Logo

१४ माघ २०७९, शनिबार

अवोध अभिभावक सपना !


मोरङ । सँगैका साथीभाई आमा–बुवासँग रमाउँछन्, घुम्न जान्छन्, मन लागेको किनिमाग्छन् । यो रहर सपनाका लागि मात्रै एक सपना छ । १० वर्षको अवोध उमेरमै अभिभावकको दायित्व । तीन भाइबहिनीको हेरचाह, आमाको यादमा दैनिक आँशु झर्छन् ।

रहरकै सपनाबीच आफू र भाइबहिनीको भविष्यको सपना खोज्दैछिन् बेलबारी–५ की १० वर्षीया सपना ऋषिदेव । पीडाका बीच मुस्कुराउन कोशिस गरिरहेको अवोध मुहारले विपन्न मुसहर परिवारभित्रको कथा चित्रण गर्छ ।

खानेकुरा पनि छैन । कहिलेकाँहि बुबासँग कुरा हुन्छ । सबै ठिक हुन्छ भन्नुहुन्छ तर, पैसा पठाउनुभएको छैन

थोत्रो त्रिपालले ढाकिएको बाँसको टहरा ।वर्षात्मा आकाशको पानी छेल्दैन ।घरभित्र रहेका केही कपडा र भाँडाकुँडा पनि पानीले भिजाउँछ । त्यहि असुरक्षित टहरो नै चार अवोध बालबालिकाको ओत लाग्ने छानो हो । नेपाली भाषा त्यति राम्रोसँग बुझ्दैनन् । कसैसँग बोल्नैपरे पनि हिन्दी र मैथली मिसाएर बोल्छन् ।

उमेरले अवोध छिन् सपना तर, तीन भाइबहिनीको जिम्मेवारीले उनी आमाभन्दा कम छैनन् । आमाको मृत्युपछि बुबा भारत भासिए । न बस्नलाई बलियो घर नै छ, न बिहान–बेलुकाका छाक टार्ने पर्याप्त खानेकुरा नै । हरेक रात उनी आमा सम्झिन्छिन् । साना भाइबहिनीले रुँदै आमा खोज्दा उनको आँखा रसाउँछन् तर, डाँको छाडेर रुन सक्दिनन् ।

‘ममी बितेपछि बुबा पनि भारत जानुभयो । हामी सानै छौं के गर्ने कसो गर्ने केही थाहा छैन । ममीको धेरै याद आउँछ । बहुत रुन मन आउँछ तर, म रुँदा भाइबहिनी पनि रुन्छन्, त्यसैले आँशु आए पनि डाँको छाडेर रुन सक्दिनँ,’ रुन्चे अनुहार बनाउँदै सपना भन्छिन्, ‘खानेकुरा पनि छैन । कहिलेकाँहि बुबासँग कुरा हुन्छ । सबै ठिक हुन्छ भन्नुहुन्छ तर, पैसा पठाउनुभएको छैन ।’

कसैले आमाबारे सोध्दा सञ्जु भन्छन्, ‘आमा जलगइ दादी भि जलगइ’

डाक्टर बन्ने सपना छ उनको । डाक्टर बनेर आफूजस्तै असहायलाई सहयोग गर्ने र सित्तैमा उपचार गर्ने रहर छ । तर, त्यो सपना पूरा कसरी हुन्छ ? उनको अवोध मस्तिष्कलाई कुनै भेउ छैन । आमा–बुबाले नाम त सपना राखिदिए । तर, आमाको निधनपछि निम्त्यिएको परिस्थितिले उनको नामजस्तै भविष्य सपना कस्तो हुन्छ भन्ने अन्योल नै छ ।

भर्खरै विद्यालय जान थालेकी छिन् उनी । कक्षा १ मा कखरा सिक्दै गरेकी उनलाई अरु विद्यार्थीको घर परिवार देख्दा आफ्नो पनि त्यस्तै भइदिए हुन्थ्यो भन्ने लाग्छ ।साथी–संगी सुकिला–मुकिला भएर विद्यालय जाँदै गर्दा उनी आफू र भाइबहिनीतिर हेर्छिन् । ‘सबैका भाइबहिनी चिटिक्क परेर जान्छन् । हाम्रो त बुबा पनि यहाँ हुनुहुन्न । आमा पनि बित्नुभयो । हाम्रो यस्तै दिन कहिले आउलान्,’ सपना सुनाउँछिन् ।

उनी अघि भन्छिन्, ‘डाक्टर बन्ने सपना हो मेरो । डाक्टर बनेर हामीजस्तै सबैको उपचार गर्न मन छ । तर, डाक्टर बन्नलाई धेरै पढ्नुपर्छ, कसरी पढ्ने? के गर्ने केही थाहा छैन । भाइ बहिनीहरू भर्खर बाल कक्षामा पढ्छन् ।’

उनका पिता श्यामलाल ऋषिदेव श्रीमतीको मृत्युभएसँगै धन कमाउन भनेर भारत गए । उनी गएको पनि ३ महिना बित्न लाग्यो तर, न त उनले त्यहाँबाट खर्च पठाएका छन् न बच्चाहरूको ख्याल नै राख्न पाएका छन् । उनको अनुपस्थितिमा घर र भाइ बहिनीलाई सम्हाल्ने जिम्मा सपनाले पाएकी छिन् ।

दुई भाइ र एक बहिनीसँगै उनले आफूलाई पनि सम्हालिरहेकी छिन् । सानो भाइ सञ्जु साह्रै नै चञ्चले छ । ऊभन्दा एक वर्ष जेठी बहिनी चाँदनी भने लजालु छिन् । अनि त्यसमाथिको अर्को भाइ सुमोद प्रायः बिरामी परिरहन्छन् । यी सबैलाई सम्हाल्दै आफूलाई गाउँघरमा उभ्याउँदैछिन् सपना । तर, घरमा कमाउने र आफूहरूलाई हेरविचार गर्ने कोही नहुँदा न राम्रोसँग पढ्न पाएका छन्, न परिवारका सदस्यसँग रमाउन नै ।

मलाई चना खान मन छ तर घरमा केही छैन । ममी भएको भए जसरी नि खुवाउनुहुन्थ्यो । अहिले कोसँग माग्नु

त्यो परिवारमा सपना पछिको ठूलो भनेको सुमोदकुमार ऋषिदेव हुन् । उनी भर्खर ८ वर्षका भए । उनी पनि दिदी सपनासँगै कक्षा एकमा पढ्छन् । तर बेला–बेलामा बिरामी भइरहने सुमोदले राम्रोसँग पढ्न पनि सकेका छैनन् । मरुहिटी टिम उनीहरुको घर पुग्दा पनि उनी ज्वरो आएर सुतिरहेका थिए ।

‘कक्षा एकमा पढ्छु । ज्वरो आएर स्कुल जान पाइनँ । घरमा हामी चार जना मात्र छौं । बुबा हामीलाई छाडेर भारत जानु भएको छ । ममी खत्तम (बित्नुभयो) हुनुभयो । अब हामीसँग हुनुहुन्न,’ उनले भने ।

उनलाई घरमा खानेकुरा केही नहुँदा साह्रै खल्लो लाग्छ । केही दिनअघि छिमेकीले आलु ल्याइदिएका थिए र त्यसपछि उनीहरूको खाना आलु नै भएको छ ।

‘खानेकुरा नि खासै खान मन लाग्दैन । रुन मन लाग्छ । घरमा आलु मात्र छ जहिले नि आलु–भात मात्र खानुपर्छ । न त कसैले खानेकुरा दिएको छ, न त हामीसँग नै केही छ,’ गहभरी आँशु बनाउँदै उनले भने, ‘पानी पर्‍यो भने घरमा बस्न सकिँदैन । यस्तो हुँदा ममीको याद आउँछ । बुबाले पनि केही पैसा पठाउनु भएको छैन । मलाई चना खान मन छ तर घरमा केही छैन । ममी भएको भए जसरी नि खुवाउनुहुन्थ्यो । अहिले कोसँग माग्नु ?’

आमा जलगई !

चाँदनी ६ वर्षकी भइन् । उनी अरुसँग खासै बोल्दिनन् । सबैभन्दा कान्छो सञ्जु भने निकै चञ्चले छन् । सञ्जु अहिले ४ वर्षका भए । आमा र हजुरआमालाई नजिकैकाे खोलामा जलाउँदा सञ्जुले नियालिरहेका थिए । ती अवोध बालकले आफ्ना आमा र हजुर आमालाई किन आगोमा हाले होलान्, भेउसम्म पनि पाएनन् । उनलाई न मृत्युबारे थाहा छ, न त मरेपछि मान्छे फेरि फर्किदैनन् भन्ने अन्तिम सत्य नै । अहिले पनि उनी राति ओछ्यानमा आमा खोज्छन् । तर, कसैले आमाबारे सोध्दा सञ्जु भन्छन्, ‘आमा जलगइ दादी भि जलगइ ।’

उनलाई न मृत्युबारे थाहा छ, न त मरेपछि मान्छे फेरि फर्किदैनन् भन्ने अन्तिम सत्य नै । अहिले पनि उनी राति ओछ्यानमा आमा खोज्छन्

सञ्जुलाई गीत गाउन साह्रै रहर छ । तर, सपना र चाँदनी आमा सम्झेर रोएको देख्दा उनी पनि निराश हुन्छन् । ‘दादी र ममीलाई सबैले मिलेर जलाए । बुबा पनि हुनुहुन्न । मलाई पढ्न मन छ,गीत गाउन मन लाग्छ । तर घरमा कोही पनि छैनन् । सपना र चाँदनी जहिले नि रुन्छन् अनि मलाई केही गर्न मन लाग्दैन,’ उनले भने, ‘दिदी र भैयासँगै म पनि विद्यालय जान्छु तर पढ्न खासै आउँदैन । ममीको याद आउँछ रुन मन लाग्छ ।’

राज्यले अभिभावकको साथको सुनिश्चितता संविधानमै उल्लेख गरेको छ । तर, गरिबीका अगाडि संविधानका यस्ता कोरा हक पूरा हुँदैन रहेछन् । गरिबीले सपनाका बुबालाई भारत भासिन बाध्य पार्‍यो । खाना पकाएरसमेत खान नसक्ने अवस्थाका यी बालबालिकाका लागि न राज्य अभिभावक बन्न सकेको छ, न त उनका आफ्नो आमाबुबा नै साथमा छन् ।

उनीहरूले न छिमेकीहरुको बलियो आड पाएका छन्, न राज्यको स्थानीय तहले नै सपनाका भाइबहिनीका लागि केही बलियो व्यवस्था गरेको छ ।

त्यसो त उनीहरूका छिमेकी मुसहरको अवस्था पनि उस्तै छ । सीमित आर्थिक स्रोत, सबैको परिवार ठूलो । आर्थिक विपन्नताले उनीहरू आफ्नै परिवारलाई के खुवाउने भन्ने चिन्तामै हुन्छन् । सबै आ–आफ्नै घरधन्धामै व्यस्त छन् । आफ्नै बालबालिका स्याहार्न मुस्किल भइरहेका बेला ती चार अवोध बालबालिकाको कसलाई मतलव भयो र ?

केही दिन त छिमेकीले हेरिदिएकै हुन् । तर, सधैं कहाँ सक्नु र ? उनीहरुका पनि आफ्नै व्यथा छन् । परेको बेला हेरविचार गर्ने गरे पनि छिमेकीले सधैं हेर्न भने भ्याउँदैनन् । सपनाकी छिमेकी भुन्टी ऋषिदेवको ९ जनाको परिवार छ । ४२ वर्षीया भुन्टीका श्रीमान्७ बालबालिकाको लालनपालनका लागि विदेशिएका छन् । आफ्नै बालबच्चा हुर्काउन सकस रहेको बताउँछिन् भुन्टी ।

‘सुरु–सुरुमा त हामीले उनीहरूलाई खाना दिएका थियौं । अहिले पनि सुत्नलाई हाम्रो घरमै सुत्छन् । सधैं भरी त कसरी सकिन्छ र मेरो पनि सातवटा बालबच्चा छन्,’ उनले भनिन्, ‘मुसहर भनेर त्यतिकै बसेर मात्र नि हुँदैन । घर सरसफाई गर्नुनै पर्‍यो । बालबच्चालाई हेरचाह गर्नैपर्छ । हाम्रै घर पनि पानी पर्दा चुहिने छ । अब भन्नुस् आफूलाई हेर्नु कि अरुलाई हेर्नु । श्रीमान् पनि बाहिर छन् घरमा छैनन् ।

नेताले दुःख हरेनन्

एक त पुर्ख्याैली सम्पत्ति नै नभएका मुसहरलाई झन् यस्ता पारिवारिक विपत्तिले झनै थल्याउँछ । बिहान कमाएर बेलुकाको छाक टार्नु पर्ने परिस्थितिका मुसहरलाई घरमा मुख्य कमाउने मानिस अस्ताएको खण्डमा भने आपत नै आइलाग्छ । बेला–बेला ‘दुःख हरिदिन्छु’ भन्दै आउने नेताका आश्वासनदेखि पनि थाकिसकेका छन् मुसहर ।

‘चुनावको बेला मात्रै आउँछन् । यसपाली पनि भोट माग्न त आउने नै होलान् । तर, हामीजस्ता दुःखीका लागि आपत पर्दा यसो हेर्दिए त हुन्थ्यो नि । जहिले यो दिन्छु र त्यो दिन्छु भन्छन् मात्र तर, खै अहिलेसम्म हाम्रो लागि भनेर केही आएको देखिएन,’ भुन्टी भन्छिन् ।

सपनाकै अर्की छिमेकी हुन् सम्झना चौधरी । उनका श्रीमान् पनि विदेशिएका छन् । २२ वर्षीया सम्झनाका दुई सन्तान छन् । ७ वर्षको छोरा र ३ वर्षकी छोरी सम्हाल्दै आएकी उनी पनि आफ्नो परिवारलाई नै राम्रोसँग सम्हाल्न नसक्दा अरुलाई सहयोग गर्न नसकेको बताउँछिन् ।

‘श्रीमान् रोजगारीका लागि साउदी जानुभएको छ । मेरो पनि केही कमाइ छैन । कामधाम पनि पाइँदैन । श्रीमानले मासिक सात हजार मात्र पठाउनु हुन्छ । यस्तोमा मेरो परिवारलाई नै पुग्दैन,’ उनी भन्छिन्,‘उनीहरूलाई सहयोग गर्ने मन हुँदा पनि गर्न सकिने अवस्था छैन । सरकारले हेरिदिने हो भने हामीजस्ता सबैलाई सजिलो हुन्थ्यो ।’

यी अवोध बालबालिका भोली देशका उपल्लो तहमा पुग्न पनि सक्छन् । या फूल्नै नपाई चुँडिने पो हुन् कि ?अभिभावकको काखमा रमाएर भविष्यका सपना देख्ने अवोध बालबालिकामाथि ठूलो जिम्मेवारी छ । घर सम्हाल्ने जिम्मेवारी मात्रै होइन, अहिलेको समाज र यस्ता बालबालिकामाथि आँखा गाड्नेहरूबाट पनि सुरक्षित हुनु छ ।

तर, जिन्दगी पूरै समस्यै समस्याले घेरिएको छ । फूलिसकेको भए पो फल लाग्ने आशा हुन्छ । तर, फूल्नै नपाई हाँगा भाँचिएका यी कोमल कोपिलाको भविष्य के हुन्छ अहिल्यै आंकलन गर्न सकिँदैन । दैनिक आमा बुबाको यादमा आँशु पिएर रात काट्न बाध्य यी बालबालिका सहयोगको पर्खाइमा छन् ।

प्रकाशित मिति: १९ बैशाख २०७९, सोमबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मरुहिटी मार्ट

सम्बन्धित सामग्री

सिफारिस