Logo

११ चैत्र २०८०, आइतबार

काठमाडौं । राजनीति देशको मूल नीति हो । सबै संरचनालाई नियन्त्रण गर्ने राजनीति नै अराजक भए के होला ? यो महत्वपूर्ण प्रश्न हो । पछिल्लो एक दशकयता नेपाली राजनीतिमा अराजकता नौलो कुरा होइन । लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा त्यो हुन सकेको छैन । एक अर्काविरुद्ध तुच्छ गाली गर्नु त सामान्य भइसकेको छ ।

आफ्नो स्वार्थ पूर्ति नभएमा एउटा आस्था र सिद्धान्त बोकेका नेताहरूबीच नै मारामारको स्थितिसम्म उत्पन्न हुँदै गएको छ । यसको पछिल्ला उदाहरणहरू हालै हुन गइरहेको स्थानीय तह निर्वाचनको सुरुवातमै देखिन पुगे । भिन्न दलका बीचमा चुनावी प्रचारका क्रममा हुने मतभेद त सामान्य नै थियो । तर, मनोनयनकै दिन आफ्नै दलका नेताहरूविरुद्ध हात हालाहालको स्थिति उत्पन्न हुने पक्कै राम्रो होइन ।

दलहरूमा वैचारिक दृष्टिकोण विकास भएन

राजनीतिमा पहुँचवालाले अवसर पाउनु कुनै नौलो कुरा होइन । तर, पहुँचवालाले कतिसम्म भने वर्षौं पार्टीभित्र रगत पसिना बगाएको कार्यकर्तालाई बाइपास गर्दै लगेको देखिन्छ । तिनको स्थानमा आफ्नो परिवारका सदस्य वा नातासम्बन्धका व्यक्तिलाई मौका दिने प्रवृत्ति चरम हाबी भएको छ । यस्तो प्रवृत्ति डेढ दशकयता सम्पन्न विभिन्न तहका निर्वाचनमा स्पष्ट देख्न सकिन्छ । यस्तो प्रवृत्तिले पार्टी र इमान्दार कार्यकर्ता मात्रै नभई देशलाई राजनीतिक दुर्घटनातिर लैजाने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

नेताको यही व्यवहारका कारण पनि कार्यकर्ता तहमा तिब्र असन्तुष्टि बढिरहेको छ । मनोनयनकै दिन हातपात मात्रै होइन, आफ्नै दलका उम्मेदवारबाट आकांक्षी अपहरण गर्ने सम्मका काम पनि भएका छन् ।

१२ गते आशन्न स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको अन्तिम दिन थियो । डोल्पाको छार्काताङ्सोङ गाउँपालिकाका धावा गुरुङमाथि गाउँपालिकाका निर्विरोध निर्वाचित अध्यक्ष सोनाम साङ्वो गुरुङले स्थानीय युवा लगाएर कुटपिट गराए । धावा नेकपा माओवादी केन्द्रमा आवद्ध हुन् भने सोनाम नेकपा एकीकृत समाजवादीका हुन् । निर्विरोध निर्वाचित हुने उनकोबाटोमा धावा बाधक बन्ने देखिएपछि कुटपिट गरिएको पीडित पक्षको आरोप छ ।

राजनीतिक विश्लेषक हरि रोका भन्छन्, ‘जनताका दुःख–सुख र अप्ठ्याराहरूलाई बुझ्ने सामथ्र्य दलहरूमा छैन’

घेराङ गाउँबाट कागकोटमा उम्मेदवारी दिन पुगेका धावा गुरूङमाथि यसअघि पनि गाउँपालिका अध्यक्ष रहिसकेका सोनाम साङ्वो गुरुङले युवाहरू लगाएर ढुङ्गाले कुटपिट गरेका हुन् । कुटपिटबाट धावा गुरुङको टाउको चोट लाग्यो । अहिले स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यस्तै महोत्तरीको गौशाला नगरपालिकामा पनि एमालेबाट मेयरका उम्मेदवार बनेका अजयकुमार कुशवाहमाथि आफ्नै कार्यकर्ताबाट हातपात भयो । एमालेले कुशवाहलाई टिकट दिने निर्णय गरेपछि अर्का मेयरका दावेदार रामऔतार महासेठले आफूलाई वडा नम्बर ४ को टिकट भए पनि दिनुपर्ने माग गरे ।

आफ्नो माग पूरा हुन नहुने संकेत देखेपछि समर्थकसहित महासेठले कुशवाहको घर घेराउ गरे । उम्मेदवारी दर्ता गर्ने दिनको बिहानैदेखि घेराउमा परेका कुशवाह मुस्किलले दिउँसो निर्वाचन कार्यालयसम्म पुगेका थिए । त्यहीँ महासेठका छोरा देवेन्द्र महासेठसहितको समूहले आफूमाथि हातपात गरेको कुशवाहको आरोप छ ।
यस्तै गोरखमा नेपाली कांग्रेसका कार्यकर्ताले आफ्नै नेतामाथि कुटपिट गरे । गोरखा नगरपालिका–६ का ६० वर्षीय विश्वदेव श्रेष्ठलाई उम्मेदवारी दर्ताका लागि फोटो खिच्ने क्रममा स्टुडियोमै कुटिएका छन् ।

कांग्रेसको तर्फबाट मेयरको उम्मेदवारी दर्ता गराउन क्रममा फोटो स्टुडियोमा फोटो लिँदै गरेका थिए । अकस्मात् कांग्रेसकै कार्यकर्ता आएर स्टुडियोभित्रै उनीमाथि हातपात भएको थियो ।

राजनीतिक दलका नेताहरूमा आफ्नो परिवारका सदस्य वा नातासम्बन्धका व्यक्तिलाई मौका दिने प्रवृत्ति चरम हाबी भएको छ ।

यस्तै, खोटाङको दिक्तेलमा पनि कांग्रेसका तर्फबाट मेयरका उम्मेदवारलाई हातपात मात्रै होइन, लखेट्नेसम्म प्रयास भयो । मेयरका लागि मनोनयन दर्ता गर्न गएका धर्मराज पोखरेललाई कार्यकर्ताले कुटपिट गरेका हुन् । सामाजिक सञ्जालमा समेत भाइरल बनेको भिडियोमा केही कार्यकर्ताले हातपात गर्नै लखेटिरहेको देखिन्छ । उनी मेयरको उम्मेदवारीका लागि काठमाडौंबाट दिक्तेलसम्म हेलिकप्टरमै गएका थिए ।

सिन्धुपाल्चोकको चौतारामा पनि मनोनयनको पहिलो दिन नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप नै भयो । निर्वाचन कार्यालय नै असुरक्षित बन्ने अवस्था पुगेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिनुपर्‍यो ।

यी त केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । आशन्न स्थानीय तह निर्वाचनका लागि दुई दिन मनोनयन दर्ता समय दिइएको थियो । तर, टिकट वितरणमा अनियमितता भएको, नातेदारलाई दिएको र इमान्दार कार्यकर्ता अन्यायमा परेको भन्दै तिव्र आक्रोश पोखियो ।

आक्रोश मात्रै होइन, आफ्नै दलका नेतामाथि हातपात गर्ने स्थिति बन्यो । नेपालजस्तो देशमा निर्वाचनका समयमा फरक राजनीतिक दलबीच सामान्य झडप त भएकै हुन्थे । तर, यसपालि भने स्थिति भिन्न देखियो । आफ्नै कार्यकर्ताबाट दलका नेताहरू कुटिनुप¥यो । आफ्नो स्वार्थका लागि पार्टी र राजनीतिलाई प्रयोग गर्ने परिपाटीले पनि अहिलेको अराजक स्थिति निम्तिएको हो । नेपालका राजनीतिक दलभित्र अराजक प्रवृत्ति मौलाउँदै गएको राजनीतिक विश्लेषक बताउँछन् ।

दलहरूभित्र राजनीतिक चेतना नै विकास नभएको राजनीतिक विश्लेषक हरि रोका बताउँछन् । ‘यो निर्वाचन अघि नै जे जस्ता क्रियालाप देखिए त्यसलाई मुख्य तीन कोणबाट हेर्न सकिन्छ । पहिलो, दलहरूमा वैचारिक दृष्टिकोण विकास भएन । दोस्रो, उनीहरूसँग राजनीति चेतना विकास भएन । तेस्रो, साँचो अर्थमा भन्ने हो भने जनताका दुःख, सुख र अप्ठ्याराहरूलाई बुझ्ने सामथ्र्य दलहरूमा छैन,’ उनले भने ।

पदमा पुग्न कार्यकर्ताको बुई चढ्ने, बलिदानी कार्यकर्ताले दिने तर अवसर नेताले आफ्ना पकेटभित्रका मान्छेलाई दिँदा पनि आफ्नै दलभित्र कुटाकुटको स्थिति सिर्जना भएको देखिन्छ ।

राजनीति दल र तीनका कार्यकर्ताको शैली हेर्दा केही समयमा नै हाल अस्तित्वमा रहेका दलहरू समापनतिर जाने संकेत देखिएको उनको भनाइ छ । रोका थप्छन्, ‘तत्काल हेर्दा अहिले रहेका दलहरूको विकल्प देखिँदैन । तर, जुन तरिकाले चलिराखेका छन्, जुन खालको स्थिति देखिँदैछ त्यसले अब यी दलहरूको अस्तित्व समाप्त हुँदैछ भन्नेतिरै जान्छ ।’

अराजक गतिविधि मात्रै होइन, आफ्नो स्वार्थका लागि दशकैं दल बदल्ने अवस्थाले पनि अहिले नेतृत्व गर्ने नेताहरूमा राजनीतिको आइडियोलोजी नै नभएको उनको तर्क छ । ‘पार्टी के हो, राजनीति के हो भन्ने नै थाह छैन । अझै भन्नुपर्दा अहिले ८/१० लाख जति कार्यकर्ता छन् भने पनि तीनका कार्यकर्ता वैचारिक, सांस्कृतिक र राजनीतिक रुपबाट पार्टीप्रति प्रतिबद्ध छैनन् भन्ने अर्थ नै लाग्छ ।’

अहिले नै नयाँ शक्ति नआए पनि अहिलेका गतिविधिबाट केही समयमै अहिले ठूला भनेर दावी गरेका दलहरूको नै अस्थित्व समापनतिर जाने उनको दावी छ ।

पदमा पुग्न कार्यकर्ताको बुई चढ्ने, बलिदानी कार्यकर्ताले दिने तर अवसर नेताले आफ्ना ‘पकेट’भित्रका मान्छेलाई दिँदा पनि आफ्नै दलभित्र कुटाकुटको स्थिति सिर्जना भएको देखिन्छ । मनोनयनकै दिनमा देखिएको अराजकताले निर्वाचन सम्महुँदासम्म भने कस्तो खालको आपत निम्त्याउँछ त्यो भने हेर्न बाँकी नै छ ।

प्रकाशित मिति: १८ बैशाख २०७९, आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *