सुकुम्वासीमाथि मेयरको कहर : प्रतिशोधले अलपत्र सन्थाल बस्ती
शिलान्याश भएको डेढ वर्षसम्म एउटै इँटा थपिएन
काठमाडौं । २०७४ साउन १७ को रात बुद्धिलाल हेमरोन खाना खाएर सुत्ने तरखरमा थिए । उनका बालबच्चा सुतिसकेका थिए । बाहिर झमझम पानी परिरहेको थियो । हिउँदमा सुख्खा हुने बक्राह खोला त्यसदिन दिउँसैदेखि वर्षातको पानीले सुसाइरहेको थियो । खोलाको ड्यामनजिकै जोडिएको थियो बुद्धिलालको घर ।
सुत्ने तरखर गर्दैगर्दा बाहिरबाट होहल्ला सुनियो । ‘एक्कासी बाहिर मानिस कराएको आवाज आयो । के हो ? भनेर बुझ्न बाहिर मात्रै के निस्किएको थिएँ, अकस्मात मेरो घरको दैलोमै भेल आइपुग्यो’, उनी त्यस रातको सम्झना गर्छन्, ‘एकाएक घरभित्र पानी भरियो । बालबच्चालाई बाहिर निकालेर केही अन्नपातसम्म निकाल्न भ्यायौं ।’
हेर्दाहेर्दै उनको घर खोलाको बाढीले बगायो । मध्यराति उनले बालबच्चालाई पल्लो गाउँमा पठाए । आफू पनि पत्नीसहित बग्दै गरेको घर नियाल्न थाले । त्यसरात बक्राह खोला नजिक ऐलानी जग्गामा बसेका सन्थाल समुदायका १७ घर बगायो । एक जना बेपत्ता भए, अहिलेसम्म उनको न शव भेटियो, न जिवितै । पशुवस्तु र घरभित्रको सामग्री सबै बग्यो ।
अघिल्लो दिनसम्म अलिअलि दुःखजिलो गरेर कमाएको रकम जोगाएर भविष्यमा केही नयाँ काम थाल्ने योजना बुनिरहेका थिए । भोलिपल्ट बुद्धिलालसँग ओत लाग्ने ठाउँ थिएन ।
गाउँघरमा यसै त साउन महिनालाई कालो महिना भन्छन् । झन् मध्य साउन १७ को राति सन्थालहरुका लागि जीवनकै कालो रात बन्यो । त्यसराति आएको बाढीले उनीहरुको उठिबास नै गरायो ।
बाढीले थातथलो बगाएपछि सुकुम्बासीका रुपमा बसिरहेका सन्थालहरुको विचल्ली भयो । कोही आफन्तको शरण लिन गए त कोही बाटो छेउमा छाप्रो बनाएर ओत लागे । यो अवस्थाबाट पार लगाउन उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बस्ती निर्माणको लागि प्रस्ताव राखिन् ।
राष्ट्रपति भण्डारीकै पहलमासुकुम्बासी सन्थालहरूका लागि नमुना बस्ती बनाउने योजना पारित भयो । करिब १७ करोड लागतमा निर्माण सम्पन्न हुनेगरी ठेक्का पनि लाग्यो । रातो होली खोल्सीको उत्तर–दक्षिण क्षेत्रफलमा फैलिएको सात सय ८० मिटर लम्बाइभित्र पर्ने ५२ हजार आठ सय २८ वर्ग मिटर जग्गा थियो । त्यसमध्ये ३१ हजार सात सय ६८ वर्ग मिटरभित्र बस्ती निर्माण गरिने भनिएको थियो ।
त्यहि योजना अनुरुप तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रदेश १ सरकारका मन्त्रीसहितको सहभागितामा २०७७ फागुन १८ गते शिलान्याश भयो । बस्ती निर्माण योजनाको शिलान्याश भएपछि १३२ घरधूरी सन्थालले व्यवस्थित घर पाउने आशा गरे ।
तर, शिलान्याश भएको डेढ वर्ष बढी भइसक्दा पनि उक्त ठाउँमा एउटा इँटा थपिएको छैन । सन्थालहरुका लागि नमुना बस्ती बनाउने भनिएको ठाउँ खोला नजिकको ऐलानी जग्गा हो । तर, त्यहाँ स्थानीयले लामो समयदेखि भोगचलन गर्दै आएका छन् । डिपिआर बन्नेबेला नै स्थानीयले बस्ती निर्माणका लागि सहमति दिएका थिए । सोहीअनुसार नाप–नक्सा भएरै योजना शिलान्याश भएको उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारी बताउँछिन् ।
शिलान्याशका क्रममा ओलीले, ‘अब झुपडीमा बस्ने दिन गए, सबैले व्यवस्थित पक्की घर पाउनेछन्’ भनेर उद्घोष गरेका थिए । प्रदेश सरकारका मन्त्रीहरुले पनि उक्त वस्ती निर्माण प्राथमिकतामा रहेको र एक वर्षभित्रै सम्पन्न गरी हस्तान्तरण गर्ने वाचा गरे ।
तर, राजनीतिक कोर्ष परिवर्तनले उक्त योजना अलपत्र पर्यो । संघदेखि प्रदेशसम्म सरकारहरू परिवर्तन भएपछि न संघीय सरकारको चासोमा प¥यो, न प्रदेश सकारको नजरमा नै । सगुन कन्स्ट्रक्सन निर्माण सेवाले ठेक्का पाएको थियो ।
शिलान्याशपछि काम सुरु गर्नेबेला भने उनै स्थानीय विरोधमा उत्रिए जसले डिपिआर बन्नेबेला सहमति दिएका थिए ।
अहिलेसम्म काम नहुनुमा नगरपालिका प्रमुख खड्गबहादुर फागो मुख्य बाधक भएको उपप्रमुख लक्ष्मीदेवि भण्डारी बताउँछिन् ।
‘संघमा सरकार परिवर्तन हुनेवित्तिकै एमाले सरकारको पहलमा लागू भएका योजना फेल गराउने नीति लिइयो । त्यसैमा मेयर पनि लाग्नुभयो । एमालेसँगको रिसका कारण यी विपन्न सन्थालहरूले घर पाउन सकेनन्’, उनी भन्छिन् ।
अहिले स्थानीयले नै निर्माण कम्पनीलाई काम गर्न आएको खण्डमा सवारीसाधन जलाइदिने धम्की दिँदै आएका छन् । स्थानीयको धम्कीपछि निर्माण कम्पनी उक्त क्षेत्रमा आएकै छैन । तर, उपप्रमुख भण्डारी भने सुरु भइसकेको काम रोक्न नगरप्रमुख फागोकै हात रहेको आरोप लगाउँछिन् ।
‘उहाँले हाम्रो पार्टीको पहलमा भएको कुनै काम हुन नदिने भन्नुभएको छ रे । त्यसैले पनि होला पटक–पटक यहाँका सुकुम्वासीले काम सुरु गराउन पहल गरिदिन आग्रह गर्दा पनि सुनुवाई गर्नुभएको छैन’, उनी भन्छिन्, ‘यहाँ विरोध गरेर धम्की दिनेहरु पनि उहाँकै पार्टीका कार्यकर्ता हुन् । भोगचलन गर्दै आए पनि त्यो जग्गा ऐलानी हो । सरकारलाई चाहिएको बेला दिन्नँ भन्दा पनि मेयर केही बोल्नुहुन्न ।’
करोडौंको योजना त्यहाँको राजनीतिक लडाइँका कारण रोकिएको छ । एमाले–कांग्रेसको आपसी प्रतिशोधको जुधाईमा विपन्न सन्थालहरू परेका छन् । शिलान्याश भएपछि अब त घर पाइएला भनेर उत्साहित बनेका सन्थालहरूअहिले घर न घाटका छन् । त्यसबेलाको बाढीबाट तितरवितर बनेका उनीहरू अहिले केहीले बाँसको टहरो बनाएका छन् त केही आफन्तकै शरणमा छन् ।
स्थानीय रमेश सोरेन भन्छन्, ‘धुमधामका साथ शिलान्याश भयो । त्यसपछि हामीजस्ताले पनि अब घर पाउने भयौं भनेर मख्ख थियौं । तर, डेढ वर्ष भइसक्यो अहिलेसम्म एउटा इँटा थपिएको छैन । मेयर सावलाई काम सुरु हुने वातावरण मिलाइदिन आग्रह गर्दै धेरैपटक गयौं तर, उहाँले कुनै कुरा नै सुन्नुहुँदैन ।’
हरेक बर्खा बाढीको त्रास मात्रै होइन, खोला नजिक भएकाले सर्प–विच्छुको पनि त्रास उत्तिकै हुन्छ । बलियो घर नहुँदा कतिबेला के भित्र पस्ने हो र डस्ने हो भन्ने पत्तो नहुने उनी सुनाउँछन् ।
यता वडा नम्बर ८ का अध्यक्ष कुलबहादुर कार्की नगरप्रमुख फागोकै कारण बस्ती निर्माणको काम अहिलेसम्म अघि नबढेको बताउँछन् । ‘खोलाधारको जमिन हो । वर्षौंदेखि त्यहाँका स्थानीयले भोगचलन गर्दै आएका छन् । तर, त्यो ऐलानी जग्गा भएकाले स्थानीय सरकारले नमुना बस्तीका लागि प्रयोग गर्न खोजेको हो । पहिले सबै ठिक थियो । तर, केन्द्रमा सरकार परिवर्तन हुनेबित्तिकै यहाँ मेयरले मन्त्री उचालेर विवाद ल्याउनुभयो’, कार्की भन्छन् ।
विवाद गर्नेहरुले अहिले मुआब्जा मागिरहेका छन् । लामो समयदेखि आफूहरूले प्रयोग गरेकाले त्यसको क्षतिपूर्ति नपाउँदासम्म उक्त जग्गामा बस्ती निर्माण हुन नदिने केही स्थानीयको अडान छ । उक्त जग्गामा अहिले पूरै बाँसको घारी छ । नजिकै छेउमा खोला छ । खोलाको जमिन च्यापेर खेती गरिरहेका छन् ।
‘पहिले मुआब्जा, क्षतिपूर्तिको कुरा केही उठेको थिएन । आवश्यक जमिन बस्ती निर्माणमा प्रयोग हुने भनिएको हो । तर, मेयर र उपमेयरको राजनीतिक लडाइँका कारण यो बस्तीको काम अघि बढ्न नसकेको हो’, एक स्थानीयले बताए ।
यता संघीय परियोजना कार्यान्वयन इकाइले भने जग्गाको विवाद नमिल्दा काम अघि बढ्न नसकेको बताएको छ । एकीकृत बस्ती विकास सम्बन्धी कार्यविधि २०७५ अनुसार स्थानीय प्रविधि, सीप र सामग्री प्रयोग गरी प्रत्येक परिवारका लागि दुई कोठा, एउटा भान्साकोठा र एक शौचालयसहितको संरचना निर्माण गर्ने योजना समावेश छ ।
स्तरीय सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन लगायतका संरचना निर्माण गर्ने योजनामा छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीकै पहलमा १३२ परिवारका लागि घर निर्माण गर्ने योजनामा उल्लेख छ । जहाँ १०६ सन्थाल जातिका परिवार छन् भने अन्य २६ परिवार उराउ जातिका हुन् ।
इकाइका अनुसार पाँच महिनाभित्रै घर निर्माण सक्ने योजना थियो । २०७८ भित्र सबै घर हस्तान्तरण हुनेगरी काम अघि बढाउने तयारी थियो । तर, नगरप्रमुख फागोको राजनीतिक प्रतिशोधका कारण एउटा घर पनि बन्न नसकेको सन्थाल समुदायका मानिस गुनासो गर्छन् ।
शिलान्याश गर्दा टाँसिएको होडिङ बोर्ड पनि अहिले उपप्रमुखको कक्षमा राखिएको छ । त्यहाँबाट हराउने डरका कारण सुरक्षाका लागि आफ्नो कार्यकक्षमा राखिएको भण्डारीको भनाइ छ । यस विषयमा नगरप्रमुख फागोलाई सम्पर्क गर्न खोज्दा उनको फोन नै उठ्दैन ।