Logo

३० असार २०८१, शनिबार

महोत्तरी- मधेसका धेरैजसो ठाउँमा घु¥यानदेखि खेतबारीका आलीमा इक्युलिप्टिस वनस्पति लगाइएका देखिन्छन् । करिब चार दशक पहिलेदेखि खोजीखोजी लगाइएको यो वनस्पतिले जग्गा रुखो बनाउने र आसपासमा पानीका स्रोत सुक्न थालेका भन्दै अहिले विरोध गर्न थालिएको छ ।

“बौवा, अई ठाम कइटा भूल छल, जहिया स मसाला रोपाक हुर्कैत गेला एम्भर सब भूल सुखागेल(बाबु, यहाँ कति जरुवा पानीका मूल थिए, रोपिएका मसालाका रुख हुर्कदै गएपछि जरुवाका मूल सबै सुके)”, आफ्नो बस्तीको पुरानो बडहरी जलाधार भएको ठाउँ देखाउँदै महोत्तरीको भङ्गाहा–४ रामनगरका ७० वर्षीय शेष जव्वारले भने, “आब जल्दी यी नइ हटाओल गेल त पियवाला पाइन आब नई भेटत (अब चाँडै यो हटाइएन भने केही दिनपछि खानेपानी भेटिने छैन) । ”

जव्वारमात्र होइन यहाँका धेरैले मधेशमा पानीको सङ्कटका धेरै कारणमध्ये एक मसाला पनि रहेको बताउन थालेका छन् । आफ्ना बस्तीका जोकाहा, भुताहा, झिल, टोका, पलारसहितका कैयौँ जरुवा पानीका मूल देख्दादेख्दै सुकेका भङ्गाहा–४ कै ८० वर्षीय चौठी बाँतरले बताए । “पानीका मूल सुक्ने अरु कारण पनि होलान्, यो पढेलेखेकाहरूले बताउलान् तर एउटा कारणचाहिँ यो मसालाको रुख नै हो”, उनले भने ।

मधेसमा केही दशक पहिले स्थानीयलाई आयआर्जनमा प्रोत्साहित गर्न वनसम्बद्ध निकाय र विभिन्न सङ्घसंस्थाले ‘आइरआइरमें सपेता, गरिबी सब बेपत्ता’ (आलीआलीमा सपेताः गरिबी सबै बेपत्ता) भन्दै यो वनस्पति रोप्ने लहर नै चलेको थियो । सुरूमा विसं २०४० को दशकमा महोत्तरीसहितका चारकोसे झाडीभित्रको पूर्वपश्चिम राजमार्गदेखि दक्षिण भागमा सरकारी निकायले नै साल, कर्मासहितका रुख कटाएर मसाला रोपेपछि यो अमूल्य चिज नै हो भन्ने आममान्छेमा परेको थियो ।

“सरकार आफैँले साखुका रुख ढालेर भिक्स रोप्न लाग्यो, हामीलाई लाग्यो, यो खास चिज हो, देखासिकीले हामीले पनि बिरुवा मगाएर रोप्यौं, आज यही समस्याको कारण बन्यो”, बर्दिबास–१२ बिजलपुराका ७५ वर्षीय रामसुन्दर ठाकुरले भने, “चारैतिरका इनार, पोखरी र जरुवा पानीका मूल सुके । एक समयमा ‘आइरआइरमें सपेता, गरिबी सब बेपत्ता’ भन्ने नारा अब जहाँ सपेता, त्यहाँ पानी बेपता भनेजस्तै भएको छ ।”

चाँडै हलक्क बढ्ने हुँदा काठको माग आपूर्तिमा सहज हुने र त्यतिखेर विद्युत पोल (खाँबा) का लागि पनि उपयोगी हुने अभिप्रायसाथ विदेशबाट झिकाएर रोपण गरिएको थियो । रौतहट, सर्लाही र महोत्तरीसम्म फैलिएको सागरनाथ वन विकास परियोजनाको १३ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये अधिकांश भागमा २०३५ सालदेखि सरकारले मसाला रोप्न थालेको थियो । त्यही सिको गरेर यसभेगका स्थानीयले घु¥यानदेखि खेतबारीसम्म मसाला लगाउन थालेका गौशाला–१० लक्ष्मीनियाँका ७० वर्षीय लक्ष्मीप्रसाद महतोले बताए । कालान्तरमा मसाला वरदान नभएर जमिनमुनिको पानी सोसेर जग्गा मरुभूमि बनाउने अभिशाप बनेको उनको भनाइ छ ।

यस भेगमा अहिले सर्वसाधारणमात्र नभएर स्थानीय तह, सामाजिक सङ्घसंस्था र विज्ञहरू समेत मसालाविरुद्ध जनमत बनाउन र यी रुख हटाएर अन्य बिरुवा रोपण गर्नुपर्ने अभियानमा जोडिएका छन् । धनुषाको धनुषाधाम र मिथिला नगरपालिकाको नगरसभाले त मसाला मास्ने र खाली हुने ठाउँको माटो विज्ञबाट परीक्षण गराइ उपयुक्त बिरुवा रोपण गर्ने औपचारिक निर्णय नै गरिसकेका छन् ।

“जताततै पानीका मुहान सुक्नुमा मसालाको रुख पनि कारण रहेको विज्ञहरुले बताए, त्यसैले पानीको थप सङ्कट बढ्न नदिन मसालाका रुख उखेल्ने निर्णय गरिएको हो । अब माटो परीक्षण गरेरमात्र नयाँ बिरुवा रोपिनेछन्”, मिथिलाका उपप्रमुख सुनितासिंह बुढाथोकीले भने । अब स्थानीयको मागअनुसार मसालाका रुख उखेल्न यान्त्रिक उपकरणको बन्दोबस्त गर्ने तयारी गरिएको बुढाथोकीले जानकारी दिए ।

मधेसका खोल्साखोल्सी, इनार, पोखरी, तालतलैया र चापाकल सुक्दै गएर पानीको हाहाकार बढेसँगै यहाँ मसालाका रुखबारे बढेको आमधारणासँग विज्ञपनि सहमत छन् । चुरे तथा जलाधार विज्ञ डा विजयकुमार सिंह दनुवार पानीका मुहान सुक्नुमा विश्वव्यापी जलवायु परिवर्तनलगायत यस्तै मानवसिर्जित समस्या रहेका बताउँछन् । “मानव सिर्जित समस्यामा वन विनास, चुरे क्षेत्रको अनियन्त्रित उत्खनन र जलाधारक्षेत्रको अतिक्रमण मुख्य कारण हुन् । मसाला रुख पनि पानीको स्रोतका मुहान सुक्ने कारण भएको बारे अहिले व्यापक अभिमत बढेको छ”, डा सिंहले भन्नुभयो । यसबारे थप अध्ययन गर्न आवश्यक रहेको डा सिंहको भनाइ छ ।
चुरे तथा जलाधार विज्ञ नागदेव यादवले पनि इक्युलिप्टिस पानीका स्रोत सुक्ने कारणमध्ये एक भएको बताए । एउटा वयस्क इक्युलिप्टिसको रुखले दैनिक ८७ लिटर पानी सोस्ने विज्ञबाट पुष्टि भएको उनले बताए । “पानीका स्रोत सुक्नुका धेरै कारण छन्, यसमध्ये मसालाका रुख मुख्य कारण हुन् । यी रुख जतिसक्यो चाँडो हटाउँदा राम्रै हुन्छ”, उनले भने, “ मसालाको रुखले जमिनमुनिको पानी निकै सोसेपछि पानीको सतह गहिरिँदै गएर सङ्कट बढेकामा धेरै सत्यता छ । यसले उर्वराशक्ति घट्दै गएर उब्जाउ जग्गा पनि वञ्जड बनेका छन् ।”

अमेरिकाको नेसनल लाइबे्ररी अफ मेडिसिनले मसालाका रुखका पातमा एसिडको मात्रा हुने हुँदा माटोको उर्बराशक्ति ह्रास हुने र यसले जमिनमुनिको पानी धेरै सोस्ने निष्कर्ष निकालेको पनि डा यादवले जानकारी दिए । परिस्थितिक तथा जैविक प्रणालीको दृष्टिले यो रुखले अरुको अस्तित्व स्वीकार नगरेको स्पष्ट देखिएको हुँदा मधेसबाट यो रुखलाई तत्काल विस्थापित गरिनुपर्ने आवाज बलियो बन्दै गएको उनले बताए । “ मसालाका रुखमा न चराचुरुङ्गीका गुँड देखिन्छन्, न किरा फट्याङ्ग्रा लाग्छन्”, यादवले भने, “त्यसैले यो सन्तुलित पर्यावरणको बाधक छ ।”

सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घ (युएन) को फुड एण्ड एग्रीकल्चर अर्गनाइजेसनले गरेको अध्ययनमा चार सय मिलिलिटर (एमएल) देखि एक हजार दुई सय एमएलसम्म वार्षिक वर्षा नहुने ठाउँमा यो रुख लगाउन दिन नहुने सुझाव दिइएको यादवले उल्लेख गरे ।

मसालाको रुखले अक्सिजन प्रवाहमा पनि खासै योगदान नदिने विज्ञ बताउँछन् । अष्ट्रेलियाका जलवायु विज्ञ एलन रुटले पनि आफ्नो एक आलेखमा यो रुख पानीका स्रोतका लागि प्रतिकूल हुने उल्लेख गरेका छन् । अष्ट्रेलियाको सिमसार र भासिने हिलो भएको ठाँउलाई सुख्खा बनाउन यो रुख लगाइएको उक्त आलेखमा उल्लेख छ । इक्युलिप्टिस अष्ट्रेलियाकै तास्मिनिया टापुमा विकास भएको वनस्पति मानिन्छ ।

अष्ट्रेलिया, ब्राजिल हुँदै संसारका ५० भन्दा बढी देशमा यो रुख लगाइएको विज्ञले बताएका छन् । अष्ट्रेलिया र ब्राजिल दुवै देशका सिमसार क्षेत्रमा यो रुख लगाइएपछि ती ठाउँ सुक्खा भएका जानकारहरू बताउँछन् । नेपाल सरकारका पूर्वसहसचिब रामबहादुर भुजेल विभिन्न अध्ययनले समेत लाभदायी नभएको निष्कर्ष निकालेका रुख मधेशमा ल्याउनु नै गलत भएको भज्न्दै अब यसको विकल्प खोज्न जरुरी रहेको बताउँछन् । मधेशमा पानीका स्रोत सुकेर निकै समस्या आइसकेको छ । त्यसैमा यहाँ उपयुक्त नहुने रुख रोपेर पानी सङ्कटलाई थप योगदान गर्ने काम भएको छ । अब यसको साटो यहाँको माटो सुहाँदा अन्य वनस्पति र फलफूल रोपणमा जोड दिन आवश्यक छ, भुजेलले भने ।

प्रकाशित मिति: ५ असार २०८१, मंगलबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *