Logo

५ जेष्ठ २०८१, शनिबार

एनआरएनए एकता मेरो पहिलो सपना हो

बुद्धि सागर सुवेदी, महासचिव प्रत्यासी, एनआरएनए

यस्तो बेला पनि कसरी गाउँ सम्झिए हुन्, वास्तवमा अचम्म लाग्ने ! तर चुनावी भागदौड, बाक्लै संख्यामा मतदाताहरूको घेराबन्दीकै बीच उनले एकैछिन आफ्नो गाउँ सम्झिए, आफू जन्मिहुर्केको बेसी फाँट सम्झिए ।

एकैछिनलाई भए पनि नोस्टाल्जिक बने । त्यसो त उनको नोस्टाल्जिया मात्र भावुकता थिएन । उनी त आफू उभिएको जमिनबोध गर्न चाहन्थे, ताकि एउटा संस्थाको उच्च तहको जिम्मेवारी सम्हाल्नुअघि आफ्नो मातृभूमि र यहाँको यथार्थबोध गर्न चाहन्थे । गैरआवासीय नेपाली संघको महासचिव पदका प्रत्यासी बुद्धि सागर सुवेदी चुनावको सरगर्मीबीच उम्किएर यसरी आफू हिडेको पुरानो गोहो पछ्याउँदै एकैछिन भए पनि गाउँ पुगे ।

उनी बिस्तारै फेरि जीवनका आरोहअवरोहसँगै आफ्ना व्यवसायिक र संस्थागत यात्राको अनुभव सुनाउनतिर लागे । २० वर्षको दौरानमा गैरआवासीय नेपाली संघले ८७ देशमा शाखा विस्तार गरिसकेको छ । एक लाख हाराहारी नेपाली सदस्यका रूपमा आबद्ध छन् । ५० डिग्रीको तातो अरबी भूमिमा श्रम गर्ने श्रमिकदेखि विश्वका विभिन्न अनुसन्धाता, वैज्ञानिक, उद्यमीलगायतका नेपालीहरू संस्थाको छातामुनि छन् । यस्तो संस्थाको भोलि हुँदै गरेको चुनावमा उनी अन्तरराष्ट्रिय समन्वय समितिका महासचिव पदका प्रत्यासी हुन् ।

रमाइलो के भने बुबाको त्यो अनुशासनका कारण होला, मैले जीवनमा नाच्न, गाउन वा रंगरमाइलो गर्न भने जान्दै जानिनँ ।


न्वाँरको उकालोमा जीवनको तिर्खा

उनी स्याङ्जाको टक्सार गाउँको बेसी न्वाँर भन्ने गाउँमा जन्मेका हुन् । सामान्य किसान परिवारमा जन्मेका उनी बुबाआमाको गुरुकुल समाज जस्तो संस्कृति पाएकाले नै आज यहाँसम्म पुग्ने आत्मविश्वास पाएको ठान्छन् । आमा छोराहरूलाई जीवनमा आवश्यक स–साना व्यवहारिक काम गर्न र सीप सिकाउँथिन् । बुबाको अनुशासन कडा हुन्थ्यो । उनीहरू दिनभरि साथीसंगी गाउँघर, वनजंगल जे–जे भ्याए पनि घाम डुबेपछि घरको चौघेराभित्र भेला भइसक्थे ।

अँध्यारो खसेपछि टुुकी बालेर पढ्न बस्नु पर्ने, तर बरालिएलान् भनेर घरबाट राती निस्कने छुट थिएन । बुबा–आमाले सिकाएको त्यो अनुशासन जीवनको रंग जसरी जोडिएर आइरहने उनी बताउँछन् । ‘तर रमाइलो के भने बुबाको त्यो अनुशासनका कारण होला, मैले जीवनमा नाच्न, गाउन वा रंगरमाइलो गर्न भने जान्दै जानिनँ,’ उनी हाँस्दै सुनाउँछन् ।

पढेर काम आफ्नै गर्नुपर्छ भन्ने बुबाको सुझाव थियो । बुबा मालपोतका मुखियाबाट सेवा निवृत्त भएका । उनका दुवै छोरा पनि अहिले उनको व्यवसाय सम्हाल्न थालेका छन् ।

न्वाँरको उकालोमा लागेको बाल्यकालीन तिर्खा केवल पानीको तिर्खा थिएन रहेछ, त्यो दुनियाँलाई चकित पार्नेगरि उद्यमको बाटो हिँड्ने तिर्खा पनि थियो ।

स्कूल पुग्न उनलाई एक घन्टा ठाडो उकालो हिँड्नु पर्ने । स्कूलमा पानीको व्यवस्थासम्म थिएन । त्यसबेला आजजस्तो कोकाकोलाको वा कुनै पनि आयातित बोटल हुने कुरै भएन । पानी बोक्न उनका बुबाले काठको ढुंग्रो बनाइदिन्थे । पानी लगेर कक्षामा राख्न नपाइने, कतै बाटैमा लुकाएर जान्थे । त्यही पानी पनि केही पोखिएको हुने, कहिले अरुले खाइदिने ।

न्वाँरको उकालोमा लागेको बाल्यकालीन तिर्खा केवल पानीको तिर्खा थिएन रहेछ, त्यो दुनियाँलाई चकित पार्नेगरि उद्यमको बाटो हिँड्ने तिर्खा पनि थियो । निरन्तर लागिरहे हिजो ‘बहादुर’ वा ‘दरबान’ मात्रै भनेर कहलिएको नेपालीले विश्वका जुन ठाउँमा पुगेर पनि उन्नति गर्छ र अरुलाई पनि त्यो बाटोमा हिँडाउन सक्छ भन्ने उदाहरण बनेका छन् बुद्धि सागर सुवेदी । जो, अमेरिकाको सिकागो नजिकै एप्पलटोन शहरमा बस्छन् ।

एनआरएनएको फुटले टुटेको मन

प्रवासमा रहेका नेपालीलाई भावनाको मालामा जोड्न र तिनलाई अझ देशसँग गाँसिरहने उद्देश्यले बनेको संस्था एनआरएनए टुक्रिन पुग्यो । यो विभाजनले संस्थासँग जोगिएका आम सदस्य तथा शुभचिन्तकको भावनामा ठेस पुग्यो । जुन देशभित्रबाट हेर्दा पनि अवश्य राम्रो होइन । यो फुटका कारण जेजे भए पनि फेरि संस्थाको एकतातिर बल लगाइरहनेमा एक हुन् एनसीसी अमेरिकाका निवर्तमान अध्यक्ष तथा उद्यमी सुवेदी । एनआरएनको महासचिवमा उनको उम्मेद्वारीको एउटा उद्देश्य संस्थाको एकतासँग पनि जोडिएको उनको दाबी छ ।

अहिले म एनआरएनएको नेतृत्व ग्रहण गर्ने सन्दर्भमा छु । म यो संस्थालाई विश्वभर छरिएर रहेका नेपालीलाई भावनात्मक कडीमा जोडिराख्ने दीर्घ यात्राको संस्था बनाउने छु ।

सम्बन्धित वर्गको मुद्दामा ठिक ढंगले सम्बोधन हुन सकेन भने वा भावनाको कदर भएन भने एउटा उचाइमा पुगिसकेको संस्था पनि ढल्न बेर नलागेको घटना उनले देखेका छन् । यसो भएर उनी आफू संलग्न भएको एनआरएनए होस् वा आफ्नो व्यवसाय, उनी संस्था निर्माण र त्यसको समयानुकुल व्यवस्थापन गर्ने कुरामा सचेत हुन्छन् ।

भन्छन्, ‘अहिले म एनआरएनएको नेतृत्व ग्रहण गर्ने सन्दर्भमा छु । म यो संस्थालाई विश्वभर छरिएर रहेका नेपालीलाई भावनात्मक कडीमा जोडिराख्ने दीर्घ यात्राको संस्था बनाउने छु । र, देशप्रतिको जिम्मेवारीमा सबैलाई झक्झक्याइरहन्छु । त्यसका लागि संस्थालाई अगाडि बढाउने मेरा एजेण्डाहरू तय गरिसकेको छु ।’ एनआरएनएको यात्रामा उनी आफूलाई ‘लामो यात्राको घोडा’का रूपमा अघि बढ्न तयार भएको बताउँछन् ।

महासचिवको पदमा उनको प्रतिष्पर्धा एउटै गृह जिल्ला चितवन अनि उनी रहेकै देश अमेरिकामै व्यवसाय गर्दै आएका गौरीराज जोशीसँग छ । उनी आफ्ना प्रतिस्पर्धी पदीय दायित्त्वमा दोहोरिएर आउने कुराप्रति फरक मत जाहेर गर्छन् । एक कार्यकाल महत्वपूर्ण पदमा रहिसकेपछि आफूले गर्ने काम सोही कार्यकालमा गरिसक्नुपर्ने र अर्को पटक अरुलाई मौका दिनुपर्ने उनको विचार छ ।

उनी भन्छन्, ‘संस्थाको राष्ट्रिय समन्वय समिति (एनसिसी) अमेरिकाको अध्यक्षमा सर्वसम्मतले पुनः आउन साथीहरूको जोडबल हुँदा पनि मैले मानिनँ । यस्तो कार्यकारी पदहरू आफू हुँदा नै केही छ भने गरिहाल्ने, नभए नयाँ आउनेलाई बाटो छोडिदिने हो ।’

चुनाव एकप्रकारको प्रजातान्त्रिक चलखेलपूर्ण प्रणाली हो । तर उनी आफूलाई हिजो संस्था, देशबाहिर रहेका नेपाली समाज र नेपालप्रति आफूले जेजति सकेको सेवा गरेकै हिसाबले मतदाताहरूले छान्नेमा विश्वस्त छन् ।

उनी संस्थामा हुर्केको ‘हाइरार्की’ संस्कृतिलाई ‘ब्रेक’ गर्न चाहन्छन् । उनी एनसिसी र अन्तरराष्ट्रिय समन्वय समिति (आइसिसी) बीच हाइरार्की भएको बोध गर्छन् । त्यसले संस्थालाई अघि बढ्न नदिने तर्क राख्छन् । यी दुई निकायबीचको खाडल पुर्ने र एनसिसीलाई अधिकार सम्पन्न बनाउने, माथिबाट बिनाहस्तक्षेप काम गर्ने वातावरण बनाइदिनेमा आफ्नो पहल हुने उनी बताउँछन् ।

राजनीतिक पार्टीहरूले प्रभाव पार्न खोज्नु आफ्नो ठाउँमा ठिकै हो, तर हामी प्रभावित हुनुहुँदैन । चुनावका बेला विभिन्न राजनीतिक पार्टीहरूसँग सरसल्लाह लिनु, राय सुझाव लिनु आफ्नो ठाउँमा छ ।

‘टप टू बटम’ नीति

विशुद्ध सामाजिक उद्देश्यको संस्था भए पनि पछिल्ला दिनहरूमा एनआरएनएभित्र राजनीतिक गन्ध चलेको परिचर्चा हुन थालेको छ । राजनीतिक विचार राख्न सबैलाई छुट भएपनि संस्थाभित्र भने राजनीति हुन नहुनेमा सुवेदी सचेत छन् ।

भन्छन्, ‘राजनीतिक पार्टीहरूले प्रभाव पार्न खोज्नु आफ्नो ठाउँमा ठिकै हो, तर हामी प्रभावित हुनुहुँदैन । चुनावका बेला विभिन्न राजनीतिक पार्टीहरूसँग सरसल्लाह लिनु, राय सुझाव लिनु आफ्नो ठाउँमा छ । तर चुनाव जितेर गइसकेपछि त्यहाँभित्र राजनीति गर्न हुँदैन । । उनको विचारमा विशुद्ध सामाजिक सद्भावको मान्यता बोकेको संस्थालाई राजनीतिकरण भने गर्नु गलत हुन्छ ।

‘बर्मा गए कर्मसँगै, नेपाल गए कपालसँगै ।’ उनी यो उखानलाई जनताको आवश्यकताभन्दा नेताको आदेश शिरोपर गर्नुपर्ने नेपाली राजनीतिक संस्कार एनआरएनएमा पनि हाबी हुँदै गएको सन्दर्भतिर संकेत गर्न प्रयोग गर्छन् । ग्राउण्ड लेभललाई हेरेर माथि नीति बनाउनु पर्नेमा उनको जोड छ ।

हालै उनी १५ देशको भ्रमण गरेर नेपाल आइपुगेका हुन् । ती प्रत्येक देशमा आ–आफ्नै समस्या छन् । ती समस्यालाई बुझेर एकीकृत गरी नयाँ नीति बनाउन उनी सचेत छन् ।

भन्छन्, ‘हामीकहाँ नेतृत्व बसेर नीति बनायो अनि तल जबरजस्त लाद्यो गर्ने चलन छ । यो नेपाली राजनीतिमा पनि हाबी छ । तर गर्नुपर्ने चाहिँ तल हुनेहरूको आवश्यकताको पहिचान गरी सोही अनुसारको नीति माथि बनाउनु पर्छ । तब मात्रै त्यो संस्थाको औचित्य र नीति, विधि–विधानप्रति सबैको अपनत्व हुन्छ ।’

प्रत्येक एनसीसीहरूमा फरक–फरक समस्या छन् । हालै उनी १५ देशको भ्रमण गरेर नेपाल आइपुगेका हुन् । ती प्रत्येक देशमा आ–आफ्नै समस्या छन् । ती समस्यालाई बुझेर एकीकृत गरी नयाँ नीति बनाउन उनी सचेत छन् । आफू महासचिव बनेपछि उनी यसरी नै संस्थालाई अघि बढाउन चाहन्छन् ।

सबैको साझा संस्था

एनआरएनएलाई कुलिनहरूको संस्था बनाइयो भन्ने आलोचना आइरहेको छ । यस्तो बेला उनी संस्थालाई खाडी मुलुकमा सस्तोमा पसिना र श्रम बेचिरहेका तल्लो वर्गका श्रमजीविले पनि अपनत्व अनुभूत गर्ने संस्था बनाउन चाहन्छन् ।

अदक्ष श्रमिकहरू खाडी तथा मलेसियालगायत मुलुकमा असाध्यै न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य रहेको उनलाई थाहा छ । ती देशहरूमा अनेक समस्या झेलिरहेका, वाध्यतावश कतिपय बन्धक बनाइएका, कति जेल परेका छन् । तिनका बारेमा दूतावासहरूले समेत राम्ररी सम्बोधन गर्न नसकेको प्रति उनको ध्यानाकर्षण हुन्छ ।

एनआरएनएले ती श्रमजीवि वर्गको बाहुल्य भएको देशहरूमा झनै बेसी ध्यान दिनु पर्ने, उनीहरूको समस्यामाथि पहल गर्नुपर्छ भन्ने उनलाई लाग्छ । आफ्नो मातृभूमिको अर्थतन्त्रको आधार बनाइलिने त्यस क्षेत्रका समुदायका लागि विशेष काम गर्ने उनको सोच छ । उनी भन्छन्, ‘ती देशमा अदक्ष श्रमका लागि भन्दा तालिमप्राप्त जनशक्ति पठाउनु पर्नेमा नेपाल सरकारसँग छलफल गर्नेछौं । आवश्यक परेमा उनीहरूलाई तालिम दिन पनि हामीले सहजिकरण गर्नुपर्ने हुन्छ ।’

उनी परदेशिएका नेपालीहरूका नेता । उनलाई धेरैभन्दा धेरै नेपाली युवा विदेशिएर देश खाली हुँदै गएकोमा भने चिन्ता छ । एनआरएनएको महासचिवमात्रै होइन, अध्यक्ष हुनेसम्मकै यात्रा तय गर्नु छ उनलाई । तर नेपाली युवाको पहिलो रोजाइ भने स्वदेश नै होस् भन्ने उनको चाहना छ । देशमै स्वरोजगार बनाउन, रोजगारी सिर्जना गर्न राज्यले विशेष पहल गर्नुपर्छ भन्ने उनलाई लाग्छ । विदेशमा बसेर आर्जित सम्पत्ति देशमा ल्याएर उद्योग धन्धामा लगाउने र रोजगारी तथा देशको अर्थतन्त्रमा बलटेवा दिनु पर्ने उनको ध्यान छ । त्यही भएर उनी नेपालमा विभिन्न होटल तथा रिसोर्टमा लगानी गरिरहेका छन् ।

‘रिटर्नी’को लगत राखियोस्

देशमा रोजगारी सिर्जना गर्न आफूसँग प्रशस्त र ठुला योजना रहेको उनी बताउँछन् । नेपालको विकासका लागि मुख्य सम्भावित क्षेत्र कृषि, जलविद्युत् र पर्यटनमा आफूले पनि लगानी गर्ने र संस्थामार्फत् अरु धेरै एनआरएनहरूलाई प्रेरित गर्ने उनको सपना छ । यी सम्भावनाका क्षेत्रमा आउँदो केही वर्षभित्र संस्थाको कोषअन्तर्गत २५ अर्ब बराबरको लगानीले रोजगारी सिर्जनामा ठूलो फड्को मार्ने उनको विश्वास छ ।

त्यस्तै, विदेशमा सिकेको ज्ञान, सीप र स्रोतलाई बढी भन्दा बढी देश फर्काउन उनी हरसम्भव पहल गर्नेछन् । तर यसका लागि विदेश जानेहरूको र रिटर्नी (देश फर्किनेहरू)हरूको लागत राख्ने भरपर्दो प्रणाली नेपाल सरकारले गर्नु पर्ने उनको सुझाव छ ।

अहिले त को कहाँबाट फर्केर आयो, आएर के गर्दैछ, कुन हालतमा छ भन्ने लगत नहुँदा राज्यले उनीहरूले लिएर आएको सीपको एकीकृत उपयोग गर्न सकिरहेको छैन ।

भन्छन्, ‘लगत भएपछि कुन कुन क्षेत्रमा के कस्तो काम गर्न सकिन्छ भन्ने निक्र्योल गर्न सकिन्छ । तर अहिले त को कहाँबाट फर्केर आयो, आएर के गर्दैछ, कुन हालतमा छ भन्ने लगत नहुँदा राज्यले उनीहरूले लिएर आएको सीपको एकीकृत उपयोग गर्न सकिरहेको छैन । यदि सही लगत भएको खण्डमा तिनै दक्ष नागरिकबाट अरु नयाँलाई सीप सिकाउन सकिन्छ । अहिले हामीले सुरु गर्दै गरेको एउटा व्यवसायिक आयोजनामा हामी त्यहाँ काम गर्दै आएका पुराना जनशक्ति सबैलाई राख्ने, नपुग्दा मात्रै नयाँ थप्ने योनामा छौं । यतातिर सर्वप्रथम नेपाल सरकारले काम गर्नुपर्छ । हामीले गर्ने सहकार्य, सहयोग सधैं सरकारलाई रहनेछ ।’

कालीकोटको गुरुकुल

सन् २००३ मा अमेरिका पुगेका उनीसँग नेपाल छँदा कालिकोटको दुर्गम गाउँको स्कूलको प्रधानाध्यापकदेखि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकसम्म भएर सेवा गरेको अनुभव छ । ‘एनआरएनए जर्नी’ को फेहरिस्तबारे चर्चा गर्दागर्दै उनी आफ्नो जरातिर फर्किन्छन् ।

‘म कालीकोटको दूरदराजको गाउँमा पुगेको मानिस विश्वको सबैभन्दा विकसित समाजमा छु । म त्यहाँसम्म पुगेँ, यद्यपि आज पनि कालीकोटको त्यो गाउँ, बाटो र त्यहाँको समाज झन् सम्झिन्छु । मानिसले जहाँजस्तो परिवेशमा पनि आफूलाई घुलमिल गराउन सक्नुपर्छ । यस्तो स्वभावले व्यक्तिगत जीवनमा त प्रगति हुन्छ नै, देश र समाजका लागि पनि नयाँ काम गर्न सकिन्छ’, उनी भन्छन् ।

कालिकोटमा गोठाला पठाए वा खेतीबालीको काममा लगाए थोरै भएपनि आर्जन हुन्छ भन्ने सोच थियो । केटाकेटी टाढैबाट कराउँथे, ‘ओइ मास्टर ! आज हाम्रो बाख्रा चराउन जानु छ है, स्कूल आउँदिनँ ।’

उनी कालिकोट पुग्दा नयाँ मान्छेलाई देख्दा बच्चाहरू भाग्ने खालको समाज थियो । स्कूल पुग्न घण्टौं हिड्नु पर्ने, नानीहरू पढ्न आउनै नमान्ने । अभिभावकलाई पनि छोराछोरी पढाउनुपर्छ भन्ने चेतना नै नभएको । त्यहाँ बालबालिकालाई स्कूल पढाएर के हुन्छ ? गोठाला पठाए वा खेतीबालीको काममा लगाए थोरै भएपनि आर्जन हुन्छ भन्ने सोच थियो । केटाकेटी टाढैबाट कराउँथे, ‘ओइ मास्टर ! आज हाम्रो बाख्रा चराउन जानु छ है, स्कूल आउँदिनँ ।’

उनी माध्यमिक तहका शिक्षक थिए । ‘एसएलसी दिने विद्यार्थीलाई पनि पढाइप्रति चासो थिएन । भदौ महिनामा त अनेक मन्दिरमा पूजा र गाउँ भोजमा सारन्तारन गर्ने प्रचलन ‘पैठ’ हुन्थ्यो । त्यो महिनभरि त कक्षा खाली–खाली हुने, शिक्षकहरूले आफ्नो जागिर जोगाउनै हम्मे पर्ने,’ उनी पुराना दिन सम्झन्छन् ।

तर, नेपाली समाज सद्भावले जोडिएको पाउँथे उनी । कालीकोट छँदा विद्यार्थीहरू आलोपालो गर्दै ढिँडो, रोटी लगायत खानेकुरा लगिदिन्थे । कोही–कोही त स्थानीय चामल समेत लगिदिन्थे । उनी विद्यार्थीहरूलाई गृहकार्य सिकाइदिन्थे, उनीहरू उनलाई आलोपालो खाना पकाएर खुवाउँथे ।

अमेरिकाको सबभन्दा महँगो होटलमा बनेको परिकार खाएभन्दा प्रिय सम्झना ती दिनको छ । गुरुकुल शिक्षा जस्तो लाग्छ उनलाई ती दिन सम्झिँदा । भविष्यमा त्यो र त्यस्ता समाजका लागि आफूले केही ठोस काम गर्ने उनको योजना छ । कालिकोट जस्तो क्षेत्रमा त्यहीँको माटो सुहाउँदो सीप र उद्यम विकास गर्नुपर्छ भन्ने पनि उनलाई लागेको छ ।

उनी नेपालमा प्राध्यापन पेशामा हुँदा पनि केही व्यवसाय गर्थे । उद्यम–व्यवसाय समाज चल्ने पहिलो आधार हो भन्ने उनलाई धेरै पहिले बोध भएको थियो । यो बोध उनलाई बुबाले दिएका थिए । नायब सुब्बाको जागिरे उनका बुबालाई जागिर भन्दा उद्यम गर्नु ठिक लाग्थ्यो । आफूले त्यो मौका पाएनन् तर उनी आफ्ना छोराहरूलाई पढेर आफ्नै केही गर्नु भन्ने सुझाइरहन्थे ।

आज अमेरिकामा अर्बपति हैसियतको व्यवसायी बन्दा पनि उनलाई बेला–बेला बुबाको अर्तिको सम्झना आउँछ । तर उनलाई चिन्ता छ कि नेपालीको स्वभाव अझै उद्यमशील बनिसकेको छैन । अमेरिकामा पुगेर पनि नेपालीको आम सोच आठ घण्टा काम गर्ने, ‘क्यास’ लिने र बाँकी समय विन्दास हुने देख्दा बडो अचम्म र हैरानी मान्छन् ।

त्यही भएर उनी आफू बसेको शहरमा रहेका धेरै नेपालीलाई आफैँले आर्थिक सहयोग गरेर समेत सानो भए पनि उद्यममा प्रवृत्त गराएको अनुभव सुनाउँछन् । सम्भावनाको पहिचान गरी लगानी नडुब्ने क्षेत्रमा सकेसम्म उद्यम गर्न उनी नयाँ पुस्तालाई सुझाउँछन् ।

टालौं नीतिगत ‘ग्रे होल’

अमेरिकामा उनी ‘हस्पिटालिटी’ क्षेत्रमा सक्रिय छन् । नेपाल सरकारले लगानी मैत्री वातावरण दिएको खण्डमा उनी यहाँ पनि ठाउँठाउँमा सम्भावनाको पहिचान गरी लगानी गर्न चाहन्छन् । प्रकृतिले भरपूर साथ दिएको आफ्नो देशलाई पर्यटनमा विश्वस्तरमा पुर्‍याउन चाहन्छन् । नेपालको पर्यटन क्षेत्रको विकासको एउटा हिस्सा भएर देशलाई योगदान गर्न चाहन्छन् । यसका लागि एनआरएनहरूलाई पनि निरन्तर प्रेरित गर्न उनी प्रतिबद्ध छन् ।

तर नेपालको नीतिमा भएका ‘ग्रे होल’हरू हटाउनु पर्ने, जो आए पनि नीतिगत रूपमा उही व्यवहार हुनुपर्नेमा उनको जोड छ । होइन भने सधैँ पहुँच हुनेको मारमा इमान्दार र पहुँचहीनहरू पिल्सिरहने, जसका कारण विकासको यात्रामा बाधा उत्पन्न भइरहनेतिर उनी औंल्याउँछन् । त्यसकारण नीति सधैँ सिधा बाटोमा हुनुपर्ने उनको बुझाइ छ । जसका कारण काम गर्ने मानिसको आत्मविश्वास बढ्छ, यसतिर राज्यले ध्यान दिनुपर्छ भन्ने उनलाई लाग्छ ।

जोखिम र चुनौतीसँग खेल्न मन पराउने उनी व्यवसायमा पनि नयाँ–नयाँ ठाउँमा लगानी गर्छन् । चुनौतीमा खेलेमात्रै नयाँ आविष्कार र खोज हुनेमा उनी विश्वास गर्छन् ।

एनआरएनएलाई खाली पद ओगट्ने ठाउँ मात्रै नबनाएर नेपाली डायस्पोरालाई समान रूपमा जोड्ने र नेपाललाई यथाशक्य धेरै योगदान गर्ने ‘प्लेटफर्म’ बनाउने लक्ष्य छ । यही लक्ष्य लिएर नै निकट भविष्यमा कार्यकारी नेतृत्वसम्म पुग्ने उनको सोच छ ।

उनी वास्तवमा गैरआवासीय नेपाली संघमा पनि समाज सेवाको नयाँ बाटो पहिल्याउने जमर्कोमा छन् । संस्थालाई खाली पद ओगट्ने ठाउँ मात्रै नबनाएर नेपाली डायस्पोरालाई समान रूपमा जोड्ने र नेपाललाई यथाशक्य धेरै योगदान गर्ने ‘प्लेटफर्म’ बनाउने लक्ष्य छ । यही लक्ष्य लिएर नै निकट भविष्यमा कार्यकारी नेतृत्वसम्म पुग्ने उनको सोच छ ।

एनसिसी अमेरिकाको अध्यक्ष हुँदा उनले आफ्नो पहलमा कार्यालय भवन निर्माण गरे । घर हुनु एउटा छानो हुनु हो । तर, घर भएर मात्रै हुँदैन, घरमा परिवारका सबै सदस्य मिलिजुली बस्ने, सबै अटाउने भावनात्मक वातावरण पनि हुनुपर्छ ।

उनी अब एनआरएनएले पनि निकट भविष्यमा गर्नुपर्ने एकतालाई संकेत गर्दै भन्छन्, ‘सस्थामा सबै आएर बस्ने वातावरण तयार गर्नु छ । यसका लागि म महासचिव बनेपछि सबैलाई मिलाएर लैजान पहिलो पहल हुने छ ।’

मान्छेको जीवन अजम्बरी छैन, आफ्नो जीवनकालमै मानव समुदाय र आफ्नो समाजका लागि सेवा गर्नु छ । उनलाई यिनै कुराहरूले निरन्तर प्रेरित गरिरहन्छ ।

***

प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *