Logo

१४ माघ २०७९, शनिबार

‘हामी लासहरूमाथि निर्धक्क हिँडिरहेछौँ
पृथ्वी पनि लासहरूको एउटा चिहान हो
हामी चिहानमा घर बनाउँछौँ
हामी चिहानमा भोज खान्छौँ
हामी चिहानमा बाँचिदिन्छौँ’
(‘म एउटा च्यातिएको पोष्टर’ कविताबाट)
– डा.वानीरा गिरि

यतिबेला समय लासहरूमाथि हिँडिरहेछ । शासकहरू लासमाथि हिँडिरहेछन् मुस्कुराउँदै । लासहरू– सत्तादंशले मारिएकाहरूको, भोकले नाम्लो पेटमा कसेर मरेकाहरूको । उसै त आम भूईंमान्छेहरूको लासको बिस्कुन लगाइरहेको शासकहरूको साम्राज्य, झनै यतिबेला कोरानाको महामारीले विश्वलाई लासहरूको घाट बनाइरहेको छ । आखिर शासक जुन देशका होउन्, शासन गर्न लासहरू भएर काफी हुने रहेछ । अहिले नेपाल होस् या विश्वका अन्य देशहरू, घटनाहरूले यस्तै देखाउँछ ।


यो समयले लाखौं मानिसको जीवन लुटिरहेको छ । धेरै प्रियजन हामीबाट सदाका लागि बिदा भए, भइरहेका छन् । यही समयमा नेपाली साहित्य जगतले एक शक्तिशाली लेखक डा. वानीरा गिरिलाई पनि गुमाएको छ । माथि उद्धृत कवितांशमा भनिएजस्तै यतिबेला पृथ्वी नै लासहरूको घर भएको छ । मानव जगत् डरलाग्दो चित्कारले हल्लिएको यो बेला वानीरा भने ‘आफैँलाई बिर्सिएर’ शान्तिपूर्वक हामीबाट बिदा भइन् ।


वानीरा एक गतिवान लेखक थिइन् । निडर, स्पष्टवक्ता र बागी लेखक थिइन् । उनले जे लेखिन्, जीवन त्यसरी नै बाँचिन् । उनले आफ्नो सत्व झुकाएर कहीँ भाग खोजिनन्, पदको लालच राखिनन् । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको कुलपति हुने हैसियत महिला लेखकमा भएको चुनौती पेश गरिन् । स्रष्टाको लिङ्ग नहुने भन्दै महिलालाई कवयित्री हैन, कवि भनिनु पर्ने जिकिर गरिन् । समयले कोल्टे फे-यो । उनै वानीराले जीवनका अन्तिम तीन वर्ष आफूलाई बिर्सिंदै जानुप-यो । अल्जाइमर्स (बिर्सने रोग)ले गाँजेपछि ती चलायमान स्रष्टा अचल हुँदै आफूमा हराइन् । २००२ साल चैत्र २९ मा दार्जीलिङमा जन्मिएकी हुन् । राजा महेन्द्रका पालामा अध्ययन छात्रावृत्ति पाएपछि त्रिभुवन विश्वविद्यालयमा भर्ना हुन आएकी उनी काठमाडौं बसाइको क्रममा इञ्जिनियर शंकर गिरीसँग विवाह गरी यतै बसेकी हुन् । कोरोना संक्रमणसमेत देखिएको उनको गत जेठ ९ गते हृदयघातका कारण निधन भयो ।


उनका ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’, ‘जीवन थायमरु’, ‘मेरो अविस्कार’ र ‘काठमाडौं काठमाडौं’ शीर्षकका चारवटा कविता–काव्यका पुस्तक प्रकाशित छन् । ‘कारागार’, ‘निर्बन्ध’ र ‘शब्दातीत शान्तनु’ गरी तीनवटा उपन्यास, ‘पर्वतको अर्को नाम पार्वती’ र ‘जङ्गल जङ्गल’ शीर्षकका दुई निबन्ध सङ्ग्र्रह छन् । ‘रोकिनेले आकार दिन सक्तैन’ उनको यात्रा संस्मरण हो । केही कृति अंग्रेजीमा अनुवाद भइ प्रकाशित छन्– The Prison, My Discovery, From The Lake, Love र  From The Other End ।


उनी साझा पुरस्कार, रत्नश्री सुवर्ण पदक, महाकवि देवकोटा पुरस्कार, राष्ट्रिय कलाश्री पुरस्कार आदिबाट सम्मानित भइन् । उनको उपन्यास ‘शब्दातीत शान्तनु’ ले २०५६ सालको साझा पुरस्कार पाएको थियो । त्रिभुवन विश्वविद्यालयबाट कवि गोपालप्रसाद रिमालका कवितामाथि उनले विद्यावारिधि गरेकी थिइन् । लामो समय पद्मकन्या क्याम्पसमा प्राध्यापन गरेकी उनी नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम महिला हुन् ।
‘ए मान्छे !
च्यातिएका वाक्यका टुक्राहरूका
पटक–पटकमा बेग्लाबेग्लै अर्थ नलाऊ
मैले आफ्नै कहानी बिर्सिसकेकी छु’
(‘म एउटा च्यातिएको पोष्टर’ कविताबाट)

यसरी जीवनको अन्तिम घडी आफ्नै कहानी बिर्सेर धर्तीबाट बिदा भएकी वानीरालाई लेखकहरू यसरी सम्झिन्छन्:

(पढ्न लेखकको नाममा क्लिक गर्नुहोस्)

वानीरा गिरिबारे यसअघि प्रकाशित सामग्री पनि पढ्नुहोस्:

०००

प्रकाशित मिति: १५ जेष्ठ २०७८, शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मरुहिटी मार्ट

सम्बन्धित सामग्री

सिफारिस