Logo

३ माघ २०८१, बिहिबार

यतिबेला विभिन्न समृद्धिका नारा लिएर सबै दलका नेताकार्यकर्ताहरू चुनावी मैदानमा छन् । आकर्षक योजनासहित आफ्नो पक्षमा मत पार्ने कोशिसमा छन् उम्मेदवार । बिहानदेखि बेलुकासँग मतदाता भेट्दै उम्मेदवारलाई भ्याइनभ्याइ छ ।

शुल्काफाँटा गण्डकी नगपालिका–३ तनहुँका वडाध्यका उम्मेदवार राजन रिमाललाई पनि अहिले जनताको घरदैलोमै व्यस्त छन् । ५० वर्षीय रिमाल आफ्नो गाउँ बदल्न चुनावी मैदानमा छन् । लामो सदयदेखि स्थानीय स्तरका विकास निर्माण र टोल सुधारमा सक्रिय रिमाल आफ्नो चुनावी एजेण्डासहित बस्तीमा पुगिरहेका छन् ।

खाडीका १५ वर्ष

प्रमाणपत्र तह पास गरेका रिमालले पाँचवर्ष साउदी अरब र १० वर्ष कुवेतमा पसिना बगाए रिमालले । खाडीमा काम गर्दै गरेका बेला उनले आफ्नो दुःख पीडाकाबीच पनि हजारौं नेपालीको सारथी बने । कुवेतमा रहँदा एक अंग्रेजी विद्यालयको व्यवस्थापकका रुपमा काम गरेका रिमाल पत्रकारिता र सामाजिक अभियानमा पनि सक्रिय रहिरहे ।

उनले साउदी अरबमा रहँदा होस् या कुवेतमा, आफ्नो कामको साथमा श्रमिकहरूको हक–हितका लागि लडिरहे । रिमाल भन्छन्, ‘स्वदेश होस या विदेश समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्दा आत्मसन्तुष्टि मिल्छ । समस्यामा परेकाहरूलाई सहयोग गर्नु मानविय यधर्म पनि हो ।’

उनी थप्छन्, ‘अर्को कुरा आवाजविहीनहरूको आवाज बन्नु र त्यसलाई सम्बन्धित निकायसम्म पुर्‍याउनु पनि सेवा नै हो ।’ उनले आफ्नो सामाजिक योगदानको अभियान नेपाल फर्किएपछि पनि निरन्तरता राखे । एक दशकअघि नै विदेशबाट फर्किएका रिमाल कृषि फर्म खोलेर विदेशबाट फर्किने अन्य रिटर्नी माइग्रैन्टहरूलाई र कृषिमा सम्भावना देखेकालाई उपार्जनका क्षेत्रमा आवद्ध गराउन समन्वय गर्दै आएका छन् ।

सामान्य परिवारमा जन्मिएका रिमाल १४ वर्षको हुँदैदेखि (२०४४) सालमा अनेरास्ववियु ५ औंमार्फत राजनीतिमा जोडिएका थिए । त्यसयता एमालेकै राजनीतिमा सक्रिय रिमाल रिटर्नी माइग्रेसन फिडरेशन तनहुँका अध्यक्ष पनि हुन । विदेशबाट ज्ञान, सीप र थोरै भए पनि लगानी लिएर आएका श्रमिकहरूको व्यवस्थापनमा समन्वय र सही ठाउँमा लगानी गर्न प्ररित गरिरहेका छन् ।

उनी भन्छन्, ‘मैले १५ वर्ष खाडीमा देखेभोगेका विकासका कुरालाई पनि भित्र्याउने छु । सबैले समयअनुरुप सामाजिक रुपान्तरणका लागि योगदान दिनुपर्छ । म त्यसका लागि नै चुनावी मैदानमा उत्रिएको छु ।’ केही समययता उनी वडाको न्यायिक समितिमा रहेर न्याय निरुपणमा पनि सघाउँदै आएका छन् ।

तालिम, उत्पादन र बजारीकरण प्रमुख प्राथमिकता

राजनीतिलाई पेशाभन्दा पनि सेवाका रुपमा स्थापीत गराउन नै आफू वडाको नेतृत्वका लागि अघि बढेको उनको भनाइ छ । एमालेका तर्फबाट उम्मेदवार बनेका रिमालका धेरै ठूला एजेण्डा छैनन् । स्थानीय विकास, उत्पादन वृद्धि, स्थानीय स्तरमै रोजगारी र विदेशबाट आएकाहरुको लगानी व्यवस्थापन नै प्रमुख एजेण्डा हुन् ।

‘अझैं भन्नुपर्दा विदेशबाट फर्किनने र यहाँ कृषिमा सम्भावना देख्नेहरुलाई आधुनिक कृषि, पशुपालनमा जोड्नु नै मेरो पहिलो प्राथमिकता हुनेछ । त्यसका लागि तालिम, उत्पादित सामग्रीको बजार व्यवस्थापनमा विशेष ध्यान दिनेछु’, रिमाल भन्छन् ।

स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन सके परिवार पाल्नकै लागि विदेश जाने अवस्था अन्त्य हुने उनको विश्वास छ । उनले पोखरा शहरलाई मुख्य केन्द्रमा राखेका छन् । गाउँमा उत्पादन भएको कृषि वस्तु सहज रुपमा पोखरा बजारसम्म पुग्ने अवस्था निर्माण गर्ने रिमालको लक्ष्य छ ।

साथै स्वास्थयमा गुणस्तरीयता, शिक्षामा सबैको समान पहुँच, सुविधासम्पन्न बर्थिङ सेन्टर स्थापना, ज्येष्ठ नागरिकलाई सहज सेवा, विपन्न तथा दलित समुदायलाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्थापन गर्ने उनको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

साथै विज्ञान प्रविधिमैत्री सेवा, निःशुल्क इन्टरनेट, वडाका सबै सामुदायिक विद्यालयमा नेपाली र अंग्रेजी दुवै माध्यममा पढाइको व्यवस्थापन लगायतका योवना छन् । उनकै पहलमा स्थापना भएको वाटरट्रिटमेन्ट प्लान्टमार्फत सबै किसानका गाईवस्तुले स्वस्थ पानी खान पाएका छन् । बाँकी रहेका गाउँ जाम्दी बेसी, दुरुङ्चुङ र रातामाटाका लागि पनि प्रशोधित पानी (मिनरल वाटरप्लान्ट) बनाउने रिमालको योजना छ ।

हाल ३५ करोड लागतमा दुलेगौंडा–हर्दपुर मोटरबाटोको काम भइरहेको छ । त्यसको कालोपत्रे गर्ने र भूजीकोट जाने सडकलाई पर्यटकीय मार्गका रुपमा विकास गर्ने लक्ष्य रहेको उनी बताउँछन् । जम्मा २ हजार ४ सय ६८ मतदाता रहेको वडामा आफैंले क, खरा सिकेको निर्मल माविमा एउटा मतदान केन्द्र रहेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘भयरहित तरिकाले मतदान गर्नसक्ने वातावरण तयार भएको छ । सबै मतदाताले योग्य उम्मेदवार छान्ने सोच लिनुभयो भने मेरो जित सुनिश्चित छ ।’ आर्थिक अवस्था बलिया भएर रकम बाँड्नसक्ने भन्दा पनि गाउँको लागि केही गरौं भन्ने सोच राख्ने उम्मेदवारलाई मतदान गर्न गाउँका सबै मतदातालाई रिमालले अनुरोध गरेका छन् ।

प्रकाशित मिति: २० बैशाख २०७९, मंगलबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *