Logo

११ चैत्र २०८०, आइतबार

काठमाडौंदेखि बेलबारीसम्म मोटरसाइकलको यात्रा । थकाइले कति बेला ढलिन्छ भन्ने पीर, ढाड दुखाइ उस्तै!बाटोमा सानो दुर्घटनामा परियो ।मोटरसाइकल हाँक्ने सहकर्मी शालिक भट्टको हालत झन् नाजुक थियो । सम्हालिँदै बेलबारी पुग्दा राति ११ बजेको थियो ।

बसोबासको बन्दोबस्त मिलाउने स्थानीय साथी अस्मिता भट्टराई उहाँको साथी अनिशा गिरीका साथ हामीलाई कुरेर बसिरहनुभएको थियो । उहाँहरूको धैर्यता र सहयोगप्रति कृतज्ञ हुँदै त्यस रात बेलबारीमा बितायौं । भोलिपल्ट बिहान बेलबारी–५ मटियारी पुग्यौं, अनिशाको साथ लागेर ।

सडक किनारा छेउमा लस्करै छाप्रा थिए । नल्काबाट महिलाहरू पानी भर्दै थिए । तर, केही घर भने पक्की थिए । बुझ्दै जाँदा थाहा भयो– पक्की घरजति अन्य जातिका मानिसको रहेछन् । मुसहरहरूको बसोबास भने लस्करै बाटोको किनारामा रहेको छाप्रोमा थियो ।

रैथाने नै भए पनि उनीहरूको जग्गा रहेनछ । अहिले त्यहाँ बसिरहेकालाई त तीन पुस्तादेखि त्यहीँ बसेको याद छ । तर, केही बुज्रुकको कुरा सुन्दा त्यो भन्दा पनि अघिदेखि मुसहरहरू बस्दै आएका हुन् । रैथाने तर सुकुम्बासी । पहाडतिर जति विपन्न भने हरेकको कुटो कोदालो गर्ने सानो जमिन र घरबारी भने आफ्नै भएको देखेको छु ।

तर, तराईंमा भने विपन्नहरूको आफ्नो भन्ने केही नहुने । कोही साहुको जग्गामा बस्न बाध्य त कोही बाटो–खोला छेउको ऐलानी जग्गामा असुरक्षित छाप्रा बनाएर बसेका । कुनदिन साहु या त सरकारले उठाएर चिल्लीबिल्ली बनाउँछ कुनै पत्तो छैन । हामी त्यही सुकम्बासी मुहसर बस्तीको रिपोर्टिङकै लागि त्यहाँ पुगेका थियौं ।

मटियारीबाट दुई सय मिटरको दूरीमा छ लिम्बूटोल । बिहान ११बजेतिर लिम्बूटोल पुग्यौं । त्यहाँ केही बालबच्चा र महिला थिए । उहाँहरूलाईहामी त्यहाँ आउने जानकारी अस्मिताले दिइसक्नुभएको थियो । तर, त्यसदिन लिम्बूटोलसम्म भने त्यहीँकै अनिशाले हामीलाई लिनुभएको थियो ।

स्थानीय मानिस जाँदा कुराकानीका लागि सहज हुन्छ कि भनेर पनि अनिशाजीलाई साथमा लिएका थियौं । बाटोछेउका केही पक्की घर थिए । ती घरहरू लिम्बूहरुका थिए । उनीहरुको घर छिचोल्दै अलिक पर पुग्दा भने मसलाका रुखहरुबीचमा केही छाप्रा देखिए । ‘यही हो सर यहाँका मुसहरहरुको बस्ने ठाउँ’ अनिशाजीले भन्नुभयो ।

हामी पुग्नेबित्तिकै एउटी महिलाले नमस्कार गरिन् । उनी थिइन् पवनी ऋषिदेव । बस्नका लागि दुईटा मुडा दिइन् । एकैछिन हामीले परिचय आदानप्रदान गर्‍यौं । घरमा उनलाई मात्रै देखेर अरु परिवारबारे सोधें । ‘ तपाईंको घरमा अरु को–को हुनुहुन्छ ? अनि तपाईको श्रीमान् ? अरु कोहीदेखिनुहुन्न त ?’ मैले प्रश्न गरेँ । उनले मुस्कुराउँदै भनिन्, ‘सबै बालुवाटार !’ मैले अचम्मित हुँदै पुनः प्रश्न गर्न खोजेँ । तर, पवनीले आफैं उत्तर दिइन्, ‘तल खोलामा नि सर । छोरामान्छे त्यहिँ बालुवा उतार्छन्, त्यसैले बिहानै त्यहाँ गएका ।’

पवनीसँग कुरा गर्दैगर्दा अकस्मात् छेउको गुम्तीजस्तो देखिने छाप्रोबाट एउटा बुढो मान्छे बाहिर निस्किए । कपाल सेतै फुलेको, अनुहारमा चाउरी परेको, हाफ कट्टुमा हामीतिरै आए । सूर्ति माड्दै थिए ।

झुरो जस्ता सुकुम्बासीको ठूलो सपना भनेकै आफ्नै बलियो घर र तरकारी खानेसम्मको भए पनि सानो जमिन हुनु हो ।

‘ए एक जना त हुनुहुँदो रहेछ नि उहाँ को तपाईंको बुबा ?’ मैले पवनीलाई सोधेँ । मुस्कुराउँदै उनले भनिन्, ‘कहाँ बुबा हुनु उहाँ मेरो श्रीमान् ।’ वर्ण कालो भए पनि पवनीको मुहार चम्किलो थियो । उनको मुहारको कान्ति र उमेरबीचको भिन्नता छुट्याउन गाह्रै थियो । ती पुरुष रहेछन् झुरो ऋषिदेव ।

अन्तिम चैत्रको महिना वर्षा नभएको धेरै भइसकेको थियो । त्यसैले पनि होला हामी हिँडेर लिम्बू टोलसम्मको आधार किलोमिटर दूरी पार गर्दा पूरै शरीर असिनपसिन भइसकेको थियो । मसलाका रुखमुनि भएर होला, सिरसिर बतास चल्यो । ‘सरहरूलाई पानी ल्याइदे त’, एउटी किशोरीलाई पवनीले अह्राइन् । नल्काबाटउनले पानी ल्याएर दिइन् । त्यो प्रचण्ड गर्मीमा नल्काको ताजा पानीले मन तृप्त भयो । त्यसपछि भने हामीले उनीहरूका समस्याबारे कुराकानी थाल्यौं ।

उमेर ६३ कटेका झुरो दिनभर घरमै बस्ने रहेछन् । छोरानाति ठूला भएका कारण अहिले भने उनले खोलामा बालुवा उतार्न जानुपरेको छैन । केही वर्षदेखि उनले घरको कामहरू सम्हाल्दै आएका छन् । झुरो बालापनदेखि अधबैंसे उमेर साहुको हलो जोत्न र खोलामा बालुवा चाल्नमै बित्यो । आफ्नो जग्गा जमिन नहुँदा परिवार पाल्नका लागि उनले बिरामी पनि भन्न पाएनन् । त्यसैले पनि बुढेसकालमा उनी घरमै दिन बिताउँछन् ।

सामान्य कुराकानी गर्दा दुवै बुढाबुढी नै मुस्कुराएका थिए । तर, क्यामेरा निकाल्नेबित्तिकै एकैछिन अघिको त्यो कान्ति हरायो । ‘सर आजसम्म हामीले यसरी क्यामेरामा बोलेका छैनौं । के पो हुने हो ?’ झुरो र पवनीले एकैसाथभने । तर, क्यामेरातिर ध्यान नदिन अनुरोध गरेपछि भने उनीहरूले सहमति जनाए ।

त्यत्तिकैमा उनले थपे, ‘सर हाम्रो दुःख सुनेपछि हामीलाई केही सहयोग हुन्छ होला नि ?’ उनको प्रश्नले भने कुराकानी गर्न लालायित मेरो मन पनि चसस्क भयो । उनको प्रश्नबाट सहजै बुझ्न सकिन्छ, यसअघि त्यहाँ पुग्ने नेता हुन् या अन्य सामाजिक अभियानकर्ता सबैले आश्वासन दिएका थिए ।

तर, आश्वासनपछि फर्किएका त्यस्ता नेताहरू फेरि गाउँ कहिल्यै पुगेनन् । बरु बालपनदेखि हुर्किएको त्यो ठाउँमा भने झुरोले घर उभ्याउनेसम्मको सानो जमिन जोडेका छन् । अहिले भएको छाप्रो त्यही जमिनमा हो ।अन्य दैनिकी चलाउन त ज्यालामजदुरी नगरी सुखै छैन ।

उनको नाम पनि अचम्मकै थियो । नामले कता–कता मलाई ध्यानाकर्षण गरिरहेको थियो । झुरोको मतलव हाम्रो गाउँतिर भने जिउमा पर्याप्त मासु नभएको दुब्लो भन्ने बुझिन्छ । तर, उनको जिउज्यान र नामबीच कुनै तालमेल थिएन ।

‘तपाईंको नाम झुरो कसरी रह्यो त बुबा, अनि मैथिलीमा यसको कुनै अर्थ हुन्छ र ?,’ उनले मुन्टो हल्लाउँदै भने, ‘कुनै अर्थ छैन सर, सानोमा गाउँमा कसले के विषयमा यही नाम भन्यो, पछि बोलाउने नै त्यही नाम रह्यो । अहिले नागरिकतामा समेत झुरो नै छ ।’

कुराकानी गर्दैगर्दा झुरो भित्र गए । पवनीले आफ्नो कुरा सुनाइरहेकी थिइन् । भित्रबाट आएपछि, ‘सर सूर्ति खाने ?’ भनेर सोधे । उनको प्रश्नले म फिस्स हाँसे र भनेँ, ‘म खाँदिन नि !’

उनले एक डोज बनाए र मुखमा हाले । उनको अम्मल भनेको सुर्ती र चुरोट हो । छोरी माग्न जाँदासमेत सगुनका रूपमा रक्सी लाने समुदायमा उनी एक्लो थिए रक्सी नपिउने ।

झुरो सानैमा खोलापारीपट्टीको बस्तीबाट बाबुसँग लिम्बूटोलमा आएका थिए । साहुको खेत जोत्न आएका उनका बाबुछोराले त्यही साहुकोमै समय बिताए । त्यसपछि नजिकै खोलाको ऐलानी जग्गामा छाप्रो बनाएर बसे । धेरै दुःख मेहेनतपछि भने एउटा छाप्रो बनाउने जग्गा जोडे ।

‘पूरै जिन्दगी साहुको हलो जोत्दै र जन(ज्याला मजदुरी) गर्दै बिताएँ । अहिले शरीरले पनि धान्दैन । छोरा नातिले काम गरिहाल्छन् नि ।’

आफू अरूको हली भएर बसेका कारण उनले स्कुल देख्न पाएनन् । बिहान बेलुका के खाऊँ र के लाऊँ भन्ने चिन्ताकै बीच छोराछोरीलाई पनि पढाउन सकेनन् । तर, नातिनीलाई भने सकेसम्म पढाउने चाहना उनको छ ।

‘सर चिया खानुहुन्छ ?,’ अगाडि हामीलाई पानी दिने किशोरीले सोधिन् । उनको काखमा बच्चा थियो । बुझ्दै जाँदा उनी झुरो र पवनीकी जेठी बुहारी बिना रहिछन् । उमेरले भर्खर २१ मा लागेकी बिनाको दुई वटा सन्तान छन् । १४ वर्षमै बिहे गरेकी बिनाले माइतीमा हुँदा पढ्न पाइनन् । उनका माइती पनि सुकुम्बासी मुसहर नै हुन् ।

‘बुवा तपाईंले जिन्दगीमा केही ठूलो काम गर्ने सपना पाल्नुभएन,’ मलिन मुहार लाउँदै झुरो भन्छन्, ‘कहाँ सपना हुनु सर । दुईछाक खाना त कसरी जुटाउने भन्ने चिन्ता हुन्थ्यो । अझै बर्खा लाग्दा बाढीले बगाउँछ कि भन्ने पीर, जाडोमा आङ ढाक्नै मुस्किल । सपना त थियो नि आफ्नै जमिनमा कुटो कोदालो गर्न पाए एक छाक जुटाउन साहुकोमा त जान पर्थेन नि ।’

मान्छेका आ–आफ्नै स्तरका सपना हुन्छन् । हुनेखानेलाई टन्न कमाउने, व्यवसाय विस्तार गर्ने सपना ठूलो हुन्छ । तर, झुरो जस्ता सुकुम्बासीको ठूलो सपना भनेकै आफ्नै बलियो घर र तरकारी खानेसम्मको भए पनि सानो जमिन हुनु हो । उनका लागि जीवनभर यही सपनाले कहिले साहुकोमा हलो जोतायो त कहिले उर्लंदो खोलामा शरीर डुबाएर बालुवा निकाल्न ।

कहिल्यै बिरामी परेनन् झुरो । किनकि उनी बिरामी हुनु भनेको पूरा परिवार थलिनु हो । ‘बेला–बेला बिरामी भइरहन्थेँ नि । तर, घरमा सामान्य हो भनेर ढाँट्दै आएँ । मै बिरामी भएर आराम गर्न थाले घरकाले के खानु र ?’ उनी भन्छन् । विपन्न परिवारमा कमाउने मुख्य व्यक्ति बिरामी हुनु भनेको पूरा परिवार नै थलिनु हो । त्यसको भार पूरै परिवारमा पर्छन् । धन्न झुरोलाई ठूलो रोगले भने च्यापेको छैन । नलागोस् पनि ।

तीन छोरा, बुहारी र छोरीहरू हुर्काउन उनले एक्लैमात्रैदुःखे गरेनन् । उनको हर पाइलामा साथ थिइन् पवनी । झुरो खोलामा गए पवनी साहुको खेतमा जन गर्न जान्थिन् । दुवै जनाले पूरा परिवार हुर्काए । अहिले लिम्बुटोलका अगुवा भनेकै उनका श्रीमान¬–श्रीमती हुन् । भलै ठूलो आर्थिक सहयोग गर्न नसकून् तर, सानोतिनो रकम र सल्लाह सुझावका लागि छिमेकी उनीकहाँ नै आउँछन् । सकेको सहयोग पनि गर्छन् ।

आफूले जीवनभर गरेको दुःख अब समुदायका हुर्कंदै गरेका बालबालिकाले भोग्न नपरोस् भन्ने चाहन्छन् । तर, नियति भनौं या बाध्यता अहिले हुर्कंदै गरेका किशोरहरू पनि त्यही लोहन्द्रा खोलाको बालुवाटारमै बालुवा निकाल्न जान बाध्य छन् । बिहान कमायो, बेलुका खायो अनि सकिन्छ । यसले गर्दा उनीहरूको बचत हुन पनि पाउँदैन । बिरामी पर्दा सरकारी अस्पतालमा पहिलो चरणको उपचारबाहेक उनीहरूले राम्रो सहरका अस्पताल देख्न पाउँदैनन् । ठूलो रकम साहुले पनि पत्याउँदैनन् ।

खोलाबाट कतै निस्कने फुर्सद भए पो अरूबारे सोच्नु ? उनीहरुको कमाइ खाने जरिया भए पनि सपनाको मुख्य बाधक नै त्यही बालुवाटार हो ।

‘म त हरेक रात हाम्रो समुदायमा कोही ठूलो बिरामी नपरोस् भन्ने कामना गर्छु । काम नै त्यस्तै छ । खोलामा कुनैदिन काम गर्दागर्दै विष लाग्यो या अन्य चोट लाग्यो भने मृत्यु कुरेर बस्नुबाहेक विकल्प छैन । हामीसँग ठूलो रकम पनि हुँदैन । जग्गा भए पनि बेचेर उपचार गरौंला भन्ने हुन्थ्यो तर, त्यो पनि छैन’, उनी भन्छन् ।

झुरो र पवनीले नागरिकता बनाएकै १५ वर्षजति भएको छ । सधैं अरूको काम गरेर खाने उनीहरूलाई नागरिकताको महसुस भएन । ‘हामीसँग केही थिएन, नागरिकता बनाएर के पाइन्थ्यो र ? तैपनि हामीलाई सिफारिस दिन त सरकारी कर्मचारी अन्कनाउँथे,’ पवनी भन्छिन् ।

तर, जब उनको जेठो छोरा विदेश जाने सुरमा कस्सिए । तब मात्रै उनका पतिपत्नीले नागरिकता बनाए । अहिले त नातिनातिनाका जन्मदर्तासमेत बनाएका छन् । झुरो र पवनी त त्यहाँका भरोसिला खम्बा हुन् । तर, अन्यको स्थिति झन् उनीहरुभन्दा कमजोर छ ।

सीमा नजिकका भए पनि त्यहाँका केही व्यक्तिबाहेक अरु भारततिर कमाउन जाँदैनन् । त्यहाँका अधिकांश पुरुष महिलाको सपना भनेकै दुई कोठाको पक्की घर हो । जनता आवास कार्यक्रम अन्तर्गत लिम्बुटोलमा एउटा पक्की घर बनेको छ तर, त्यो पूरा भने भइसकेको छैन । तर, पनि छाप्रोमा बस्नुभन्दा त्यसैमा बसौं भनेर उनका छिमेकी लिपपोत गर्दै थिए ।

‘बस्ने बास बलियो भए पो अरु सोच्न पाइन्छ सर । अब बास नै असुरक्षित छ भने जीवनमा सपना पालेर के गर्नु ? हामीलाई त दुई छाक राम्रो खान पाए, बेलुका आरामले निदाउने घर भए हुन्थ्यो । त्यो बाहेक अरु ठूला कुनै सपना छैनन्,’ हाम्रो कुरा सुन्दै उभिएकी झुरोकी छिमेकीले भनिन् ।

त्यस समुदायका युवाहरूमा पनि पढ्ने, लेख्ने, जागिर खाने र सहज तरिकाले बस्ने कुनै सपना छैन । बेलुका निदाउँदा पनि भोलि अलिक बालुवा धेरै निकाल्न पाए एक छाक भए पनि मिठो खान पाइन्थ्यो कि भन्ने कामना गर्छन् । किनकि उनीहरु जन्मेदेखि नै त्यही खोलामा आफ्ना बाबुहरूलाई देखेका छन् ।

खोलाबाट कतै निस्कने फुर्सद भए पो अरूबारे सोच्नु ? उनीहरुको कमाइ खाने जरिया भए पनि सपनाको मुख्य बाधक नै त्यही बालुवाटार हो । काठमाडौंको बालुवाटारले धेरैका अनगिन्ती सपना पूरा गरेको छ । तर, लोहन्द्राको बालुवाटारले भने मुस्किलले दुई छाक जुटाउँछ ।

प्रकाशित मिति: २२ बैशाख २०७९, बिहिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *