बडादशैं २०८१ को अवसरमा भर्जिनियाको राजधानी रिचमन्डमा बस्ने नेपालीहरूले दशैं महोत्सवको आयोजना गरेका छन् । नेपाली कम्यूनिटी अफ ग्रेटर रिचमन्ड भर्जिनिया (NCRVA) को आयोजनामा यही अक्टोबर ६ तारिक आइतबारका दिन रिचमण्डको रकभिल सेन्टरमा करीब ३०० नेपालीहरू भेला भएर २०८१ सालको बडा दशैं मनाइएको हो ।
भर्जिनिया सोर्हौं डिस्टृक्टका सिनेटर स्काइलर टी भ्यान भ्याल्केनवर्ग मुख्य अतिथि रहेको सो कार्यक्रममा इन्डियन कम्युनिटी भर्जिनियाका अध्यक्ष राजेश चिन्तकुन्तलवार,एसियन अमेरिकन सोसाइटी,भर्जिनियाका अध्यक्ष राजवंस जोशी,भुटानी कम्युनिटीका उपाध्यक्ष धन रिमाल र भर्जिनिया एसियन च्याम्बर अफ कमर्सका निर्देशक माइ ल्यान ट्रान अतिथिको रूपमा उपस्थित थिए । NCRVA का अध्यक्ष चन्द्र मल्लको स्वागत मन्तव्यबाट सुरू भएको सो कार्यक्रममा NCRVA को भगिनी संस्था रिचमन्ड नेपाली पाठशालाका विद्यार्थीहरूले नेपाली र अमेरिकी राष्ट्र गान,दशैं धून,दुर्गा श्लोक, दशैं कथा, दशैं नाटक (दशै-संस्कार र सत्यको उत्सव), दशैं कविता,नृत्य र गीतहरू प्रस्तुत गरेको पाठशालाकी शिक्षिका अन्जु रेग्मी नेउपानेले बताइन् ।
पाठशालाका विद्यार्थीहरूको सहभागिता र प्रस्तुतिलाई प्रभावकारी बनाउन शिक्षिकाहरूले विभिन्न प्रस्तुतिहरूको नेतृत्व लिएका थिए । दशैं धुनका लागि आरती केसी,दुर्गा श्लोकमा सरिता लामिछाने,नृत्यमा रक्षा शर्मा,दशैं नाटकमा सुधा भुषाल र दशैं कथामा सन्ध्या नेपालले नेतृत्व लिएका थिए । सो दशैं उत्सवमा पाठशालाका विद्यार्थीहरू द्वारा प्रस्तुत नृत्यहरूमा बर्षा धिताल घिमिरे ,नवीन भण्डारी, ह्रदा शर्मा र सुनीता श्रेष्ठले कोरियोग्राफी गरेका थिए। सो कार्यक्रममा NCRVA र नेपाली पाठशालाले गत हप्ता आयोजना गरेका विभिन्न खेलहरूमा विजयी विजेताहरूलाई पुरस्कार वितरण गरिएको NCRVA का सचिव सुमन कंडेलले बताए ।
विभिन्न नेपाली परिवारका करिब ८० जना बालबालिका सहभागी सो महोत्सवमा बालबालिकाका सम्पूर्ण प्रस्तुतिहरूको समग्र नेतृत्व पाठशाला समिति सदस्य नीरू तिवारीले गरेकी थिइन् । नवीन भण्डारी,यमुना ठकुरी,प्रत्यूशा उपाध्याय,बर्षा धिताल घिमिरे,अनाया शर्मा,श्रीद रेग्मी,आश्वी शर्मा,विनु गुरूङ लगायत स्थानीय कलाकारहरूको आकर्षक नृत्य रहेको सो महोत्सवमा विदेश थापा,ओपल शर्मा,इशान श्रेष्ठ,अमृत खड्का,हेलेन राई, लगायत रिचमाण्डु म्यूजिक ग्रुपका स्थानीय कलाकारहरू असीम राजभण्डारी, सारस्वत आचार्य,आयाम राजभण्डारी,रौनक रायमाझी र रुकेश पोखरेलले विभिन्न सांगीतिक प्रस्तुतिहरू दिएका थिए ।
दुई चरणमा स्वादिष्ट नेपाली परिकारहरू,कला र मनोरंजनको त्रिवेणी यो महोत्सव उत्कृष्ट रहेको सहभागी डा. डिल्ली भुर्तेलले बताए । नेपाली कम्यूनिटी अफ ग्रेटर रिचमन्ड भर्जिनिया (NCRVA) ले यसरी बडादशैंको अवसरमा यस्तो भव्य दशैं उत्सवको आयोजना गरेर नेपाली चाडपर्व,भाषा,संस्कृति र नेपाली पनको जगेर्नामा महत्वपूर्ण योगदान पुर्याएको रिचमन्डका नेपाली पत्रकार एवं साहित्यकार पशुपति घिमिरेले बताए । उपाध्यक्ष राजेन्द्र ढकालको धन्यवाद मन्तव्यसंगै समापन भएको सो कार्यक्रममा उत्कृष्ट भोलेन्टियर अवार्ड ओपल शर्मा र मनन नेपालले प्राप्त गरे ।कार्यक्रमको अन्त्यमा विभिन्न नेपाली गीतहरूमा डिजे नाइटको आयोजना गरिएको थियो ।