Logo

३ माघ २०८१, बिहिबार
  • विन्द्या सुब्बा

नेपाली साहित्यमा यदि अनन्य र शक्तिशाली दुईजना नारी लेखकहरूको नाम लिनपरे म पारिजात र वानीरा गिरिको नाम लिन्छु । पारिजात २६/२७ वर्ष अघि बितिन् र गत २४ मेमा वानीराले पनि यो शरीर छोडिन् । वानीरा लेखन सन्दर्भमा एक बहुप्रतिभाशाली र सामर्थ्यवान सर्जक थिइन् र स्वास्नीमान्छेको रूपमा पनि उतिकै गतिशील, साहसी र स्वाभिमानी थिइन् ।


वानीरालाई कविता, उपन्यास र निबन्ध तीनै विधामा समानरूपमा सशक्त सर्जकका रूपमा हेरिन्छ । समानरूपमा तीनै विधामा सामथ्र्य राख्छिन् उनी, तथापि भनेकी छन्– पोएट्री इज माइ फस्र्ट लभ । उनको कविता पठन अदभूत सुन्दर हुन्थ्यो भन्ने पनि सुनेकी थिएँ । उनको कविता सुनेरै तत्कालीन राजा महेन्द्रले उनलाई नेपालमै बस्नु भन्नुभएको थियो रे !

तस्विर सौजन्य: विन्द्या सुब्बा


बोलीमा, वस्त्र पहिरनमा पनि वानीराजीको आफ्नै शैली थियो । भनूँ, वानिरा आफू सम्पूर्ण नै फरक शैलीकी, फरक सोचाइ र फरक गराइकी एक स्वास्नीमान्छे, एक सर्जक थिइन् ।


यस्ती प्रखर प्रतिभा, प्रखर साहित्यकार वानिरा गिरिलाई त्रिमूर्ति निकेतन/नई प्रकाशन, काठमाडौंद्वारा सन् २०१४ मा आयोजित विश्व नारी साहित्य सम्मेलनमा भेट्ने सौभाग्य पाएकी थिएँ । यसै समारोहमा उनलाई ५ लाख राशिसहित ‘विश्व नारीरत्न’को विशाल सम्मान अर्पण गरिएको थियो साथै पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग रथ आरोहण गराइएको थियो ।

तस्विर सौजन्य: विन्द्या सुब्बा


नेपाली साहित्यमा सायद विरलै नारी साहित्यकारले यस्तो सम्मान प्राप्त गरेकी होलान् । त्यसै समय मैले वानीरा गिरिको सान्निध्य पाएँ । थाहा छैन, कसरी उनले मलाई यति नजिक आफूसँग राखिन् । सुनेकी थिएँ, उनले हतपत्त आफ्नो घरमा कसैलाई निम्त्याउँदिनन् । यो मैले गलत सुनेकी पनि हुनसक्छ । तर वानीराले प्रथम भेटमा नै फूलहरूको एउटा सुन्दर गुच्छाद्वारा मप्रति रुचि दर्शाएकी थिइन् । त्यसै समारोहका दिनहरूमा मलाई र मेरा पतिलाई उनले आफ्नो निवासमा दिवाभोजनका निम्ति निम्त्याएकी थिइन् ।

म जब पनि वानीरालाई सम्झन्छु, एक फरक शैलीको स्वप्नशील स्रष्टाको सम्झना हुन्छ । उनी बितेर मात्र होइन, यो विश्व नारी साहित्य सम्मेलनपछिका सबै दिनहरूमा मैले यसैगरी सम्झेकी छु ती तेजस्वी, ओजस्वी नारी साहित्यकारलाई । उनको शरीर रहे पनि, नरहे पनि उनै यसै भावमूर्तिका एक अमर साहित्यकारका रूपमा सदाकाल बाँच्नेछिन् ।

तस्विर सौजन्य: विन्द्या सुब्बा


०००

प्रकाशित मिति: १५ जेष्ठ २०७८, शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *