‘मलिक्वाका छोराले किन हेप्छ मलाई? किन ती राजा जस्तो, किन हामी दास जस्तो हुनु परेको होला ?’ उनले एकदिन आफ्ना बुबासँग सोधेका थिए ।
‘यस्तै चलन छ, यही कुरा मलिक्वाले सुन्यो भने आफैँ आएर फेरि कुट्न सक्छ । चुप लाग्नु राम्रो,’ बुबाले यसो भनिरहँदा मालिकका छोराले कुटेर दुखेको पाताभन्दा ज्यादा उनको मन दुखेको थियो । दशरथ थारूले अघिल्लो दिन विद्यालयबाट फर्कदा मालिकका छोराको अनाहक कुटाइ खाएका थिए । यसरी कुटाइ खानु परेको त्यो पहिलो वा अन्तिम घटना थिएन उनका लागि । त्यसरी कुटिने, लखेटिनेमा उनी नै पहिलो पात्र थिएनन् । उनको समुदायका धेरैले त्यसरी नै मालिक वर्गको ज्यादती सहनु पथ्र्यो ।
मैले जसरी अब आउने पुस्ताले भोकै विद्यालय जान नपरोस्, नाङ्गो आङ र खाली खुट्टा विद्यालय जान नपरोस्
उनका बुबाआमा लगायत सबै थारूहरू बिहान सबेरैदेखि साँझ अबेरसम्म पनि मालिककै घरमा, खेतमा काम गरिरहेका हुन्थे । तर चुला बाल्ने बेला आमाहरूको मुख अँध्यारो हुन्थ्यो । उनीहरू त केटाकेटी थिए । गाउँमा दिनहुँजसो कोही न कोही थारू अभिभावकहरूले पनि मलिक्वाबाट कुटाइ खानु पर्ने । गाली, बेइज्जतीको त कुनै हिसाब थिएन । आखिर किन यस्तो अन्याय ? उनको कलिलो मनमा आगो बल्थ्यो । बिस्तारै थाहा पाए, यस्तो विद्रोहको आगो उनको जस्तो अरू धेरैको मनमा बलेको हुँदो रहेछ । यसरी दशरथ अगलपथ थारू ‘सुदिन’ विद्रोही बने, जनयुद्धमा सामेल भए ।
उनको परिवार पहिले नै कम्युनिष्ट आन्दोलनसँग जोडिइसकेको थियो । जनयुद्ध सुरु भएपछि दाजुहरू संलग्न भए । पुलिस प्रशासनले घरमा पटकपटक छापा मार्ने, दुःख दिने हुन थाल्यो । उनका अन्य आठ जना दाजुभाइको घरमा बास हुन छोड्यो । करीब डेढ वर्ष प्रहरीकै डरले उनले पनि अरूकै घरमा बसेर पढे । त्यो बेला उनी कक्षा ६ मा पढ्थे ।
उनी विद्यालयबाट फर्कने बाटोमा आमा कुरेर बस्थिन् । दरशथ आएपछि नजिकै कसैको घरमा भात मागेर उनलाई खुवाउँथिन्, छोरालाई त्यतैकतै सुरक्षित आश्रयमा राखेर उनी घर फर्कन्थिन् । उसो त आन्दोलन नभएकै भएपनि उनको घरमा कहाँ सधैँ खाना पाक्थ्यो र ! धेरैपटक उनीहरूभोको पेट विद्यालय जान्थे ।
पकाउनका लागि पिठो वा चामल नहुँदा अभावले छटपटिएको आमाको अमिलो अनुहार हेर्दै बुबा साहुकहाँ काम गर्न जान्थे । हुन पनि १२ जनाको परिवार पाल्न सजिलो थिएन ।आफूलाई धर्तिका सन्तान भन्न रुचाउने आदिवासी थारू समुदाय यसरी लामो समय समाजको पिँधमा पिसिएर बस्न बाध्य थिए ।
दमनले जन्माएको विद्रोह
हुर्कदै जाँदाबुझ्न थाले मालिक र तिनको छोराहरूले हेप्नुको कारण । समाजमा भएको विभेदविरुद्ध विद्रोह जरुरी रहेछ, १५ वर्षको उमेर हुँदासम्म उनले थोरै भएपनि बोध गरे । उनी २०५७ सालमा जनकलाकारको रूपमा जनयुद्धमा हिडे र भूमिगत भए।
उनको थारू समुदाय निकै पिछडिएको थियो । त्यो समुदायलाई प्रेरित गर्ने, आन्दोलनमा सहभागी गराउने कुरा निकै कठिन थियो । जनयुद्धको आवश्यकता बोध गराउन उनीहरूले निकै मिहिनेत गरे । घरघर, बस्ती–बस्ती पसे । क्रमशः समुदायका मानिस आन्दोलनमा सहभागी हुन थाले । त्यो सङ्ख्या बाक्लिदै जाँदा प्रशासनले समुदायमाथि नै आक्रमण गर्न थाल्यो ।
नगरभित्रै बाली विज्ञान सम्बन्धी तीन वर्षे प्राविधिक शिक्षा प्रारम्भ भइसकेको छ, कक्षा १२ सम्म निःशुल्क शिक्षा गर्ने नीति ल्याउने उनको योजना छ
राज्यले खासगरी थारू नेतृत्वमाथि गिरफ्तार, दमन, यातना, हत्या र बेपत्ता पार्न थाल्यो । राज्यको नजरमा थारू भनेपछि जो–कोही पनि विद्रोही हुन थाल्यो । राज्यको त्यस्तो प्रतिगामी दृष्टिकोण र व्यवहारले समुदायका मानिसलाई आन्दोलनप्रति थप प्रतिबद्ध र सचेत बनायो ।
खेतमा काम गरिरहेका किसान, जङ्गलमा घाँस काटिरहेका महिला, विद्यालयगइरहेका शिक्षक वा विद्यार्थी जो–कोही पनि राज्यको आँखामा माओवादी विद्रोही हुन्थे । दमन बढ्दै जाँदा प्रतिरोधस्वरुप थारूहरू विद्रोही बन्न थाले । राज्यको दमन बढ्दो थियो । ०५८ पुष ५ गते उनको छैठौं नम्बरका दाजु र भाउजूलाई सेनाले बेपत्ता बनायो, जो आजसम्म फर्किएका छैनन् ।
जनयुद्ध सम्पन्न भएपछि उनी पार्टीको संगठक बने । जिल्लाको ढड्वार गाविसको इन्चार्ज हुँदै २०६६ सालदेखि हालसम्म बारबर्दिया नगरपालिकाको पार्टी अध्यक्ष छन् । उनी जनसांस्कृतिक महासंघको केन्द्रीय उपाध्यक्ष पनि हुन् । आसन्न स्थानीय निर्वाचनमा उनी बारबर्दिया नगरपालिकाको प्रमुखको उम्मेदवारका रुपमा जनतासामू जाँदै छन् ।
यसभन्दा अगाडिको पाँच वर्षे कार्यकालमा थारू समुदायकै मेयर दुर्गाबहादुर थारू ‘कबिर’ले नगरको एक तहको समृद्धिको जग बसालिसकेका छन् । स्वास्थ्य, भौतिक पूर्वाधार, शिक्षा, सामाजिक विकासको क्षेत्रमा धेरै खाका तयार भइसकेको छ ।
अशिक्षाकै कारण सिङ्गो समुदाय आजसम्म पछि परेको ठहर गरी कबिरले नगरको १० वर्षे शैक्षिक दीर्घ योजना बनाएका छन् । यहाँ अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको नगर घोषणा भइसकेको छ । प्राविधिक शिक्षाको अध्यापन थालिएको नगरभित्रै थालिएको छ ।
शिक्षामा निकै पिछडिएको थारू समुदायको सघन बसोबास भएको यस क्षेत्रमा उनी शिक्षाकक्षा १२सम्म निःशुल्क गर्ने नीति ल्याउने तयारीमा छन् । अघिल्लो कार्यकालमा ल्याइएको शैक्षिक नीति कार्यान्वयन गरी यहाँको शिक्षालाई एउटा उचाइमा पुर्याउन दशरथ आफू प्रतिबद्ध भएको बताउँछन् । ‘यस अघिका मेयर कबिर साबको नेतृत्वमा जे–जति विकासको जग हालिएको छ, त्यही जगमा टेकेर म बारबर्दियालाई समृद्धिको मार्गमा हिडाउने छु,’ उनी भन्छन् ।
कृषिमा आत्मनिर्भर
नगरपालिकामा ९५ प्रतिशत कृषिमा आधारित जनसंख्या छन् । त्यसमा पनि झण्डै ७३ प्रतिशत थारू समुदायको बाहुल्य छ । किसानहरू मिहिनेत गर्ने, पसिना बगाउने, उत्पादन अहिले पनि मालिकहरूकै धन्सारमा जम्मा हुने । किसानको जीवनस्तर भने ज्यूँका त्यूँ, त्यसकारण किसानलाई आर्थिक विकासको लागि कार्यक्रम बनाउने छु । सिंचाईंको व्यवस्थापन, खेती प्रणालीलाई अलिक आधुनिक बनाउनु पर्छ । परम्परागत खेती प्रणालीमा रुपान्तरण गर्नुपर्छ ।
बारबर्दिया क्षेत्रलाई मसिना धान उत्पादनको पकेट क्षेत्रका रूपमा अघि बढाउने योजना उनको छ । यस क्षेत्रमा उत्पादित धान किसानसँग खरिद गरी प्रशोधित चामल मात्रै बजारमा पठाइने प्रणाली विकास गरिने छ । यहाँ दुई ठूला कृषि सहकारी छन् । तिनलाई ‘मर्ज’ गरेर कृषि क्षेत्रको विकासमा थप काम गरिने छ ।
उनी विद्यालयबाट फर्किने बाटोमा आमा कुरेर बस्थिन्, दशरथ आएपछि नजिकै कसैको घरमा भात मागेर उनलाई खुवाउँथिन्
यसका लागि नगरपालिकाभित्रै धान प्रशोधन गर्ने आधुनिक मिल स्थापना भएको छ । यही कामका लागि पञ्चजन्य उच्च माध्यमिक विद्यालयमा बाली विज्ञानसम्बन्धीतीन वर्षे प्राविधिक शिक्षा प्रारम्भ भइसकेको छ । अबको पाँच वर्षमा कृषि क्षेत्रमै नगरबासीलाई पूर्ण आत्मनिर्भर अझ व्यावसायिक बनाउने उनको योजना छ ।
बारबर्दिया गरिब, सुकुम्बासी, मुक्त कमैयाहरूको सघन बस्ती भएको नगर हो । त्यो वर्गको जीवनस्तर माथि उठाउन यस्ता ठोस योजना उनीसँग छन् । राज्यको नजरमा दोस्रो दर्जाको नागरिकका रुपमा बाँचिरहेका थारूहरूलाई राज्यको शासकीय तहमा पुर्याउने उनको सपना छ ।
भन्छन्, ‘मैले जसरी अब आउने पुस्ताले भोकै विद्यालय जान नपरोस्, नांगो आङ र खाली खुट्टा विद्यालय जान नपरोस् ।कसैको चुला चिसै नरहोस् । अबको पाँच वर्षमा यहाँको विकासको कोर्स त्यसभन्दा अघि आएर पूर्ण विकासको चरणमा पुर्याउने छु । यो मेरो सपना हो ।’