Logo

१३ चैत्र २०८०, मंगलबार

बलेफी गाउँपालिका वडा नम्बर ३ का नवनिर्वाचित अध्यक्ष रितेश तामाङलाई सानैदेखि सामूहिक काम गर्न रुचि थियो । यही रुचीले आज उनलाई जनप्रतिनिधिको रुपमा उभ्याएको छ ।

उनी नेपाली कांग्रेस पार्टीको सिन्धुपाल्चोक क्षेत्र नं. १ प्रदेश ‘ख’को सचिव हुन् ।लोकतन्त्र र समाजवादमा विश्वास गर्ने उनी पार्टीको यही सिद्धान्तलाई जनताको सेवाका क्रममा लागू गर्ने सोचमा छन् ।

युवा जोश भएका रितेश व्यवसायी हुन् । उनी व्यवसायका क्रममा देशका विभिन्न ठाउँमा पुगिरहन्थे । आफूलाई पुग्ने पैसा त धेरथोर कमाइरहन्थे । तर, यसो गाउँ फर्क्याे, गाउँलेहरुको अवस्था देख्दा उनको मन पोल्थ्यो ।

कोही बिरामी पर्दा उपचारको लागि छटपटिइरहेका हुने, खेतीपाति गरिरहेका किसान सिंचाई नभएर हैरान देखिन्थे । केही न केही अभाव खट्किरहेको पाउँथे ।

समस्यामा परेका आफन्त वा गाउँलेलाई व्यक्तिगत रुपमा सर–सहयोग गर्ने त आफ्नो ठाउँमा थियो । तर त्यस्तो बाटो समस्याको स्थायी समाधान थिएन । उनलाई लाग्यो, आफैं कार्यकारी भएर अघि सरे त जनसेवाका पक्षमा ठोस काम गर्न सकिएला । उनको विचार पार्टीले बुझ्यो, टिकट पाए ।

निर्वामुखी खेती प्रणालीलाई व्यावसायिकरणको पहल थाल्ने योजना छ ।

आफ्नो अभिमत र योजना लिएर उनी जनता सामु पुगे । नभन्दै जनताबाट विश्वासको मत पाए । बैशाख ३० गते सम्पन्न निर्वाचनमा उनी नेकपा एमालेबाट उठेका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका फूलमान तामाङलाई पराजित गर्दै जीत हासिल गरेका हुन् ।

तामाङ बाहुल्य उनको वडामा गुरुङ, क्षेत्री, दलित लगायत समुदायको बसोबास छ । उनी तामाङ समुदायका मानिस, कतै आफ्नै समुदायको लागि मात्रै पो काम गर्ने हो कि ? कोही कसैमा हुनसक्ने यस्तो आशंकाको उनी शुरुमै खारेज गर्न चाहन्छन् ।

भन्छन्, ‘म एउटा समुदायको मानिस भए पनि म यो समाजका अन्य सबै जातजातिको बीचमा हुर्केको हुँ । सबैसँग मेरो हार्दिकता उत्तिकै गहिरो गरी जोडिएको छ । त्यसकारण सबैसँग हातेमालो गर्दै यहाँको विकासलाई गति दिन चाहन्छु ।’सबैको धार्मिक, सांस्कृतिक आस्थाको संरक्षण गर्न प्रतिबद्ध छन् उनी ।

उनी गाउँलाई विकासको आधुनिक खुट्किलोमा उकाल्न चाहन्छन् । तर, यस्तो सोचिरहँदा गाउँमा भएको परम्परागत सीप र प्रविधि जोगाएर नयाँ प्रविधि वा प्रणाली भित्राउने सवालमा पनि उनी सचेत छन् ।

त्यसो त गाउँको विकासका केही न केही गतिविधि त भइरहेकै थिए । अघिल्लो कार्यकालमा चुनिएकाहरुले पनि केही पहल त गरेकै थिए । उनीहरुले गरेकै राम्रा कामको स्थायित्व दिने, गर्न बाँकी क्षेत्रमा नयाँ काम गर्ने उनको योजना छ ।

गाउँमा एम्बुलेन्सको व्यवस्था गरी गाउँलेको स्वास्थ्योपचारलाई सहज बनाउन चाहन्छन् ।

गाउँमा खानेपानीका त्यति गतिलो प्रबन्ध छैन । अघिल्ला अग्रजहरुले बृहत् खानेपानी योजना अन्तर्गत एक घर एक धारोको योजना अघि सारेका थिए । उनी त्यो योजना कार्यान्वन गर्दै छन् ।

भन्छन्, ‘मेरा अग्रज मोहनबहादुर बस्नेत ज्यूलाई खानेपानी योजना बजेटको रातो किताबमा समावेश गराइदिनुभएकोमा विशेष धन्यवाद भन्छु । मेरो कार्यकालमा जनताले घर–घर खानेपानीको सुविधा पाउने गरी काम गर्छु ।’

उनको वडा पालिकाको विकट क्षेत्रमै पर्छ । मोटरबाटोले गाउँलाई जोडे पनि छ÷सात महिना मात्रै गाडी चल्ने, धुलाम्मे बाटो बर्खा लागेपछि हिलोले सवारी सुविधा बन्द हुन्छ । खासगरी कोठे, विन्जेल, चिलाउने, धुस्कोट, सिमासिङ, फुल्पिङकोट, जलवीरे लगायत क्षेत्र जोड्ने बाटोहरु स्तरोन्नती गर्नेछन् ।

वडामा पर्ने दुई प्रमुख ठूला सडक बाह्रै मास सञ्चालनमा ल्याई जनतालाई सवारी सुविधा प्रवाह गर्ने अर्को योजना छ । यसका लागि पालिका, प्रदेश र संघसम्म बजेटको प्रस्ताव लैजाँदै छन् ।

गाउँमा स्वास्थ्यचौकी त छन्, तर उपचारका लागि बाहिर ल्याउन परे गाउँले महँगो भाडा तिरेर बिरामी अस्पताल लान बाध्य छन् । उनी एउटा एम्बुलेन्सको व्यवस्थापन गरी गाउँलेको स्वास्थ्योपचारलाई सहज बनाउन चाहन्छन् । यसका लागि उनी आफ्नो निर्वाचित सदस्यहरुसँग सल्लाह गरी अघि बढ्ने बताउँछन् ।

बाह्रै महिना मोटर चल्ने गरी सडक स्तरोन्नती गर्दै छन् ।

उनको वडा क्षेत्रका धेरै युवा विदेश गएका छन् । कृषिलाई व्यावसायिकरण गर्न पाएको भए ती युवालाई गाउँकै विकासमा लगाउन सकिन्थ्यो भन्ने उनको सपना थियो । अब उनी गाउँमै रोजगारी र जनताको आय स्रोत बढाउने योजना लागू गर्दै छन् ।

भन्छन्, ‘यो पाँच वर्षे कार्यकालमा हिँउदे सिंचाई आयोजना सम्पन्न गर्ने मेरो अर्को सपना छ । निर्वाहमुखी खेती प्रणालीबाट जीवन कहिले उँभो नलाग्ने देखेपछि युवाहरुले देश छोडे । सिंचाईको व्यवस्था गरी कृषिलाईव्यावसायिकरण गरिने छ । आम्दानी बढे आफ्नै गाउँ बनाउन जुट्लान् युवाहरु ।’

यसरी उनी आफ्नो कार्यकालमा युवा शक्तिलाई गाउँमै फर्काएर आफ्नो ठाउँको विकासको खाका कोर्ने सपना लिएर आएका छन् ।

प्रकाशित मिति: ४ जेष्ठ २०७९, बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *