Logo

१४ माघ २०७९, शनिबार

जताततै कम्ब्याट ड्रेस पहिरिएका हतियारधारीहरू । बाटोमा, स्कुलमा, जंगलमा या किसानका खेतबारीका आलीका डिलमा कतै न कतै यस्ता मानिस उभिएका हुन्थे नै । तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्व उत्कर्षमा पुग्दै थियो ।

धन्न सदरमुकाम नजिकका भएकाले त्यो जर्जरपूर्ण भिडन्त भने कभिकभार नै देख्न मिल्थ्यो । तर, के गाउँ के शहर ! द्वन्द्वको रापले नछोएको ठाउँ थिएन । कतै धेरै त कतै कम । फरक यति थियो कि, गाउँका मानिस विद्रोही (माओवादी)सँग नजिक थिएन भने हामी सदरमुकाम नजिकका भएकाले पनि हो कि सेनासँग अलिक बढी घुलमिल थियौं ।

तर, को किन लड्दै थिए भन्ने हामीलाई भने खासै भेउ थिएन । कहिलेकाँहि गाउँमा कार्यक्रम गर्न माओवादीहरू आउँदा भने ठूलै भाषण सुनाउँथे । घन्टौंसम्म राज्य र प्रणालीप्रति कर्कसिसिरहन्थे । मेरो त्यो बाल मानसपटलमा भने यस्ता कुराले खासै छोएन । तर, त्यस्ता कार्यक्रममा हुने सांस्कृतिक गतिविधिले भने मन निकै लोभ्याउँथ्यो ।

यता सेनाहरू पनि गाउँमा आउँदा माओवादीलाई देशको शत्रु भन्थे । देशद्रोही, आतंककारी यस्तै–यस्तै । तर, को कसका शत्रु हुन् भन्ने त उनी लड्नेहरूले नै जानून् । जनता भने दोहोरो मारमा जहिल्यै । कहिले खाना नदिएकोमा माओवादीबाट कुटिन्थे त कहिले खाना किन दिएको भन्दै राज्यतर्फबाट सेनाले डण्डा वर्षाउँथे ।

माओवादी द्वन्द्वमा सरिक नभए पनि आफन्तहरू त्यसमा आवद्ध हुँदा भने कहिँ न कतैबाट हामी पनि जोडिएका अवश्य थियौं । म सानैदेखि खरो स्वभावकै थिएँ । हत्तपत्त कसैको तर्कमा सहमत हुन्थिनँ । घुर्की लाएरै भए पनि आफ्नो कुरामा जित्ने आदत थियो । त्यहि भएर पनि कहिलेकाँहि घरमा माओवादी जस्तो भनेर जिक्याउँथे । म जन्मिएको एक वर्षपछि नै माओवादी भूमिगत रूपमा द्वन्द्वमा होमिएको थियो ।

अम्मर गिरी र प्याउँक्या ठूला बा दुवै जनाले ठूला दारी पालेका थिए । त्यसै कारण पनि सेनालाई शंका भएको रहेछ । उनीहरू दुवै जनामध्ये प्याउँक्या ठूला बा त बोल्नै नसक्ने भइहाले, अर्को अम्मर पनि स्पष्टसँग बोल्थेनन् ।

एकदिन हो, घरमाथि राउली खोलाको धारा किनारमा गाउँका सबै मानिस बसेर गफ गरिरहेका थिए । महिना र गते त स्पष्ट भएन तर साल भने याद छ । २०५८ साल हो । पारिलो घाममा गाउँका सबै ठूलाबडाहरू बसेर गफ गर्दै थिए । सबैको एउटै प्रश्न थियो, उत्कर्षमा पुग्दै गरेको माओवादी द्वन्द्वले अब कुन बाटो लिन्छ ?

वास्तवमा जनता दुवै तर्फबाट प्रताडित नै थिए । कुन दिन सेनाले माओवादीलाई आश्रय दिएको निहुँमा यातना दिने हो ? यता माओवादीले चाहिँ सिआइडीको आरोप लगाएर कतिबेला अपहरण गरी बेपत्ता पार्ने हुन् ? यी दुई चिन्ताले मध्यम क्षेत्रका जनतालाई आक्रान्त पारेको थियो ।

यस्तै भलाकुसारी हुँदैगर्दा अकस्मात गाउँमा सेनाको गस्ती आयो । मुखमा कालो रङ दलेका, हतियारले सज्जित कम्ब्याट ड्रेसमा लस्कर लागेर उनीहरू आइरहेका थिए । सेनाको गस्ती देख्नेबित्तिकै सबैका अनुहार मलिन भए । म भने धारामा नुहाउँन गएको थिएँ । राउली खोलाको धारो, गाउँमा त्यसबेला त्यहि एउटा धारो थियो ।

खानेपानी, नुहाउनेदेखि गाउँभरका गाइवस्तुलाई पानी खुवाउनेसम्म त्यहि राउली खोलाकै धारो हो । त्यसैले पनि घाम लाग्नेबित्तिकै गाउँका सबै मानिसहरू जम्मा हुने थलो बनेको थियो ।

सेनालाई देख्नेबित्तिकै लुगा धुन गएका महिलाहरू आ–आफ्नो घरतिर लागे । हामी भने बालक नै भएकाले त्यहिँ हेरेर बस्यौं । उमेर सानै भए पनि माओवादी या सेना दुवैदेखि कहिल्यै डर लागेन । बरु उनीहरूले लगाउने कम्ब्याट ड्रेस भने मलाई खुबै मन पथ्र्यो । आधाजति सेनाले धारो पार गरिसकेका थिए । बीचमा वाकिटकी बोकेको एक सैनिकले भने बारमाथि बसेका दुईजनातिर आफ्नो नजर घुमायो ।

बारमाथि थिए, तीर्थ दाई र अम्मर गिरी । तिर्थ दाई तिनै हुन् जो एक वर्षअघि सेनाको तालिम गर्दागर्दै भागेका थिए । सबैलाई लाग्यो सैनिकको नजर तिर्थ दाईतिरै गयो । त्यतिबेला सेनाका भगौडा भनेपछि समातेर लगेर कारबाही गर्थे । तर, त्यहाँ त सैनिकले अम्मर गिरीतर्फ इसारा गर्दै तल ओर्लिन भन्यो । उनी ओर्लेनन् । ‘तल ओर्लिन्छस् कि के गरौं ?’ सेनाको धम्की थियो ।

को कसका शत्रु हुन् भन्ने त उनी लड्नेहरूले नै जानून् । जनता भने दोहोरो मारमा जहिल्यै । कहिले खाना नदिएकोमा माओवादीबाट कुटिन्थे त कहिले खाना किन दिएको भन्दै राज्यतर्फबाट सेनाले डण्डा वर्षाउँथे ।

तर, अम्मरले त्यस परिस्थितिमा दिन नहुने जवाफ दिए, ‘तैलै पो राजाको नुन खाको छस् र जहाँ भन्यो त्यहिँ जान्छन्, मैले त मेरो कमाइ खाको छु । किन झर्ने ?’ उसै त दारी पालेर शंकास्पद देखिने, अम्मरको त्यो जवाफपछि सैनिक अधिकारीको रिसले सीमा पार चढेको हुनुपर्छ । त्यो सैनिक एक झट्कामा बारमाथि चढ्यो र झट्टै अम्मरको कठालो समातेर तल ओराल्दै दुई झापड हिर्काइहाल्यो ।

त्यसबेला सिधा सेनालाई त्यस्तो जवाफ दिने हिम्मत कसैको हुन्नथ्यो । अम्मरले त्यसरी भन्नुका पछाडि कारण पनि थियो । उसको आफ्नै कान्छो भाई माओवादीको बटालियन कमाण्डर थिए । तर, पनि अम्मर आफैं भने त्यसबेलासम्म माओवादी भइसकेका थिएनन् । तै पनि उनको त्यो जवाफले अनाहकमै दुई झापड खाइहाले । आफूसँगै लैजान तयार थिए सेना । तर, गाउँका मानिसले सम्झाएपछि धम्की दिएर छाडे ।

त्यो घटनापछि भने हामी सबै लुसुक्क घरतिर लाग्यौं । त्यसबेला गाउँमा कुनै नयाँ मानिस आए पनि शंका हुन्थ्यो । सूचना लिन आउने सेनाका गुप्तचर हुन् कि माओवादीका कार्यकर्ता छुट्याउनै गाह्रो हुन्थ्यो ।

त्यसको तीन दिनपछि अचानक सिलाम गाउँको जंगलबाट दुई जना माओवादीका बटालिएन कमाण्डर समातिए भन्ने खबर आयो । त्यो पनि हाम्रै गाउँका । मेरो ठूलो दाई त्यसबेला वन विभागमा जागिरे हुनुहुन्थ्यो । दिनभर को पो समातिए भन्ने खैलाबैला गाउँभर भयो ।

बेलुका मात्रै थाहा भयो, समातिनेमा एउटा उनै अम्मर गिरी रहेछन् । अर्को चाहिँ प्याउँक्या ठूला बा । उनी बोल्न सक्दैन थिए । सांकेतिक भाषामा मात्र कुरा गर्थे । उनको वास्तविक नाम त के हो मलाई पनि अहिलेसम्म थाहा छैन । तर, सानैदेखि सबैले प्याउँक्या भन्ने नै सुनेका हौं । अहिले पनि हामी प्याउँक्या ठूला बा नै भन्छौं ।

साँझ यो कुरा सुन्दा त एकछिन हाँसो नै उठ्यो । यी दुई जना पो बटालियन कमाण्डर ! भएको के रहेछ भने, शुक्रबारको दिन थियो । गाउँभरका गाई लगेर गोठालो गएका थिए । त्यसैबेला सेनाको गस्ती गएको रहेछ । अम्मर गिरी र प्याउँक्या ठूला बा दुवै जनाले ठूला दारी पालेका थिए । त्यसै कारण पनि सेनालाई शंका भएको रहेछ । उनीहरू दुवै जनामध्ये प्याउँक्या ठूला बा त बोल्नै नसक्ने भइहाले, अर्को अम्मर पनि स्पष्टसँग बोल्थेनन् ।

अम्मरले त्यस परिस्थितिमा दिन नहुने जवाफ दिए, ‘तैलै पो राजाको नुन खाको छस् र जहाँ भन्यो त्यहिँ जान्छन्, मैले त मेरो कमाइ खाको छु । किन झर्ने ?’

त्यसैले सोधपुछमा उनीहरूले स्पष्ट जवाफ दिन सकेनन् । उनीहरूले त्यहिँबाट सेनाको क्याम्पमा खबर गरेछन्, ‘सिलामको जंगलबाट दुई जना बटालियन कमाण्डर समातिएका छन् । दुवै जना मिलेटिरियन ट्रेन्ड रहेछन् । कुनै जवाफ दिँदैनन् ।’

त्यसबेला मेरो घरभन्दा तल्लो घरको देविलाल कुँवर दाई राष्ट्रिय वाणिज्य बैंकमा सुरक्षा गार्ड हुनुहुन्थ्यो । सानै पद भए पनि त्यसबेला राज्यप्रति सरकारी कर्मचारीको राम्रै पहुँच हुन्थ्यो ।

त्यसैले पनि हाम्रै गाउँबाट समातिएका दुई जनालाई चिन्नका लागि सेनाले क्याम्पमा देविलाल दाईलाई बोलायो । दाई त्यहाँ पुग्दा अम्मर र प्याउँक्या ठूला बालाई देखेपछि छक्क परेछन् । उनले उनीहरू सामान्य गोठालो मात्र भएको भन्ने विश्वास दिलाएपछि बल्ल बेलुका रिहाइ गरे ।

हुन त यो घटना हेर्दा सामान्य नै लाग्छ । तर, कैयौं जनताले ‘मिस कम्युनिकेशन’का कारण ‘अन द स्पट’ अनाहकमै ज्यान गुमाएका उदाहरण प्रसस्तै छन् । यदि देविलाल दाई नभएको भए उनीहरू दुवै जनाले कति यातना भोग्नुपथ्र्यो । या त ज्यानै पनि जान सक्थ्यो ।

शंका लागे मात्रै पनि ज्यान लिइहाल्ने माओवादी र सेना दुवैको रणनीति थियो । शंका लागेको व्यक्ति दोषी हो या होइन जानकारी पक्का नै नगरी ज्यान लिने प्रवृत्ति तत्काल थियो ।

सम्झिँदा कहिलेकाँहि सेनाले गोठालालाई पनि बटालियन कमाण्डर बनाइदियो भन्ने कुराले हाँसो पनि उठ्छ । तर, थोरै विचार नगरी सेनाले एक्सन लिएको भए सायद आज हामीसँग अम्मर गिरी र प्याउँक्या ठूला बा जिवित हुँदैनथे ।

प्रकाशित मिति: २ फाल्गुन २०७८, सोमबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मरुहिटी मार्ट

सम्बन्धित सामग्री

सिफारिस