आफूभित्रको युवा जोशलाई जनसेवाको दूरगामी योजनामा जोड्न चाहन्छन् बलेफी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गंगाबहादुर तामाङ प्रवेश । आफ्ना दौतरीहरु रेमिट्यान्स कमाउन विभिन्न देश पुग्दा उनी भने समाज रुपान्तरणको सपना बोकेर आन्दोलनमा होमिएका थिए ।
तिनै गंगालाई हालै बलेफीबासीले पाँच वर्षका लागि जनसेवाको म्यान्डेट दिएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुवास तिमल्सिनालाई पराजित गर्दै उनले यो अवसर पाएका छन् । गाउँमै बसेर यस क्षेत्रको विकास गर्ने उनको योजना छ ।
राजधानीबाट नजिककैको दूरीमा रहे पनि सिन्धुपाल्चोक केही समयअघिसम्म विकासमा निकै पछाडी थियो । जिल्लाको पनि पिछडिएको गाउँमध्ये एक थियो गहते । त्यही गाउँमा जन्मे–हुर्केका थिए माओवादीका पूर्व लडाकु गंगाबहादुर तामाङ प्रवेश । हुर्किदै गर्दा गाउँमा हुने वर्गीय विभेदका रंगहरु देखे ।
विद्यमान सामाजिक/आर्थिक संरचनाले निचोरेर खोस्टो बनाइएका मानिसहरुको अनुहार हेर्थे । आर्थिक रुपमा सम्पन्नहरुको रवाफ देख्थे । विभेदको तिनै चक्रहरुले उनलाई एकदिन जनयुद्धमा हिड्न प्रेरित गर्यो ।
यो पाँच वर्ष म सबैको साथ लिएर काम गर्न चाहन्छु ।
उनी पञ्चकन्या मावि कुभिन्डेमा पढ्दादेखि नै विद्यार्थी राजनीतिमा जोडिएका थिए । त्यो २०५३ सालको कुरा थियो । २०५८ सालमा भुमिगत भए । कम्पनी कमाण्डर भएर उनी पूर्वी कमाण्डका मोर्चाहरू लडे । युद्ध सकियो, पार्टी संसदीय मोर्चामै आइपुग्यो ।
त्यसबीच देशका अन्य समाज पुग्ने, त्यहाँको जनजीवन बुझ्ने अवसर पनि पाए । उनलाई लाग्यो रुपान्तरण आफ्नै घरबाट, आफैं उभिएको गाउँ–समाजबाट थाल्नु पर्छ । यही सोचले उनी २०७४ सालको निर्वाचनमा पनि उम्मेदवारी दिए । तर, पराजित भए । जनताको बीचमा आफ्नो सपनालाई बलियो गरी जरा हाल्ने त्यो मौका माने उनले । निरन्तर उनी गाउँसमाजकै सेवामा जुटिरहे ।
पार्टीले फेरि टिकट दियो । यसपटक भने उनले गाउँपालिकाको कार्यकारी भएर काम बलियो मत जनताबाट पाए । भन्छन्, ‘हामी बत्तिको मुनि अँध्यारो बाँचिरहेका छौं । राजधानी नजिकै भएर पनि हाम्रो गाउँठाउँ पूर्वाधार विकासमा निकै पछाडि छ । भएका कामहरुमा पनि पारदर्शीताको अभाव छ । अनियमितताले विकासको अनुहार छोपेजस्तो छ । म त्यहीबाट विकासलाई सकारात्मक गति दिन चाहन्छु ।’
सिन्धुपाल्चोक कृषि प्रणाली बहुल क्षेत्र हो । बलेफीमा पनि खेतीपाती गर्ने किसान नै धेरै छन् । जलवीरे, नौविसे, आँपबोटेलगायत तल्लो क्षेत्र बढी उत्पादनमुलक जमिन छ । यस्ता कुनै पनि उत्पादनको पकेट क्षेत्रकै रुपमा विकास गर्न सकिने धेरै जमिन पालिकामा छन् ।
तर कृषकले मल, विउविजन समयमा नपाउँदा किसान समस्यामा पर्छन् । यसको लागि पनि पालिकाले नै समयमा व्यवस्थापन गर्ने संयन्त्र बनाउने उनको सोच छ ।
पछिल्लो डेढ दशकदेखि ग्रामिण सडक निर्माणले तिब्रता पाएको छ । सडक सञ्जालले त प्रायः गाउँहरु जोडिए । ती स्तरोन्नती गर्न नसक्दा हिउँद गाडी चल्ने, वर्खा लागेपछि बन्द हुने समस्या बलेफीबासीले पनि भोगिरहेका छन् ।
कृषकले मल, विउविजन समयमा नपाउँदा किसान समस्यामा पर्छन् । यसको लागि पनि पालिकाले नै समयमा व्यवस्थापन गर्ने संयन्त्र बनाउने उनको सोच छ ।
गंगा आफ्नो कार्यकालमा यी बाटोहरुको स्तरोन्नती गर्ने लक्ष्य लिएका छन् । अघिल्लै कार्यकालमा कोठे, विन्जेल, धुस्कोटको मूल सडक स्तरोन्नती कार्यलाई तिब्रता दिने र अन्य सडकमा पनि क्रमैसँग काम गर्ने उनको भनाई छ ।
खेलकुद क्षेत्रको विकास
खेलकुद क्षेत्रमा बलेफीका युवालाई अघि बढाउन ठोस काम गर्ने उनको अर्को सपना छ । यसबारे पालिकामा चुनिएर आउने जनप्रतिनिधि र कर्मचारीसँग छलफल गर्ने छन् । स्थानीय युवा तथा अग्रजसँग पनि यसबारे रायसुझाव लिएर अघि बढ्ने उनी बताउँछन् ।
भन्छन्, ‘युवालाई देशमै रोक्न सकिने महत्वपूर्ण क्षेत्र हो खेल । उनीहरुको मानसिक तथा शारीरिक स्थानीय तहबाट उत्पादित खेलाडी राष्ट्रिय/अन्तरराष्ट्रिय स्तरसम्म पुगुन् र आफ्नो ठाउँको नाम राखुन् भन्ने मेरो चाहना छ । त्यसैले म यस क्षेत्रको लागि काम गर्छु । भलिबल, फुटबल, तेक्वान्दोलगायत खेलको पूर्वाधार विकास गर्ने र खेलाडी तयार गर्न प्रेरित गर्ने सोच छ ।’
बलेफी बजारमा कर्भर्ड हल यसअघि नै बनिसकेको छ । वडा नम्बर ४ स्थित फ्याफुल्ला खेल मैदानमा तयार भइसकेको छ । यसरी नै पालिकाका अन्य क्षेत्रमा पनि काम खेल मैदान निर्माण हुँदै छ । जिल्ला खेदकुद विकास समितिको यसअघि नै अध्यक्ष रहिसकेका छन् ।
जनयुद्धको पृष्ठभुमिबाट आएका उनी, त्यो आन्दोलनसँग सहिद भएकाहरुका लागि पनि केही कार्यक्रम बनाउँदै छन् । बलेफीभित्र ११ जना सहिद भएका छन् । पिडित परिवारको लागि एउटा कोष वा कार्यक्रम बनाउने पनि उनको योजनाभित्र छ ।
कुलत र कुसंस्कारलाई निरुत्साहन
बलेफी गाउँपालिका तामाङ बहुल क्षेत्र हो । यद्यपी यहाँ क्षेत्री, ब्राम्हण, गुरुङ, दलित लगायत विविध जातजातिको बसोबास छ । त्यसो हुँदा उनी सबै समुदायका संस्कार/संस्कृतिको संरक्षण गर्न आफ्नो पहल रहने उनको भनाई छ । तर उनी राम्रा कुराको संरक्षण र संस्कृतिभित्रै रहेको गलत पक्षलाई सुधार गर्नु पर्ने पनि आवश्यकता ठान्छन् ।
अर्को, जाँडरक्सि खाने, हुल्दुंगा गर्ने, समाजमा हिंसा भड्काउने जस्ता प्रवृत्तिलाई निरुत्साहन गर्नु आफ्नो अर्को दायित्वका रुपमा बुझेका छन् । भन्छन्, ‘समाजमा रहेको गलत प्रवृत्तिलाई बलपूर्वक दबाउनु स्थायी समाधान होइन । ती व्यक्तिहरुलाई सिर्जनशील हुन, बनाउन हामीले पहल लिनु पर्छ भन्ने लाग्छ ।
‘समाजमा रहेको गलत प्रवृत्तिलाई बलपूर्वक दबाउनु स्थायी समाधान होइन । ती व्यक्तिहरुलाई सिर्जनशील हुन, बनाउन हामीले पहल लिनु पर्छ भन्ने लाग्छ ।
त्यसैले पनि कृषिलाई व्यावसायिकरण गर्ने, खेलकुद लगायत क्षेत्रमा युवालाई आकर्षित गर्ने योजना ल्याउँदै छु । यो पाँच वर्ष म सबैको साथ लिएर काम गर्न चाहन्छु । यहाँका जनता, सबै राजनीतिक दल तथा चुनावी प्रतिस्पर्धी सबैसँगको हातेमालोमा बलेफीलाई विकासले चम्काउने सपना छ ।’