेछ । सोचिराछु, यसपाली म हाम्रालाई हैन राम्रालाई भोट हाल्छु, घरकाले के जेसुकै भनुन् ।’
तर, फेरि पनि विचार र सिद्धान्तको गहिराइ नबुझी असंगठित रूपमा आएको उभारले दूरगामी परिवर्तनको प्रभाव राख्न नसक्ने विचार राख्छन् राजनीतिक विश्लेषक हरि रोक्का ।
यस्तो उभारले विद्यमान राजनीतिक बेथिति र अव्यवस्थाप्रतिको प्रतिशोध/असन्तुष्टिको एउटा रूपमा हुनसक्छ । तर त्यसले स्थायित्व नदिने उनको धारणा छ ।
‘चुनावी सन्दर्भमा मात्रै होइन, जहिले पनि उठ्ने र हराउने त्यस्तो उभारले आम मान्छेको मुद्धालाई सम्बोधन गर्ने गरी, आमुल परिवर्तनको खाका कोर्दैन भने त्यसले क्षणिक विद्रोह जस्तो त देखिएला, दूरगामी फाइदाभन्दा बेफाइदा नै निम्त्याउन सक्छ । यसमा भने युवा पुस्ता सचेत हुनुपर्छ । त्यो सचेतनताका लागि फेरि पनि वैचारिक आधारबाटै युवा तयार हुनुपर्छ ।’
हिजोका दिनमा बोल्नै नपाउने महिलाको अवस्था अहिले अलिक फरक भइसकेको बताउँछिन् संयुक्त राष्ट्र संघीय महिला विरुद्ध हुने सबैप्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि सिड कमिटीकी उपाध्यक्ष बन्दना राणा । पहिला महिलाले बोल्नै पाउँदैनथे ।
उनीहरूको कुरा सुनिदैनथ्यो, पुरुषले जे अह्राउँथे, त्यही गरिन्थ्यो । तर, अहिले यहाँसम्म आइपुग्दा अलिकति आफ्नो राय राख्न सक्ने भइसकेका छन् । विशेष गरी युवा पुस्तामा यति रूपान्तरण देखिएको छ ।
आजसम्म पनि महिलाको ठूलो हिस्सा आर्थिक रुपमा पुरुषमै निर्भर भएका कारण मताधिकारमा पनि यही कुराले निर्धारण गर्ने मत राख्छिन् लेखक आन्विका गिरी ।
उनी भन्छिन्, ‘सामाजिक सञ्जालमा कतिपय मानिसले मेरो हातमा यति मत सुरक्षित छ मत व्यक्त गरिरहेका हुन्छन् । त्यो लेख्ने मानिस सबै पुरुष हुन् । ती पुरुषहरूले विशेषतः आफूसँग आश्रित महिला तथा व्यक्तिहरूको मत गन्ति गरेर भनेका हुन्छन् ।’
उनका अनुसार सहरी क्षेत्रमा पढालेखा खासगरी ‘एक्टिभिजम’ गरिरहेका महिलाको हकमा यो परिवेश फरक बनेको छ । उनीहरू आफ्नो मतको प्रयोग विवेकसम्मत तरिकाले गर्न सक्छन् । गाउँघरमा पनि साक्षर छन्, पढालेखा त छन् नि । तर, सूचनामा पहुँच राख्छन् कि राख्दैनन् भन्नेले फरक पार्छ ।
भन्छिन्, ‘कति महिलाले चुनावी घोषणा पढेका हुन्छन् ? बुझ्नु पर्छ र त्यसमाथि प्रश्न गरेर मात्रै नेतृत्व छनोटमा विवेक प्रयोग गर्न सक्छन् ? यसको विश्लेषण गर्न सक्ने नहुँदासम्म आफू वरिपरिकाले प्रभावित गर्नु स्वभाविक हो । यसो हुँदा फेरि पनि उही पुरानो प्रवृत्तिकै नेतृत्व दोहोरिने देखियो ।’
राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्ष मोहना अन्सारी केही फरक मत राख्छिन् । उनका अनुसार समुदायसँग जोडिएका संस्थाहरू भोट बैंकका रुपमा प्रयोग भएका छन् ।
‘काठमाडौं उपत्यकाको कुरा गर्दा यहाँ विभिन्न समुदायको आ–आफ्नै गुठि संस्थान छन् । त्यस्तो हुँदा राम्रालाई भन्दा हाम्रालाई प्राथमिकता दिने गरेको देखियो । यस्तो सन्दर्भमा समुदायको नेताले भनेको ठाउँमा महिला वा पुरुष जसले पनि त्यही भोट हाल्छन् । तर, पुरुषप्रधान समाज भएका हिसाबले बढी प्रभावमा महिला पर्नु स्वभाविक हो,’ उनको मत छ ।
तर, मताधिकार स्वेच्छाले निर्णय गर्ने तहका महिला पनि छन् । तर पहिलो प्याटर्न नै धेरै हाबी छ । उनी तीन दशकअघिको ग्रामिण समाज सम्झिँदै भन्छिन्, ‘महिलाहरूसँग कुराकानी गर्न खोज्दा महिला बोल्नै मान्दैनथे । बल्लतल्ल एकजनालाई मनायो । दुईचार जना पुरुषले घेरेर महिलाले बोल्न थालेकी महिलालाई निरुत्साहित गर्थे । तर, अहिले त यस्तो परिवेश त बदलिएको छ ।’
मताधिकारको सवालमा सपाङ्ग महिला नै पित्तृसत्ताको चर्को दकसमा बाँच्नु परिरहेको यो समाजमा शारीरिक रुपमा अपाङ्गता भएका महिला झनै प्रभावित हुने लेखक नारायणी देवकोटा बताउँछिन् ।
खासगरी दृष्टिविहिनहरूले मतदान गर्न अरुमा निर्भर हुनुपर्ने हुँदा सहयोगीले मतदाताले चाहेकै चुनाव चिन्हमा भोट नखसालिदिने जोखिम बढी रहने बताउँछिन् ।