Logo

७ बैशाख २०८१, शुक्रबार

भोजपुर । यसपटकको स्थानीय तहको निर्वाचनमा अधिकांश ठाउँमा पुरानै जनप्रतिनिधिले दोहोर्‍याएर उम्मेदवारी दिएका थिए। तर, तीमध्ये केहीबाहेक अन्यमा जनताले नयाँ अनुहार चुने ।

कारण आफू पदमा हुँदा गरेका व्यवहार र लापरबाही नै हो । तर, केही ठाउँमा भने पुरानै प्रतिनिधि दोहोरिएका छन् । मतगणनताको परिणाम आउने क्रम अझै जारी छ।

सहज व्यवहार र जनभावना सम्बोधन गर्नेलाई नै जनताले यसपाली दोहोर्‍याएका हुन्। यस्तै, दोहोरिनेमध्येका एक हुन् विष्णुप्रसाद घिमिरे । घिमिरे भोजपुरको षडानन्द नगरपालिका–२ मा कांग्रेसका तर्फबाट वुनः वडाध्यक्षमा निर्वाचित भएका छन्।

५९ वर्षीय घिमिरे उमेर पाको भए पनि राजनीतिक अभियान र जनताको सेवामा युवा जोशका साथ सक्रिय रहन्छन्। सोही कारण पनि अन्यत्र पुराना प्रतिनिधिलाई पाखा लगाएका जनताले षडानन्द–२ मा घिमिरेलाई भने पत्याए।

षडानन्द भौगोलिक हिसाबले दुर्गम छ । उक्त नगरपालिकामा मेयर पदमा पनि कांग्रेसकै बलबिर राईले दोहोर्‍याएर उम्मेदवारी दिएका थिए । तर, यसपाली नगरपालिकामा भने स्थानीयले नयाँ अनुहार हेरे । घिमिरेले भने आफ्नो सहज व्यवहार, जनभावनाको कदर र स्थानीयको आवश्यकता बुझ्ने भएकै कारण वडामा दोहोरिने मौका पाएका छन्।

जितपछि उनी विजय र्‍याली र मतदातासँग भेटघाटमा व्यस्त छन्। ‘अघिल्लोपटक कामको थाली भए पनि हामीले देखिनेगरी काम गर्न सकेनौं । कति कुराहरु सिकाइ नै भयो’, उनी भन्छन्, ‘जनताले मलाई फेरि पनि पत्याए । अब अघिल्लो कार्यकालमा अधुरा रहेका काम पूरा गर्नुछ। सबैभन्दा बढी त जनभावनालाई अझ बढी कदर गर्दै उनीहरुको चाहना अनुसारको योजना बनाउनुछ ।’

वडाको नेतृत्व गर्दैगर्दा अघिल्लो कार्यकालमा पनि अधिकांश समय उनले जनताको काममै खर्चिए । सोही सहजपनकै कारण पनि उनी दोहोरिन सफल भएका हुन् ।

घिमिरे लामो समयदेखि राजनीतिमा सक्रिय छन् । आवश्यक पर्दा मध्यराति नै किन नहोस् उनी गाउँछिमेकमा सहयोगका लागि हाजिर हुन्छन् । वडाको नेतृत्व गर्दैगर्दा अघिल्लो कार्यकालमा पनि अधिकांश समय उनले जनताको काममै खर्चिए । सोही सहजपनकै कारण पनि उनी दोहोरिन सफल भएका हुन् ।

‘नेतृत्वमा बसेपछि त्यहाँसम्म पु¥याउने मतदाताको भावना कदर गर्नुपर्छ, उनीहरुको आवश्यकता बुझ्नुपर्छ’, उनी भन्छन्, ‘मैले कति गर्न सकेँ या सकेन, तर जनता मेरो दैलोमा आएको बेला निराश फर्काएको भने छैन । सोही कारण पनि जनताले फेरि पत्याए ।’

पूराना योजनालाई निरन्तरता

सिंह दरबारको अधिकार सिधै गाउँमा पुगेको पाँच वर्ष भयो। संविधानले स्थानीय तहलाई निकै बलियो बनाएको छ । स–साना कामहरू गाउँमै फत्ते हुन् भन्ने उद्देश्यले पनि संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको हो । तर, पहिलो कार्यकालमा सबै नयाँ अनुहार भएका कारण पनि सिकाइकै चरणमा रह्यो।

वितेका पाँच वर्ष पूर्ण रुपमा सफल नभएको बताउँछन् घिमिरे । उनी भन्छन्, ‘हामीले अघिल्लो कार्यकालमा धेरै प्रणाली सिक्यौं । जति भौतिक कामहरु हुनुपथ्र्यो त्यो हुन सकेन। तर, केही नयाँ कामको थालनी पनि भएका छन् । अब आगामी कार्यकाल मैले वडा तहमा ती अधुरा कामहरुलाई पूरा गर्नेछु ।’

जनचाहना बुझ्न सकेन भने नेतृत्वमा बसेर काम नहुने तर्क गर्छन् घिमिरे। आफूलाई इच्छा लागेका भन्दा पनि जनताले के चाहेका छन् भन्ने बुझेर विकासका योजनाहरु अघि बढाउनसके मात्र स्थानीय तहमा समृद्धि हासिल हुने उनको भनाइ छ ।

उनी थप्छन्, ‘कैयौं ठाउँमा जनप्रतिनिधिले मनलाग्दी योजना बनाउने र लाध्ने काम गरिन्छ । तर, मेरो बुझाइ भिन्न छ । आखिर विकास कसका लागि भन्ने प्रश्न पहिले जनप्रतिनिधिले आफैंलाई सोध्नुपर्छ । अनि मात्र काम गरे सफल भइन्छ । गाउँ विकासका लागि कैयौं कामहरु गर्नुछ । म जनताको सुझाव लिएरै काम गर्नेछु, मतदाताको विश्वासमाथि आघात पुग्ने काम कहिल्यै मबाट हुनेछैन ।’

सडक र बिजुली प्राथमिकतामा

घिमिरेकै वडाको आधी जनसंख्या अझै विद्युतको पहुँचमा छैनन् । दुर्गम त छँदैछ, दैनिक अत्यावश्यक सेवाबाट समेत वञ्चित जनताका लागि उनले जोडतोडका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘पहिलो कार्यकालमा वडाको आधाआधीजतिमा विद्युत पुर्‍याइएको छ । अब सुरुवातमै त्यो आधा काम पूरा गरी जनतालाई अध्यारोबाट मुक्त गराउनुछ’, उनी भन्छन् ।

गाउँमा स्तरीय स्वास्थ्य संस्था छैनन् । भएको स्वास्थ्य संस्थामा पनि न दक्ष जनशक्ति छन्, न स्तरीय सेवा नै । अझै पनि मध्यरातमा गम्भीर बिरामी परेमा अकाल मृत्युवरण गर्नुपर्ने बाध्यता छ । यसका लागि पालिकास्तरमा दवाव दिएर भए पनि वडावासीका लागि स्वास्थ्य सेवा सुधार गर्ने उनको अठोट छ ।

वडाका केही गाउँमा सडक सञ्जाल जोडिएको छैन । उनले अब ती गाउँमा सडक सञ्जाल जोड्ने मात्रै होइन, त्यहाँको उत्पादन बजारसम्म पुर्‍याउने योजना पनि बुनेका छन् । भएको सडकलाई स्तरोन्नति गर्ने उनको भनाइ छ । स्वच्छ खानेपानीको आपूर्ति, सिंचाईको व्यवस्था र कृषिलाई आधुनिकीकरण गर्ने पनि उनको योजना छ ।

‘अहिले रुद्राक्षको व्यापार राम्रो छ । हाम्रोमा त षडानन्द गुरुले सुरुवात गराउनुभएको थियो । अब यसलाई जनताको अर्थोपार्जनसँग जोड्नका लागि वडातहबाटै व्यवसायिक खेतीको थालनी पनि गर्नेछु’, उनी भन्छन् ।

गाउँको प्रमुख आम्दानीको स्रोत नै कृषि र पशुपालन हो । कृषि र पशुपालनलाई व्यवसायीक बनाउँदै किसानको दैनिकी सुधार गर्न नगरपालिका र वडातहबाटै योजना बनाइने उनको भनाइ छ । अझै उनले जसको नामबाट नगरपालिका राखियो उनको योजनालाई पनि अघि बढाउन आफूले पहल गर्ने योजना बुनेका छन् ।

‘अहिले रुद्राक्षको व्यापार राम्रो छ । हाम्रोमा त षडानन्द गुरुले सुरुवात गराउनुभएको थियो । अब यसलाई जनताको अर्थोपार्जनसँग जोड्नका लागि वडातहबाटै व्यवसायिक खेतीको थालनी पनि गर्नेछु’, उनी भन्छन् ।

नगपालिकाको प्रमुख भिन्न पाटीको भए पनि लामो समयदेखि उनी पनि सामाजिक अभियानमा सक्रिय भएकाले जनताको सेवाका लागि मिलेर जानेमा घिमिरे विश्वस्त छन् । आखिर जसले गरे पनि जनताकै सेवा गर्ने हुनाले वडादेखि पालिकास्तरसम्म मिलेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०७९, बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *