Logo

२९ कार्तिक २०८१, बिहिबार

विकृतिको भूमरीमा एनआरएनए

एनआरएनको परिभाषादेखि संस्था विभाजनसम्म देखिएका विकृतिको भूमरीबाट निस्कनुपर्छ

नेपालबाट विदेश गएर निश्चित समयावधि त्यहाँ बसेका, त्यहाँ रहँदाबस्दा विभिन्न पेशा, व्यवसाय गरिरहेका, त्यहीँ पारिवारीक संरचना बनाएका, त्यहीँको नागरिकता, ग्रीनकार्ड वा कुनै प्रकारको स्थायी बसोबासका लागि आधिकारिक परिचय पत्र पाएका मानिसहरू गैरआवासीय नेपाली (एनआरएन) हुन् ।

उनीहरू नेपालबाट गएको हुनाले, नेपाली समाज र परिवारका सदस्य भएको हुनाले यहाँको पीरव्यथा र संस्कृतिसँग, यो देशसँग भावनात्मक सम्बन्ध त रहिरहने नै भयो । सोही भावनात्मक सम्बन्धका कारणले आफूले पनि यो देशको निम्ति वा यहाँ रहने आफ्ना परिवार र नातागोताका निम्ति पनि केही लगानी वा योगदान गर्न पाए हुन्थ्यो भनेर उनीहरूको मनमा आउनुचाहिँ संसारव्यापी कुरा हो । यो स्वभाविक कुरा हो र उनीहरूले यसरी जोडिरहन पाउनु पनि पर्‍यो । यस दृष्टिकोणबाट हेर्दा उनीहरूले एउटै भावना भएकालाई एउटै मालामा उन्ने संस्था वा संगठन खोल्नु बेठिक कुरा हैन, राम्रो मान्नु पर्छ ।

विदेशमा रहेपनि एनआरएनको आफ्नो उद्गमस्थल नेपालसँग भावनात्मक सम्बन्ध हुन्छ नै l त्यसैले उनीहरूले एउटै भावना भएकालाई एउटै मालामा उन्ने संस्था वा संगठन खोल्नु बेठिक कुरा हैन, राम्रो मान्नु पर्छ ।

लामो समय विदेशमा बस्दै आएका कतिपय मानिसले अलिक बढी सम्पत्ति कमाएका पनि छन् । उनीहरूले सम्बन्धित देशमा आर्जित सम्पत्ति त्यहीँ लगानी गरेर नाफा कमाउँछन् नै, साथै नेपालमा पनि लगानी गरेर केही नाफा कमाउँछौं, रोजगारी सिर्जना गर्छौं र कर पनि तिर्छौं भनेर गरिने कार्यलाई हामीले नराम्रो ठान्नु पर्ने कुरै छैन, यो स्वागतयोग्य कुरा हो ।

त्यतिसम्मचाहिँ एनआरएनको कुरा ठिक छ । तर, संगठन विकसित हुने क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र पनि फुट हुने, गुट–उपगुट हुने, राजनीतिक पार्टीहरूको झडप हुनेजस्ता गतिविधि विकसित भइरहेको छ, त्यसले के संकेत गर्दैछ भने एनआरएनएलाई एउटा मञ्चको रूपमा प्रयोग गर्दै त्यसमार्फत् देशको आर्थिक जगतमा कतिपय खराब क्रियाकलाप गर्नेजस्ता प्रवृत्ति पनि त्यहाँ देखा परिरहेको छ ।

एनआरएनए भन्ने संस्था नेपालको सांंस्कृतिक जीवनसँग हाम्रो पनि सम्बन्ध छ है भनेर देखाउने भावनात्मक कुरासँग सम्बन्धित छ नै । त्यो भन्दा पनि विशेषतः आर्थिक कुरासँग सम्बन्धित छ । भावनात्मक कुरा प्रधान भएसम्म त्यहाँ फुट हुनु पर्ने केही पनि हुँदैन । मिलेर नै भावनात्मक काम हुन्छ ।

कुनै पनि संस्था किन फुट्छ भनेर हेर्दा त्यहाँ आर्थिक क्रियाकलाप प्रमुख भएको पाइन्छ । त्यो मञ्चलाई प्रयोग गरेर गलत आर्थिक नियत राख्ने चलखेल बढेपछि संगठनमा फुट आएको देखिन्छ ।

जब फुट हुनुपर्ने, एकअर्काबीच तानातान हुनुपर्ने वा निषेधको भावना आउँछ भने बुझ्नु पर्‍यो कि त्यहाँभित्र आर्थिक कुरा प्रधान भएर आयो । त्यो आर्थिक प्रश्न पनि देशमा लगानी गरेर रोजगारी सिर्जना गरौं, अन्तबाट पनि हामी नाफै कमाउने हो, यहाँबाट पनि हामी नाफैं कमाउँछौं भनेर सोच्नुसम्म त ठिक छ । त्यति मात्रै भएसम्म त्यो फुट्नु पर्दैन । जस्तो, नेपाल उद्योग वाणिज्य संघ फुट्नुपर्छ त ? नेपाल चेम्बर अफ कमर्स फुट्नुपर्छ त ? पर्दैन ।

कुनै पनि संस्था किन फुट्छ भनेर हेर्दा त्यहाँ आर्थिक क्रियाकलाप प्रमुख भएको पाइन्छ । त्यो मञ्चलाई प्रयोग गरेर गलत आर्थिक नियत राख्ने चलखेल बढेपछि संगठनमा फुट आएको देखिन्छ । नेपालसँग भावनाले जोडिएको यत्तिको संस्थाभित्र त्यो प्रवृत्ति चाहिँ ठिक होइन ।

एनआरएनए फुटेर दुइटा बनेको छ । यो राम्रो होइन, एउटै मञ्चमा एक ढिक्का हुनुपर्ने थियो । त्यसो त नेपाल देशै सानो छ, त्यसमा पनि विदेशमा गएर कमाउनेहरू थोरै छन् । त्यसमध्येका थोरै लगानी गर्न सक्ने हंसियतका छन् । अनि तिनीहरूबीच पनि फुट हुन्छ भने त्यो स्वस्थ कुरा हुनै सक्दैन ।

एकाध जनाले राम्रै कमाएको भएपनि नेपालबाट गएका अधिकांशको त्यस्तो अवस्था छैन । त्यतिको भरमा सिंगो अर्थतन्त्र नै हाँकिदेलान् भन्ने भ्रम पाल्नु ठिक होइन ।

अब, अलिकति एनआरएनएले गर्न सक्ने के हो त भन्ने विषयमा पनि चर्चा गरौं । कतिपय मानिसले ठूलो भ्रम दिने गरेका छन् कि एनआरएनले यहाँ आएर सम्पूर्ण काम गरिदिन्छन् । एकाध जनाले राम्रै कमाएको भएपनि नेपालबाट गएका अधिकांशको त्यस्तो अवस्था छैन । त्यतिको भरमा सिंगो अर्थतन्त्र नै हाँकिदेलान् भन्ने भ्रम पाल्नु ठिक होइन ।

नेपालमा जो लगानी गर्न भनेर आउँछन्, ती मूलतः पुँजीपति हुन् । उनीहरूको प्रधान चरित्र पुँजीपति हो, दोस्रो पक्ष मात्रै उद्गमस्थल भएको हुँदा नेपालसँग भावनात्मक सम्बन्ध हो । पुँजीपतिको चरित्र जहाँ नाफा र शोषणको सम्भावना हुन्छ, त्यहाँ आकर्षित हुने हो । उनीहरूको यो सीमालाई पनि हामीले बिर्सन हुँदैन । त्यसकारण उनीहरू बिल्कुल लोककल्याणकारी हुन्छन् भन्ने अवधारणा बनाउनु हुँदैन । नेपाली समाजसँग उनीहरूको भावनात्मक सम्बन्ध भएको हुनाले उनीहरू भावनात्मक रूपमा केही कुरा गर्न पनि चाहन्छन्, त्यो कुराचाहिँ ठिक हो । तर, गैरआवासीय नेपालीहरू आउनेबित्तिकै नेपालको एकदम प्रगति हुन्छ भन्ने अवधारणा र सोच्ने तरिका छ नि, त्योचाहिँ ठिक होइन ।

अर्को कुरा, नेपाली मूलका गैरआवासीय पुँजीपति साथीहरू हजार तरिकाले विश्वको बहुराष्ट्रिय कम्पनीका पुँजीसँग गाँसिएका छन् । बहुराष्ट्रिय कम्पनीहरू नेपालमा उद्योगधन्दा खोल्न चाँहदैनन् । बरु नेपालको उद्योगधन्दाहरू बन्द गराउन चाहन्छन् । ताकि आफ्नो उत्पादन यहाँ बेच्न सकून् । उनीहरूको मूल ध्याउन्न त्यो देखिन्छ ।

बहुराष्ट्रिय कम्पनीहरू हाम्रो जस्तो देशलाई आफ्नो बजार मात्रै बनाउन चाहन्छन्, उत्पादनको थलो बन्न दिन भने चाहँदैनन् । त्यो प्रवृत्तिसँग लगानीकर्ता धेरैजसो एनआरएनहरूकोे प्रवृत्ति मिल्ने देखिन्छ ।

त्यसैगरि एनआरएनमा पनि नगद असुल्न सेवा क्षेत्रमा ठूलो लगानी गर्नेजस्तो प्रवृत्ति देखिएको छ । ठूल्ठूला महँगा अस्पताल, होटल खोल्न उनीहरू आकर्षित छन् । त्यो उत्पादन हैन, सेवा क्षेत्र हो । महँगो उपचार वा सेवा दिने र बढी नाफा असुल्ने भन्ने देखिन्छ । उद्योगधन्दा जस्ता उत्पादनका क्षेत्रमा लगानी गर्न खासै रुचि नभएको जस्तो, खर्च गर्ने ठाउँमा मात्रै लगानी भएजस्तो देखिएको छ ।

त्यस्तो किन देखिन्छ त भन्दा अहिलेका बहुराष्ट्रिय कम्पनीहरू हाम्रो जस्तो देशलाई आफ्नो बजार मात्रै बनाउन चाहन्छन्, उत्पादनको थलो बन्न दिन भने चाहँदैनन् । सेवा वा वस्तुको बजारमात्रै बनाउन चाहन्छन् । त्यो प्रवृत्तिसँग लगानीकर्ता धेरैजसो एनआरएनहरूकोे प्रवृत्ति मिल्ने देखिन्छ ।

हाम्रो देशमा गरिने लगानीका सन्दर्भमा पनि विशेषतः वस्तु उत्पादनतिर केन्द्रित गर्न सक्नुपर्ने हुन्छ । कृषि र अन्य वस्तु उत्पादनतिर लगानी बढाउने हो भनेमात्रै नेपालको हकमा दीर्घकालीन परिणाम ल्याउन सक्छ । सेवा क्षेत्रमा, खर्चमात्रै गर्नु पर्ने ठाउँमा लगानी गर्ने हो भने त्यसले हाम्रो पुँजी उत्पादनको प्रक्रिया अगाडि बढ्दैन ।

यहाँ दलीय प्रणाली छ, यो प्रणालीभित्र भइसकेपछि कुनै पनि व्यक्तिको दलीय संलग्नता हुन्छ, त्यो प्रत्यक्ष होस् वा परोक्ष । त्यसमा पनि पुँजीपतिहरू त स्वभाविक रूपमा राजनीतिक संरक्षणबिना काम गर्न सक्दैनन् ।

यसरी हेर्दा एनआरएनए भन्ने संस्था यदि स्वस्थ ढंगले चल्ने हो भने र त्यसमा आबद्ध एनआरएनहरूले नेपालसँगको भावनात्मक सम्बन्धलाई प्रबद्र्धन गर्न चाहने, आफूसँग भएको पुँजी यो समाजको साँच्चै हितमा लगानी गर्छु भनेर सोच्ने हो भने त्यो भूमिकालाई हामीले प्रबद्र्धन गर्नुपर्‍यो । तर, त्यसका निम्ति दलाल पुँजीवादी ढंगले सोच्ने त्यहाँभित्रका पुँजीपतिहरूको प्रवृत्तिमा नेपालको सन्दर्भमा फेरबदल आउनु पर्‍यो । अर्कोकुरा, आर्थिक रूपमा त्यो मञ्चलाई प्रयोग गरेर चलखेल भएको हो कि जस्तो हामीले बाहिरबाट हेर्दा देखिएको हुनाले त्यस्तो प्रवृत्ति छ भने त्यसलाई निरुत्साहित, निषेध गरिनु आवश्यक छ ।

एनआरएनएमा दलगत राजनीति छिर्‍यो भन्ने जहाँसम्म प्रश्न उठिरहेको छ, यहाँ दलीय प्रणाली छ, यो प्रणालीभित्र भइसकेपछि कुनै पनि व्यक्तिको दलीय संलग्नता हुन्छ, त्यो प्रत्यक्ष होस् वा परोक्ष । त्यसमा पनि पुँजीपतिहरू त स्वभाविक रूपमा राजनीतिक संरक्षणबिना काम गर्न सक्दैनन् । त्यसकारण उनीहरू विभिन्न पार्टीहरूको ‘लबिङ’मा पुग्नु अनौठो होइन । तथापि संसदीय दलहरू वा उनीहरूको प्रतिनिधिको संलग्नता वा हस्तक्षेप संस्थाको मूल दायित्वबाटै अलग बनाउने तहको हुनुचाहिँ राम्रो भएन । मूल समस्या राजनीतिको हैन, दलहरूको पनि हैन । दलहरूसँग भएको गलत प्रवृत्तिको समस्या हो ।

संसदीय पार्टीहरूले गलत दिशातिर लान खोज्छन् भने पनि एनआरएनहरूले आफ्नो दायित्व बिर्सन भएन । राजनीतिक संरचना जेसुकै बनोस्, नेपालको उद्योग वाणिज्य संघले आफ्नो मूल दायित्व छोड्छ र ?

त्यसैगरी, एनआरएनएमा रहेका पुँजीपति साथीहरू वा त्यसका सदस्यहरूले पनि आफ्नो मूल दायित्वलाई तलमाथि नपार्ने गरी दलगत राजनीति गर्नु पर्‍यो नि, हैन र ? जस्तो, एउटा मजदुरले मजदुरहरूको हितलाई नै असर पर्ने गरी मजदुर संगठन चलाउँछ भने त्यो संगठनको के अर्थ ? यसैले एनआरएनले गर्न सक्ने योगदानलाई नै असर गर्ने गरी संस्था भताभुंग हुन्छ वा चल्दैन वा खिचातानी हुन्छ भने त्यो त त्यसको मूल दायित्वबाटै च्यूत भयो । त्यसलाई सच्याउनु पर्छ ।

संसदीय पार्टीहरूले गलत दिशातिर लान खोज्छन् भने पनि एनआरएनहरूले आफ्नो दायित्व बिर्सन भएन । राजनीतिक संरचना जेसुकै बनोस्, नेपालको उद्योग वाणिज्य संघले आफ्नो मूल दायित्व छोड्छ र ? उसले आफ्नो आधारभूत कुरा छोड्दैन । जुनसुकै पार्टीमा लागेको पुँजीपति भएपनि उसले आधारभूत पक्ष छोड्न मिल्दैन, छोड्यो भने त ऊ आफैं सकिन्छ ।

यो देशसँग मेरो भावनात्मक सम्बन्ध छ, मैले पनि यो देशको निम्ति जति सकेको योगदान गर्नुपर्छ, त्यसमा मैले धेरै कुरा नसके पनि मसँग भएको केही लगानीबाट रोजगारी सृष्टि गर्छु, केही उत्पादन गर्छु भन्ने भावना नै एनआरएनको मूल दायित्व हो भने एनआरएनए त्यतै केन्द्रित हुनु पर्‍यो । यस कुरामा प्रष्टता जरुरी छ ।

नेपालबाट विदेशमा काम गर्न वा श्रम गर्न गएका सबै नेपाली गैर आवासीय होइनन् । श्रम गर्न तेस्रो मुलुक गएका ५३ लाख श्रमिकहरू र भारत आवतजावत गर्ने करिब ४० लाख मानिस गैरआवासीय नेपाली हैनन् ।

पछिल्लो कालमा एनआरएनएभित्र सदस्यतासम्बन्धि विवाद पनि देखिएका छन् । विदेशमा गएका श्रमिकलाई पनि एनआरएनएको सदस्यता कटाउने, आफ्नो भोट बढाउनलाई अर्काको सदस्यता शुल्क पनि तिरिदिनेजस्ता विकृति आएको छ, जुन बेठिक हो । यसलाई हल गरिनु पर्‍यो ।

नेपालबाट विदेशमा काम गर्न वा श्रम गर्न गएका सबै नेपाली गैर आवासीय होइनन् । विशेषतः सरकारी आँकडाअनुसार श्रम गर्न तेस्रो मुलुक गएका ५३ लाख श्रमिकहरू र भारत आवतजावत गर्ने करिब ४० लाख मानिस गैरआवासीय नेपाली हैनन् । तीचाहिँ श्रमका निम्ति गएका प्रवासीहरू मात्रै हुन् ।

जसले आफू बसिरहेको देशको पिआर वा ग्रिन कार्ड लिएका छैनन्, लिन पनि पाउँदैनन् वा लिने उद्देश्यले गएकै हुँदैनन्, जो नेपालीहरू पैसा कमाउन वा पढ्न मात्रै गएका हुन्, उनीहरूलाई पनि एनआरएनएको सदस्यता दिनुचाहिँ संस्थाको चुनावलाई प्रभावित गर्नेगरि संगठनात्मक क्रियाकलापभित्र भित्रिएको विकृति हो ।

एनआरएनए त्यस्ता नेपालीहरू जो विदेशी नागरिकता पाएका वा सोस्तरको अधिकार भोग्न थालेका छन्, उनीहरूको मात्र बन्नु पर्‍यो । श्रमिकहरूलाई एनआरएन बनाएर त के अर्थ छ ?

श्रमिक साथीहरूको हकहितका निम्ति बरु त्यो देशमा श्रमिक संगठन खोलिनु पर्‍यो । उनीहरूलाई एनआरएन बनाएर त के अर्थ छ ? एनआरएनए त्यस्ता नेपालीहरू जो विदेशी नागरिकता पाएका वा सोस्तरको अधिकार भोग्न थालेका छन्, उनीहरूको मात्र बन्नु पर्‍यो ।

र अन्त्यमा, कतिपय देशमा आवासीय ढंगले बसिरहेका हाम्रा पार्टीका साथीहरू पनि एनआरएनका विभिन्न पदमा हुनुहुन्छ । त्यसलाई हामीले पार्टी राजनीतिको विषय बनाएका छैनौं । हामीले के भनेका छौं भने– तपाईंहरूलाई उपयुक्त लाग्छ, आफ्नो हितमा हुन्छ, मानिसहरूले स्वीकार गर्छन् भने जोडिन सक्नुहुन्छ । त्यहाँभन्दा बढी गरेर आसन्न चुनावमा पार्टीकै प्रतिनिधिका रूपमा कसैलाई छनोट गरेर पठाउने तहको कार्य गरेका छैनौं । उहाँहरू यस सवालमा निर्णय गर्न स्वतन्त्र हुनुहुन्छ ।

(वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका संयोजक तथा राजनीतिक विष्लेषक विश्वभक्त दुलाल आहुतिसँग सम्पादक शकुन्तला जोशीले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *